राष्ट्रगान लेखकका व्यथा

पत्रपत्रिका

अमृत भादगाउँले

शनिबार, १६ चैत २०७५, १० : २४

हाम्रो राष्ट्रगानका लेखक कसरी बाँचेका छन्?
सरकारले सोध्नु पर्छ व्याकुल माइला अर्थात् प्रदिपकुमार राईलाई। उनी राष्ट्रिय व्यक्तित्व बनेको एक दशक भयो, उनले आफ्नो गरिमालाई ज्युँकात्युँ राखेका छन्। इमान्दारीले  आफ्नो उचाइ झन् बढाएका छन्। त्यसैले नेपाली नागरिक उनलाई ‘जिउँदो विभूति’का रूपमा आदर गर्छन्।

उनको गीत ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ राष्ट्रगानका रूपमा छानिएपछि एकाएक उनी सेलिब्रिटी बने। अनि जीवनको बाटो मोडियो। वकिल पेशा चटक्कै छाडेर पूर्णकालीन समाजसेवी बन्न पुगे।

पुरानो राष्ट्रगान ‘श्रीमान गम्भीर प्रचण्ड प्रतापि’मा राजाको गुणगान थियो। नेपालमा गणतन्त्र आएपछि नयाँ राष्ट्रगान खोजी भयो। संस्कृतिविद् सत्यमोहन जोशीको संयोजकत्वमा गठित छनौट कार्यदलले आव्हान गरेको प्रतिस्पर्धामा एक हजार दुई सय बहत्तर जना सहभागी थिए।

प्रतिस्पर्धामा ‘सयौं थुँगा फूलका हामी’ छानियो। त्यसलाई संगीतज्ञ अम्बर गुरुङले संगीत भरेर समुह गायन गरेपछि सबैका ओठ–ओठमा झुण्डियो। हिमाल, पहाड र तराई जोड्ने पुल बनेको छ हाम्रो राष्ट्रगान।

जब १४ मंसिर ०६३ का दिन पत्रकार पुष्पहरि क्याम्पा राईले राष्ट्रगानको प्रतिस्पर्धामा पहिलो भएको खबर सुनाए तब उनलाई आकाशमा उडे झैं भयो। जुन राष्ट्रगान ०६४ साउन १८ देखि लागु भयो।

हाम्रो राज्य नसुनेझैं गर्छ। नदेखेझैं गर्छ। राज्य हाँक्नेहरू जिम्मेवार भैदिएको भए आज हाम्रो राष्ट्रगानका लेखक व्याकुल माइला ऋणको दलदलमा फस्न पुग्ने थिएनन्। उनले १५ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ। सरकारका आँखा कहिले खुल्छ थाहा छैन, बरु हामी नागरिकले चन्दा उठाएर आजै उनको ऋण मोचन अभियान सुरु गरौं। हाम्रो अभियानले सरकारको आँखा खुल्न सक्छ।

राष्ट्रगान छनौट हुनेबेलासम्म उनी केशवराज पाण्डेको कमलपोखरीस्थित ल फर्ममा काम गर्थे। राष्ट्रगानका सर्जक भएपछि भ्याईनभ्याई भयो। उनको व्यस्तता बढ्यो। कुनै दिन त उनले ६ वटासम्म कार्यक्रममा प्रमुख अतिथि बन्नु प-यो।

उनको नाम त चुलियो। तर, आम्दानी भएन। सरकारले राष्ट्रगानका लेखक र संगीतकारलाई जनही पाँचपाँच लाख रुपैयाँ दियो। त्यसले केही समय भरथेग ग-यो। डेराको जीवन, काठमाडौंमा हामीले फेर्ने सास बाहेक हरेक कुरा किन्नु पर्छ। महँगीमा टिक्न गाह्रो हुन्छ। उनलाई पनि सजिलो भएन।

तिनताका उनकी जीवनसाथी नानुकला एउटा सहकारीमा जागिर खान्थिन्। घरखर्च चलाउन गाह्रो भएपछि उनीहरूले केही सहकारी संस्थाबाट ऋण लिए। त्यसको सावाँ र व्याज तिर्न नसक्दा बढ्दै गयो। १५ लाख रुपैयाँ तिर्नु भैसक्यो।

हिजोआज उनी मोटरबाइकमा यात्रा गर्छन्। त्यसभन्दा पहिला साइकल चढ्थे। एक दिनको कुरा, बागबजारमा गायक मित्रले उनलाई रोकेछन्, ‘राष्ट्रगानको रचनाकार भैसकेपछि पनि साइकल चलाउने? यो हाम्रो इज्जतको कुरा हो। फेरि पनि साइकलमा देखें भने साइकलसँगै माइलालाई पनि फालिन्छ।’

