पृष्ठभूमि
बेलायत संसारकै एक उच्च प्रजातान्त्रिक संस्कार भएको मुलुकका रूपमा विश्वमा चर्चित छ । साम्राज्यवादका बेला बेलायतमा कहिल्यै सूर्य अस्ताउँदैन भनिन्थ्यो । किनभने युरोप, अमेरिका तथा एसिया लगायत संसारका प्रायः सबै देश बेलायतले आफ्नो उपनिवेश बनाएको इतिहास पढिन्थ्यो । युरोप अमेरिका लगायत छिमेकी मुलुक भारतसम्म बेलायतको साम्राज्य फैलिएको थियो । त्यसैले युरोप र अमेरिकामा घाम लाग्दा भारत लगायत पूर्वी तथा मध्य एसियाका देशमा रात पथ्र्याे । त्यसैले बेलायतलाई सूर्य नअस्ताउने देश भन्ने गरिन्थ्यो । भारत पनि बेलायतको उपनिवेश भएकाले नेपालीहरू तत्कालीन भारतीय गोरखा सैनिकमा भर्ना हुन्थे । बेलायती उपनिवेशको रक्षा र थप कब्जा गर्न युद्ध लडेको कथाहरू बुढापाकाहरू सुनाउथे । पहिलो र दोस्रो विश्व युद्धमा बीर नेपाली पुर्खाहरूले बेलायती साम्राज्यवादका लागि रगत पसिना बगाएको इतिहास साँक्षी छ । खासगरी दोस्रो विश्व युद्धको समाप्तिसँगै बेलायती साम्राज्यवादको पकड विस्तारै खुम्चदै गयो । भारत लगायत विश्वका धेरै मुलुक बेलायतबाट स्वतन्त्र भई अलग हुन भए । बेलायत संयुक्त अधिराज्यका रूपमा सिमित रहन पुग्यो । साम्राज्य विस्तारको समयमा नेपाली बीर पुर्खाहरूले बेलायतको लागि जुन बहादुरी र साहसिक काम गरेका छन् । त्यो साहसिक र बहादुरी कामको अहिले पनि बेलायतले उच्च सम्मान गर्दै आएको छ । त्यसैको परिणामस्वरूप अहिलेसम्म हरेक वर्ष नेपाली युवाहरू ब्रिटिश गोर्खा सेनामा भर्ना हुने क्रमले निरन्तरता पाएको छ ।
बेलायती सेनामा भर्ना हुनुलाई (मलाय) लाहुरे हुनु भन्ने चलन थियो । गाउँमा लाहुरे हुने चर्चा खुबै हुनेगथ्र्यो । खासगरी १४–१५ वर्षको उमेरदेखि लाहुरे हुनका लागि शारीरिक अभ्यास शुरू हुन्थ्यो । कक्षा ६–७ देखि नै चेनअप र पुसअपका साथै सिटअप गरिएको संस्मरण ताजै छ । यस क्रममा गोर्खा सैनिकमा भर्ना हुन धेरै पटक गल्लावालसँग नाम लेखी भर्नाका लागि प्रयास समेत नगरिएको हैन । शारीरिक अभ्यासमध्ये सिटअप अति कठिन हुन्थ्यो, जुन एक मिनेटको समयमा साढे ४ फिटको ठाडो फल्याकमा २५ पटक पु¥याउनु चानचुने कुरो थिएन । मैले जीवनमा मुस्किलले जम्मा १७ पटकमात्र गर्न सकेको छु । यति सकेर पनि शारीरिक बनावट तथा तन्दुरुस्ती हेरिन्थ्यो । शरीरका हरेक पाटा नियालिन्थ्यो । एक प्रकारले खसी किन्दा छानिए जस्तो । शारीरिक रूपमा फिट हुनु पनि कम चानचुने थिएन । सिटअप गर्न नसकिएकै कारण गेटपास पाउन सकिएन । अन्ततः बेलायतको लाहुरे हुने रहर केवल सपनामै सीमित रह्यो ।
यसरी जु¥यो मौका
बेलायतबाट नियमित रूपमा प्रकाशित हुने एभरेष्ट टाइम्स पत्रिकाले आफ्नो ११ औं स्थापना दिवसका अवसरमा आयोजना गर्न लागेको, नेपाली मिडियाको वर्तमान अन्तर्वस्तु र समावेशीकरणको अवस्था विषयक कार्यशाला गोष्ठीमा प्रशिक्षकका रूपमा सहभागी हुन एकाएक निम्तो पठायो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को वरिष्ठ उपाध्यक्ष र नेपाल टेलिभिजनको कार्यकारी समाचार सम्पादकको हैसियतमा रहेकाले पनि मलाई यो निमन्त्रणा आएको हो । एभरेष्ट टाइम्स युके र फोनिजबीच विगत लामो समयदेखि नै पत्रकारिताका हिसावले व्यवसायिक सम्बन्ध रहँदै आएको छ । समय समयमा दुवै संस्थाबीच एकापसमा विचार आदानप्रदान गर्ने सन्दर्भमा भ्रमण समेत हुँदैआएको छ । यसै सिलसिलामा एकाएक निम्तो पाएपछि बेलायत जाने सपना ब्युँझिएको अनुभव भयो । दिल्लीस्थित बेलायती उच्चायुक्तको कार्यालयमा प्रवेशाज्ञाका लागि फास्ट्रयाकमा निवेदन गरें । म सँगै मेरो अनलाईन टिभीका प्रबन्ध निर्देशक भाइ विश्वराज समेखाम र बुटवलका वरिष्ठ पत्रकार भीम गुरूङलाई पनि निमन्त्रणा थियो । हामी तीनै जनाले भिसाका लागि आवेदन दियौं । मेरो र विश्व भाइको भिसामात्र आयो । भिसा प्राप्तिपछि आवश्यक तयारीका साथ लण्डन उडियो । कतार एयरवेज विमानबाट काठमाडौं कतार ट्रान्जिट हुँदै लण्डन पुग्यौं ।
विश्वमै अति व्यस्त लण्डनस्थित हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिदा नौलो अनुभूति हुँदै थियो । विमानस्थल बाहिर हाम्रा स्वागतका लागि मिलन तमु र पूर्ण गुरूङलगायत एभरेष्ट टाइम्स पब्लिकेसनका प्रतिनिधि र वाम्बुले राई दाजुभाइहरू कमल, भिमल, जिखा र सगुन नेम्बाङ बहिनी आउनु भएको रहेछ । अति खुशी लाग्यो । बिरानो ठाउँमा आफन्त पाउँदाको आनन्दै अर्को । फूलमाला र खादासहित स्वागतसँगै मिलन तमुले अन्तरवार्ता लिनुभयो । त्यो अन्तरवार्ता फेसबुकमार्फत लाईभ गर्नु भएछ । त्यसपछि हामी लण्डन पुगेको खुबै चर्चा भएछ । फेसबुक, ट्वीटर, मेसेन्जर र मोबाइलमा सम्पर्क गर्न हुन थाल्यो । एभरेष्ट टाइम्सले आयोजना गर्ने मिडिया कार्यशाला गोष्ठी, फोनिज युकेको साधारणसभा र नेपाली मेलाबाहेक अन्य कार्यक्रम खासै थिएन । तर एकाएक हाम्रो चर्चाले बजार पाएछ क्यारे । धेरै ठाउँमा आयोजना भएका कार्यक्रममा सहभागी हुने सुवर्ण अवसर मिल्यो । किरात राई यायोक्खा युकेले आयोजना गरेको कार्यक्रम, किराया प्राकास केन्टरवरीको कार्यक्रम आदि महत्वपूर्ण रहे । धेरै जनासँग चिनजान र मानसम्मानका साथै भलाकुसारी गर्ने मौका मिल्यो ।
नेपाली मेला
बेलायतमा २५ अगस्टमा आयोजना गरिएको ११औं नेपाली मेला अन्तर्राष्ट्रिय स्तरमा हुने एक महत्वपूर्ण कार्यक्रम रहेछ । बेलायतमा बसोबास गर्ने नेपालीहरूले यसलाई एक महोत्सवका रूपमा मान्दा रहेछन् । बर्षैपिच्छे आयोजना हुने यो मेलामा सहभागिताका लागि पात्रो तालिकामै दिन छुट्ट्याउँदा रहेछन् । त्यसैले विशाल सहभागितामा भव्य रूपमा मेला सम्पन्न हुने रहेछ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथि रहनु भएको मेलामा म र विश्व समेखाम अतिथि थियौं । एउटै स्थलमा नेपालका सबै जातजाति र भाषा, संस्कृतिका झाँकीहरू एकपछि अर्को प्रस्तुत गरिंदा विविधतायुक्त नेपाली समाज त्यहाँ पोखिएको थियो । विश्वले नेपालको त्यही विविधतायुक्त संस्कृतिको रसास्वादन गर्दै