मदनमणि दीक्षितको विचार ‘किरात वंशको इतिहास र लिपिसम्बन्धी केही कुराहरु’

कला साहित्य -संस्कृति
किरात वंशको इतिहास र लिपिसम्बन्धी केही कुराहरु
– मदनमणि दीक्षित
आजभन्दा अनुमानतः पन्त्रसय वर्ष जति पहिले लेखिएको अमर कोशले विद्याधरो–प्सयोरक्ष रक्षो गन्धर्व किन्नरा : पिशाचो गुह्यकः सिद्धो भूतोऽमी देवयोनयः । भनेर उत्तर वैदिक कालदेखि वैदिक वाङ्मयमा असुर, देव, दानव र दैत्य भनी गरेको विभाजनभन्दा पृथक् ‘देवयोनी’का जातिको कोटिमा ती दस मानव समुदायलाई राखेको छ । त्यसो गर्दा पछि गएर फेरि अमरकोशले नै “भेदाः किरातशवरापुलिन्दा म्लेच्छजातयः” भनेर किरात, शवर, पुलिन्द र भेदहरुलाई देव, असुर, दानव, दैत्य, राक्षस वा पिशाचभन्दा पृथक् म्लेच्छ जातिको समष्टिमा राख्यो । म्लेच्छ भनेर वैदिक व्यतिरेक जनसमुदायलाई पछि गएर भन्ने गरियो ।
No photo description available.
म्लेच्छका उत्पत्ति र विकासबारे पृथक् वा बृहत् अध्ययन गरिनुपर्छ । गाईको मासु खानेलाई पुराणहरु र महाभारतले समेत केही ठाउँमा मात्र ‘म्लेच्छ’ भनेको छ । महाभारतमा आर्य मानिएका पुरुका पिता ययातिका दुई छोरा म्लेच्छ हुन पुगेको उल्लेख छ यद्यपि महाभारतले भेद, शवर, पुलिन्द वा किरात वा पिशाचलाई म्लेच्छ भनेको भने छैन ।
किरातबारे सुरुमा तैत्तिरि ब्राह्मण ३/४/१२/१ बाजतैतिरियसंहिता ३०/१६ र अथर्ववेद १०/४/१४ मा उल्लेख भएको देखिन्छ । अथर्ववेदले कैरातिका कुमारीका सब्याखनतिभेषजम् हिरण्मभिर्य रभृभिर्गिरिणा मुय सानुष (सव्या कुमारी किरातहरुका देशमा अवस्थित छ । सुवर्ण औजारद्वारा पर्वत शिखरमा तिनीहरु जडीबुटी खन्छन् ।) भनी प्रष्टै किरातहरुबारे उल्लेख गरेको छ । बाजसनेयीसंहिता र तैत्तिरिय ब्राह्मणले किरातहरुलाई पर्वतका गुफाहरुमा बस्ने ‘गुफावासी’ जनसमुदाय भनेको छ । पछि गएर किरातहरुका वासस्थान भनी पूर्वीय नेपाली पहाडको उल्लेख गरिएको छ । त्यसबाट पहाडवासी सबै जनसमुदायलाई किरात भन्न खोजिएको भान हुन्छ । मानव धर्मशास्त्र ‘मनुस्मृति’ले किरातहरु धर्मबाट भ्रष्ट भएका क्षेत्रीय भनेको छ ।
पञ्चविंश ब्राह्मणमा रहेको असमातिनामक राजाका विरोधी दुई पुरोहित किरात र आकुलीबारे चर्चा छ । पञ्चविंश ब्राह्मण (१३/१२/५)मा त्यही शब्दलाई ‘किरात कुलम्’ भनेको बाट किरातका आठ कुल भन्ने अर्थ भनी विख्यात वैदिक अध्येता सायणाचार्य (अकबरकालीन) ले भनेको छन् । बृहद्देवता नामक विख्यात प्राचीन ग्रन्थ (वेदका अर्थ लगाउने ग्रन्थ)ले पनि किरात आकुलीलाई किरातका आठ कुल भन्ने अर्थ लगाएको छ किनभने शतपथ ब्राह्मण (याज्ञवलक्य रचित)ले किरात कुली भनी सो शब्दको पाठ दिएको छ । ‘शाढनायन्क’ ब्राह्मण र सायणले तथा ‘जैमीनीय ब्राह्मण’ले ऋगवेद १०/५७/१/६०/१ का अर्थ गर्दा पनि त्यसै गरेका छन् ।