उनले साइकल चढ्न छाडिदिए। पछि सहकारीको ऋण लिएर मोटरबाइक किने। त्यसले जीवन सजिलो बनायो। तर, ऋण तिर्न नसक्दा मन बेचैन बन्छ।

१२ वैशाख ०७२ को भुइँचालोले ओखलढुंगाको जन्मघर भत्कायो। तनाव बढ्यो। त्यहीबेलादेखि उनले प्रेसरको ओखती खान थाले। उनी टीकापुरको कार्यक्रममा ०७० सालमा भाषण गर्दागर्दै ढलेका थिए। उनको ढाडको हड्डी खिइएको छ। लामो दूरीको यात्रा गर्दा दाहिने पातो दुख्छ।

उनकी छोरी निष्ठा सेन्ट मेरिजमा कक्षा ६ मा पढ्दैछिन्। पढाइमा पनि खर्च हुन्छ।

स्वदेश तथा विदेशमा बरोबर उनको सम्मान भैराख्छ। बेलायत, हङकङ, बहराइन लगायत देशका नेपाली समुदायले उनको सम्मान गरेका छन्। विदेशमा सम्मानसँगै प्राप्त रकम उनले अत्यावश्यक सामाग्रीहरू वासिङ मेसिन, ल्यापटप, प्रिज, आइफोन लगायतमा खर्च गरे। साथै त्यही रकमले दुई वर्ष घर खर्च पनि चलाए।

कोठामा सम्मानपत्रको चाङ छ। सजाउने ठाउँ छैन। सम्मान गर्छु भन्नेलाई कसरी नाइँ भन्नु? तर, भोक लागेका बेला यी सम्मानपत्र टोक्न मिल्दैन!

सदाबहार प्रमुख अतिथि हुन् उनी। विशेषतः शैक्षिक संस्थाले निम्त्याइरहन्छन्। यसरी जाँदा कसैकसैले ट्याक्सी भाडा भनेर खाममा केही नगद दिन्छन्। पहिलापहिला त त्यस्तो रकम पनि फिर्ता गरिदिन्थे उनी। अचेल चाहिँ लिन्छन्।

साँच्चिकै स्वतन्त्र मनुवा हुन् उनी। हिजो काँग्रेसका कार्यकर्ता थिए। राष्ट्रगानका लेखक बनेसँगै स्वतन्त्र बने। आज सबै दल, धर्म, सम्प्रदाय, संस्कृति र भाषाभाषीको साझा धरोहर बनेका छन्। उनी तिजमा चेलीबेटीसँग नाचिरहेका हुन्छन्। इदमा मुसलमानसँग भेटिन्छन्। क्रिसमस पार्टीमा पनि रमाउँछन्। गुम्बामा ओम मणि पद्मे हुँ पनि जप्छन्।

उनी छिनमा जनकपुर पुग्छन्, छिनमा पोखरा। छिनमा हेलम्बु पुग्छन्, छिनमा ताप्लेजुङ।  यति धेरै सार्वजनिक जीवन होला भनेर उनले कल्पनै गरेका थिएनन्।

‘म आफ्नो इच्छा र आकांक्षामा भन्दा पनि सार्वजनिक जिम्मेवारीका कारण घर भन्न पाउँदिन, परिवार भन्न पाउँदिन। कुदेको कुद्यै हुन्छु,’, उनी भन्छन्, ‘यसैलाई मैले शौभाग्य ठानेको छु।’

व्याकुल दाइलाई परिवारको गुजारा चलाउन पुग्ने आजीवन भत्ता राज्यले व्यवस्था गरिदियो भने उनलाई ७७ वटै जिल्लाका स्कुल तथा कलेजमा सजिलै उभ्याउन सकिन्छ। उनीसँगै राष्ट्रगान गाउँदा र उनको जीवन दर्शन सुन्न पाउँदा विद्यार्थीहरू राष्ट्रिय भावनाले ओतप्रोत हुने छन्। उनीहरूमा ऊर्जा बढ्ने छ।

बहुआयामिक व्यक्तित्व छ उनको। गाउँगाउँमा जाँदा शिक्षाको कुरा गर्छन्। पर्यटन प्रवद्र्धनका कुरा गर्छन्। खेल विकासका कुरा गर्छन्। सांस्कृतिक जागरणका कुरा गर्छन्। सबैलाई सत्कर्ममा हौस्याउँछन्।

निरन्तर गीत लेखनमा सक्रिय छन् । किन लेख्छन् त उनी ?

