व्याकुल माइला
मैले मेरो बुवाबारे लेखेको लेख एउटा दैनिक पत्रिकामा छापिएको भोलिपल्ट गाउँ पुगेर बुवालाई त्यो लेख पढेर सुनाउँदै गर्दा झसङ्ग व्युझिएँ । त्यो मीठो पल केवल सपनामात्रै थियो । बुवा मानबहादर राईले हामीलाई सदाका लागि छोडेर जानुभएको पनि चार महिना भइसक्यो । बुवासँगको नोस्टाल्जिया अर्थात् यादगार क्षणहरू यति धेरै छन् कि पलपल सम्झनाले झस्काइरहन्छ ।
म स्कुल जान थालेको सालको कुरा हो । साउन महिनाजस्तो लाग्छ । बर्खेछुट्टीको समय थियो । बुवा बारीमा मकै गोड्न निस्कनुभयो । लेखपढ गर्ने सामग्री बोकाएर मलाई पनि साथै लानुभयो । मलाई माचको छाप्रोमा बसाउँदै ‘साँवा अक्षर’ लेख्न लगाउनुभयो । उहाँ भने कामको मेलोतिर लाग्नुभयो । लेख्नलाई केही खरीढुङ्गा र एउटा डेढ वर्गफिटजतिको सानो कालोपाटी थियो । त्यसमा ‘क’ देखि ‘ज्ञ’ सम्मका साँवा अक्षर एउटै आकार र बराबरी दूरीमा मिलाएर लेखेँ । त्यसरी मिलाएर नलेखे सानो पाटीमा अट्न मुस्किल हुन्थ्यो । लेखिसकेर बुवालाई देखाउन लगेँ । मेरो लेखाइको क्षमता देखेर बुवा दङ्ग पर्नुभयो । मलाई ‘साँवा अक्षर’ लेख्न आउँछ भन्ने उहाँलाई लागेको रहेनछ । उहाँले भन्नुभयो, ‘ल, यो मेरो छोरोले पढ्ने रहेछ । ’ बुवाको त्यो वाक्य मेरो कानमा सधैँ गुञ्जिरहन्छ ।
बुवा जहाँ जानुभए पनि उहाँलाई पछ्याउने मेरो बानी थियो । दूधकोसीकिनारमै हाम्रो घर छ । कोसीमा बल्छी थाप्ने चलन पुरानै हो । भ्याउँदाखेरी बुवा पनि बल्छी थाप्नुहुन्थ्यो । घरभन्दा तल कोसीको भँगालो छुटेको थियो । बीचमा आइल्यान्ड थियो । त्यसभन्दा उतापट्टिको मुलकोमा बुवाको बल्छी थाप्ने खेवा थियो । त्यहाँ पुग्न भँगालो तर्नुपथ्र्यो । बुवा तरेर बल्छी निकाल्न जानुभयो । म वारिपट्टि नै रहेँ । हेर्दाहेर्दै बुवाले दुईवटा माछा निकाल्नुभयो । मैले मेरो केटाकेटी मन थाम्न सकिनँ । म पनि भँगालो तर्न थालेँ । त्यो छहरा थियो । तीव्र गतिमा बग्ने पानी । हेर्दा धेरै गहिरो नभए पनि शक्तिशाली वेग रहेछ । बीचमा नपुग्दै मलाई बगाउलाजस्तो भयो । अलिकति बग्नेबित्तिकै तल नीलो, गहिरो दह, जहाँ भँगालो र मुलको सङ्गम थियो । त्यतिखेर पौडी खेल्न जान्ने र सक्ने उमेरको भइसकेको थिइनँ । खुट्टा नटेकिएपछि हातले पनि टेक्न र समाउन थालेँ । पानीभित्र भेटिएका जुन ढुङ्गा समाते पनि बगिहाल्ने ! चारपाउ टेक्दा मुखमा पानी पस्न थाल्यो । म निकै आत्तिसकेको थिएँ । अब बग्छु भन्ने लागिसकेको थियो । त्यसैबेला माथि घरबाट मलाई कसैले देख्नुभएछ । ‘सुइ…सुइ…’ पारेको पारेकै गर्न थाल्नुभएछ । यता बुवालाई थाहै थिएन । बल्ल बुवाले मलाई देख्नुभएछ र ‘फर्किहाल्, फर्किहाल्’ भन्ने इसारामा हात उज्याउँदै बेस्सरी कराउनुभयो । म त्यो भँगालोको मझधारमा यता फर्किनु न उता तर्नु भएको थिएँ । त्यसरी कराउनु भएपछि फर्किएँ । ठूला मान्छेका हप्काइले डराइँदा पनि एककिसिमले शक्ति आउँदोरहेछ । छहराबाट लर्खराउँदै किनारामा निस्किएँ । त्यसरी मलाई घरबाट देख्ने र बुवाले कराउने अलिकति मात्रै ढिलो भएको भए आज म यसरी संसार बुझ्ने मौकाबाट वञ्चित हुने थिएँ । अबोध बाल्यकालमै दूधकोसीमा समाहित भइसकेको हुने थिएँ ।
हाम्रो मूलघर र मतान पूर्व–पश्चिम आमनेसामने करिब बराबरी उचाइका थिए । भुइँचालोले क्षतिग्रस्त भएपछि अहिले मूलघर छैन । बीचमा आँगन थियो । एक दिन धुरीतिर बिराला ङ्यारङुर गर्दै आपसमा लखेटालखेट गर्न थाले । आँगनबाट मतानको सिँढीतिर उक्लिँदै थिएँ म । दुई खुड्किलामात्र के उक्लिएको थिएँ, घरको छानोबाट मतानको छानोमा हामफालेको बिरालो मेरो जिउमै बजारियो । म त्यहीँ लडेँ । त्यसले मलाई कोतरेछ, चह¥यायो र रुन थालेँ । बुवाले देख्नुभएछ र दौडँदै आएर उठाउनुभयो । मलाई फकाउँदै भन्नुभयो, ‘त्यस बिरालोलाई म अहिले नै समातेर ठीक पार्छु, भुइँमा पछारिदिन्छु, यस्तै–यस्तै । ’
उहाँका कुराले मलाई ठूलो सहानुभूति मिल्यो र मेरो रुवाइ थामियो । मलाई अनाहकमा लडाउने बिरालोप्रतिको आक्रोश शान्त भयो । बिरालोलाई बुवाले कतिखेर ठीक पार्नुहोला भनेर पर्खिरहेँ । तर, बाठा बिरालाहरू त्यहाँबाट सुइँकुच्चा ठोकिसकेका थिए । बालमनोविज्ञानयुक्त बुवाको त्यो बोलीले भने मलाई अहिलेसम्म पनि आनन्दित बनाइरहन्छ । पीडकको आलोचना गरिदिँदामात्रै पनि पीडितको घाउमा मल्हमपट्टी लाग्दोरहेछ ।
हाम्रो घरबारीको अम्बकडाँडामा बुवा खनजोतको काम गर्दै हुनुहुन्थ्यो । एक्कासि मलाई बोलाउनुभयो । म घरमै थिएँ । त्यहाँ काम गर्दैगर्दा खिया परेको एउटा खेलौना मोटरगाडी फेलापार्नुभएछ । त्यो मलाई दिनुभन्दा पहिला मेरो अक्कल–बुद्धि जाँच्नुभयो । आफ्नो माझीऔँलाको बाहिरी जोर्नीमा थुक लगाएर माटो टाँस्नुभयो । जेठीऔँलासँग समानान्तर जोडेर बायाँ हत्केलामा जोड्दै र तान्दै घुमाउनुभयो । त्यसो गर्नुहुँदा माटो लागेको उहाँको माझीऔँला कहिले यता कहिले उता स¥यो । म छक्क परेँ । उहाँले ‘औँला कसरी स¥यो, पत्ता लगाऊ’ भन्नुभयो । उहाँको ट्रिक बुझिनँ । कारण मेरो ध्यान त्यताभन्दा पनि फेलापरेको गाडीमा थियो । यस्तो खेलौना कसरी बारीमा फेलाप¥यो ? कसले हराएको थियो होला ? अझ नयाँमा देख्न पाएको भए कस्तो हुन्थ्यो । मनमा यस्तै तर्कना खेलिरह्यो । ढुङ्गाका भाँडाकुटी खेल्ने बानी, मोटरै भेटियो । मैले बुवाको जादुको राज बुझ्न नसकेपछि उहाँ आफैँले बुझाइदिनुभयो । मलाई सिकाउनु पनि भयो । मैले पनि त्यो जादु गर्न सक्ने भएँ । औँलाहरू अझै पनि त्यसरी नै चलाउँछु र त्यस दिन छक्क परेको कुरा याद गर्छु ।