सूर्यकान्तद्वारा सम्पादित ‘वैदिक कोश’ (प्रकाशित १९६३) ले वाजसनेयीसंहिता (२०/१६) तैत्तिरिय ब्राह्मणमा २.४.१५.१ का अर्थ
लगाउँदै किरातलाई गुफावासी भने तापनि कुनै पनि पर्वतीय समुदाय भनेका छन् ।
ऋगवेदमा किरात भन्ने शब्द नै नरहनुमा आश्चर्य छैन । ऋगवेदका ऋषिहरुले किरातलाई असुरअन्तर्गतको समुदायमा राखे । ऋगवेदमा बारम्बार शम्बर भन्ने शब्द आएको छ । शम्बर किरातहरुको राजा थियो तथापि त्यसलाई असुर भन्ने गरियो । यक्षहरु आजका याक्खाझै किरातका शाखा थिए वा किरातहरु नै यक्षका शाखा थिए भन्ने प्रश्नलाई जवाफ दिनु गा¥हो छ ।
महाभारतको मुख्य विषय कौरव र पाण्डव दुई परिवार (वा दुई पृथक् कुलका दुई परिवार ? केही भारतीय विद्वान्ले कौरव र पाण्डवलाई पृथक् कूलका रुपमा मान्न थालेका छन्) बीच कुरुक्षेत्रमा भएको युद्ध हो । तथापि तुलनात्मक आधुनिक अध्ययनबाट देखिएअनुसार यहाँ शास्त्रमा ऋगवेदमा उल्लेख भएका मात्र होइनन् । त्यहाँ उल्लेख नभएका घटनाहरु लगायत ऋगवेद पूर्वका अति प्राचीन घटनाहरुबारे पनि जनश्रुतिका आधारमा उल्लेख भएका छन् ।
पहिले ‘जय’ (कृष्ण द्वैपायनले आफ्ना शिष्यहरुलाई सुनाएको श्लोकबाट कथा, त्यसपछि व्यासशिष्य वैशम्पायनद्वारा अर्जुनका पनाति राजा जनमेजयलाई यज्ञमा सुनाएका ‘भारत’ र अन्त्यमा गौतमबुद्ध पछि कृष्ण द्वैपायनले लेखेका भनी नैमिषारण्यमा मुनिहरुलाई सुनाउँदा ‘महाभारत’मा परिणत भई अन्दाजी आठसय वर्षसम्म थपघट गरिँदै आज उपलब्ध महाभारतको बृहत् पाठमा प्रशस्त मात्रामा वैदिक वाङ्मयमा समेत चर्चा नपाएका घटनाहरुका विवरण पाइन्छन् । पछिल्लो बृहत् काव्य महाभारतमा समेत उल्लेख नपाएका अति प्राचीन समयका केही घटनाको उल्लेख इ.पू. २०० देखि सन् ११०० मा लेखिएका पुराणहरुका आधुनिक पाठहरुमा चर्चित भएका छन् । यद्यपि पुराणहरुले प्राचीन मिथकहरुमा अनुमान र स्वैरकल्पना थपेका देखिन्छन् ।
यसरी हेर्दा यो हिमाली उपमहादेशका अतिप्राचीन इतिहासका घटनाहरु बीजरुपमा तर त्यसका नजिक रहेका विषय हुन् भन्ने विश्वास गर्नुपर्ने देखिन्छ । त्यसै कारण महाभारतका स्रष्टाले रामायणलाई वाल्मीकिले काव्य भनेझै काव्य नभनी इतिहास (इति+ह+आस, निश्चय नै यस्तो भएको थियो) भन्ने गरे ।
महाभारतको वन पर्वमा ‘कैरात पर्व’ को नाउँले ३८ देखि ४१ अध्याय गरी ४ अध्याय छन् । यी चार अध्यायमा अर्जुन र किरात भेषधारी किरातेश्वर पशुपति शङ्करबीच युद्ध भएको र त्यसमा अर्जुनको वीरताबाट प्रसन्न भई किरातेश्वर पशुपतिले अर्जुनलाई आफ्नो अमोघ शक्तिशाली पाशुपतास्त्र प्रदान गरेको विवरण छ । यो विवरणमा सन्निहित इतिहासबारे जे भनिए तापनि महाभारतले किरात समुदायको अति प्राचीनतालाई स्वीकार गरेको प्रष्ट छ ।
अर्जुन र किरातेश्वरबीचको त्यो युद्धबारे सन् ५५० का भारविले आफ्नो ‘किरातार्जुनीयम्’ नामक विख्यात महाकाव्यमा लामो वर्णन गरेका छन् ।
