काठमाडौँ — वर्षमा दुईपटक विशेष भत्ता पाइन्छ, त्यसैले नेपालभाषाका शिक्षक र कर्मचारी ती दिनको प्रतीक्षामा हुन्छन् । एउटा, पाहचह्रे । यो यही चैतमा परेको छ । अर्को दिने न्हुदँ हो । यो नेपाल संवत्को पहिलो दिन पर्छ ।
दशकदेखि सुचारु ‘नेवा: बस्ती नेवा: स्कुल अभियान’ ले पाहचह्रे र न्हुदँमा शिक्षकलाई भत्ता दिने चलन चलाएको हो । अभियानले नेवा: सभ्यताबारे पुस्तान्तरण प्रक्रियाको आधारका रूपमा ‘नेपाल मण्डलको नयाँ तालिका’ सुचारु राखेको छ ।
भौगोलिक हिसाबले काठमाडौंको मुटु दरबारमार्ग पर्छ । यहाँ मोर्डन नेवा: इंग्लिस स्कुल छ । त्यहाँ नेपालभाषाका माध्यमबाट पढाइन्छ । ‘हामी न्हुदँ र पाहँचह्रे आउने दिनको गन्ती गरिरहन्छौं,’ शिक्षिका यशोदा पाण्डे भन्छिन्, ‘यो दुवै चाड आउँदा बोनस पाइन्छ, त्यसैले ।’ उनी नेपालभाषालाई माध्यम भाषाका रूपमा बालबालिकालाई पढाउँछिन् । नेपालभाषा माध्यमबाट पढाइने जगतसुन्दर ब्वनेकुथिमा यूकेजीदेखि कक्षा १० सम्म पढेकीले त्यस भाषामा आफू पारंगत रहेको बताइन् ।
उनी तीन वर्षदेखि उक्त स्कुलमा बालबालिकालाई पढाउँदै आएकी छन् । विद्यालयको नाम ‘नेवा: स्कुल’ भने पनि पढ्ने बालबालिका नेवार, बाहुन, क्षेत्री, थकाली, गुरुङ, जापानी, चिनियाँ, भारती छन् । उनीहरू शिशु, नर्सरी, एलकेजी र यूकेजीसम्म पढ्छन् । पढाउने शिक्षक शिक्षिका र कर्मचारी सबै समुदायका छन् । मोर्डन नेवा: स्कुलका संस्थापक निर्देशक दीपक तुलाधरले पत्रिकामा विज्ञापन आह्वान गरेरै शिक्षक र कर्मचारी भर्ना गरेको सुनाए ।
‘हाम्रो विद्यालयमा पढाउन र काम गर्न शैक्षिक योग्यताका अतिरिक्त नेपालभाषा बोल्न जानेको हुनुपर्ने प्रावधान छ,’ अभियानका संयोजकसमेत रहेका तुलाधरले आफ्ना कर्मचारीबारे भने, ‘नेपालभाषा बोल्न जानेका गैरनेवारलाई अवसर दिने गरेका छौं ।’ दरबारमार्गमा रहेको यो विद्यालय एउटा उदाहरण मात्र हो । नेवा: स्कुल अभियानअन्तर्गत काठमाडौं उपत्यकाभित्र दर्जन विद्यालय सुचारु छन् र त्यहाँ नेपालभाषाका माध्यमबाट पढाइन्छ ।
काठमाडौंमा बलम्बुको भास्तीपुर नेवा: इंग्लिस स्कुल, काठमाडौं नेवा: किन्डर गार्डेन, हलिं नेवा: इंग्लिस स्कुल, जगतसुन्दर ब्वनेकुथि र किपु नेवा: इंग्लिस स्कुल छन् । ललितपुरमा थेच्व नेवा: इंग्लिस स्कुल, यल नेवा: इन्टरनेसनल स्कुल, सुनागुथि नेवा: इंग्लिस स्कुल, वादेय् नेवा: इंग्लिस स्कुल र लुभु नेवा: इंग्लिस स्कुल तथा भक्तपुरमा ख्वप: नेवा: इंग्लिस स्कुल छन् । लुभु नेवा: स्कुलकी प्रिन्सिपल गंगा नेमकुल आफ्नो विद्यालयमा नेवार, मगर, भुजेल, बाहुन, क्षेत्री समुदायका बालबालिका रहेको सुनाइन् ।
‘हामी सबै विषय पढाउँछौं,’ उनले भनिन्, ‘बालबालिकालाई हाम्रो संस्कृति, चाडपर्वबारे जानकारी दिन्छौं । यसो गर्दा भाषा बोल्न छाडेका नेवार अभिभावकलाई राहत मिलेको छ ।’ त्यसै गरेर ठेचोस्थित नेवा: इंग्लिस स्कुलमा शिशुदेखि कक्षा ६ सम्म पढाइ हुन्छ । नेवारलगायत तामाङ, सुनुवार, क्षेत्री र अरू समुदायका विद्यार्थी रहेको प्रिन्सिपल नवीन ठेचोमीले जनाए । ‘विद्यालयको वातावरणअनुसार पढाउने माध्यम भाषाका रूपमा नेपालभाषा अपनाएका छौं,’ उनले भने ।
