व्याकुल माइला बुबाको सम्झना- ठूले मास्टर

पत्रपत्रिका विचार / ब्लग

व्याकुल माइला

शनिबार, २५ फागुन २०७५, १२ : ००

राष्ट्रियगान छनोट कार्यदलले नयाँ राष्ट्रियगान छनोट गरी सरकारलाई हस्तान्तरण गरेको भोलिपल्ट बिहान अर्थात् २०६३ मंसिर १५ गते शुक्रबार बिहान ९ बजेतिर बुबाले गाउँको मितरीभञ्ज्याङबाट एसटिडी कल (फोन) गरेर खुसी जनाउनुभयो, छोरा, मैले अघि ७ बजेको समाचारमा खुसीको खबर सुनेँ। कूलको इज्जत राख्यौं, धन्यवाद छ। तिमीले गीत, कविता लेख्दा कराउँथेँ। तर, त्यसबाटै आज यत्रो राम्रो गर्याै। तिमीलाई कराएकोमा माफ गर है !

मलाई त उहाँले कराउनुभएको त्यस्तो कुनै सम्झना छैन अनि केको माफ ? बाउ–छोरा कुराकानी गर्याैँ। त्यस दिन बुबा खुसीको उत्कर्षमा हुनुहुन्थ्यो। पछि थाहा पाएँ, गीत लेख्ने कवि (गीतकार)लाई अनेक पीडा अनुभूति हुने हुँदा दुःखी बन्छन् भन्ने उहाँको बुझाइ रहेछ। त्यसैले छोरा दुःखी नबनोस् भन्ने चाहनाले गीत नलेख भन्नु हुँदोरहेछ। उसो त उहाँ आफैले पनि ०२२–२३ सालतिर रेडियो नेपालमा ‘पहाडी माटोमा जन्मेको, पहाडी माटोमा हुर्केको…’ बोल लगायतका केही गीतहरू आफ्नै कथनी र लयमा गाउनु भएको थियो रे।

राष्ट्रियगान लागू भएपछि २०६४ असोज ५ गते गृहजिल्ला ओखलढुंगामा संगीत, खेलकुद, समाजसेवा, राजनीति आदि विविध क्षेत्रमा क्रियाशील बहुप्रतिभाका धनी जुद्ध राई ‘ढाक्रे’ दाइको अग्रसरता र तत्कालीन प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहालज्यूको संयोजकत्वमा ‘व्याकुल माइला सम्मान मूलसमारोह समिति’ गठन भई बृहत् सम्मान कार्यक्रम आयोजना भयो। कार्यक्रममा बुबा पनि वक्ता हुनु हुँदोरहेछ। बोल्ने क्रममा, ‘मेरो छोरा प्रदीप किन व्याकुल माइला भयो भने उसको आमा ऊ दुई वर्ष हुँदा बित्यो। उसको आमाको सास गएर लास बनिसकेकी थिइन्। तर, ऊ भने आमालाई अँगालो मार्दै थियो। उसको आमाको लाम्टो चुस्दै थियो। आमा मरेको समेत थाहा नपाउने नाबालक…’ भाषण पूरा गर्नसक्नु भएन।

बुबाको भनाइ थियो, प्रदीप सानैमा टुहुरो बनेको कारण व्याकुल भयोे। मेरो दुर्भाग्य सानैमा आमा बित्नुभयो। त्यही कारण मलाई बुबा, हजुरआमा, बाँकी आमाहरू, काका–काकीहरू एवं सम्पूर्ण अभिभावक र अन्य आफन्तजनबाट सधैँ धेरै माया पाइरहेँ। मलाई मातृवात्सल्यको अभाव नहोस् भन्ने चाहना एवं प्रयास बुबाको हुन्थ्यो।

मेरी आमा ०३० सालतिर बित्नुभयो। त्यस बेला खेती–किसानी गर्ने क्रममा मूलघरभन्दा केही मास्तिर गोठ (ध्वाद्रे कटेरो)मा हामी स–साना दिदी–भाइ, आमा–बुबा र हजुरआमा थियौँ। एक बेलुकी करिब मध्यराततिर पूरै गोठै छ्याङ उज्यालो हुनेगरी रक्कास–वाणले झल्र्याम्म हामीलाई हाने छ। पुछ्रेताराजस्तै उड्ने आगोको ज्वाला जस्तो पिण्ड हो त्यो। आमा र हजुरआमा आत्तिँदै उठ्नुभएछ। लाग्नचाहिँ धन्न हामी कसैलाई पनि लागेन छ। उठेर चारैतिर हेर्नु भएछ, गाईवस्तुलाई पनि केही भएन छ। यसले मानिसको मुटुमै हान्छ र ठहरै बनाइदिन्छ रे।

बुबा गाउँमा काम परेको कारण स्कुलबाट त्यतै बास बस्ने गरी जानु भएछ। त्यो घटनामा तत्काल हामी कसैको प्राण नगए पनि भोलिपल्टबाट आमा बिरामी हुन थाल्नुभयो। त्यो बखत उहाँ ४–५ महिनापछि फेरि अर्को सन्तानको आमा हुने अवस्थामा हुनुहुँदोरहेछ। तर, रातको त्यस घटनाको भोलिपल्टबाट सुनिन थाल्नुभएछ। पर्सिपल्ट काठको ठूलो फल्याकलाई डुंगाजस्तो बनाएर दुधकोशीबाट उँधो तार्दै मूलघर लगिएछ। म दुधेबालक थिएँ। आमाको काखमा आमासँगै हुन्थेँ। आमा निको हुनसक्नुभएन। त्यसको ५–६ दिनमै परलोक हुनुभयो। त्यसरी बज्रपात हुँदाका ती दिन, घटना र आमाको मुहार मेरो कलिलो मस्तिष्कले सम्झन सक्ने कुरा भएन। तर, बुबाले ती दुःखद् क्षणहरू जीवनमा पलभर पनि बिर्सन सक्नुभएन। दिदी र मेरो मुहारमा आमाको प्रतिबिम्ब देख्नुहुन्थ्यो।

बुबाको सम्झनामा एउटा स्मृति ग्रन्थ तयार पार्ने कोशिसमा छौँ। त्यसैका लागि कुनै समयताका गाउँको महादेवस्थान स्कुल (हाल माध्यमिक)मा बुबा हेडमास्टर हुनुहुँदा सँगै सेवारत् वीरेन्द्रबजार धनुषा निवासी शिक्षक जगप्रसाद ठाकुर सरको दुई दिनअघि मात्र एक लेख इमेलमार्फत् प्राप्त भयो। हस्तलिखित लेखको केही हरफ यस्तो छ, ‘उहाँ प्रेरणाको स्रोत हुनुहुन्थ्यो। उहाँ कहिल्यै आफ्नो स्वार्थमा लाग्नुभएन। जहिले पनि संस्था र समुदायको हितमा चिन्तित देखिनुहुन्थ्यो। अनुशासित, वचनवद्ध, सहयोगी, निर्भिक एवं जनकल्याणकारी लोकप्रिय पात्र हुनुहुन्थ्यो। आफ्नो कर्तव्यप्रति निष्ठावान, कर्मप्रिय,  जस्तोसुकै परिस्थितिमा पनि सरल र सहज ढंगले समस्यालाई किनारा लगाउन सक्ने मानिस हुनुहुन्थ्यो। …ठूले मास्टर भनि चिनिनु हुने स्वर्गीय मानबहादुर राई गाउँ, समाज, समुदाय र देशप्रति जति हुरुक्क हुनुहुन्थ्यो, त्यति नै आदर सम्मान उहाँलाई गाउँ–समाजले पनि दिन्थ्यो।’

‘किरात वाम्बुले राई जाति र द्वार्वाङ्चा वंशावली’ नामक पुस्तक (२०६८ : ८४) मा लेखक अर्थात् मेरो काका अविनाथ राई लेख्नुहुन्छ, ‘मानबहादुर द्वार्वाङ्चा वंशको आदरणीय, अनुकरणीय र उदाहरणीय व्यक्तित्व हुन्। शिक्षाले अज्ञानतारूपी अन्धकार हटाउँछ भन्ने मान्यता अनुरूप परिवार र समाजको चरम असहयोगको वावजुद् पनि जिल्लाकै अत्यन्त दुर्गम भेगबाट पहिले जिल्ला सदरमुकाम त्यसपछि राजधानीमा शिक्षा र नर्मल (स्काउट) तालिम हासिल गरी शिक्षकको हैसियतले आफ्नो गाउँमार्फत् देशको सेवा गरे।’

उहाँ अगाडि लेख्नुहुन्छ, ‘शिक्षण पेशाबाट निवृत्त भएपछि उनी समाजसेवामा लागेका छन्। विसं ०४८ मा गाविस अध्यक्ष र विसं ०५३ मा जिविस सदस्य पनि भएका छन्। दुधकौशीका र सुनकोशी प्राविहरू उनकै विशेष पहलमा स्थापना भएका हुन्।’

