प्रदेश नं.१ को नाम किरात नै रहनेछ : प्रचण्ड

राजनीति

लिभु संवाददाता
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रदेश नं.१ को नाम किरात नै रहने बताउनु भएको छ । किरात राई यायोक्खाको ३१औं स्थापना दिवसको उद्घाटन गर्दै मंगलबार उक्त विचार व्यक्त गरेका हुन् । ‘नेपालको इतिहास किरात विना सम्भव छैन,’ मुलुकको इतिहास र सभ्यतामा यलम्बरसँग जोडिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘किरात शब्द इतिहास, सभ्यता, संस्कृति र जीवन प्रणालीसँग जोडिन्छ । त्यसैले एक नम्बर प्रदेशको नामाकरण किरात नै हुनुपर्छ भन्नेबारे पार्टी र सरकारमा गम्भीर रुपमा छलफलमा छौं । प्रधानमन्त्रीसँग सोच मिलेनको महसुस गरेको छु ।’
मुलुकमा लामो समयसम्म सामन्ती शासकले उत्पीडन गरेविरुद्ध भएको जनयुद्धमा हजारौंले ज्यानको बलिदान गर्नुपरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले मधेस, पहाड र हिमाल मिलेर गरेको संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताए । ‘बाइसे, चौबिसे राज्य नामेट पार्न सफल पृथ्वीनारायण शाह त ओल्लो किरात, माझकिरात र पल्लो किरातलाई मान्न बाध्य भए भने हामी कम्युनिस्टले नेपाली सभ्यतासित जोडिएका किरातलाई कदापि मेट्ने छैनौं,’ किराती समुदायको बृहत् जमघटनामा उनले उहाँ भन्नुभयो, ‘यदि कसैले किरातको अपव्याख्या, अपमान गरे म तपाईहरुको साथमा रहेर लडिरहनेछु ।’
त्यसैगरी संघीय संसदका सांसदहरु सुरेशकुमार राई, हेमकुमार राई, प्रमिला राईलगायतले प्रदेश नं.१ लाई किरात नामाकरणको पक्षमा विचार व्यक्त गर्नुभएको थियो । यायोक्खाका अध्यक्ष तिलक राई र सल्लाहकार दुर्गा राई, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याललगायतले बोल्नु भएको थियो ।

त्यस अवसरमा विद्यावारिधिप्राप्त मन्दिप राई, सगरमाथा आरोही गजुरमान राई र राई समुदायको पहिलो महिला पाइलट सृष्टि राईलाई सम्मान गरिएको थियो । त्यसैगरी पत्रकार जनकऋषि राईलाई ‘धनकेशर अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । पुरस्कारको राशि २७ हजार रुपैयाँ रहेको छ । रीता राराहाङलाई आठहजार रुपैयाँको ‘दुर्गादेवी–मोहनसिंह भाषिक पत्रकारिता’ पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कार मंगलबार ललितपुरमा आयोजित संस्थाको ३१औं स्थापना दिवसका अवसरमा प्रदान गरिएको हो ।
त्यसैगरी अनुसन्धाता डा. खगेन्द्रबहादुर राईलाई ‘मदनश्वरी राई स्मृति पुरस्कार’ प्रदान गरिएको छ । चाम्लिङ भाषाका लेखक विजय बलम्तालीलाई ‘छत्रविष्णु राई कृति सम्मान’ र गायक तथा संगीतकार राजुएन राईलाई ‘किराया संगीत पुरस्कार’ दिइएको छ । पुरस्कार राशि जनही १५ हजार रुपैयाँ रहेको छ ।
यायोक्खाका महासचिव जीवन हाताचो राईका अनुसार विभिन्न १८ वटा फरक अक्षयकोषबाट विधागत रुपमा प्रतिभालाई पुरस्कृत तथा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । ‘यो वर्ष ३ लाख २१ हजार ५ सय रुपैयाँ राशिको पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको छ,’ उहाँले भन्नभयो । विद्यालय तहदेखि स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । जसमा रोजिना राई र संकल्प राईलाई ‘ज्योति केसी अपाङ्गता छात्रवृत्ति’ प्रदान गरिएको थियो । त्यस अवसरमा किरात राई सांस्कृतिक कलाकार संघका कलाकारले पहिचानका गीत गाएका थिए भने खेलाडी किरण राईले गिनिज बुक अफ वल्र्ड रेकर्डका निम्ति ‘खुकुरी नाच’ प्रदर्शन गरेका थिए ।

फोटो क्याप्सन : किरात राई यायोक्खाको ३१औं स्थापना दिवसमा सम्मानित लेखक तथा पत्रकारहरु ।
तस्बिर : गणेश राई

Leave a Reply

Your email address will not be published.