वाम्बुले संस्कृति : वाम्बुले राईको व्यक्तिगत देउराली र सामाहरू

कला साहित्य -संस्कृति बिशेष

वाम्बुले राईको व्यक्तिगत देउराली र सामाहरू

मनाराज राई

किराँत वाम्बुले राईहरू मूलरूपमा कुलपितृलाई पुज्दछन् । यसका अलावा प्रकृति, भूमे, सिमे, सिकारी व्याखारीलाई पुज्दछन् । पितृ र प्रकृतिजन्य धेरै खाले देउतालाई वाम्बुले भाषामा सामा भन्ने गरिन्छ । पुज्ने कार्यलाई सामा पाचाम भनिन्छ । यहाँ वाम्बुले राईको घनाबस्ती भएको सुनकोशी र दुधकोशी नदी जोर्ती वरिपरिका बस्तीहरू विशेषगरी हिलेपानी गाउँमा घर–घरमा गरिने सामाहरूको बारेमा उल्लेख गरिएको छ । यस सामाका सामग्री र विधिहरू वाम्बुले रितुमका गरिरहनुभएका जानकारहरू जबरधन राई, दिलास्वर राई र सपसिङ राईसँग सोधबुझ गरी संकलन गरिएको हो । यसका अतिरिक्त घरैपिच्छे अरू छुट्टै सामाहरू जस्तै भेडा सामा, लामाझाँक्री सामा, माधपुरे सामाहरू पनि छन् । यसमा मुख्य मुख्य सामाहरूको संकलन गरिएको छ । यसमा वाम्बुले भाषा र नेपाली भाषा दुवैको प्रयोग गरिएको छ । यसमा पुजा गर्दा फलाक्ने शब्दहरूको उल्लेख गरिएको छैन ।

१. फेलि
जेठ पूर्णिमा (उभौली), साउने संक्रान्ति, भदौ पुर्णिमा, दशै, तिहार, मंसिर पुर्णिमा (उधौली), माघे संक्रान्ति, चैते दशै, घरमा सुँगर काटेको दिन कुल पितृलाई पुजिन्छ । सबै पितृलाई एक टपरी चोखो हेपा (भात), एक टपरी मरमसला नहाली नूनमात्र हालेको चोखो खाम्सि (पकुवा मासु), एक स्वालेवा ङासि (जाँड) अथवा रक्सी राखी नाक्सो (कुलगुरु) र ङाबुचो (सहायक कुलगुरु) द्वारा गरिन्छ । नाक्सो नभएको ठाउँमा घरमूली उपो (बाजे)ले गर्दछ ।
फेलिको थान फुचुलको दक्षिणतिरको भित्ता पिलुम्बा र भुइँमा रातो माटोले लिपेर भुइमा दुई पात बिछ्याएर एकातिर उपो पितृहरूलाई र अर्कोतिर उमो पितृहरूलाई ख्वाइन्छ । खुवाइसकेपछि पिलुम्बा सफा गरिन्छ । जुठोलाई तीन चुल्होमा हालिन्छ । एक टपरी चोखो हेपा, एक दुना खाम्सि घर बाहिरको सिचोसाम्चोलाई राखिन्छ ।

२. देउराली
देउराली वर्षको एक दिन प्रायजसो दशैंमा बिजुवा धामी पितृहरूलाई छुट्टै थानमा पुजा गरिन्छ । देउरालीमा धामीको सबै शाखा सन्तानहरूले घरैपिच्छे एक माना चामल, नून, तेल, दुध, रक्सी लिएर देउरालीमा भेला हुन्छन् । त्यसपछि थान सफा गरिन्छ । थानमा फाफु (बाँस)को एक लिङ्गो, थानमा तीन फन्का काँचो धागो र वस्पति (टोटला) राखिन्छ । त्यसपछि गाईको गोबरको एउटा कुण्ड बनाइ गाईको दुधले थान चोख्याइन्छ । त्यसपछि एक ठहरमा एक माना ब्रम्हसेरा (चामल) राखी त्यसमा दियो र एक स्वालेवा चि (एक चिन्डो जिर्मा) भरेर राखिन्छ । चार टपरी जिसी, चार टपरी सेरा, चार टपरीमा चार–चार वटाका दरले बाबर, चार स्वालेवा चि, एक बटुका बेजोम, एक टपरी अक्षता बनाएर राखिन्छ । त्यसपछि सालधुप बालेर अक्षता र एउटा कुखुराको भाले र पोथीले देउरालीलाई धुपधाप गरिन्छ । बलि दिएर टाउको चाहिं देउरालीमा चढाइन्छ । आगोमा पोलेपछि भाले र पोथीको दाहिने फिला पनि चढाइन्छ । त्यसपछि अरू घरबाट ल्याइएका कुखुरा पनि काटेर चोखो खाम्सि पकाइन्छ । घर–घरबाट ल्याइएका चामल भेला गरेर खिर पकाइन्छ । सबै पाकेपछि चार टपरी चोखो हेपा, चार टपरी खाम्सि र एक दुना स्यार्कु (मासुको रस) चढाइ बिजुवा उपोलाई थानमा खुवाइन्छ । खुवाएपछि सबै प्रसादहरू थानबाट निकालेर गाईको गोबरको कुण्ड बनाइ दुधले सफा गरिन्छ । त्यसपछि भेला भएका सबैले टपरीमा प्रसाद ग्रहण गरिन्छ । त्यसपछि घरको जनअनुसार प्रसाद बाँडिन्छ ।

३. दुमा सामा
दुमा सामा सुरूमा मानव उत्पत्ति हुँदा मानिसको रखुवारीको लागि सात तला धरती फोरी निस्केको बिजुवा धामी मानिन्छ । दुमा सामा एउटा पा (सुँगुर) र एउटा भालेको बलि दिएर गरिन्छ । सुरूमा सामाको थान सफा गरी रातो माटोले लिपिन्छ । त्यसपछि फाफुको चार थान लिङ्गो र दुई हात काँचो सेतो लुगा पनि झुन्डाइन्छ । त्यसपछि एक ठहरमा एक माना ब्रम्हसेरा राखरे त्यसमा दियो र एक स्वालेवा चि हालेर राखिन्छ । अनि चार स्वालेवा चि, चार टपरी सेरा थानमा राखिन्छ । चार टपरीमा चार–चार वटाको दरले बाबर (रोटी) र चार टपरी जिसि राखिन्छ । त्यसपछि धुपौरामा धुप बालिन्छ । पाः र भाले घरभित्र ल्याएर दुमालाई देखाइन्छ ।
त्यसपछि पाः मार हानिन्छ । बलिको टाउको, घाँटी, दायाँ फिला, पुच्छर, चार टपरी भित्री मासु चढाइन्छ । त्यस्तै जाली बोसो थानमा फैलाएर राखिन्छ । भालेको टाउँको र दायाँ फिला चढाइन्छ ।
त्यसपछि पकाएर चार टपरी पासो, भालेको चार टपरी ब्ओसो, एउटा दुनामा पासोको स्यार्कु, एउटा दुनामा ब्ओसोङ स्यार्कु र चार टपरी चोखो हेपा थानमा राखेर दुमा सामालाई चढाइन्छ । त्यसपछि पिलुम्बाका पितृलाई पनि फेलि गरिन्छ ।

४. दुनिपा सामा
दुनिपा सामा पनि बिजुवा धामी मानिन्छ । यसले घरको सँघारोमा रखुवारी गर्छ भनिन्छ । यसमा ट्वाक्सेलमाफु (लालीगुँरास) चार थुङ्गा चाहिने भएकाले दुनिपा सामा प्राय चैतमा गरिन्छ । दुनिपाको थान प्राय ढोकाको छेउमा हुन्छ । दुनिपाको पुजा एउटा बोका र एउटा भालेले गरिन्छ । यसमा कुम्सि (चेचेङ्गा) र थानमा पुजिन्छ । कुम्सिमा एक ठहरमा एक माना ब्रम्हसेरा राखेर त्यसमा दियो र एक स्वालेवाभरि चि हालेर राखिन्छ । चार टपरी सेरा, चार टपरी बाबर, चार टपरी जिसि, चार स्वालेवा चि राखिन्छ । यसैगरी थानमा पनि एक ठहरमा एक माना ब्रम्हसेरा राखी त्यसमा दियो र एक स्वालेवाभरि चि भरेर राखिन्छ । अनि चार टपरी सेरा, चार टपरी बाबर, चार टपरी जिसि, चार स्वालेवा चि राखिन्छ ।
बोका र भाले पर्छाएर बाहिर लगेर मार हानिन्छ । त्यसपछिको बोकाको टाउको र दायाँ फिला र भालेको टाउको र दायाँ फिला थानमा चढाइन्छ । थान र कुम्सिको चामल झिकी प्रसाद पकाइन्छ । बोका र भालेको खाम्सि पकाइन्छ । चार–चार टपरी बोकासो र ब्ओसो, एक दुना बोकासोङ स्यार्कु, एक दुना ब्ओसोङ स्यार्कु र चार टपरी चोखो हेपा चढाएर दुनिपा सामालाई चढाएर खुवाइन्छ ।

५. थारू सामा
उहिलेको युगमा पुर्खाले एक जना थारू गोठालो राखेका थिए । त्यो थारू मरेपछि बाघ बनेर गाईवस्तु खाएको थियो । पछि पिशाच बनेर दुःख दिएछ । त्यसलाई थारू सामा देउताको रूपमा घर बाहिर पुज्ने गरिएछ । यो प्राय घाम झुल्किनु अगाडि नै गर्नुपर्ने मान्यता रहेको छ । एउटा भाले र एउटा सुँगुरले पुजा गरिन्छ । यो घर बाहिर कही एकान्तमा माटोको ढिस्कोको थान बनाएर पुजिन्छ । थानको चुच्चोमा एउटा अण्डा राखेर रातो अबिरले पोतिन्छ । थानको चारैतिर ४ वटा बाँसको ढुंंग्रो अर्थात् च्वाङ्गे बनाइ त्यसमा चि भरेर राखिन्छ । त्यस्तै चार टपरी सेरा र एक टपरी ब्रम्हसेरा दियो र स्वालेवा चि, खुँडा पनि थानमा राखिन्छ ।
अनि पाः र भाले थानमा लगेर धुपधाप गरिन्छ । त्यसपछि टपरीको चामल नाङ्लोमा जम्मा पारेर पाःलाई मार हानेर नाङ्लोमा रक्ती थापिन्छ । टाउको थानमा चढाइन्छ । त्यस्तै घाँटीको मासु (सेल रोटी जस्तो) पारेर, दायाँ फिला चढाइन्छ । भालेको टाउको र दाहिने फिला पनि चढाइन्छ ।
त्यसपछि रक्ती सहितको सेरा र सुँगुरको अरू मासु पकाइ प्रसाद बनाइन्छ । प्रसाद पाकेपछि चार टपरी प्रसाद, चार दुना भालेको खाम्सि, एक टपरी स्यार्कुसहित सामालाई खुवाइन्छ । सामा सकेपछि बाँकी सबैले प्रसाद लिन्छन् ।

६. सिकारी सामा
सिकारी सामा एउटा भाले र एउटा पोथीले गरिन्छ । त्यसपछि चार वटा खाँबोले घर बनाइन्छ । एउटा मिलेको चोखो ढुङ्गाको थान राखिन्छ । त्यसपछि धँयरोको तीनपाते चार वटा सुइरो र खापेल (अँगार)ले कोरिन्छ । त्यसपछि एक ठहरमा एक माना ब्रम्हसेरा राखी त्यसमा दियो र एक स्वालेवा चिः हाली राखिन्छ । अनि चार टपरी सेरा, चार टपरी बाबर, चार टपरी जिसि, चार स्वालेवा चिःसहित राखिन्छ ।
भाले र पोथी भोग दिई दायाँ फिला र टाउँको चढाइन्छ र भालेको प्वाँख चढाइन्छ । त्यसपछि चार टपरी हेपा, चार दुना खाम्सि, एक दुना स्यार्कुसहित सामालाई खुवाइन्छ ।

७. भिमसेन सामा
भिमसेन सामा राँगो, बोका वा भालेमध्ये कुनैको बलि दिएर गरिन्छ । त्यस्तै एउटा थानमा बाँसको लिङ्गो ठड्याइन्छ । एउटा ठहर बम्हा, दियो, सिन्दुर, सुपारी, भिमसेनपाती, भेटी राखिन्छ । त्यसपछि मार हानेर लासो दिइन्छ । त्यसपछि चेलीलाई टीका लगाएर दक्षिणा दिइन्छ । यसमा पकुवा मासु चढाइदैन ।

८. राजिमले सामा
राजिमले उपोलाई सिद्धिपुरी ब्रम्हचारी धनपाल उपो पनि भनिन्छ । गाईवस्तुले बच्चा ब्याउँदा, घरमा सुत्केरी हुँदा यो पुजा गरिन्छ । यो निख्खर रातो भालेले गरिन्छ । यो बेलुका गरिन्छ । कहीं बारीमा मिलेको चोखो ढुङ्गाको थान बनाइ तीन फन्का काँचो धागो बेरिन्छ । एक ठहरमा ब्रम्हसेरा, दियो, भेटी राखिन्छ । त्यसपछि भाले काटी थानमा लासो दिइन्छ । त्यसपछि पकुवा मासु एक दुना थानमा चढाइन्छ ।

९. थुम्का सामा
थुम्का सामालाई सिद्धासामा पनि भनिन्छ । यहाँ सिद्धा सामा, एक जना भान्से र एक जना सहायकलाई पुजिन्छ । सिद्धा सामालाई बोकाले पुजा गरिन्छ । सिद्ध गुरूको भान्से र सहायकलाई एक–एक वटा भालेले पुजा गरिन्छ । ब्रम्हसेरा, दीप र एउटा स्वालेवाभरि चिः तीनै थानमा चढाइन्छ । चार टपरी सेरा, चार टपरी बाबर, चार टपरी जिसि, चार स्वालेवा चिः तीनै वटा थानमा चढाइन्छ ।
त्यसपछि मार हानेर तीनै थानलाई लासो दिइन्छ । मार हानेपछि बोकाको टाउको, दायाँ फिला र भालेको टाउको तथा दायाँ फिला चढाइन्छ । त्यसपछि चामल झिकेर भात पकाइन्छ । बोकासो, ब्ओसो पकाएपछि चार–चार टपरी सोः र एक–एक दुना स्यार्कु तीनै थानको सामालाई चढाइन्छ ।

(मानेभन्ज्याङ–६ हिलेपानी, ओखलढुंगा स्थायी निवासी लेखक मनाराज राई जिल्ला वन कार्यालय सोलुखुम्बुका प्रमुख अधिकृत हुनुहुन्छ । (यो आलेख इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष १० अंक ४, पूर्णाङ्क २३ (लिब्जुभुम्जुको ९६औं शृंखला), २०८० माघ–चैत (किरात येले संवत् ३८०३–सन् २०२४)मा प्रकाशित छ । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *