खुल्यो, लिब्जु कलेक्सन

कला साहित्य -संस्कृति

गणेश वाम्बुले
ललितपुर । किरात वाम्बुले राईहरुको सांस्कृतिक पहिचानलाई लिएर ‘लिब्जु कलेक्सन’को शुभारम्भ भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१ इमाडोल कृष्णमन्दिरसँगै उक्त कलेक्सन केन्द्र स्थापना गरिएको हो ।

लिब्जु कलेक्सन

किरात वाम्बुले राईहरुको उत्पत्ति थलो ओखलढुंगा जिल्ला दक्षिण मानेभन्ज्याङ गाउँपालिका वडा नं.२ र ३ को शिरमा रहेको पहाडको नाम लिब्जु हो । लिब्जु वाम्बुले राईको कुलदेवता हुन् । जसलाई लिब्जु उपो भन्दछन् । यही देवस्थलको नामबाट वाम्बुले सांस्कृतिक पहिरन बजारिकरण गर्ने उद्देश्यले ‘लिब्जु कलेक्सन’ स्थापना गरिएको प्रबन्धक मोतीलाल राईले जनाउनु भएको छ ।

सो कलेक्सन बिहीबार प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, संचालक भुवनसिंह राईलगायतले उद्घाटन गर्नुभएको हो । ‘अबदेखि वाम्बुले राईहरुको परम्परागत पहिरनहरु एकै ठाउँमा पाउने स्थलका रुपमा लिब्जु कलेक्सन सुरु गरेका हौं,’ संचालकमध्येका देश राईले भन्नुभयो, ‘ओखलढुंगाको उँबु, वाक्सा, रिनुवाल, हिलेपान, उदयपुरलगायत गाउँमा परम्परागत तानसाँचोमा बुनेको खाँडीको कपडा संकलन गर्दैछौं । विशेष गरी वाम्बुले टोपीलाई अनुरोध गरेरै बुन्न लगाएका छौं । मफलर, झोला, गुन्यु, चोली सबै सबै वाम्बुले दिदीबहिनी, आमाहरुले बुन्नु हुन्छ । यसको बजारिकरण थालेका हौं ।’ यहाँ जन्मदेखि मृत्यु पर्यन्तसम्म प्रयोग हुने सांस्कृतिक सामग्रीहरु राखिएका छन् ।

‘वाम्बुले समुदाय र अन्य किरात जातिले प्रयोग गर्ने सांस्कृतिक पोशाक, गरगहनाहरु, हातहतियारहरु छन्,’ संचालक सीताकुमारी राईले भन्नुभयो, ‘अबदेखि देश, विदेशमा जो जसलाई मनपर्छ अर्डरअनुसार उपलब्ध गराउने छौं ।’ चाँदीका चारानी, आठानी हारी, कम्पनी माला, काँडेचुरा, सुनलगायत गरगहना रहेका छन् ।
उद्घाटन समारोहमा प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवारले लिब्जु देवता सबैको साझा धार्मिक थलो भएको बताउनुभयो । ‘लिब्जु ओखलढुंगा दक्षिण भेगका सबै जातजाति भाषाभाषीको धार्मिक धरोहर हो,’ भन्नुभयो, ‘अब यसको पर्यटकीय विकासमा ध्यान दिन्छु । निकट भविष्यमा लिब्जु महोत्सवको आयोजना गरिनेछ । देश विदेशमा पर्यटन प्रवद्र्धन गर्न सहज हुनेछ ।’

त्यसैगरी वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाका अध्यक्ष तथा वरिष्ठ पत्रकार गजुरधन राईले ‘लिब्जु कलेक्स’ सांस्कृतिक आवश्यकताको नयाँ आयाम भएको बताउनुभयो । ‘हाम्रा पुर्खाहरुले विकास गरेका सांस्कृतिक धरोहरलाई बजारिकरण गर्ने पहल हुनु सराहनीय पक्ष हो,’ उहाँले भन्नुभयो, ‘हाम्रो आफ्नो पुर्खाले प्रयोग गर्ने गरेका सामग्रीहरु कहाँ खोज्ने, कसले खोज्ने भन्ने समस्या थियो । अब सहज भएकोमा यसका संचालकहरुलाई बधाई दिन चाहन्छु ।’ यो कलेक्सनमा नौ सदस्यले संचालनमा ल्याउनु भएको जनाइएको छ ।

 

‘इक लिब्जु–भुम्जु’ ३ सार्वजनिक

लिब्जु कलेक्सन उद्घाटन समारोहमा ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका सार्वजनिक गरिदै

लिब्जु कलेक्सन उद्घाटन समारोहमा ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका वर्ष ५, अंक ३, २०७५ समेत सार्वजनिक गरिएको छ । प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, वरिष्ठ पत्रकार गजुरधन राई, मोडेल चाँदनी राई, सिंगापुर पुलिस फोर्सका पूर्व इनस्पेक्टर भुवनसिंह राई, अर्जुन राई र मोलीलाल राईले सो पत्रिका सार्वजनिक गर्नुभएको हो । वाम्बुले राई भाषा र संस्कृति विशेष यो पत्रिका २०५० सालदेखि प्रकाशित ‘लिब्जु–भुम्जु’ पत्रिकाको निरन्तर ७५औं संस्करण हो । यो पत्रिकाले वाम्बुले राई भाषा, साहित्य, किरात लिपि, संस्कृति, इतिहासलगायत किरात जातिको संस्कृतिको प्रवद्र्धन तथा दस्तावेजीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

Leave a Reply

Your email address will not be published.