२०२२ सालमा फौदारी गरेरै काठमाडौंमा साकेला देखायौं
कुमारी कृष्ण राई
नेर्पा (खोटाङ)देखि काठमाडौं ९९ कोश छ । हामी हिँडेरै जान्थ्यौं काठमाडौं । हिँडेर सात दिनमा पुग्थ्यौं । साथमा खसी पनि लैजाँदा चाहिँ ९ दिन लाग्थ्यो ।
नेर्पाबाट दिक्तेल हुँदै हलेसी पुग्थ्यौं । त्यहाँबाट दुधकोशीको जयरामघाट हुँदै राष्ट्रगानका रचनाकार व्याकुल माइलाको गाउँ सोक्माटारबाट सुनकोशी किनारैकिनार बादुरा खोला पुग्थ्यौं । बादुराखोलाबाट तीन दिन हिँडेपछि रोसीखोला पुग्थ्यौं । टोक्सेलघाटमा डुंगा तरेर चरूङ्गे बेंसी हुँदै नेपालथोक पुग्थ्यौं । त्यहाँबाट दुई दिन रोसीखोला किनारैकिनार हिँड्थ्यौं । त्यतिखेर रोसीखोलामा चोर लाग्थ्यो त्यसैले हामी खोलामा हुल बाँधिएर हिँड्थ्यौं । खोला छिचोलेपछि भकुण्डेबेंसी हुँदै धुलिखेल पुग्थ्यौं । धुलिखेलबाट वनेपासम्म हिँडेर जान्थ्यौं । त्यहाँबाट चाहिँ ट्रक चढेर काठमाडौं पुग्थ्यौं । काठमाडौंमा साकेला देखाउन जाँदा चाहिँ सगरमाथा अञ्चल कार्यालय राजविराज हुँदै गएका थियौं । पञ्चायतकालमा फागुन ७ गते काठमाडौंमा १४ अञ्चलको संस्कृति झल्किने नाच देखाइन्थ्यो । हामीले यो कुरा सुनेका मात्र थियौं । एक साल चाहिँ हामी पनि काठमाडौंमा साकेला देखाउनुपर्छ भनेर टिम बनायौं । टिममा रामबहादुर, डम्बरबहादुर, हर्कशेर, बुद्धे, अन्तरे, काजी, रमावती, मालावती, सिम्मा (बर्ती) राई र म गरेर १० जना भयौं । म टोलीको अगुवा थिएँ । १० मध्ये एकजना ढोल बजाउने थिए । यो राजा वीरेन्द्र शाहको ऐश्वर्य राणासँग बिहे भएको वर्षको कुरा हो । राजा वीरेन्द्रको बिहे वि.सं. २०२२ सालमा भएको हो ।
साकेला नाच देखाउनका लागि नेर्पाबाट दिक्तेल हुँदै हामी रेग्मीटार झर्यौं । रेग्मीटारबाट दोस्रो बास बस्न सुनकोशी किनारैकिनार छाम्लिङ पुग्यौं । छाम्लिङबाट तीन दिनमा उदयपुरको बेल्टार पुग्यौं । बेल्टारमा मेरा मामा चन्द्रबहादुर कर्नेलका माइला भाइ हुनुहुन्थ्यो । उहाँ मलेरिया उन्मूलनको हाकिम हुनुहुन्थ्यो । उहाँले मलेरियाको जिप झिकाउनुभयो र फत्तेपुरसम्म पुर्याइदिनुभयो । फत्तेपुरदेखि चाहिँ एकदिनमा हिँडेर राजविराज पुग्यौं ।
राजविराजमा सम्मेलन थियो । पञ्चायतको महिला संगठन, भूतपूर्व सैनिक संगठन, प्रौढ संगठन आदि थुप्रै संगठनहरूको सम्मेलन थियो । म खोटाङ जिल्लाको महिला संगठनको अध्यक्ष थिएँ । हामीले त्यो सम्मेलनमा पनि साकेला नाच देखायौं । मैले सम्मेलनकै खाना खाएँ । तर, मेरो टिमलाई त खान दिँदैनथ्यो त्यसैले उनीहरूलाई छुट्टै ठाउँमा राखेर मेरो खर्चले खाना खुवाएँ । खाना पकाउने भाँडाकुँडा पनि बोकेका थियौं । सम्मेलनमा तीन दिन बस्यौं ।
राजविराजमा माननीय भुइँदल राईले ‘खुर्पाको बिँड र सेउली समात्ने राईको संस्कृति हो’ भनेर हामीलाई उत्साहित बनाउनुभयो । मैले भुइँदल दाइहरूलाई नै हाम्रो साकेला नाच पनि काठमाडौंमा देखाउन पाउनुपर्छ भनेर कुरा राखेँ । अञ्चलाधीशले अर्कै टोलीलाई सिफारिस गरिसकेको रहेछ त्यसैले हामीले अस्थायी (वैकल्पिक) समूहको मात्र मान्यता पायौं ।
सम्मेलन सकिएपछि हामी काठमाडौंतर्फ लाग्यौं । काठमाडौं जानका लागि राजविराजबाट सुनौलीसम्म मोटरमा जानुपथ्र्यो । सुनौलीबाट चाहिँ रेल चढेर वीरगञ्जसम्म गयौं । वीरगञ्जबाट गाडी चढेर भीमफेदीसम्म आयौं । भीमफेदीबाट अर्को मोटर चढेर काठमाडौं आइपुग्यौं । म चाहिँ २०१३ सालमा भएको राजा महेन्द्रको राज्यभिषेकमा पनि काठमाडौं आएको थिएँ । त्यतिखेर म फुटबल खेल्न काठमाडौं आएको थिएँ ।