थियो । गुरुङ, मगर, राई, लिम्बु, तामाङ लगायत विविध सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिए । नेपालमा समुदायको बाहुल्यता रहेको ठाउँमा यस्ता झाँकीहरू प्रस्तुत गरिए पनि एकै थलोमा एकै दिन हेर्न भने बेलायतै जानु पर्ने जस्तो लाग्यो । झाँकी प्रदर्शनमा उत्कृष्ट हुने समूहका लागि पुरस्कारको समेत व्यवस्था रहेछ । कार्यक्रमका लागि बेलायतस्थित नेपाली दुतावासले सहयोग गरी अपनत्व बढाउनु राम्रो पक्ष मानिन्छ ।
एभरेष्ट टाइम्सको कार्यशाला
एभरेष्ट टाइम्स युके पब्लिकेशनले नेपाली मिडियाको अन्तरवस्तु र समावेसीकरण विषयक अन्तरक्रियाका साथै स्वागत कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा पब्लिकेशनका अध्यक्ष अवकासप्राप्त मेजर कुलबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै प्रवासमा रहेर पनि नेपाल र नेपालीको उन्नति र प्रगतिका लागि आफूहरूले मिडिया सञ्चालन गरेको विचार राख्नु भयो । देशलाई सकारात्मक बाटोमा अघि डो¥याउने विषयवस्तुलाई बढी प्राथमिकतामा राखिएको भनाई वहाँको थियो । फोनिज नेपालमार्फत् आफूहरूलाई मनोनयन गरी निमन्त्रणा गरेकोमा पब्लिकेशन परिवारसहित अध्यक्ष थापाप्रति आभार प्रकट गरियो । साथै नेपालमा समावेशिता कार्यान्वयन गर्न फोनिजले गर्दै आएको गतिविधिबारे जानकारी गराइएको थियो । एभरेष्ट टाइम्स नेपालको आवाज बोल्ने बेलायतको एकमात्र लोकप्रिय पत्रिका भएको उल्लेख गर्दै जनमन जित्न अझ यसको कभरेजलाई फराकिलो बनाउन सुझाव प्रस्तुत गरिएको थियो । पब्लिकेशनको तर्फबाट सम्मान गरिएकोमा आभार प्रकट गरियो ।
फोनिज युकेको साधारणसभा
फोनिज युकेको साधारणसभा अध्यक्ष प्रमिला लावुङ राईको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा पाहुनाको हैसियतमा फोनिज केन्द्रले अघि सारेको समावेशी सञ्चार अवधारणाबारे प्रशिक्षण दिइयो । कार्यक्रममा फोनिज युकेले गर्दै आएको कार्यहरूबारे जानकारी गराइयो । फोनिज युकेद्वारा स्थापित पुरस्कारको छनौट कार्यविधिबारे समेत छलफल गरियो । फोनिज युकेद्वारा स्थापित पुरस्कारका लागि अक्षयकोष राशि ५ लाख रुपैयाँ पु¥याउने प्रतिबद्धता जनाइयो । फोनिज युकेका सचिव भिमल राईले संगठनात्मक गतिविधि र कोषाध्यक्षले आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।
वाम्बुले राई समाज युके
वाम्बुले राई समाज (वाम्रास) युकेको नेतृत्व भर्खरमात्र फेरिएको रहेछ । साधारण सभाले दिलुबहादुर राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको कुरा त्यहाँ पुगेपछि थाहा भयो । नवनिर्वाचित वाम्रास युकेका सचिव भिमल राई, सदस्यद्वय जिखा राई र खेजिमाया राईको समन्वयमा वाम्रास युकेले नेपालको केन्द्रीय अध्यक्षको हैसियतले स्वागत कार्यक्रम आयोजना भयो । अनौपचारिक रूपमा भएपनि कार्यक्रममा ३० जनाभन्दा बढीको उपस्थिति रहेको थियो । सचिव भिमल राईले कार्यक्रमको शुरुमै भेटघाटको उद्देश्यबारे प्रकाश पार्नु भयो । त्यसपछि हामीले आ–आफ्नो परिचय दियौं । एकाअर्कामा भलाकुसारी गरियो । विकास, समृद्धि लगायत आपसी हितका विविध विषयमा छलफल गरियो । साथै, नेपालमा संस्थाले गरेको गतिविधि, देशको समग्र अवस्थाको बारेमा जानकारी दिने काम त्यसैबेला सम्पन्न भयो । वाम्रास केन्द्र नेपाल र वाम्रास युकेबीच नयाँ शिराबाट अझ थप विश्वास र सहकार्य गरी अघि बढ्न आम सहमति भयो । विगतमा अनजान र समन्वयको अभावमा भएका गरेका कतिपय कमी कमजोरीको समीक्षा गर्दै त्यसबाट पाठ सिकेर उप्रान्त एक भएर अघि बढ्ने उद्घोष हँुदा उपस्थित वाम्बुलेजनहरू अति हर्षित हुनु भएको अनुभव गरियो ।
अध्यक्ष दिलुबहादुर राईले नेपालबाट युके वाम्रासलाई पहिलो पटक मायाको चिनो सुरिम तथा लोगो प्रदान गरिएको उल्लेख गर्दै यसले संस्थाको गरिमा बढेको प्रतिक्रिया दिनुभयो । युकेमा सुरिम नपाइने उल्लेख गर्दै वाम्बुले राईहरूको पहिचानलाई जोगाइ राख्न सुरिमको महत्वबारे नयाँ पुस्तालाई भन्न सक्नु पर्ने बताउनु भयो । युकेको रहनसहन, सामाजिक जीवन र फरक संस्कृतिका कारण वाम्बुले राई समुदायका नयाँ पुस्ताले आफ्नो मातृभाषा, परम्परा र रीतिरिवाज बिर्सने खतरा बढेको भन्दै चिन्ता प्रकट गर्नुभयो ।
वाम्रास अध्यक्षको हैसियतले मैले भाषा, परम्परा र संस्कृतिको संरक्षण र प्रबद्र्धनका साथै समुचित विकासका लागि एकताबद्ध भइ लाग्नु पर्ने सुझाव दिएको छु । वाम्रास संस्थाको मूल उद्देश्य नै मौलिक पहिचानको संरक्षणका लागि भाषा, लिपि, परम्परागत र संस्कृतिहरूको खोज अनुसन्धान गरी त्यसको संरक्षण गर्नु रहेको छ । संस्थाले यो उद्देश्यमा केन्द्रित रहेर विविध कार्यक्रमहरू संचालन गरेको जानकारी गराएको छु । साथै संस्थाको तेस्रो राष्ट्रिय सम्मेलन २०७६ पुस–माघ महिनामा गर्नुपर्ने जानकारी दिंदै सम्मेलनमा सहभागिता र सहयोगका लागि आव्हान गरेको छु । यसलाई वहाँहरूले सकारात्मक लिनुभयो ।
युकेमा वाम्बुले राई
युकेमा वाम्बुले राईहरूको जनसंख्या लगभग ३६० जना रहेको प्रारम्भिक अनुमान छ । यो संख्या क्रमिक रूपमा बढ्दै गएको पाइन्छ । किनभने लाहुरेको भर्ना संख्या बेलायत सरकारले बढाउँदै लगेको छ । साथै युकेमा बसोबास गर्ने छोरा वा छोरीले नेपालका छोरी–छोरा विवाह गरेर बेलायत भित्र्याउने क्रम बढ्दै गएको छ । उदाहरणका लागि मानेभन्ज्याङ वडा नम्बर ४ पेकु बस्ने लिलाबहादुर राई (८२) र सुखा राईको सुपुत्री शशी राईको विवाह यसै गाउँपालिका वडा नम्बर २ निवासी शन्तकुमार राईसँग भएको छ । हाल दुवैजना युकेवासी भई सक्नु भएको छ । त्यस्तै यसै पालिका बस्ने डिल्लीमान राई (७६) र सुककुमारी राईका छोरा जीवन राईले नेपालको यसै गाउँपालिका साब्काक निवासी सबिता राईलाई विवाह गरेका छन् । हाल उनी युके जाने प्रक्रियामा रहेका छन् । यसरी युकेमा वाम्बुले जनसंख्या एकातिर बढ्दै छ भने अर्कोतर्फ अवसर पनि सँगै प्राप्त हुँदैछ, जुन अति राम्रो हो ।
