यसरी बनाउनुस् जाडोमा चिसो फाल्ने खसीको खुट्टाको सुप

स्वास्थ्य

काठमाडाैं । खसीको खुट्टाको सुप चिसोमा निकै रुचाइने रेसिपी हो । राम्रोसँग बनाएर खाँदा यसले शरीरको चिसो फाल्छ । सुपको रूपमा त्यसै खाने चलन भए पनि यसलाई खानासँग समेत खान सकिन्छ । घरमै सजिलै बनाउन सकिने यो परिकार बूढाबूढी तथा बिरामीका लागि पनि उपयोगी हुन्छ :

आवश्यक सामग्री/प्रतिव्यक्ति

-पिस बनाइएको एउटा खसीको खुट्टा ।
-थिचेको अदुवा २० ग्राम ।
-थिचेको लसुन ३० ग्राम ।
-थिचेको हरियो खुर्सानी दुई पिस ।
-छाँटा मुगी १०० ग्राम ।
-नुन स्वादअनुसार ।
एक चिम्टी ज्वानो ।
-ठूलो एक चम्चा बटर ।
-पानी एक बाउल ।

पकाउने तरिका

आगोमा कुकर बसाल्नुहोस् र बटर राख्नुहोस् । बटर हल्का तातेपछि ज्वानो पड्काउनुहोस् । खसीको खुट्टा राख्नुहोस् र भुट्नुहोस् । थिचेर तयार पारेको लसुन, अदुवा र खुर्सानी पनि हाल्नुहोस् र भुट्नुहोस् । तत्कालै मुगीको दाल पनि राखेर सँगै भुट्नुहोस् ।

दुई–तीन मिनेट भुटेपछि एक बाउल पानी राख्नुहोस् । स्वादअनुसार नुन राखिदिनुहोस् । अरू कुनै मसला खासै आवश्यक पर्दैन । अब कुकरको बिर्को बन्द गरेर तीन–चार सिट्ठी लगाइदिनुहोस् । आगो बन्द गरेपछि एकछिनसम्म रहन दिनुहोस् । अब खसीको खुट्टाको सुप खानका लागि तयार भयो ।

Leave a Reply

Your email address will not be published.