साकेला टिमलाई काठमाडौंसम्म आउने–जाने खर्च मैले व्यक्तिगत रूपमा बेहोरेको थिएँ । हामीलाई वैकल्पिक (अस्थायी) अनुमति मात्र दिइएकोले गर्दा हामीलाई भत्ता दिइएको थिएन ।
कार्यक्रम हुने दिनभन्दा अघि नै काठमाडौं पुग्यौं । कार्यक्रम राष्ट्रिय नाचघरमा थियो । खोटाङ हलेसीकै डिल्लीशेर राई मन्त्री हुनुहुन्थ्यो । हामी मन्त्रीको गाडी चढेर नाचघर गयौं । पहिरनले पनि काम गर्दो रहेछ । मैले ठूलो कोट लगाएको थिएँ, त्यसले पनि डाइरेक्टर र जीएमहरूले मलाई हाँक्न सकेनन् जस्तो लाग्छ । जवान पनि थिएँ । मैले घमण्डी गरेरै साकेला नाच देखाउन सफल भएँ ।
त्यतिखेर राष्ट्रिय नाचघर पुरानो थियो । हामीलाई प्रवेशका लागि अनुमतिपत्र दिइएको थियो । त्यो देखाएर भित्र छिर्यौं । हामीले साकेला नाच देखाउन पाउने कि नपाउने कुनै निश्चित थिएन । हामीलाई त अस्थायी (वैकल्पिक) अनुमतिपत्र मात्र दिइएको थियो । हामीले आफ्ना मान्छेहरू पनि थुप्रै छिराएका थियौं । खोटाङ चुप्लाका लखनशेर राई, केदार राईहरूलाई पनि मन्त्रीको गाडीमा राखेर नाचघरमा छिराएका थियौं । किनभने, हामीले त राजविराजबाट सिफारिस भएर आएका नाचका डाइरेक्टरसँग सल्लाह गरेर, नभए दबाब दिएर पनि साकेला नृत्य देखाउनु नै थियो ।
ती डाइरेक्टरले हामीलाई साकेला देखाउन दिइरहेका थिएनन् किनभने हामीलाई दिँदा उसको नाच कटौतीमा पथ्र्यो । हामी त अस्थायी (वैकल्पिक)मा मात्र छानिएका थियौं । अनेक भन्दा पनि नहुने भएपछि मैले त्यो डाइरेक्टरलाई भनेँ, ‘म पनि तँ जस्तै डाइरेक्टर हुँ । हामीले चाहिँ नाच देखाउन नपाउने ? ले तेरो जुल्फी ।’ मैले यति भनेर त्यो डाइरेक्टरको जुल्फी तानेर घिसार्न खोजेँ । अरूहरूले पनि लातले हान्न खोजे । हामीले फौदारी नै गरेपछि त्यो डाइरेक्टर त त्यहाँबाट भाग्यो ।
नाचघरको जीएम भलाद्मी हुनुहुँदो रहेछ । यति भएको थाहा पाएपछि उहाँले मलाई बोलाउनुभयो । जीएमसँग पनि मैले झ्वाँक देखाउँदै भनेँ, ‘जीएम साप् ! त्यो डाइरेक्टरले चाहिँ सालैपिच्छे नाच देखाउन पाउने, हामी सगरमाथाको टुप्पाछेउबाट आएको मान्छेले चाहिँ एउटा नाच देखाउँछौं भन्दा नदिने ? मलाई अञ्चलाधीशले मिलेर नाच देखाउनुस् भनेर अस्थायी (वैकल्पिक) अनुमति दिएर पठाउनुभएको हो, यो डाइरेक्टरले हामीलाई नाच देखाउन नदिने ?’ मैले यति भनेपछि जीएमले १४ वटाको सट्टा १५ वटा नाच देखाउने गरी कार्यक्रम मिलाउनुभयो । १४ वटै नाचको समय बचाएर हामीलाई पनि अरूलाई जतिकै ५ मिनेट साकेला नाच देखाउने अनुमति दिनुभयो ।
नाचघरका जीएमले के चाहिँ भन्नुभयो भने, ‘थुप्रै देशका राजदूतहरू पनि आउँदै हुनुहुन्छ, तपाईंहरूले मेकअप चाहिँ गर्नुपर्छ ।’ ‘हामी मेकअप गर्दैनौं’ भनेर जीएमसँग पनि मैले घमण्डी कुरा नै गरेँ । तर, उहाँले राम्ररी नै ‘होइन मेकअप चाहिँ गर्नैपर्छ’ भन्नुभयो । हाम्रा केटीहरू त मेकअप गरेपछि चाइनिजजस्तै देखिए । अरू नाचका भन्दा हाम्रा केटीहरू त त्रिबल राम्रा नि !
पालो आएपछि हामीले साकेला गीत गाउँदै नाच देखायौं–
‘चानेको चानेको बैडानी,
चैसेको चैसेको खैडानी
सै ढोले सै, सै ढोले सै….।’
(मिठो मिठो यता लेऊ
नमिठो नमिठो उता लैजाऊ
सै ढोले सै, सै ढोले सै….।)
(कुमारी कृष्ण राई । २०२२ सालमा फौदारी गरेर काठमाडौंमा साकेला देखायौं । ‘सितिमी’ मासिक, २०७५ बैशाख, अंक २९, सम्पादक– तिलक चाम्लिङ । २०७४ माघ १० गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित निवासमा कुमारीकृष्ण राईसँग भोगीराज चाम्लिङ र दमन राईले गर्नुभएको कुराकानी पुनःप्रकाशन गरिएको छ । हाल ललितपुरमा बसोबास गर्नुहने कुमारी कृष्ण राईका छोरा कवि भोगेन एक्लेसँग समन्वय गरी दमन राईबाट फोटो प्राप्त भएको हो । सम्पादक)