साहित्यकार रसिकलाई प्रतिभा सम्मान र कवि मेन्याङ्बोलाई प्रतिभा पुरस्कार

कला साहित्य -संस्कृति

लिभु संवाददाता
काठमाडौं– नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ साहित्यकार, गायक तथा संगीतकार गणेश रसिकलाई ‘प्रतिभा सम्मान–२०२३’ प्रदान गरिएको छ । सम्मानको राशि ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।


यसैगरी कवि तथा पत्रकार प्रदीप मेन्याङबोलाई ‘प्रतिभा पुरस्कार–२०२३’ बाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशि १ लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ ।


नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँला र प्रतिष्ठानका पूर्वअध्यक्ष तथा युद्ध साहित्यका स्रष्टा गणेश राईले सोमबार (२०८० फागुन २८) काठमाडौंमा आयोजित समारोहमा भादगाउँले टोपी, फूलमाला, दोसल्लासहित उक्त सम्मान र पुरस्कार प्रदान गरेका हुन् ।

सम्मानित साहित्यकार रसिकका बारेमा वरिष्ठ पत्रकार तथा निबन्धकार देबेन्द्रराज भट्टराईले चर्चा गरेका थिए । यसैगरी कवि मेन्याङ्बोका बारेमा पत्रकार सीता मादेम्बाले चर्चा गरेकी थिइन् ।

प्रमुख अतिथि काइँलाले नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले गायन, संगीत, लेखन, प्रशासनमा ख्यातिप्राप्त गणेश रसिकलाई सम्मान गरेर न्याय गरेको बताए । यसैगरी मुन्धुम अध्ययन र मुन्धुम मिथकलाई लिएर कविता सिर्जना गर्ने कवि मेन्याङ्बोले सम्मान पाउनु नयाँ पुस्ताका लागि सराहनीय पक्ष रहेको उल्लेख गरे ।

‘मुन्धुमको विभिन्न पक्षमध्ये यौन एउटा ठूलो कुरा हो, पहिला समाजले आमामात्रै चिन्थ्यो बाबु चिन्दैनथ्यो,’ आदिम युगको चर्चा गर्दै काइँलाले भने, ‘यिनै सामाजिक, सांस्कृतिक विषयलाई कविता र निबन्ध लेखनमा अघि बढ्दै गरेका नयाँ पुस्तालाई पुरस्कारले थप हौसला बढाउन सक्छ ।’

नेपाली साहित्य, संस्कृति क्षेत्रका विशिष्ट व्यक्तिव्यक्तित्वहरूको उपस्थिति रहेको समारोहमा प्रसिद्ध जागरण गीत ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’का सर्जक श्याम तमोटले शुभकामना व्यक्त गरेका थिए । साहित्यकार शशी लुमुम्बूद्वारा संचालित सभाको अध्यक्षता गरेका पूर्वअध्यक्ष गणेश राईले प्रतिष्ठानको लक्ष्य, उद्देश्यबारे चर्चा गरेका थिए ।
तस्बिर स्रोत : नेपाल मामिला

Leave a Reply

Your email address will not be published.