प्रधानमन्त्रीले बोलाए सातै मुख्यमन्त्रीलाई सिंहदरबार

प्रदेश मुख्य समाचार राजनीति समाचार

लिभु संवाददाता

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दैछन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे प्रदेश सरकारका समस्याबारे प्रधानमन्त्रीले मुख्यमन्त्री र प्रदेशका प्रमुख सचिवसँग छलफल गर्न लागेका हुन्।

प्रदेश सरकारका प्रतिनिधिहरुले सरकार सञ्चालनका लागि असुविधा झेलिरहेको गुनासो गरिरहेका बेला प्रधानमन्त्री ओलीले छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको निम्तोमा प्रदेशका मुख्यमन्त्री र उच्च अधिकारी काठमाडौं आइपुगेको र अहिले बिहान ११ बजे छलफल हुने जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले उनीहरुसँग सामूहिकरुपमा छलफल गरी प्रदेश सञ्चालनमा उत्पन्न समस्या, पूर्वाधार विकासको अवस्थालगायत विषयमा जानकारी लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रदेश सरकारले बनाउनुपर्ने कानूनबारेसमेत छलफल हुने बताइएको छ ।

प्रदेशसभा र त्यहाँको सरकार सञ्चालनमा कर्मचारी अभावसमेत उत्तिकै देखिएको छ । खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि बुधबारको बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल हुने स्रोतले जनाएको छ ।

सातै प्रदेशमा प्रदेश सरकार गठन भइसके पनि स्रोत साधन र ऐन कानूनको अभावमा रुमल्लिएका छन् । मुख्यमन्त्री र मन्त्रीहरुले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् भने कतिपय मन्त्रीलाई दिने गाडीसमेत छैन । यही समस्याका बीच बुधबार हुन लागेको छलफलले जारी अन्योलता हल गर्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published.