प्राचीन लोकबाजा कोङकोङमा (बिनायो), जंगली युगदेखि वर्तमानसम्म (भिडियोसहित)

कला साहित्य -संस्कृति मुख्य समाचार

‘प्याटेन्ट राइट’का निम्ति विश्वव्यापी कोङकोङमा वादन प्रतियोगिता गरिदै

गणेश राई

काठमाडौं– ‘कोङकोङमा’ (बिनायो) एक लोकबाजा हो । किरात समुदायमा आदिम कालदेखि प्रचलनमा रहेको यस बाजाको अग्राधिकार (प्याटेन्ट राइट) कायम गर्न पहल अघि बढेको छ । किरात राई सांस्कृतिक कलाकार संघले आफ्नो १६औं स्थापना दिवसको अवसरमा पारेर विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुल्ला प्रतियोगिताको घोषणा गर्दै प्रक्रिया अघि बढाएको हो ।

संस्कृतिविद्ले कोङकोङमालाई किरात सभ्यताको प्रतीकका रूपमा परिभाषित गरेका छन् । मालिङ्गो बाँसबाट बनाइने लोकबाजा हो । बाँसको कप्टेरोलाई खुकुरी र नहर्नी हतियारले चिरेर सानो आकारमा खिपेर बनाइन्छ । अन्तिममा दुईतिर सानो धागोको जुइना लगाइन्छ । त्यही जुइना औंलामा बेरेर मुख, दाँत, जिब्रोको सहारा र स्वास फेर्दै जुइना झट्कार्दै सुमधुर आवाज निकालिन्छ । यो आवाजले मानवीय मनमस्तिष्क ध्यानाकर्षित गर्छ । कोङकोङमालाई बैंसको मायावी बाजा भन्ने गरिन्छ ।
कलाकार तथा संस्कृतिकर्मी जितेन राईको शब्दमा कोङकोङमा प्राचीन कला तथा वाद्ययन्त्र हो ।

‘कोङकोङमा ज्ञान, सीप, मनोभावना अभिव्यक्त गर्ने, माइतीले चेलीलाई, प्रियले प्रियसीलाई दिने उपहार हो,’ घाँसदाउरा मेलापातमा थकाई मार्दा बजाइने बाजाबारे चर्चा गर्दै राई भन्छन्, ‘छोरीचेलीले चोलीको देब्रे तुनामा बाबरी फूलसँगै झुण्डाउने चलन अहिले पनि छ । छोराको सीप बिनायो हो भने छोरीको सीपको रूपमा कपडा तानबुन्ने, पिरा बुन्ने, सुनाखरीको झुम्का बुन्ने हो ।’ संगीतकर्मी राईले ‘बिनायो’ नामक चलचित्रसमेत निर्माण गरेका छन् ।

मुन्दुम मिथकमा कोङकोङमा
मुन्दुम किरात धर्मको अलिखित शास्त्र हो । मुन्दुम मिथकमा पृथ्वी, जल, वायु, प्राणी, वनस्पतिको हरेक आयामहरू उत्पत्तिका चरणहरू उल्लेख पाइन्छ । किरात राई जातिको आदिम पुर्खाका दुई छोरी तायामा र खियामा तथा एक छोरा खाक्चिलिपा (रैछाकुले) थिए । मुन्दुम मिथकमा यी तीन सन्तानलाई कृषि युगको प्रवर्तकका रूपमा लिइन्छ । बाबु–आमाको असामयिक मृत्युपछि तीन सन्तान बिचल्लीमा पर्छन् । दुई दिदीले भाइलाई अनेकन दुःख झेलेर हुर्काउँछन् । समयको घरीपला वर्षहरू बित्दै जान्छ । दुइ दिदी उमेरले परिपक्व हुन्छन् । अन्ततः माइतीलाई छाडेर टाढा जाने मत गर्छन् । भाइलाई त्यो कुरो सुनाउँछन् । अन्ततः विछोडिने बेलामा भाइले दुई दिदीलाई आफ्नो हातको सीप उपहारका रूपमा दिन्छन् । त्यही उपहार कोङकोङमा थियो भन्ने छ । त्यतिखेर भाइले मेरो सम्झना आउँदा यही कोङकोङमा बजाउनु भनेका थिए ।

संस्कृतिविद् तीर्थराज मुकारुङ राईका अनुसार ‘कोङकोङमा’ (बिनायो)लाई कसैले ‘कुकुङमा’ पनि भन्छन् । ‘यसको आवाजलाई लिएर नामाकरण भएको हो,’ कुनै ठाउँ वा वस्तुको नाम राख्दा त्यसको रूप, क्षमता, विशेषताअनुसार नामाकरण गर्ने गरिएको उल्लेख गर्दै मुकारुङ भन्छन्, ‘हामी सर्वप्राचीन जाति भएको हुनाले बाजागाजा, भूमिलगायत धेरै नामको पछाडि ‘मा’ जोडिन्छ भने पुरुषको पछाडि पछाडि ‘पा’ जोडिएको पाइन्छ ।’

मुकारुङका अनुसार कोङकोङमा धेरै पुरानो बाजा हो । यसलाई प्राकृतिक वनस्पति प्रयोग गरेर बनाइन्छ । पहिले त्यसको रूप केही फरक थियो । उसबखत डोरीविना हिर्काएर बजाइन्थ्यो । मुखमा राख्ने बाँसको चोइटाको जिब्री निकालेर हिर्काइन्थ्यो । पछि डोरीले झड्काएर बजाउने चलन आएको हो ।

‘कोङकोङमाको भाका झ्याउँकिरी कराएको आवाज हो, जुन प्रहर प्रहरमा जंगलै थर्काएर बास्छन्,’ झाउँकिरीलाई समयसूचक किराका रूपमा लिइने उल्लेख गर्दै संस्कृतिविद् मुकारुङ भन्छन्, ‘बिहान मेलो हिड्ने बेला, खाजा खाने बेला, खाना खाने बेला, मेला छोड्ने समय तिनै झ्याउँकिरी बासेपछि संकेत मिल्छ । त्यसरी समय दिने प्राणीको आवाजको नक्कल गर्दै कोङकोङ्मा बजाएको हो भन्ने लाग्छ । धेरैवटा कोङकोङमा बज्दा झ्याउँकिरीझैं सुनिन्छ ।’ किरात राई समुदायमा दुईवटा जिब्रो भएको बिनायो हुन्थ्यो । अहिले एकजिब्रे बिनायोमात्र प्रचलनमा छ । उहिले हाटबजार, मेलापातमा बिनायो बजाउने चलन रहेको सम्झिन्छन् ।

गीतका शब्दहरूमा ‘बिनायो’ धेरै चर्चित छ । वरिष्ठ लोकसंस्कृतिविद् एलपी जोशीका अनुसार किराती समुदायमा बिनायो बजाउने चलन रहेको छ । छोरी चेलीले गहनाकै रूपमा चौबन्दीको तुनामा बाँधेर बोक्छन् । उनैले गाएको ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ चर्चित छ । यो गीत धनकुटाको आठपहरिया राईको क्षेत्रबाट संकलन गरी गाएका थिए । यसैगरी हिजोआज कृष्णभक्त राई र सुनिता थेगिमले गाएको ‘बिनायो कङकङ, ए कान्छी घुम्ज जाऊँ लैलै मलाया हङकङ’ खुबै चर्चामा छ । त्यो गर्न सकिन्छ कि भनेर सांस्कृतिक कलाकार संघले प्रयास अघि सारेको छ ।

परम्परादेखि गाउँघरमा बजाउँदै आएको लोकबाजाको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र यसको प्याटेन्ट राइट कायम गर्न पहल गरिने संघका अध्यक्ष रामकर राईले बताएका छन् । पहिलो पटकको प्रतियोगितामा नयाँ पुस्ताभन्दा ज्येष्ठ महिला र पुरुषलाई सहभागिताका निम्ति प्राथमिकता दिइने छ । ‘गाउँघरमा जेजसरी मौलिक पाराले कोङकोङमा बजाइन्छ, त्यसैगरी भिडियोसहितको आवाजलाई समेट्ने छौं,’ अध्यक्ष राई भने, ‘यो बाजाले सामान्य ग्रामीण जनजीवनको प्रतिनिधित्व गर्छ । किरातीलेमात्रै बजाउँछन् भन्ने छैन । त्यसैले ससारभरि जो जसले बजाउँछन् उहाँहरू प्रतियोगितामा भाग लिन सक्नु हुनेछ ।’

संघका उपाध्यक्ष तथा कोङकोङमा प्रतियोगिताका संयोजक रोशन चाम्लिङ राई खुल्ला कोङकोङमा (बिनायो) प्रतियोगितामा देश–विदेशबाट जुनसुकै जातिले भाग लिन पाउने छन् । कम्तिमा २ मिनेटको बिनायो बाजाको भिडियो समावेश गरिने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई नगद पुरस्कार प्रदान गरिनेछ । कोङकोङमा बाजालाई आधुनिकीकरणसँगै यसलाई शास्त्रीयकरण हुनुपर्ने जितेन राई उल्लेख गर्छन् । बिनायो स्थापित नाम भएपनि किराती जातिको मौलिक बाजाबारे अध्ययन अनुसन्धान हुन बाँकी रहेको उनको कथन छ ।

फोटो क्याप्सन : एक समारोहमा कोङकोङमा बजाउँदै ७२ वर्षीया लीला राई । तस्बिर सौजन्य : किरात राई सांस्कृतिक कलाकार संघ

https://ekantipur.com/Art/2021/06/08/162312622898399811.html

 

Leave a Reply

Your email address will not be published.