प्रतिष्ठानको कुलपतिमा उप्रेती नियुक्त

कला साहित्य -संस्कृति

लिभु संवाददाता
काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पुन: गंगाप्रसाद उप्रेती नियुक्त गरिएका छन् । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आइतबार उप्रेतीलाई चार वर्षका लागि नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीले उप्रेतीलाई आइतबार पद तथा गोपनीयताको सपथग्रहण गराउनु भयो ।

त्यसैगरी प्रतिष्ठानको सदस्यमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरिएका छन् । उप्रेतीले उपाध्यायलाई आइतबार नै पद तथा गोपनीयताको सपथ गराउनु भयो । नवनियुक्त सदस्यसचिव उपाध्याय नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुलसचिव हुनुहुन्थ्यो । उहाा यसअघि प्रज्ञा प्रतिष्ठानको दुई कार्यकालमा प्राज्ञ सभाका सदस्य हुनुहुन्थ्यो ।

प्रज्ञा प्रतिष्ठान बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक नेपालका सबै भाषा, साहित्य तथा संस्कृतिलाई संरक्षण, सम्वद्र्धन र विकास गर्ने निकाय हो । प्रज्ञा प्रतिष्ठान ऐनअनुसार प्रधानमन्त्री प्रमुख संरक्षक, संस्कृति मन्त्री संरक्षक रहन्छन् । प्रधानमन्त्रीले नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रसँग सम्बन्धित विशिष्ट व्यक्तिहरुमध्येबाट समावेशीताका आधारमा प्रतिनिधित्व हुने गरी मनोनीत गरेको पैंतीस सदस्यीय प्राज्ञसभाको व्यवस्था रहेको छ । त्यसमध्ये कुलपति, उपकुलपति, सदस्यसचिव र आठ सदस्यसहित ११ सदस्यीय कार्यकारी प्राज्ञ परिषद् रहने व्यवस्था छ ।

ऐनअनुसार सरकारले संस्कृति मन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा तीन सदस्यीय पज्ञा प्रतिष्ठान पदाधिकारी सदस्य छनोट समिति गठन गरेको जनाइएको छ । समितिका सदस्यमा प्राध्यापक कैलाशनाथ प्याकुरेल र प्राध्यापक मोहनप्रसाद मैनाली छन् । उक्त समितिको सिफारिसमा कुलपति र एक सदस्य मनोनित गरेको हो ।

नवनियुक्त कुलपति उप्रेतीको यो दोस्रो कार्यकाल हो । यसअघि चार वर्षे कार्यकाल गत भदौ २३ गते सकिएको थियो । गणतन्त्र घोषणापछि बैरागी काइँला कुलपति र उप्रेती उपकुलपति भएर काम गरेका थिए । उप्रेतीलाई प्रधानमन्त्री केपी ओलीनिकट भएकाले तेस्रो कार्यकालका निम्तिसमेत पुन:नियुक्ति गरिएको हो ।

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका इवा गाउँमा वि.सं.२००४ फागुनमा जन्मिएका उप्रेतीले नेपाली विषयमा स्नातकोत्तर र बिएल हासिल गरेका छन् । उप्रेतीको तीनवटा समालोचना संग्रह, तीनवटा नियात्रा संग्रह, एउटा निजात्मक निबन्ध संग्रह, एउटा कविता संग्रह, एक व्यक्ति केन्द्रित समालोचना र दुईवटा विदेशीलाई भाषा सिकाइ पुस्तक (नेपाली र अंग्रेजी) कृति प्रकाशित छन् । त्यसका अलावा शब्दकोशलगायत दर्जनभन्दा बढी कृतिको सम्पादन गर्नुभएको छ ।

उप्रेती सन् १९९९ मा स्थापित चीन अध्ययन केन्द्रको संस्थापक कोषाध्यक्ष र हालम्म सोही पदमा हुनुहुन्छ । उनले ‘आजको तिब्बत’ पत्रिकासमेत सम्पादन गरेका थिए । उप्रेतीलाई चीनविज्ञका रुपमा लिइन्छ । उप्रेतीले प्रतिष्ठानको दुई पटक नेतृत्वकालमा चिनियाँ एकेडेमी, भारतीय एकेडेमी, पाकिस्तान एकेडेमी, बंगलादेश एकेडेमीसित सहकार्य गरेका जनाए । ‘भारत, चीन, नेपाल, पाकिस्तान, श्रीलंका र बंगलादेश संस्थापक रहेर ‘साउन एसिया लिटरेचर फोरम’ गठन गरेका छौं,’ उहाँले भन्नुभयो, ‘त्यसको पहिलो सम्मेलन चीनमा भयो भने अब नेपालमा हुनेछ ।’

प्रशासनिक अनुभव
प्रतिष्ठानका नवनियुक्त कुलपति उप्रेती त्रिभुवन विश्वविद्यालयअन्तर्गत विश्वभाषा क्याम्पसको प्रमुखका रुपमा २०४६ सालअघि र पछि गरी करिब तीनवर्ष काम गर्नुभएको थियो । त्यसपछि चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पताल ऐन जारी भएलगत्तै कार्यकारी अध्यक्षका रुपमा चार वर्ष काम गर्नुभयो । चीन सरकारको सहयोगमा निर्मित अस्पतालको स्थापना र स्तरवृद्धिमा महत्वपूर्ण काम गरेको उप्रेतीको दावी छ । ‘हामीले १५ वर्षे योजना बनाएर दक्षिण एसियाको नमुना अस्पताल बनाउने प्रयास गरेका थियौं,’ उहाँले भन्नुभयो । उतिखेर सय शैया रहेका थिए र चीनसितको दौत्य सम्बन्धमा दुई वर्षमा १६ जना चिनिया डाक्टर आएर सेवा प्रदान गर्ने सहमति गरेको उहाँ सम्झिनु हुन्छ ।

त्यसैगरी उप्रेती राजधानीको डिल्लीबजारस्थित सगरमाथा मल्टिपल कलेजको संस्थापक प्रिन्सिपल तथा अध्यक्ष रहेको काम गर्नुभएको थियो । मुलुकमा गणतन्त्र घोषणापछि २०६६ सालमा सरकारले नयाँ ऐन तर्जुमा गरेसँगै नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति बैरागी काइँला र उपकुलपतिमा उप्रेतीलाई चयन गरेको थियो ।

अबको योजना
‘म हिजो पार्टीकै मान्छे हो, तर प्रज्ञा प्रतिष्ठान सबैको पार्टी, प्राज्ञिक व्यक्ति, भाषाभाषीको साझा हो,’ नवनियुक्त कुलपति उप्रेतीले भन्नुभयो, ‘प्रतिष्ठान प्राज्ञिक संस्था बनाउने छु । संविधान, ऐनअनुसार समावेशी टिम बन्छ । सबै विचारधाराको प्रतिनिधित्व हुनेछ । त्यसनिम्ति सरकारले उन्नत विचार, राम्रो छवि भएका व्यक्तिलाई नेतृत्व चयन गर्नेछ भन्ने ठानेको छु ।’

भूकम्पपछि प्रज्ञा भवन रेट्रोफिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । भारतको सहयोगमा तीनतले पुस्तकालय भवन निर्माण सम्पन्न भएको र उक्त भवनको भूइतलामा अत्याधुनिक प्रेस मेसिन सञ्चालन हुँदैआएको छ । ‘अबको प्रतिष्ठानको बनेको कार्ययोजनाले निरन्तरता पाउनेछ,’ उहाँले भन्नुभयो, ‘प्रशासनिक भवन निर्माण, साहित्यिक संग्रहालय, डिजिटलाइज पुस्तकालय, अध्ययन, अनुसन्धानका निम्ति व्यवस्थापनलाई प्राथमिकता राखेको छु ।’

Leave a Reply

Your email address will not be published.