वाम्बुले राई मातृभाषा प्रधान पत्रिका ‘इक लिब्जु–भुम्जु’ पत्रिका (२०७५ : ४७) मा दाइ गणेश राई लेख्नुहुन्छ, ‘मानबहादुर राईको १२ वर्षको उमेरमा खोटाङ च्यास्मिटारकी हर्कसरी राईसित मागी विवाह भएको थियो। यस दम्पतितर्फ नरेशकुमार र दिलिपकुमार गरी दुई छोरा छन्। त्यसैगरी आफू तन्नेरी भएपछि ओखलढुंगा जाक्माकी धनलक्ष्मी राईसित प्रेम विवाह गर्नुभएको थियो। यस दम्पतिबाट छोरी रूपामाया र छोरा प्रदीपकुमार राई छन्। …धनलक्ष्मीको असामयिक निधनपछि कान्छी श्रीमतीका रूपमा मैरतीसित विवाह गर्नुभएको थियो।’

त्यसैगरी उहाँ अगाडि लेख्नुहुुन्छ, ‘हिलेपानी गाउँमा ‘ठूले मास्टर’का रूपमा चिनिनुहुन्थ्यो। उहाँ गाउँघरको सानातिना असमझदारीलाई न्यायपूर्वक सामूहिक रूपमा छिनोफानो गरिदिने गर्नुहुन्थ्यो। उहाँलाई राई गाउँमा मात्र नभई छिमेकमा रहेका बाहुन, क्षेत्री, मगर समाजमा समेत प्रशंसा र कदर गरिन्थ्यो। शिक्षामा उहाँको अगुवाईले गर्दा परिवारका सदस्यहरू शिक्षा आर्जनसँगै सांसद्, सरकारको उपसचिव, राष्ट्रगान रचनाकार कवि, पत्रकार, लेखक बन्न सफल छन्।’

हुन त आफ्नो सन्तानलाई माया र हेरचाह नगर्ने बाबु–आमा विरलै होलान्। तर, म बुबाबाट अलि बढी नै माया र प्रेरणा पाउने भाग्यमानी हुँ। जतिखेर पनि समाजको काममा क्रियाशील रहने उहाँको दिनचर्याले गर्दा मैले पनि सानैदेखि सामाजिक र सार्वजनिक जीवन बुझ्ने मौका पाएँ। उहाँको व्यक्तित्व निष्ठा एवं इमानको पर्याय थियो।

हरेक वर्ष आयोजना हुँदै आएको वाम्बुले राई मातृभाषा कविता गोष्ठीको २० औँ संस्करण यस वर्ष ०७५ मंसिर २० गते ओखलढुंगाको मानेभञ्ज्याङमा आयोजना हुनेभयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा कवि एवं प्राज्ञ श्रवण मुकारुङ जानु हुने टुंगो भएको थियो। म सकेसम्म फुत्किने दाउमा थिएँ। किनकि धेरैपटक उक्त कार्यक्रमको प्रमुख अतिथि, विशेष अतिथि भएर सहभागी छु। तर, दुःखको कुरा कार्यक्रमको मुखैमा श्रवण दाइको बुबा नाक्छोङ अर्थात् मुन्धुमी व्यक्तित्व घनश्याम राईको निधन भएछ। त्यसैले श्रवण दाइ कार्यक्रममा जान नसक्नु हुनुभयो। उहाँ तुरुन्तै आफ्नो घर भोजपुर जानु भयो।

त्यसपछि प्रमुख अतिथि म नै भएर कार्यक्रममा गइहाल्नु पर्ने निर्णय आयोजक संस्था वाम्बुले राई समाजले गरेछ। ठीकै छ, गएर एक रात घरमा बसौँला, बुबालाई भेटौँला सोचेको थिएँ। तर, सोचेजस्तो भएन। आयोजक महानुभावका साथ सरासरी भोलि कार्यक्रम हुने मानेभञ्ज्याङ बजारै जानुपर्ने कुरा भयो। त्यसो भए कार्यक्रम सकिनेबित्तिकै घर (हिलेपानी) झरौँला र भोलिपल्ट काठमाडौं फिरौँला भन्ने सोचाइ बनाएँ। तर, कार्यक्रम रातीसम्म चल्यो। फेरि भोलिपल्ट बिहान उँबु गाउँमा निर्माण भइरहेको सांस्कृतिक सोलेवा (चिण्डो) पार्क र लिब्जु–धामको अवलोकन गर्नुपर्ने गाउँपालिका उपप्रमुखज्यूबाट आग्रह भयो। गणेश दाइलाई भनेँ, ‘मेरो लागि त अरू धामभन्दा पनि ठूलो धाम त बुबा नै हो।’ तर, गाँस छोड्नु साथ नछोड्नु भन्छन्, म छुट्टिन नमिल्ने भयो र गइयो उँबुतिरै। त्यतै दिन बित्यो। रात साँझ नै भए पनि हाम्रो टोली त्यही दिन काठमाडाैं फर्किने निधोमा पुग्यो। आउन–जान गाडी रिजर्भ गरिएको थियो। काठमाडौं फर्किन मलाई पनि त्यसमै सहज थियो। त्यसैले फेरि छिट्टै घर आउँला र बुबालाई भेटौँला भन्ने सोच्दै साँझपख गाउँघरबाट ओझेल परियो।

