वाम्बुले र बाहिङ बस्तीमा हङ्सिली

कला साहित्य -संस्कृति पत्रपत्रिका प्रदेश प्रदेश १

चैत्र २, २०७६कुम्भराज राई

ओखलढुंगा — वाम्बुले र बाहिङ किरातहरू फागुन र चैत महिनामा पुर्खाको स्मरण गर्छन् । यस बेला उनीहरू ‘ठूलो पितृ’ का नाममा विधिविधान गर्छन् । यसअघि मंसिरदेखि माघसम्म ‘सानो पितृ’ अर्थात् न्वागी, फेली विधि गर्ने प्रचलन छ ।

 

बाहिङ राईको सेग्रोमा हङसिली
बाहिङहरूको मूल थलो ओखलढुंगा र सोलुखुम्बुको तल्लो भेग हो । वाम्बुलेहरू ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुलीको कोसी किनार क्षेत्रमा फैलिएका छन् । बाहिङहरू ठूलो पितृलाई हङ भन्छन् । वाम्बुलेले खाउमो भन्छन् ।
सिमेभूमेजस्ता प्रकृतिलाई उधौली उभौलीमा पुज्ने यी किरातीहरूमा पितृलाई उत्तिकै श्रद्धासाथ पूजा गर्ने चलन रहेको बाहिङ संस्कृतिका अध्येता बुद्धिकुमार राई बताउँछन् । बाहिङ र वाम्बुले समुदायको ठूलो पितृ धेरै किसिमले समान छन् ।
तीन दिनसम्म लगातार गरिने, राँगा र सुँगुरलाई धनुकाँडले हानेर भोग दिने, झ्याम्टा बजाएर नाच्ने चलन उस्तै छ । ठूलो पितृको प्रमूख विशेषता यी समुदायले गाउने मुन्दुम हो । पितृकार्यको बेला यी समदायका पुजारीहरूले ब्रह्माण्डसँगै मानव सृष्टि र बाँच्नका लागि गरेको संघर्ष मुन्दुममा गाउने गर्छन् । त्यही क्रममा आफ्ना दिवंगत पिता पुर्खाहरूलाई सम्झँदै उनीहरूसँग बल मागिन्छ । सबै किसिमका शक्तिहरूलाई बल माग्दै मुन्दुमबाट फलाक्दा नाक्सो (पुजारी) हरू धामी झाँक्रीझैं काम्छन् ।
वाम्बुले राईको खाउमो
किराती संस्कारमा यसलाई महत्त्वपूर्ण मानिन्छ । तर ठूलो पिृत गर्ने चलन विस्तारै लोप हुन थालेको छ । खर्चिलो, झन्झटिलो हुने भन्दै गर्न छाडेका हुन् । पछिल्लो समय संस्कृतिको संरक्षणका लागि निरन्तरता दिनुपर्ने रहेछ भन्ने चेतना जागेको छ । ‘यसपालि तीन गाउँको संयुक्त संयोजनमा ४२ वर्षपछि हङ्सिली गरियो’सिद्धिचरण नगरपालिका १२ का चम्मर बाहिङले भने, ‘अब यसलाई निरन्तरता दिने योजनामा छौँ ।’
ठूलो पितृ खासगरी दुई उद्देश्यले गर्ने चलन छ । वाम्बुलेहरू कुयामो र फुरी खाउमो भनी दुई किसिमका खाउमो गर्छन् । कुयामो भन्नाले परिवारका कुनै सदस्यको मृत्यु भए दिवंगत आत्माको शान्तिका लागि गर्छन् । फुरी खाउमो सुखद कामका लागि गरिन्छ । नयाँ सन्तान प्राप्ति, बुहारी भित्र्याएपछि अर्थात कुनै उपलब्धि हासिल भएको बेला गर्ने चलन छ । यो चलन पनि बाहिङसँग मिल्छ । ‘घरमा दुःख विमार हुँदा निको होस् भनी भाकल गरेर, सुख समृद्धिको कामना गरेर पनि हङ्सिली गरिन्छ,’ बाहिङ समुदायका पुजारी बुद्धिकुमार हङगुले भने, ‘सुखद र दुःखद दुवै काममा पितृलाई स्मरण गरिन्छ ।’
यी संस्कारहरूमा परिमार्जन गर्न सकिने र गर्नै पर्ने पक्षहरू रहेको समुदायका अगुवाको भनाइ छ । ‘भोकै बस्ने, रक्सीमात्रै न्वाक्सोहरूलाई ख्वाउने चलनहरूमा सुधार गर्न सकिन्छ,’ पूर्वसांसद समेत रहेका हर्कबोल राईले भने, ‘मूल मर्मलाई मर्न नदिने गरी परिमार्जन गर्न सके यसलाई लोप हुनबाट पनि बचाउन सकिन्छ ।’ यस्तो परम्परा अन्धविश्वासजस्तो लागे पनि सूक्ष्म अध्ययन गर्दा वैज्ञानिक भएको समेत राईले बताए । मानव सृष्टि प्रकृतिबाटै भएको र प्रकृतिमै पाइने चिजहरूबाट मान्छे बाँचेको मुन्दुमी कथालाई समुदायले आत्मसात गर्ने गरेको छ । हङ्सिलीलाई सेग्रोसमेत भन्ने चलन छ ।
त्यसैले हङ्सिली र खाउमो सिली नाच्दा पनि काठ काट्ने, दाउरा टिप्ने, कोदो रोप्ने, धान रोप्ने, गाह्रो लगाउने, माछा मार्ने जस्ता सीपहरूलाई हात र खुट्टाको चालमा देखाउने चलन छ ।
प्रकाशित : चैत्र २, २०७६ ०९:३२
https://ekantipur.com/pradesh-1/2020/03/15/158424406217551665.html

Leave a Reply

Your email address will not be published.