‘गीतका माध्यमबाट ऊर्जा मिलोस्। समाजलाई दिशा निर्देश होस भन्ने लाग्छ’, उनी भन्छन्, ‘समाजमा परिवर्तन आओस् भन्ने चाहन्छु।’
उनका ५१ वटा गीत रेकर्ड भैसकेका छन्। जागरण गीतबाहेक मायापिरतिका केही गीत पनि गाएका छन्। ती गीत हुन्–यलम्बरकी छोरी, मेरो मुटु तिमी बस्ने गाउँजस्तो, थाहै नदिई चुपचाप। तीनवटै संगीता राईले गाएकी।

बरोबर गीत लेख्ने आग्रह आउँछ। एन्फाको लागि फुटबलको र कराँते महासंघका लागि कराँतेको गीत पनि लेखेका छन्। कुनै समय उनी कराँतेका खेलाडी पनि थिए।

पछिल्लो समय उनी जन्मथलो सोक्मटारको शैक्षिक, सांस्कृतिक, आर्थिक र पर्यटन विकासमा सक्रिय छन्।

उनी अध्ययन, अनुसन्धान र सृजनात्मक लेखनमा निरन्तर सक्रिय छन्। यतिवबेला विद्यावारिधी गर्ने तयारी गर्दै छन्।
जनकवि दर्गालाल श्रेष्ठले लेखेकै छन् नि, ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार।’ सरकारले ०७१ मंसिरदेखि उनलाई मासिक २५ हजार रुपैयाँ भक्ता दिन थाल्यो। सरकारले उनलाई आजिवन भत्ता दिने निर्णय गर्दा केही कवि/लेखकबाटै विरोधको स्वर सुनिएको थियो।

फर्केर हेरौं त, के व्याकुल माइला कसैको निगाहामा राष्ट्रगानका लेखक बनेका हुन्? होइन, आफ्नै सृजनाले बनेका।
स्वरसम्राट नारायण गोपालले गाएका छन्, ‘मुटुमाथि ढुंगा राखि हाँस्नु प-या छ।’ यस्तै भएको छ उनको जीवनमा पनि। व्याकुल दाइ जब मञ्चमा बोल्न उभिन्छन् तब उनी सारा पीडा भुलेर राष्ट्रिय भावनाका कुरा गर्छन्। विकास, निर्माणका कुरा गर्छन्। सबैलाई एकताको शुत्रमा बाँध्ने प्रयास गर्छन्।

मनभित्र जतिसुकै तनाव भए पनि बाहिर देखाउँदैनन्। सबैलाई आफ्नो माटोप्रति गर्व गर्न हौस्याउँछन्। मुलुकलाई माया गर्न सिकाउँछन्। जसरी ‘सयौं थुंगा फूलका हामी’ मार्फत हिमाल, पहाड र तराई जोडेका छन् त्यसैगरी मान्छेका मन जोड्ने प्रयास गरिरहन्छन्।
मलाई लाग्छ राज्यले उनलाई बिटुल्याएको छ। केही गरेन भनौं भने मासिक २५ हजार रुपैयाँ भत्ता दिन्छ, केही ग-यो भनौं भने त्यति रकमले परिवार चल्दैन। निजामती सेवाको सुब्बाले पाउने जति सुविधा पनि पत्याएन हाम्रो सरकारले।

के हाम्रो राज्य उनको गाँस, बास र कपासको व्यवस्था गर्न सक्दैन?

अर्को सन्दर्भ, विगतमा काठमाडौं महानगरपालिकाले उनलाई ‘विकास दूत’ बनाएको थियो। त्यतिबेला महानगरपालिकामा ईश्वरराज पौडेल कार्यकारी अधिकृत थिए। त्यस बापत उनले मासिक ३० हजार रुपैयाँ पाउँथे। वर्ष दिनको सम्झौता थियो, ६ महिना पछि महानगरमा जनप्रतिनिधि आए। मेयरले मतलव गरेनन्। परिणामः सम्झौता अवधिको पुरा रकम समेत पाएनन् उनले।

दुई महिना अघिदेखि नानुकला नेपाल आयल निगममा करारको जागिर खाँदै छिन्। बल्ल अलिक सजिलो भएको छ।
संसारका सबै नागरिकले राष्ट्रगानका लेखक भेट्न पाउँदैनन्। हामी भाग्यमानी छौं किनकि हाम्रो साथमा व्याकुल दाइ छन्। उनलाई तनावमुक्त भएर सृजनामा रमाउने वातावरण बनाउनु पर्छ।

ठूलो खर्च पनि त छैन उनको। साधारण छ जीवनशैली। मदिराको लत छाडेको धेरै वर्ष भैसक्यो। चिया/कफीको पनि अम्मली होइनन्। घरमा पिउँदैनन्। बाहिरफेर निस्कँदा सम्मानस्वरूप प्राप्त चिया भने सुरुप्प पारिदिन्छन्।

व्यावहारिक जीवनमा ज्यादै सरल, भद्र र आत्मीय छन्। घमण्ड कुन चरीको नाउँ हो उनलाई थाहा छैन । उनलाई भेट्दा र सुन्दा ऊर्जा बढ्छ। विशेषतः उनलाई भेट्न विद्यार्थी मरिहत्ते गर्छन्।