‘प्रदीप यस पटक त घर पनि निस्केन’ भनेर बुबाले धेरै पटक गुनासो गर्नुभयो रे। मेरो लागि साक्षात् ईश्वर हुनुहुन्थ्यो बुबा। तर, त्यसपछि उहाँको दर्शन गर्ने मौका मलाई जुरेन। गत दसैँको भेट नै हाम्रो अन्तिम भेट बन्यो।

गाउँमा कान्छा भाइ दिलीप एवं उनका घरपरिवारको हेरचाहमा रहनुभएका बुबा ७२ वर्षको उमेरमा अस्ति पुस १२ गते बिहीबार राती १ बजेतिर बित्नुभयो। सुगर र हेमाटोमा समस्याको कारण केही वर्षदेखि औषधि खाइरहनु भएको थियो। अलि शिथिल अवस्थामा हुनु भए पनि मृत्यु भइहाल्ने किसिमको अशक्त हुनुहुन्थेन। गत ०७४ भदौ २२ गते मात्र मेरी दिदी रूपाले देहत्याग गर्नुभएको थियो। आमाको आभास दिने एक मात्र मेरी दिदी थिइन। उनको मृत्युले मेरो मुटु हजार टुक्रा भयो। अझ त्यसमाथि पनि बुबा बित्नुभयो। पीडा व्यक्त गर्ने मसँग शब्दहरू छैनन्।

यसरी अभिभावकहरू र विशेषगरि जन्मदाताहरू महाशून्यमा बिलाएका बखत हामी सन्तान शून्यमा रुमल्लिने रहेछौँ। मलाई पनि त्यही अनुभूति भयो। दैवको लीला टारेर टर्दो रहेनछ। हाम्रो जिन्दगी हामीले सोचेजस्तो हुन्न रहेछ। कुन बेला कसलाई कालले झुक्याएर लान्छ थाहै नहुने। मन बुझाउने कुरा यति मात्र हो बुबा थला नपरी जानुभयो। बिना कुनै पीडा–कष्ट सहजै जानु भयो। धेरैले भने ‘मरण त यस्तो पो होस् न !’ भोलिपल्ट अर्थात् पुस १३ गते अपरान्ह ३ बजेतिर समाधिस्थ गर्ने काम सकियो। बुबाको समाधिस्थलबाट मलामी फर्किन मात्र के थालेका थियौँ पानी बर्सिन थाल्यो। बर्खामासमा समेत हत्पति पानी पर्न नसक्ने हाम्रो गाउँ–ठाउँमा त्यसरी पानी पर्नु सामान्य कुरो थिएन। सबैले भने, ‘लौ, ठूले साँच्चैको धर्मात्मा रहेछन्, मलामी चोखायो।’

जेहोस्, बुबा जीवनको पूरा चक्र बाँचेर जानुभयो। आफ्नो जीवनको कुनै पनि पल खेर फाल्नु भएन। जहिले पनि गाउँ–समाजलाई शिक्षाको माध्यमबाट परिवर्तन र रूपान्तरण गर्ने प्रयास गरिरहनु हुन्थ्यो। राम–लक्ष्मणले सोध्दा लंकापति रावणले आफ्नो अन्तिम घडिमा भनेका कुराको सार अर्थात् ‘आफूले सोचेको काम गरिहाल्नु पर्छ, जीवनको टुंगो हुँदैन, साँचेर राख्दा अधुरै रहनसक्छ’ बाट उहाँ अत्यन्त प्रभावित हुनुहुन्थ्यो। हामीलाई पनि यो कुरा घरिघरि बताउनु हुन्थ्यो। सधैं गाउँघरको विकासका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले अनवरत् सक्रिय रहनुहुन्थ्यो। व्यक्ति मरेर गए पनि सम्झिने कुरा उसको कर्म रहेछ। मेरो बुबा पनि अब सम्झनामा मात्रै हुनुहुन्छ। ती सम्झनाहरू सकेसम्म लेख्दै रहुँला।

https://nagariknews.nagariknetwork.com/news/70923/?fbclid=IwAR2RYOEdUrobdxwAtT8asiF-pgA0i0jEdC9wuqAxQw8c1e-_YfuEXEio3cs

Leave a Reply

Your email address will not be published. Required fields are marked *