सुरुमा गैरनेवार बालबालिकालाई बुझ्न गाह्रो भए पनि विस्तारै बानी पर्ने बताए । उनले भने, ‘अरू विद्यालयमा पढाइने सबै विषय पढाउँछौं । आफ्नो छोरोछोरीले नेवार भाषा र संस्कृतिबारे जान्न पाएकोमा अभिभावकसमेत छन् ।’ निजी विद्यालयमा नेपालभाषालाई माध्यम भाषा तथा विषयका रूपमा पढाउने गरिएको छ । अभियानअन्तर्गतका विद्यालयले नेपालभाषालाई माध्यम भाषा र विषय दुवै अपनाएका छन् । पढ्ने विद्यार्थी मिश्रित जातजातिका छन् ।
‘अरू स्कुलले जसरी पढाउँछन्, त्यसरी नै अंग्रेजी पनि पढाउने हो र मातृभाषा पनि सँगसँगै सिक्ने, सिकाउने अभियान हो,’ अभियान संयोजक तुलाधर भन्छन्, ‘नेपालभाषा माध्यम भाषा र विषय दुवै हो । अंग्रेजी छाडेर मातृभाषा सिक्न आऊ भन्ने होइन ।’ विद्यार्थीले नेपालभाषा सिक्छ । नेवार जनजीवन, जात्रा, चाडपर्व, संस्कृति बुझ्छ । गीत गाउन, बाजागाजा बजाउन सिक्छ । स्थानीय बजारमा नेपालभाषामा व्यवहार हुने, मठमन्दिरमा पूजा देख्छन् । प्रभावकारी संस्कृतिले अन्य समुदायको ध्यानाकर्षण गराएकैले यसप्रति चासो बढेको शिक्षक बताउँछन् । अर्को थरी विद्यालयले नेपालभाषालाई एक विषयका रूपमा पढाउँदै आएका छन् । अभियानको अनुरोधमा सिद्धार्थ वनस्थली, सेन्ट जेभियर्स, रातो बंगला, मल्पी इन्टरनेसनल, भासरा लगायत निजी स्कुलले नेपालभाषा विषयका रूपमा पढाउँदै आएका छन् । विषयगत रूपमा नेपालभाषा पढाउने विद्यालयको सख्या काठमाडौं, बनेपा, टिस्टुङ, पोखरा, बन्दीपुरका गरेर १ सय ११ छन् । त्यस्तै, भारतको सिक्किममा नेपालभाषा पढाउने गरिएको छ ।
‘जति धेरै भाषा जान्यो उति फाइदा’
म काठमाडौंमा जन्मेको हुँ । कहिलेकाहीँ मेरी आमालाई भन्ने गर्छु– मलाई नेपाल भाषा सिकाएको भए कत्तिको राहत हुन्थ्यो । नेवार साथीसँग घुलमिल गर्न सजिलो हुन्थ्यो । म अहिले मेरो बच्चालाई प्रोत्साह गर्छु, तीन/चार भाषा सिक्नका लागि । जति धेरै भाषा जान्यो उति फाइदा हुन्छ । भाषासँग सभ्यता, संस्कृतिजस्ता धेरै जोडिएर आउँछन् ।
प्रत्येक सरकारी स्कुलले प्राइभेटजस्तो हुने भनेर अंग्रेजीबाट सिकाउन थालेको छ । शिक्षकलाई जबरजस्ती अंग्रेजीमा पढाऊ भनिएको छ । इंग्लिस मिडियम स्कुल र इंग्लिस स्कुल फरक हो । बच्चा स्कुलबाट निस्किँदै गर्दा अंग्रेजी र नेपाली त जानोस् नै । सँगै मैथिली जानोस् । नेपाल भाषा पनि जानोस् । दुई–तीन भाषा बोलेर आउन सक्ने होस् । –सांसद गगन थापा
‘सरकारी नीति कमजोर’
ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिकाकी उपाध्यक्ष सविता राई दरबारमार्गस्थित मोर्डन नेवा: इंग्लिस स्कुलको अवलोकनमा पुग्दा आश्चर्य लागेको बताइन् । ‘बोर्डिङ स्कुलमा मातृभाषाको माध्यमबाट पठनपाठन व्यवस्था गरेको देखेर खुसी लाग्यो,’ जनप्रतिनिधिमा चुनिनुअघि शिक्षिकासमेत रहेकी राईले भनिन्, ‘सरकारी विद्यालयमा नीति कमजोर छ । बालबालिकालाई मातृभाषामा पढाउँदा बढी प्रभावकारी हुने थाहा छ । तर, सरकारीमा बोर्डिङमा जस्तो बालबालिकालाई खेल्ने, सुत्ने, खाने अनि स्कुलमा आइरहन आकर्षित तुल्याउने वातावरण छैन ।’
प्रकाशित : चैत्र ३, २०७४ ०८:२६