आफू स्कुल गएको पहिलो दिनै कुटाइ खाइयो । हाम्रो हिलेपानी गाउँको स्कुलको नाम ‘महादेवस्थान स्कुल’ भए पनि ‘धारा स्कुल’ भनेर चिन्छौँ । त्यो बेला स्कुलको हेडमास्टर बुवा नै हुनुहुन्थ्यो । त्यो पहिलो दिन म बुवासँगै स्कुल गएको थिएँ । त्यसबखत म चार वर्षको थिएँ सायद । सानो कदको ज्यान । कक्षा १ को कोठा अफिस कोठासँगै जोडिएको थियो । बुवाले मलाई कक्षा कोठामा बसाएर आफू अफिसभित्र पस्नुभयो । सबैलाई हेर्नुपर्ने, सबैलाई पढाउनुपर्ने उहाँको जिम्मेवारी । कक्षामा ५÷६ जनामात्रै थियौँ । साथीहरू भने मभन्दा ठुल्ठूला थिए । त्यसमध्येको एकजनाले मेरो गाला घरीघरी छुने र मुसार्ने गर्न थाल्यो । त्यसो गरेको रिसले होइन, मायाले रहेछ । मलाई भने झर्को लाग्यो र रुन थालेँ । म रोएको सुनेपछि बुवा आएर अफिसभित्र लैजानुभयो । के भयो भनेर सोध्नुभयो ।
‘मलाई शङ्खरले पिट्यो’ भनेँ । त्यति भनेपछि बुवाले उसलाई ठीक पार्नुहुन्छ भन्ने थियो । उसलाई पनि अफिसमा बोलाउनुभयो र भन्नुभयो, ‘कान्छा, तिमीले भाइलाई किन कुटेको ?’ उसले भन्यो, ‘पापसाइला, मैले पिटेको छैन, मायाले उसको गाला छोएकोमात्र हो । ’ साँचो कुरा बुझ्न बुवा फेरि कक्षाकोठामा जानुभयो । सबैलाई सोधेर वास्तविकता पत्ता लगाउनुभएछ । अफिसमा फर्किएर दलिन सिउरिएको बाँसको लौरो निकालेर ‘तेरो दाइले तँलाई कुटेको होइन रहेछ, त्यसै रुन्छस् ? झुटो बोल्छस् ?’ भन्दै मैलाई बजाउन थाल्नुभयो । धन्न लौरो मेरो ज्यानभन्दा बढी कुर्सीमा ठोक्कियो । तब पो खास रूवाइ सुरु भयो मेरो । रूँदारूँदा मेरा हातखुट्टा नै झमझमाए । त्यसपछि भने झुटो पोल लगाउन नहुनेरहेछ भन्ने कुरा सिकेँ । शङ्कर दाइले मलाई साँच्चै माया गर्नुभएको रहेछ । उहाँ अहिले यो संसारमा हुनुहुन्न । उहाँको असामयिक निधन भएको पनि दशक बितिसक्यो । मैले लेखेको राष्ट्रियगान छानिएपछि ‘हाम्रो प्रदीप माइलाले राष्ट्रियगान लेख्यो’ भन्दै खुसीका आँसु रुनुभएथ्यो रे ।
त्यस्तै, एक दिनको कुरा हो । खाना पाक्दै थियो । ढुकुर मार्न सकियो भने भात रुच्ने तिहुन पाक्छ भनेर बुवा भरुवा बन्दुक बोकेर माथि डाँडोतिर निस्कनुभयो । आफ्नो त बुवालाई पछ्याउने बानी लागेकै थियो । बुवा हिँड्नुभएको केहीबेरमै हामी दिदीभाइ ‘पापा हऊ…पापा हऊ…’ भन्दै बुवालाई खोज्न थाल्यौँ । बुवा चुपचाप हुनुहुन्थ्यो । केही बेरपछि रित्तोहात रिसाउँदै फर्किनुभयो । हामीलाई बेस्सरी हप्काउनुभयो, ‘रूखको हाँगाको ढुकुरलाई बन्दुक हान्नलाई ठिक्क पर्दै थिएँ, तिमीहरूको हल्लाले ढुकुर उड्यो’ भन्नुभयो । हामीलाई पनि थकथकी लाग्यो । उडेको ढुकुर सम्झिँदै गुन्द्रुकको झोलसित भात खाइयो ।
म किशोर भइसकेको थिएँ । पौडेर दूधकोसी वारिपारि खुब तर्थें । सोक्मटारनेर बाइसीघाटमा सिमलको तीनपैले डुङ्गा थियो । त्यो बढी घाँसेहरू तार्नका लागि प्रयोग हुन्थ्यो । वारि ओखलढुङ्गा र पारिपट्टि खोटाङ जिल्ला । वारि सोक्मटारका हामी घाँसेहरू पारि जल्केनी, कुइभीर, राइकन्ते, सालामखोला, जिमामखोलालगायतका भीर–पहरातिर घाँस काट्न जान्थ्यौँ । डुङ्गा म पनि सहजै वारिपारि खियाउँथेँ । त्यो बेला माछा मार्नु,
पौडी खेल्नु र डुङ्गा ख्याउनु नै आफ्नो ठूलो कला–कर्मजस्तो लाग्थ्यो ।
एक दिन मध्याह्नतिर एकजना घाँसेलाई पारिबाट वारि तार्दै थिएँ । बुवा कहाँबाट आइपुगेर डुम्बुरच्याट डिलमाथि बाटोमा बसेर मलाई नै हेर्दै हुनुहुँदोरहेछ । जब डुङ्गाको मुख (अगाडिको भाग) मझधारतिर सोझ्याएँ, बुवाले चर्कोचर्को स्वरमा ‘..तल…तल…, माथि…माथि…., तल…तल…माथि…माथि…’ भन्दै बहना चलाउन सिकाउन थाल्नुभयो । म हडबडाएँ । डुङ्गा बिच्क्यो र हेलिएर उँधो बग्न थाल्यो । हाम्फालेर पौडिँदै तानेर बल्लबल्ल डुङ्गा किनारामा निकालेँ । ती घाँसे दिदी एसपीरत्न हुनुहुन्थ्यो क्यारे, कति पनि आत्तिनुभएन । कारण उहाँलाई पौडी खेल्न राम्रै आउने रहेछ । त्यो घटना मेरो असक्षमताले भन्दा पनि बुवाले सिकाउन खोज्दा भएको थियो । अभिभावकले आफ्नो बालबच्चालाई अति साह्रो अह्राउन÷सिकाउन हुन्न रहेछ भन्ने कुरा बुझेँ ।
खाना खाएपछि मध्याह्नतिर केही घण्टा आराम गर्ने बुवाको बानी थियो । घरको तलामाथि सुत्नुभएको थियो । म मतानको कौसीमा थिएँ । उहाँ उठ्नुभयो र केही ल्याउन मलाई अह्राउनुभयो । उहाँको राम्ररी कुरा सुनिन र सोधेँ । दोहो¥याएर भन्नुभयो । फेरि पनि कुरा बुझिनँ । ‘घर पछाडि…होला…लिएर आऊ’ भनेकोमात्रै सुनेँ । फेरि सोध्ने आँट गरिनँ । आफ्नै विवेकले काम गर्ने प्रयास गर्दै ‘हस् पापा’ भनेर घर पछाडि गएँ । घर पछाडि टाँडजस्तो बनाइएको थियो । त्यसमाथि हलो र जुवा राखिएको थियो । त्यसैमा मेरो नजर पुग्यो । ‘घर.. पछाडिको…ह..लो…
ल्याउनू…’ भन्नु भएजस्तो लाग्यो । हलो, जुवा निकालेँ र काँधमा हालेर सकीनसकी बोकेँ ।
उहाँले देख्नेगरी आँगन मास्तिर डिलमा अड्याउँदै ‘पापा ल्याएँ’ भनेँ । म फुच्चेले त्यत्रो हलो, जुवा बोकेको पहिलोपटक थियो । अहो, बुवा त रिसले फायर पो हुनुभयो । ‘सफा गरेर अस्तिमात्रै राखेको हलो, जुवा किन निकालिस् ? तँलाई मैले घर पछाडिबाट अब्बा टिपेर ल्याऊ भनेको होइन ?’ भन्नुभयो । बल्ल पो कुरा प्रस्ट भयो । ‘जस्ताको तस्तै त्यो लगेर राख्’ भनेपछि त्यसै गरेँ । यसबाट थाहा पाएँ कि अन्धाधुन्ध गरिने कामको परिणाम कष्टकर हुने रहेछ ।
एकरात मैले एक अनौठो कुराको सामना गर्नुप¥यो । सुनसान राति एक बजेतिर मेरो कानमा धामी–झाँक्रीले बजाउने थाली (घण्टी) र ढ्याङ्ग्रो बज्न थाल्यो । मेरो वरिपरि कान नजिक–नजिक बज्थ्यो । विधिवत् किसिमले बज्थ्यो । हाहाहुहु… गर्दा केहीबेर हराउने अनि फेरि बजिहाल्ने । त्यस कोठामा दिलीप र म सुतेका थियौँ । उसलाई उठाएँ तर त्यो आवाज उसले सुनेन । निरन्तर एक–डेढ घण्टासम्म पनि त्यो आवाजले मलाई नछोडेपछि अर्को कोठामा सुत्नुभएको बुवालाई बोलाएँ । बुवा उठेर आउनुभयो र ठुल्ठूलो स्वरमा कराइदिनुभयो । ‘ल अब केही हुँदैन, सुत,’ भन्नुभयो । साँच्चै त्यसपछि त्यस्तो आवाज आउन छोड्यो र म निदाएँ । हामी दाजुभाइले धपाउन नसकेको आवाजलाई बुवाले धपाइदिनुभयो । के थाहा पाएँ भने, घरमुलीसँग अदृश्य शक्ति पनि डराएर भाग्दोरहेछ ।
http://gorkhapatraonline.com/news/69270