केही महिनाअघि हामी तनहुँका गाउँमा पुगेका थियौं। राष्ट्रगानका लेखक आएको खबर फैलनेबित्तिकै अरनिको मावि, टुटेपानी र नर प्रावि मिछुलुर्ङका शिक्षकले व्याकुल दाइलाई बोलाए। दुवै विद्यालयका विद्यार्थीले राष्ट्रगान गाइसकेका रहेछन्। उनीहरूले फेरि पनि गाए। दुवै ठाउँमा उनले मन्तव्य दिए। उनले जीवन संघर्ष सुनाएर भाइबहिनीलाई पढ्न प्रेरित गरे। उनको प्रवचनको निचोड थियो, ‘पढाईले नै मनको दैलो खुल्छ। पढ्नु पर्छ। असल नागरिक बन्नु पर्छ।’

अब के गर्ने ?
मैले ०६६ भदौमा पनि व्याकुल दाइको विषयमा लेखेको थिएँ। त्यतिबेला गुजारा चलाउन उनले ऋण लिएको कुरा लेखेको थिएँ। त्यही ऋण तिर्न नसकेर बढ्दै गएको हो। समय फेरिएको छ, हिजो भन्दा आज अलिकति सजिलो भएको छ उनलाई।
विगतमा प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, सुुुुशील कोइराला र राष्ट्रपति विद्यादेवी भण्डारीले उनको बारेमा सोधखोज गरेका थिए। उनी आफैंले ‘मलाई यसो गरिदेउ’ भन्न सकेनन्। भन्न पनि मिलेन। सरकारले विवेक प्रयोग गर्नु पर्छ।
सांस्कृतिक अनुसन्धानमा रुचि छ उनको। आजिवन अनुसन्धान गर्न चाहन्छन्। अनुसन्धानमा लाग्दा खर्च अभाव नहोस्। कृति प्रकाशन गर्न समस्या नपरोस्। यसका लागि सरकारले चाहे उनलाई प्रज्ञा प्रतिष्ठानमा आजिवन प्राज्ञका रुपमा राख्ने व्यवस्था मिलाउन सक्छ। त्यसबाट घरखर्च चलोस, गाडी र आवास सुविधा मिलोस्। उनको छुट्टै कार्यकक्ष होस्। अनुसन्धान गर्न बजेट व्यवस्था होस्। यति हुन सक्यो भने हामीले उनबाट धेरै उपलब्धी पाउन सक्छौं।

हामीले कथाका धेरै पात्रलाई राष्ट्रिय विभूति मानेका छौं। तर, हाम्रो सामु ज्युँदो विभूति छन्। उनलाई हामीले डिप्रेसनमा पु-याउनु हुँदैन।

केही साथीहरू भन्छन, ‘डबल डिग्री (जनप्रशासन र समाजशास्त्रमा) गरेको मान्छेले पढाएर खाए भैहाल्यो नि।’ झट्ट सुन्दा उनीहरूको कुरा ठिकै हो। एकछिन सोचौं त, उनलाई मास्टर बनाएर एउटा क्याम्पसमा थन्काउने कि, देशभर डुलाएर विद्यार्थीको ऊर्जा बढाउने?

उनको परिवारको गुजारा चलाउने व्यवस्था राज्यले गरिदियो भने देशभरका स्कूल तथा कलेजमा उनलाई उभ्याउन सकिन्छ। उनीसँगै राष्ट्रगान गाउँदा र उनको जीवन दर्शन सुन्न पाउँदा विद्यार्थीमा राष्ट्रिय भावना जाग्छ।

व्याकुल दाइ ४६ वर्षका भए। उनको जीवनकालमा देशका ७७ वटै जिल्लाका शैक्षिक संस्थामा पु-याउन सके कति राम्रो हुन्थ्यो! त्यहाँ पु-याएर टुटेपानी र मिर्छुलुङका विद्यार्थीलाई जस्तै उनको जीवन कथा सुनाएर असल नागरिक बन्न प्रेरित गर्ने कि!
यसमा राज्यले गम्भीरपूर्वक सोच्नु पर्छ। अहिलेलाई हामी उनको ऋण मोचन अभियानमा जुटौं।

बाँच्न त व्याकुल दाइ बाँचेकै छन्। उनलाई खुसी साथ बचाऔंं।
bhadgaonle@gmail.com

https://nagariknews.nagariknetwork.com/news/72678/?fbclid=IwAR0aqU5diGowCP9yegXy82C8aY-O15O7-QOWYbU4fL41y1uEYPvW1Grxvkk

Leave a Reply

Your email address will not be published. Required fields are marked *