प्राचीन किरात जातिबारे निकै पुराणहरुमा उल्लेख गरिएका छन् । तथापि प्राचीन पुराणहरुमध्ये भनिएको वायुपुराण (सन् १००/२००) मा चौध पटक किरातबारे उल्लेख भएको पाइन्छ ।
जाति उपजाति र प्रजातिबारे Tribes in the Mahabharat भन्ने काशीहिन्दू विश्वविद्यालयबाट विद्यावारिधिका निम्ति प्रस्तुत आफ्नो निकै नै महत्वपूर्ण शोधग्रन्थ (पछि पुस्तकाकारमा प्रकाशित) मा नेपाल महोत्तरीका डा. कृष्णचन्द्र मिश्रले पन्ध्र ठाउँमा विवरण दिएका छन् ।
इमानसिंह चेम्जोङले किरात जातिको इतिहास लेख्नुभएको छ तापनि मैले आजसम्म पढ्न पाएको छैन । त्यसकारण मेरो यो लेख अधुरो नै ठहरिनेछ । यहाँ विषय थियो किरातहरुको सिरिजङ्गा लिपि । मेरो मनमा प्रश्न उठ्छ– ऋगवेदमा बारम्बार उल्लेख भएका हिमालयको दक्षिणमा सम्भवतः पूर्व काश्मिरदेखि हरिद्वारसम्मका क्षेत्रमा १०० वटा गढ बनाई मध्य वैदिककालमा इन्द्र भनिएका राजा दिवोदास (अहल्याका दाजु) सित ४० वर्षसम्मको लामो युद्धमा लागेका किरात राजा शम्बरबारे पूर्णङ्क अध्ययन गर्नु आजको युगको बृहत् आव्हान हो । किरातहरु ऋगवेदको समयभन्दा पनि निकै पुराना हुन् । यक्ष राज (किरात राजा) कुवेरबारे पुराणहरुमा चर्चा छ ।
असुर, दैत्य, दानव वा म्लेच्छ भन्ने शब्दमा त्यो प्राचीन युग निम्ति महत्व थियो होला तर आज छैन । ती शब्दमा प्रकट घृणा त्यो प्राचीन युगको समाजको भाषा थियो । आज त्यो घृणामा कुनै अर्थ र महत्व छैन । अमरकोशले यक्ष र राक्षसलाई घृणाको त्यो भावबाट माथि उठाएर ‘देवयोनी’ भनेको माथि ध्यान दिनुपर्छ ।
यो हिमाली उपमहादेशमा ब्राह्मी लिपिलाई संस्कृत भाषाले उपयोग गर्दा सम्भवतः त्यो भन्दा पहिलेदेखि हिमालय र दक्षिणमा कम्तीमा ६ वटा प्राचीन प्राकृत भाषा र तिनका लिपिहरु थिए । केही भारतीय विद्वान्ले वाल्मीकिय रामायण सुरुमा प्राकृत भाषामा लेखिएको र पछि गएर मात्र संस्कृतमा अनुवाद गरिएको थियो भनी लेखेका छन् । संस्कृतका विख्यात कथा लेखक गुणाढयले आफ्नो अति महत्वपूर्ण कृति ‘बृहत् कथा’ प्राकृतको एउटा प्राचीन शाखा रहेको पैशाची भाषामा पहिले लेखेका थिए । किरातहरुको बसोबास क्षेत्र रहेको हिमालयको पश्चिम र उत्तरमा दरद, पिशाच, खस, यक्ष, गन्धर्वहरुका शाखाहरु फैलिएका थिए ।
जातीय पार्थक्यको प्रश्नलाई किरातहरु मङ्गोल उत्पत्तिकै हुन् भन्ने आधारबाट नै हेर्ने हो भने पनि ऋगवैदिक आर्यहरुले हिमाली उपमहादेशमा प्रवेश गर्नेभन्दा पहिलेदेखि हिमालयक्षेत्रमा किरातजाति थियो भन्नेलाई इन्कार गर्न सकिन्न । त्यसको यक्ष ‘याक्खा’ शाखाका धनपति लक्ष्मी उपासक कुवेरको वैभव र किरातेश्वरसमेत भनिएका महादेव र हिमालयका राजा हैमवत र तिनकी छोरी उमा, पार्वती, मेना आदि नै किरातकी देवी सुम्निमा हुन कि भन्ने प्रश्नको अन्तिम ठहर गर्नु बाँकी छ । पुराणहरुले देवताहरुको वासस्थान रहेको अमरावती र किरात यक्षराज कुवेरको राजधानी रहेको अलकापुरी दुवैका वैभव र विशालताबारे मनग्गे चर्चा गरेका छन् ।
