गर्भावस्थामा के के कुरामा ध्यान दिनुपर्छ हेर्नुहोस्…

जीवनशैली स्वास्थ्य

काठमाडौ । महिलाको पेटमा गर्भ बसेपछि गर्भको संकेतको रुपमा शुरूको अवस्थामा वाक्वाकी लाग्ने, खान मन नलाग्ने, रिँगटा लाग्ने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखिन्छन् । गर्भावस्था महिलाका लागि संवेदनशील अवस्था हो । यो अवस्थामा तनाव लिने, ठाउँ परिवर्तन गर्ने, गरूङ्गो भारी उठाउने र बढी यौन सम्पर्क गर्नाले पनि तल्लो पेट दुख्ने र रक्तश्राव हुने लक्षण देखा पर्छन् ।

कसै कसैलाई सामान्य अवस्थामा पनि रक्तश्राव हुनसक्छ । यस्ता लक्षण गर्भमा रहेको भ्रुणको विकास हुन नसक्दा पनि देखिने संभावना हुन्छ । पहिलो तीन महिनासम्म यस्तो वाकवाकी लाग्ने समस्या लगातारजस्तै हुनसक्छ । तीन महिनापछि यो समस्या आफैं बन्द भएर जान्छ । गर्भावस्थामा शरीरमा रहेका हर्मनमा परिवर्तन आउने हुनाले यस्ता लक्षण देखिने हो । यस्तो अवस्थामा गर्भ तुहिने खतरा पनि हुन्छ ।

गर्भवतीको सुजर गरिएको छ भने सामान्य समस्या ठीक भएर जान्छ । तर गर्भको ३८ हप्तापछि सुजर काट्नु पर्छ किनभने ३८ हप्तापछि जुनसुकै समयमा पनि गर्भवती सुत्केरी हुन सक्छिन् । यस्तो अवस्थामा गर्भवती महिलालाई नियमित जाँच गराउनु पर्छ । गर्भावस्थामा महिलालाई रक्तअल्पता हुने सम्भावना बढी हने हँुदा आइरन चक्की, फोलिक एसिड र बी कम्प्लेक्स खानुपर्ने हुन्छ । खानामा आइरन तत्व भएका खाना खाने, त्यसैगरी फलफूल खाने, हरियो सागपात, गेडागुडी, प्रोटिनयुक्त खाना र माछामासु खाने गर्नुपर्छ ।

गर्भावस्थामा उच्च रक्तचाप पनि हुनसक्छ । उच्च रक्तचापमा गर्भवतीको स्वास्थ्यमा निकै ध्यान दिनुपर्ने हुन्छ । उच्च रक्तचाप भयो भने आमा र बच्चा दुवैलाई खतरा हुनसक्छ । यस्तो अवस्थामा उच्च रक्तचाप कम गर्ने औषधि सेवन गरी आराम गर्नुपर्छ । अन्यथा आमा र बच्चा दुवैको ज्यान पनि जान सक्छ । कुनै कुनै गर्भवतीलाई ३४ हप्ता अगाडि नै रक्तश्राव हुनसक्छ । साल पाठेघरको मुखमा आएर बस्यो भने यस्तो अवस्था उत्पन्न हुनसक्छ । यो समयमा आपतकालीन शल्याक्रियासमेत आवश्यक पर्नसक्छ ।

१८ वर्षभन्दा कम र ३५ वर्ष भन्दा बढी उमेर छ भने पनि यस्ता समस्याहरु देखा पर्न सक्छन् । गर्भवतीको उमेर कम वा बढी भएमा खतरा बढी हुने भएकोले शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

महिलाले आफ्नो स्वास्थ्यको आफैं ख्याल राख्नुपर्छ । गह्रौ वस्तु नउठाउने र सामान्य काम गरे पनि शरीरलाई असर पार्ने गरी अप्ठेरो काम गर्नु हुँदैन । खाना आइरन, प्रोटिनयुक्त र सन्तुलित हुनुपर्छ ।

पानीकै कारण, जन्डिस, पखालाजस्ता समस्यासमेत देखिने संभावना भएकोले पानी उमालेको मात्रै पिउँनुपर्छ । गर्भावस्थामा जन्डिस भएमा धेरै खतरा हुन्छ । गर्भावस्थाको जन्डिसले बच्चालाई खासै असर नगरेपनि आमालाई खतरा हुन्छ । हेपाटाइटिस बी भएमा त रक्तश्रावका कारण आमाको मृत्यु नै हुनसक्छ ।

गर्भावस्थामा गर्भवती महिलालाई चाहिने प्रमुख कुरा पारिवारिक सहयोग हो । यस्तो वातावरणले गर्भवतीलाई मानसिक सन्तुष्टि मिल्छ । पारिवारिक सहयोग भएन भने गर्भवतीमा मानसिक चिन्ता हुने र खान मन नलाग्ने हुँदा रक्तअल्पता हुनसक्छ । त्यसैले श्रीमान्लगायत परिवारका सदस्यको हेरचाह र सद्भावले गर्भवतीलाई ठूलो मद्दत मिल्छ ।

गर्भावस्था हेमोग्लोविन, सुगर, युरिन, हेपाटाइटीस, एचआईभी, रक्त समूह सबै जाँच गर्नुपर्छ । यदि आमालाई एचआईभी पोजेटिभ छ भने बच्चालाई नेगेटिभ कसरी गर्ने भन्ने बिषय निकै गम्भीर समस्या हो ।

यस्तो अवस्थामा शल्यक्रियामार्फत् बच्चा जन्माउनु भन्दा सामान्य रूपमै बच्चा जन्माउनु पर्छ । महिलामा थाइरोइडको समस्या छ,छैन भन्ने कुरा पनि थाहा पाइराख्नुपर्छ । यदि थाइरोइड छ भने गर्भ खेर जाने संभावना हुन्छ । नियमित रुपमा गर्भ जाँच जरूरी कुरा हो । २८ हप्तासम्म एक एक महिना, २८ हप्तापछि दुई/दुई हप्ता र ३६ हप्तापछि एक/एक हप्तामा जाँचगराउनु राम्रो हुन्छ ।

 

Leave a Reply

Your email address will not be published.