यसरी बन्यो, ३९ फिट अग्लो स्वालेवा स्तम्भ

कला साहित्य -संस्कृति

गणेश वाम्बुले राई
काठमाडौं– किरात प्रदेश ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्यालस्थित ड्याब्लोमटारमा वाम्बुले राईहरूको पहिचान स्तम्भ स्वालेवा निर्माण सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका निवर्तमान प्राज्ञ सदस्य तथा वरिष्ठ कलाकार धनबहादुर याखा (धनु याखा)को नेतृत्व टोलीले स्वालेवालाई अन्तिम रुप दिएको हो । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको अगुवाईमा स्तम्भ निर्माण भएको हो ।

वाम्बुले राईहरूको पहिचान स्तम्भ स्वालेवा

उपभोक्ता समिति अध्यक्ष सौराज राईले वाम्बुले पहिचानजन्य स्वालेवा स्तम्भ निर्माण कार्यमा पूर्वसांसद रामहरि खतिवडाले सांसद विकास कोषबाट १० लाख रुपैयाँ प्रदान गर्नुभएको थियो । मानेभन्ज्याङ गाउँपालिकाबाट ८ लाख र वडा नं.३ वडापालिकाबाट १ लाख रुपैयाँ प्राप्त भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७५÷७६ मा गाउँपालिकाबाट ७ लाख रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी देश–विदेशबाट १ सय ८१ जनाले आर्थिक सहयोग गरेका छन् । त्यस्तै, स्वालेवा स्तम्भ निर्माण सम्पन्न गर्न उँबुगाउँवासीमध्ये ७७ घरबाट एक–एक दिन श्रमदान गरेका थिए ।

स्वालेवा स्तम्भसँगै अदुवा स्तम्भ पनि

समितिका अध्यक्ष राईले निर्माण कार्य अब थोरैमात्र बाँकी रहेको जानकारी दिनु भएको छ । ‘युवा व्यवसायी दिवाना क्याम्पा राई सबै रंगको खर्च व्यहोर्नु भएको छ,’ उहाँले भन्नुभयो, ‘असार सकिनै लाग्दा काठमाडौंबाट निर्माण समितिका अध्यक्षले प्रमुख कलाकार धनु याखालगायतलाई लिएर आउनु भयो । बिमल राई, धनु याखालगायतले फाइनल टज दिनुभयो ।’

स्वालेवा स्तम्भ

वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय उपाध्यक्ष तथा स्वालेवा स्तम्भ निर्माण समिति अध्यक्ष शुभचन्द्र राईले स्तम्भको चारै सुरमा रिलिफ आर्ट र जग्गादाता, आर्थिक सहयोगदातालगायतको नामावली राख्न बाँकी रहेको बताउनु भएको छ । ‘रिलिफ आर्टका निम्ति कलाकार इन्दिरा श्रेष्ठको टोली खटिरहेको छ,’ उहाँले भन्नुभयो, ‘आर्थिक सहयोगदाताहरुका बारेमा आर्थिक संयोजकले फाइनल नाम दिनुभएपछि शिलालेखमा कुँदेर स्वालेवा स्तम्भको चौघेरामा राखिने छ ।’

स्वालेवा स्तम्भ

स्तम्भ निर्माणको परिकल्पनाकार तथा आर्थिक संयोजक मुन्चे राईका अनुसार हालसम्म १ सय ८१ जनाले आर्थिक सहयोगको प्रतिवद्धता जनाउनु भएको छ । ‘स्वालेवा स्तम्भ निर्माण कार्य सकिएको मात्रै हो, यसमा धेरै खर्च अझै सहयोग उठाउने क्रम जारी छ, किनभने अझै धेरै काम बाँकी छ,’ हाल युएईमा रहनु भएका राईले भन्नुभयो, ‘नमुना घर, वरिपरि कलाहरु, यसको स्याहारसम्भार र निरन्तर चुस्त राख्नको लागि कोषको आवश्यकता छ ।’

स्वालेवा स्तम्भ निर्माण उपभोक्ता समितिका अध्यक्ष सौराज राईलगायत

मानेभन्ज्याङ गाउँपालिका–३ उँबुगाउँमा बनाइएको यो किराती सांस्कृतिक प्रतीक स्वालेवा (चिन्डो) को मूर्ति स्तम्भ ३९ फिट अग्लो रहेको छ । यो स्थल सदरमुकाम ओखलढुंगादेखि २१ किलोमिटर दक्षिणमा रहेको छ । मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राई र उपाध्यक्ष सबिता राईले २०७४ असारमा उक्त स्तम्भको शिलान्यास गरेका हुन् ।

स्वालेवा स्तम्भ अन्तिम रुप दिंदै कलाकार धनु याखा नेतृत्व टोली

समुद्री सतहदेखि करिब १७ सय मिटर उचाईमा यो स्तम्भ निर्माण स्थल रहेको छ । यहाँबाट उत्तरतर्फ सोलु, पूर्वतर्फ खोटाङ र भोजपुर, दक्षिणतर्फ उदयपुर तथा पश्चिमतर्फ सिन्धुली जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ । स्वालेवाको टुप्पोमा राति बिजुली बत्ती बलेको देख्न सकिन्छ ।

तस्बिरहरु : सौराज राईको फेसबुकबाट

Leave a Reply

Your email address will not be published.