अतः किरात लिपिको प्रथम आविष्कर्ता, त्योसिरिजङ्गा# थिए भन्नु युक्तिसङ्गत देखिँदैन । लिपि भनेको आविष्कार हुने विषयह होइन । कुन कुन कारण र प्रक्रियाबाट कुनै लिपिको उद्भव र विकास हुन्छ भन्ने बारे मलाई थाहा छैन । तर लामो दीर्घ कालखण्डमा लिपिको नि(वि?)कासै हुन्छ भन्ने त निश्चय नै छ । प्राचीन पैशाची भाषाको लिपि के थियो ? थाहा छैन । तर लिपि बेगर त्यो भाषाले पूर्व वैदिक कालदेखि गुणादत्त (सन् ६००–७००) सम्म आफ्नो अस्तित्व कायम राख्न सकेको थियो । तिब्बत र हिमाली क्षेत्र छिमेकी हुन् तापनि तीनका बीच मानवीय सम्बन्धको मात्र होइन कि तिब्बतमा मानव बसोबास पछिल्लो युगको कथा हो । अतः किराती लिपिले बरु तिब्बतीय लिपिको विकासमा प्रभाव पा¥यो होला । के हुन सक्छ भने किरात लिपि पैशाची भाषाको लिपिसित मिल्दो हो अथवा प्राचीनतम कालमा ती दुवै एउटै लिपि रहेका पनि हुन सक्छन् । लुप्त हुँदै गएको पैशाची लिपिलाई त्योसिरिजङगाले किरात लिपिको रुपमा सन् ९०० तिर उद्धार गरेका हुन् कि ? सघन अन्वेषणको विषय यो हो ।
यक्ष र किरात बारे यहाँ केही सामान्य चर्चा गर्नु उपयोगी हुनेछ । प्रसिद्ध केनोपनिषद्मा कुनै अदृष्य पराभौतिक आध्यात्मिक तत्वको रुपमा यक्षबारे उल्लेख छ । त्यो उल्लेखसँगै उमा हैमवतीले यसबारे संक्षेपमा संकेत गरेर आध्यात्मिक कुरा गरेकी छिन् । यस्तै महाभारतको वन पर्वको अन्त्यमा युधिष्ठिर सामु यक्षले प्रश्न गर्छ । त्यो यक्ष भित्रको उस्तै चरित्र ‘स्पिङ्कस’ सित मिल्दोजुल्दो देखिन्छ । महाभारतमा यक्षले पराभौतिक चरित्र धारण गरिसकेर पूजा आराधनाको केन्द्र यक्ष चैत्यमा परिणत भएको देखिन्छ । साथै पटना (भारतको) विख्यात म्युजियमको मूल प्राङ्गणमा चन्द्रगुप्त मौर्यकी भार्याकी सुसारेको रुपमा रहेकी यक्षणीको अति सुन्दर अर्धनग्न मूर्ति राखिएको देखिन्छ । ठीक त्यस्तै अर्को मूर्ति नयाँ दिल्लीको केन्द्रीय सङ्ग्रहालयमा पनि छ । यी सबैबाट के भन्न सकिन्छ भने अमरकोशबाट यहाँ सुरुमा उद्धृत गरिएका ती यक्ष जाति यो हिमाली उपमहादेशमा आर्य आगमनभन्दा पहिलेका हिमालीवासी अति नै प्राचीन जातिहरु थिए । ती जातिमा रहेका यक्षहरुलाई नै पछि गएर किरात आदि भन्न थालियो ।