प्राय लाहुरे परिवारको बाहुल्यता रहेको वाम्बुले समुदायले युकेको प्राय सबै शहरमा बसोबास गरेका छन् । एक ठाउँबाट अर्को ठाउँमा पुग्न एकदेखि डेढ घण्टासम्मको समय लाग्ने भएकाले चाहेर पनि तुरून्त भेट भइहाल्ने स्थिति देखिदैन । गाउँले सामुदायिक भेटघाटका लागि दशैं, तिहार, ढ्वाङकुम, साकेला जस्ता कार्यक्रम नै कुर्नु पर्ने बाध्यता रहेको पाइन्छ ।
पेशामा विविधिकरण
वाम्बुले राईहरू बेलायत पुग्नुको मुख्य माध्यम भनेको लाहुरे बा–आमा नै प्रमुख मानिन्छ । सन् १९९७ मा बेलायतले सामरिक रूपमा गोर्खा सैनिक तैनाथ गरेको हङकङ चीनलाई हस्तान्तरण गरेपछि गोर्खा पल्टन बेलायत सरेपछि यहाँ बसोबास शुरू भएको हो । त्यसपछि सैनिक कर्तव्यका अलावा सुरक्षा लगायत सैनिक पेशासँग सम्बन्धित काममा कार्यरत वाम्बुले राईहरूको पछिल्ला पुस्ताले विस्तारै गैरसैनिक पेशा र व्यवसाय अँगाल्न थालेको पाइएको छ । गोर्खा सैनिकमा १३ वर्ष नोकरी गरी सेवा अवकाश आशय (०१५७ नविन) राई र सबिता राईले अहिले आफ्नै लगानीमा सुपरमार्केट संचालन गर्नु भएको छ । आशफोर्डस्थित सुपरमार्केटमा प्राय सबै प्रकारका उपभोग्य सामाग्रीहरू पाइन्छ । हप्तामा ७–८ हजार पौण्डको सामान खरिद हुने गरेको संचालक नविनको भनाई छ । व्यापार व्यवसायमात्र नभई बेलायती नागरिकको रहनसहन र रूची बुझ्न यो सुपरमार्केट एक माध्यम भएको अनुभव नविन–सविताको छ । साथै व्यापार गर्ने रणनीति र उपायसमेत सिक्न सकिने भनाई वहाँहरूको छ ।
डिल्लीमान राईको छोरा जीवन राईले क्याम्बरलेमा पिज्जा हट व्यवसाय संचालन गरेका छन् । नेपालमा समेत युवायुवतीको रोजाईको परिकार पिज्जाको स्वाद लिन नेपालीका साथै बेलायती नागरिकहरू त्यहाँ पुग्दा भ्याई नभ्याई भएको अनुभव जीवनको छ ।
अर्को वाम्बुले व्यवसायीको नाम हो, जिखा राई । १२ वर्ष गोर्खा सैनिक सेवा गरी मेडिकल डिस्चार्ज हुनु भएका जिखाको वैवाहिक सम्बन्ध फिलिपिनी नागरिक जिनासँंग भएको छ । फिलिपिनी नागरिकहरू विशेषतः बेलायतमा नर्सिङ र हाउसवाईफ जस्ता काममा संलग्न रहेको पाइन्छ । यसै क्रममा बेलायत पुग्नु भएकी जिना र जिखाको विवाह सन् २००९ मा भएको हो । नर्सिङ पेशाका जिना र जिखाले अहिले सेन्टर लण्डन र उत्तरी लण्डनको ब्ल्याक पूलमा बेड एण्ड ब्रेड होटल संचालन गर्नु भएको छ । यो व्यवसायलाई आवश्यकताअनुसार थप्दै जाने योजना यो दम्पतीको रहेको छ । ब्ल्याक पूल एक पर्यटकीय स्थल रहेकाले प्राय सबै सिजनमा बुकिङ प्याक हुने गरेको भनाई वहाँहरूको छ । यी केही उदाहरणमात्र हुन् । यस्ता फरक फरक पेशा र व्यवसाय संचालन गर्ने वाम्बुलेको संख्या बढ्दै गएको छ ।
यस्तै नवल राई (९३५६)ले ट्याक्सी व्यवसाय संचालन गरेका छन् । लण्डनमा ट्याक्सी चलाउने फरक व्यवसाय संचालन गर्ने वाम्बुलेमध्ये सम्भवत उनी पहिलो हुन सक्छन् । यी केही उदाहरणमात्र हुन् । यस्ता फरक फरक पेशा र व्यवसाय संचालन गर्ने वाम्बुलेको संख्या बढ्दै गएको छ ।
भाषा, संस्कृति संरक्षण
भाषा, संस्कृतिको संरक्षण एक महत्वपूर्ण कार्य हो । बेलायतमा बस्ने र त्यही जन्मे हुर्केका बालबच्चालाई लक्षित गरी वाम्रास युकेले ढ्वाङकुमको अवसरमा मातृभाषा प्रशिक्षण संचालन गर्दै आएको छ । यो अति सराहनीय कार्य हो । यसको नेतृत्व गौता राईले गर्नु भएको छ । नानीहरूलाई मातृभाषामा बोल्न, लेख्न र पढ्न अभ्यास गराउनुका साथै एकापसमा साइनो तथा वाम्बुले शब्दबारे सामुहिक प्रशिक्षण दिने काम गरिंदै आएको छ । यो कार्यक्रमलाई अझ व्यापक बनाउनु पर्ने खाँचो रहेको छ । यसका लागि वाम्रास केन्द्रीय समिमिले चाँडोभन्दा चाँडो वर्णमाला (व्याकरण) उपलब्ध गराउनु पर्ने सुझाव आएको छ । वाम्रास संस्थापकहरू कर्णबहादुर राई (२४) र दिलकुमारी राई तथा ज्ञानबहादुर राई (०७) तथा रूपकुमारी राई र वाम्बुले संस्कारका जानकार बालाकाजी राईले सबै वाम्बुले समुदायको सहमतिमा यथाशक्य वर्णमाला तयार पारी वाम्बुले भाषाको आधारभूत ज्ञान दिलाउने अभ्यास गर्नुपर्ने खाँचो औल्याउनु भएको छ । वाम्रास संस्थाले यसको प्रमुख नेतृत्व गर्नुपर्ने सुझाव वहाँहरूको छ । युकेमा हुर्किएका बालबालिकाले प्राय भाषिक सामिप्यका कारण अंग्रेजी भाषा बोल्ने गरेको पाइन्छ । यो स्वभाविक भए पनि उनीहरूलाई मातृभाषातर्फ आकर्षित गर्नुपर्ने हुन्छ ।
समय र कामको महत्व
बेलायतमा समयलाई सबैभन्दा बढी प्रथमिकता दिने गरिन्छ । हरेक व्यक्तिको दैनिकी घडीको सुईसँगै फनफनी घुमी रहन्छ । चाहेर पनि ऊ त्यो समयसँग अलग्गिएर रहन नसक्ने पद्धति राज्यले बनाएको रहेछ । समयसँग कर्तव्य निर्वाह गर्दा दिन–रात, परिवार, बालबच्चाको समेत पर्वाह गर्न कठिन हुने अनुभव छ । नेपालजस्तो सामुहिकतामा आधारित जीवनशैली नरहेकोले बेलायतमा समयलाई उच्च महत्व दिने गरिन्छ । नेपालीहरू यस पद्धतिप्रति आबद्ध हुन्छन् । त्यसैले सोचेजस्तो भेटघाट प्राय असम्भव हुन्छ ।
काम अथवा श्रमको उच्च सम्मान गरिन्छ । कामको सम्मान समान रूपमा हुने र कसैमाथि कुनै प्रकारको भेदभाव गर्न नपाइने कानूनी व्यवस्था छ । त्यसैले कसले कुन स्तरको काम गर्छ भन्ने हेक्का त्यहाँ हुँदैन । नेपालको सन्दर्भमा यो उदाहरणीय विषय हो । कामको साथै पारिश्रमिकमा भेदभाव हुँदैन । काम गर्ने मानिस ठूला हुन्छन् ।
पारिवारिक भेटघाट
बेलायत भ्रमणले पारिवारिक भेटघाट गर्ने मौका जुरायो । अति हितैषी कमल राईले घरमा बस्नेदेखि सबैतिर लैजाने ल्याउने काम गर्नु भयो । कमलजीको यो अमूल्य गुनका लागि ऋणी छु । ज्योतिका आमा दिदी, ज्योतिका र अर्जुनले देखाउनु भएको सद्भावको उच्च सम्मान छ । साथै, भिमल, जिखा, प्रेम कावा, नविन (अशय), नविन भान्जा, टिका (डल्ले), मान, २४ दाजु, ज्ञान दाजु र सुनिल मामा लगायत सबै वाम्बुलेजनहरूको घरमा पुग्ने मौका पाएकोमा गर्व लागेको छ । अन्तमा अति छोटो तर स्वादिष्ट भ्रमण मानस्पटलमा सदा ताजा भई नाचिरहेछ ।
इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ६ अंक ४ र ५ संयुक्त, २०७६ वैशाख–असार (किरात येले संवत् ३७९८÷सन् २०१९) बाट ।