–मान राई
आमाको यादले सताए जन्मथलो फर्किनु रे ।
बिहान उठ्ने बित्तिकै हलेसी महादेवको दर्शन गरेपश्चात् तल रुम्जटारको फराकिलो मैदानझैँ पाखुरी फैलाउँदै पूर्वमा दूधकोसी, पश्चिममा सुनकोसी काखी च्यापे, आफ्नो शिर उँचो पार्दै ठिङ्ग उभिएकी चोमोलुङ्माझैँ स्वच्छ छविले अटल मेरी ओखलढुंगा ।
केही दिन पहिला फेरि दर्शन गर्ने मौका पाएको थिएँ । ढाका टोपी नभए पनि शिरको क्याप भुइँमा राखेर पाउमा ढोग राखेँ । अनि एक पटक आफ्नो जन्मदिने आमाको स्पर्श दिलायो । आनन्दित तुल्यायो ती पाउले । सायद मेरी आमा तिमी कतै जिवितै छ्यौ । मलाई मनमा खररर भैरहेथ्यो मेरी आमाको सम्झनामा तिम्रो पाउ छुन पाउँदा ।
गुराँस अनि कटुसको जंगल छिचोल्दै भुसुनेको जंगलबाट फुत्त लगलगे निस्किँदा पारि उज्यालो अनुहारले स्वागतमा बसेकी, यसपालि निकै सजिएकी पाएँ । उहिले डालो– नाङ्लो किन्न अनि ‘फन्के रोटीको’ मायाले बिहान सबेरै उकाली लाग्दा बेलुकी ठुलो साँझमा बास झरिने अहिले एक घन्टा आसपासमा नै भट्भटेले ओसार्दो र’छ । कठै बरा ! हिजोआज त्यो भुसुने जंगलको ‘याप्पे’ (जुगा)ले के खाँदो हो कुन्नि !? डालो, नाङ्लो किनेपछि फन्के रोटी (स्वाब्ल्याम) खाँदै आोराली झर्दाका याद । धेरैलाई थाहा नहोला हामी त कटुसको अनि ‘घ्वाँरि’ को हाँगा–बोक्रामा उम्रेर सुकेको झ्याउ (लिम्बू भाषामा याङबेन) टिप्दै ‘पासो’ (बंगुरको मासु) सँग खुबै खाएका छौँ ।
यसपालिको भेटमा ओखलढुंगाको तामझाम अलि बढेजस्तो लाग्यो । वरिपरिका दोकानदारका फुर्तिफार्ति नि निकै थियो । तर अलि व्यवस्थित र व्यावसायिकपनको कमी महशुस भने भैरहेथ्यो। । तल युगकवि सिद्धिचरणको चौतारोमा बसेर अलि कल्पित पनि भएँ ।
भौगोलिक बनावटको हिसाबले तनहुँ जिल्लाको बन्दिपुर र मेरी ओखलढुंगामा खासै फरक छैन । हरियाली खेतबारी अनि गाउँबस्ती छिचोल्दै डाँडा चढेसि टुपुक्क बसेकी बन्दिपुर र मेरी ओखलढुंगा वरिपरिको वातावरणीय दृश्य अति सुन्दर छ । बन्दिपुर हामीले देख्दै आएका गाउँ, सहरभन्दा धेरै फरक र त्यहाँ पुग्दा लाग्छ म कतै अर्कै मुलुकमा छु । बस्तीबीच फराकिला बाटाहरू पाहुना स्वागत गर्न र कतै कसैलाई पाउमा ठेस नलागोस् भनी नरम–नम्र भई लसक्क बसेका । वरिपरि एकै नासले सजिएका, रंगिएका पुराना नयाँ घर–भवनहरू । ती घरका आँगन, बारदली, झ्याल अनि बुइँगलमा फुलेका रंगीचंगी फूलहरू । लाग्छ त्यहाँ साना ठुलाको होडबाजी छैन ।
बरू समानता छ उनीहरूमा अनि उद्देश्य एउटै देखियो ‘हामी’ । ‘म’, ‘तिमी’को विभेदता देखिएन । सानै छाप्रा–झुपडी मुनि सजिएर पाहुनाको स्वागतमा बसेका ती पश्चिमी पाराका क्याफेहरू तर हाम्रै अर्गानिक पाराले रसिएका ममहरू खान पाइने । यताउता बाटाका छेउछाउ ‘फन्केरोटी’ पोल्दै गरेका दिदी–बहिनीहरू मुसुक्क मुस्कानले स्वागत गर्दै थिए । देश–बिदेशी पर्यटकको बाक्लो जमघट । एक कप चिया र फन्केरोटी बाटोको डिलमा टुक्रुक्क बसेर चपाउँदा ती मनोरम दृश्य आँखामा पूरै ‘डाईजेष्ट’ भई अन्य अरू देख्न नपर्ने जस्तो लाग्ने ।
मेरी ओखलढुंगाले पनि धेरै सौन्दर्य र पर्यटक लोभ्याउने विशेषता र सम्भाव्यता बोकेकी छिन् । बस्तीबीच बाटाहरू सफा पारेर सवारी साधनलाई निषेध गर्दै बटुवा बिसाउने पिंढी बनाउने । बाटा वरिपरि पानी कल–धारो बनाउने । नाटक, साहित्यका निम्ति बाटोमा गुराँसको बोटमुनि चौतारो बनाउने । घर–आँगन रंगीचंगी फूल–बिरुवाले सजाउने ।
चाड पर्वमा सांस्कृतिक, औद्योगिक भेला, महोत्सव आयोजना गराउने । क्याफे, होटल–मोटलमा आफ्नै गाउँबस्तीमा फलेका, उमारेका फलफुल, तरकारी, अन्नबालीमात्र प्रयोग गर्ने । त्यसो गर्दा स्थानीय खानाको अर्गानिक स्वाद पाइने, कृषक उत्साहित भई कृषि उत्पादन बढ्ने, कृषकको आम्दानी बढ्ने, रोजगारी सिर्जना हुने । स्थानीय पेय पदार्थलाई मात्र प्रयोगमा ल्याउने ।
खयरको रसले कोदोको तिनपाने चखाउन पाए पर्यटकले ‘सिवास रिगल्स’ को स्वादै भुल्ने पक्का छ । सोक्मटार–हिलेपानीको सुर्ती फेमस छ । यसलाई ‘ब्रान्डिङ’ गर्न पाए हुन्थ्यो भन्दै सामाजिक सन्जालमा गुनासो गर्दा एक जनाले ‘हैट, कहाँ सकिन्छ र विदेशीको दाँजोमा’ भन्दै मेरो कुरो उछिटाउँदै थियो ।
ब्रान्डिङ गर्नु भनेको जुन, जहाँ, जसरी बनेको, उम्रेको छ त्यसलाई त्यसरी नै त्यहाँबाट प्रयोगमा ल्याउन सफासुग्घर देखाउने हो । हेर्दा लोभाउने खालको हाउभाउ ‘डिजाइन’, त्यसका केही विशेषताको ख्याल गरी बिकाउँदा रसिलो बोलीले ग्राहकलाई सम्झाउने गर्नु नै त्यस बस्तुको ब्रान्डिङ गर्नु हो । ब्रान्डिङ गर्दा बातभच कबभिक कभचखष्अभ को पनि ख्याल राख्नु पर्ने हुन्छ । बिक्री भएपछि ग्राहकलाई त्यो बस्तुको बारेमा सोध्ने वा गुनासो भएमा ग्राहकको गुनासो सुन्ने, बुझ्ने, सम्झाउने र ग्राहकको चाहना अनुसार उत्पादन गर्ने ।
हर्कपुर उकालो भाँदरे खोलाको शिरमा पुग्दा ‘बरभन्ज्याङ चौतारो’ ओखलढुंगा, सोलु र खोटाङ छुट्टिने दोबाटो पर्दछ । त्यो मध्यपहाडी लोकमार्ग बाटो भोजपुर हुँदै पूर्वको सीमाना चिवा भन्ज्याङसम्म फैलिएको छ । अहिले काठमाडौंदेखि भोजपुरसम्मको यात्रा यही मार्गबाट हुँदैछ । अरु थप चहल–पहल बढ्ने पक्का छ ।
त्यही भन्ज्याङमा ‘सोक्मटारको सुर्ती’ दोकान थाप्नु । कहीँ कतै ग्राहकले सोधेमा ‘क्युबा देशको सिगारभन्दा असल हो यो सुर्ती’ भन्दै ढक्क छाती फुलाउँदा हुन्छ । ‘कसरी ?’ भन्ने प्रश्नमा जवाफ दिन सक्नु हुनेछ ‘यसमा चोमोलुङ्माको रस छ जुन क्युबाको सिगारमा छैन ।’ हो, वास्तवमा चोमोलुङ्माबाट झरेको दूधकोसी सोक्मटार छुँदै बग्दछ । हिलेपान–सोक्मटारको सुर्ति ‘ब्रान्डिङ’ उपायमध्ये यो पनि एक हो ।
ओखलढुंगा बजार छुँदै मोटर बाटो चोमोलुङ्माको निम्ति सोलु सल्लेरी छिर्छ । सोलुको जाडो छेल्न पर्यटक ओखलढुंगा बजारमा अडिन्थे । खोटाङ हलेसी त्रि–धार्मिक थलोको दर्शन गर्न आउने तिर्थालु–भक्तजन युगकवि सिद्धिचरण र राष्ट्रगानका स्रष्टा व्याकुल माइलाको जन्म थलो घुम्ने रहर गर्थे । मानेभन्ज्याङ, उँबु, रुम्जटार, जिरी, खोटाङ निवासीहरूको पिकनिक थलो बन्ने थियो मेरी ओखलढुंगा ।
‘बन्दिपुर’ एक्लो, आसपास जाने आउने नहुँदा पनि आन्तरिक र विदेशी पर्यटकले भरिभराउ । विशेष महत्व बोकेर पनि गुमनाम जस्तै छिन मेरी ओखलढुंगा ।
यसपालि जनप्रतिनिधि चुनिएकामा निकै युवाहरू पनि परेका छन् । आशा गरौँ उनीहरूले यी महत्वहरू केलाउने छन् र प्रयोगमा ल्याउने छन् । विकासको मूल आधार नै सकारात्मक साेंच हो । सोंचले ‘गर्न’ प्रेरणा जगाउँछ भने गरे असम्भव के छ र ?
(प्रस्तुत आलेखले इक लिब्जु–भुम्जु त्रैमासिक, वर्ष ९ अंक १६, पूर्णाङ्क ८९, २०७९ वैशाख–असार (किरात येले संवत् ३८०१÷सन् २०२२ मा प्रकाशित छ । सम्पादक)