माथि उल्लेखित किरातका आठ कुल आज पनि आठाप्रे राईको रुपमा विद्यमान रहेका सावित भएमा आश्चर्य मान्नु नपर्ला । यक्षाधिराज कुवेरलाई मिथकपूर्वका ऐतिहासिक समुदायका नेता मान्नमा गा¥हो नपर्ला । विद्याधर, अप्सरा, यक्ष, रक्ष, गन्धर्व, किन्नर, पिशाच, गुह्यक सिद्ध र भूतहरुमध्ये वर्तमान नेपाली पर्वतमा यक्ष (याक्खा = किरात) मात्र बाँकी रहेका देखिन्छन् । अन्य जाति समुदाय या त विलीन भए न नत्र खस जातिमा गाभिँदै गए । कुरु क्षेत्र युद्धमा पूर्व पर्वतीय इलाकाबाट ठूला सङ्ख्यामा हात्तीयुक्त सेना लिएर राजा भगदत्त सम्मिलित हुन आएका थिए । ती भगदत्त आजका थारु जातिका थिए कि ! थारु र हात्तीको बीच आज पनि एक प्रकारको समीकरण छ । पाल्तु हात्तीलाई लक्ष्मी देवीको आराधक मानेर यक्षहरु पूजा गर्ने गर्थे भन्ने कुरा कमलमा उभिएकी लक्ष्मीमाथि दुई हात्तीले आफ्ना सुँडद्वारा धन वा जल वर्षा गरिरेको दृश्यबाट प्राचीनतम कालबारे केही ज्ञान प्राप्त गर्न सकिन्छ ।
एकादश रुद्र र पशुपति किरातेश्वरबीच समीकरण गर्ने काम वैदिक युगपछि गरिएको हो । ऋगवेदका प्रमुख देवता इन्द्र थिए वा किरातेश्वर पशुपति महादेव यो हिमाली उपमहादेशका इन्द्रभन्दा पनि पहिलेका र सम्भवतः प्राचीनतम आराध्य पुरुष थिए ।
आर्यजनको आगमनभन्दा पहिले वैभवशाली र प्रतिष्ठित रहेको यक्ष अर्थात् किरात समुदायसित आफ्नो साङ्केतिक लिपि थिएन होला ? केही भन्न नसकिए तापनि त्येसिरिजङ्गा (सन् ९०० तिर) सम्म त किरात लिपि रहेकै हुनपर्छ । लिपिको आविष्कार होइन कि झन् प्राचीन कालदेखि विसित हुँदै आउँछ । सिन्धु सभ्यतामा साङ्केतिक लिपि थियो । त्यो सभ्यताको उत्खनन् गर्दा पाइएको माटोको जस्तो मूर्तिलाई हेर्दा त्यो मूर्ति किरात व्यक्तिको थियो भन्नेलाई इन्कार गर्न मिल्दैन । अतः त्यो सैन्धव साङ्केतिक लिपिलाई हिमाली किरातीहरुले सैन्धव सभ्यताको विनाशपछि आफ्ना निम्ति कायम राखेका तर पछि गएर ब्राह्मी लिपिको उदय पश्चात् क्रमशः विलीन हुँदै गएका थिए जसलाई त्येसिरिजङ्गाले कसैगरी पुनरुद्धार गरेका थिए कि ?
अत्यन्तै गम्भीर, असम्भव जस्तै दुरुह शोधकार्यमा विश्लेषणात्मक तथा तुलनात्मक रुपबाट मात्र किरात लिपिबारे केही निश्चित कुरा भन्न सकिएला । तथापि यसबारे अध्ययन र शोधकार्यलाई भने कदापि पनि छोड्नु हुँदैन । काठमाडौँ उपत्यकामा पाइने गरुडका मूर्तिहरु सबैजसोका मुखाकृति किरातहरुसित मिल्दाजुल्दा छन् । लिच्छवि र त्यसपछिको इतिहासका चरणमा गरुडको रुपमा किरात कलाको अवशिष्ट रुप आज पनि देखिन्छन् भने प्राचीनतम कालको किरात लिपि पाइने नै छैन भनी ठोकुवा गरिहाल्नु अनुचित हुनेछ । काठमाडौँ उपत्यका र हिमाली पर्वतीय भेगमा भविष्यमा गरिने उत्खनन्ले दिन सक्ने प्रत्यक्ष वा परोक्ष प्रमाणलाई पर्खौँ ।
मधुपर्क, वर्ष ३५, अङ्क १, पूर्णाङ्क ३९६, जेठ २०५९ (May-June 2002), पेज ८ – १० ।
# नवौँ शताब्दीमा लिपि पुनःउत्थान गर्ने हाङ सिरिजङ्गा भने आठारौँ शताब्दीमा लिपि पुनःप्रयोग र प्रचार गर्ने त्ये़अङ्सी सिरिजङ्गा हुन् ।
यो आलेख प्राज्ञ अमर तुम्याहाङको फेसबुक वालबाट साभार गरिएको हो । सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *