सन्दर्भ – ११०औं महाकवि देवकोटा जयन्ती
गणेश राई
वाम्बुले राई भाषाको पहिलो कविता गोष्ठी प्रतियोगिता २०५५ कात्तिक १ गते भएको थियो । कागतिहारको दिन थियो । ओखलढुंगा जिल्लाको थाक्ले गाविस वडा नं.७ (हाल– मानेभन्ज्याङ गाउँपालिका वडा नं.६) हिलेपानीस्थिति महादेवस्थान निमावि (हाल– मावि)को आँगनमा सम्पन्न भएको थियो । सन्दर्भ थियो, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ९०औं जन्मजन्ती । वाम्बुले राई समाज, नेपाल (वाम्रास) र लिब्जु–भुम्जु पत्रिका आयोजक रहेर कविता गोष्ठी हुँदै आयो । त्यसैगरी हरेक दशैपछि र तिहारभन्दा अघि वाम्बुले राई भाषाको कविता गोष्ठी निरन्तर चल्दै थियो ।
त्यतिखेर मुलुकमा माओवादीको सशस्त्र युद्ध चर्किदै थियो । जो जो जनयुद्धमा होमिए, उनीहरुले सयौं वर्षदेखि उत्पीडनमा परेकाहरुको पक्षमा मुद्दा उठान गरेका थिए । सायद त्यसैले हुनसक्छ, वाम्बुले भाषाको कविता गोष्ठीप्रति कुनै कसैबाट नकारात्मक प्रतिक्रिया रहेन । बरु सकारात्मक ढंगले विश्लेषण गरिएको सुनियो । २०६० साल भदौ÷असोजतिर अचाक्ली द्वन्द्व चर्किदै थियो । ओखलढुंगा उँबुका शिक्षक महाजित राई (शोभन) लगायत वाम्बुले शिक्षकहरुलाई पनि माओवादीले हिंडायो भन्ने खबर आयो । त्यो सुनेपछि वाम्रास कार्यसमितिले यो वर्ष कविता गोष्ठी नगर्ने निधो ग¥यो । तर, २०६१ देखि कविता गोष्ठी निरन्तर रह्यो ।
यता सहर बजारमा रहेका, वाम्बुले भाषीलाई चिन्ने, जान्ने बुद्धिजिवी वर्गले चाहिं प्रश्न गर्थे । देवकोटा बाजेले तिमेरको वाम्बुले भाषामा के चाहिं गरेकोले उसको जन्मजयन्तीमा वाम्बुले भाषा कविता गोष्ठी गर्छौं ? बाहुनको नाममा वाम्बुले भाषा कविता गोष्ठी गर्ने ?! बरु किरात विभूतिको नाममा आयोजना गर्नु नि ? यी यावत कुराहरु चल्दै गयो । हरेक वर्ष कविता गोष्ठी भएकै हो । वाम्बुले कविहरु जुट्दै आए । धेरैभन्दा धेरै जुटे । सुरुको वर्ष ३० जना सहभागी थिए । त्यसपछि २ सय ५० जनासम्मले कविता पेश गरे । कत्रो ठूलो उत्साह । सबै कविता ‘लिब्जु–भुम्जु’ पत्रिकामा छापिने भएकोले पनि त्यसरी आकर्षण बढेको हुनसक्छ ।
जनआन्दोलन २०६२÷६३ को सफलतापछि राष्ट्रगान सिर्जनाका निम्ति आह्वान भयो । वाम्बुले कवि प्रदीपकुमार राई (व्याकुल माइला)ले १२७२ जनालाई उछिनेर ‘सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली…’ ले बाजी मा¥यो । त्यसैले पनि वाम्बुले युवाहरु कविता सिर्जनामा बढी जोशिएको हुनसक्छ । वाम्बुले भाषाको कविता गोष्ठीको समाचार पढेर र ‘लिब्जु–भुम्जु’ पत्रिकामा छापिएको देखेर चिनेजानेका अन्य समुदायका व्यक्ति व्यक्तित्वलाई आश्चर्य लाग्ने गरेको छ । होइन, वाम्बुले राईहरु कत्ति धेरै हुनुहुन्छ ? यत्ति धेरै कविता लेख्ने रहेछन् । २०५८ सालको जनगणनाले वाम्बुले भाषा बोल्नेको संख्या ४ हजार ४ सय ७२ जनामात्र देखाएको छ भनेर जानकारी दिएपछि फेरि व्यंग्य मिस्रित प्रति प्रश्न गर्नुहुन्छ । वाम्बुले राई जत्ति सबै कवि हो कि क्याहो ? अनि राष्ट्रगानको रचनाकार नै वाम्बुले हो नि त ! भनेर मन थाम्ने जवाफ दिने गरिएको छ ।
प्रसंग महाकवि देवकोटा जयन्तीकै हो । खस नेपाली भाषालाई जनमनमा पु¥याउने काम आदिकवि भानुभक्त आचार्यले गरेका हुन् । खस नेपाली कविता गद्य रुपमा विद्यालयको पाठ्यपुस्तकभित्र घुसाएर विद्यार्थीको मनमनमा पु¥याउने काम महाकवि देवकोटाले गरेका हुन् । नेपाली समाजमनोविज्ञानले पचेको कवि हुन्– महाकवि देवकोटा ।
वाम्बुले राई भाषाको कविता गोष्ठी यसरी गरौं भनेर विजारोपण गर्ने काम मैले (गणेश राई) गरेको हुँ । नेपाली साहित्यको विद्यार्थी र एक सर्जकको नाताले महाकवि देवकोटालाई थोरै भएपनि मनमस्तिष्कले चियाएको छु । भलै देवकोटाका सबै कृति नपढेको हुँला । ‘कुन मन्दिरमा जान्छौं यात्री ? कुन मन्दिरमा जाने हो ?…’ भनेर कम्तिमा दश कक्षा पढेका सबैले पढेकै हो । प्रसिद्ध ‘मुना मदन’ खण्डकाव्य हरेक विद्यार्थीले पढेकै हो ।
मैले तीन कारणले महाकवि देवकोटा जयन्तीका अवसरमा वाम्बुले राई भाषाको कविता गोष्ठी गर्ने निधो गरेको थिएँ ।
१) महाकवि देवकोटा जयन्ती शरद ऋतुमा पर्छ । तिहारको बेला पर्छ । गाउँघर, डाँडापाखा, रनबन सबैतिर हरियाली हुन्छ । यति बेला जस्तोसुकै दुःख, गरिबको मनमा पनि सुखद् कल्पनाको भावना जाग्दछ ।
२) महाकवि देवकोटा भन्नासाथ सबै उनका कविता सम्झिन्छन् । र, त्यस्तै स्वच्छन्द ढंगले जे अनुभूति गर्छ, त्यो मातृभाषामा कोर्दछ । (वाम्बुले भाषाको फलाना कविको जस्तो कविता लेखौं भन्ने कुनै उदाहरण नै बनेको छैन । २०५० सालमा ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका प्रकाशन भएपछि मात्रै वाम्बुले भाषा लेख्य रुपमा अघि बढेको हो ।) मानवतावादी, प्रकृतिवादी चेतनाको बिऊ कवितामार्फत् देवकोटाले छरेका छन् । त्यसैले पनि शारदीय कविता रचनाको सन्दर्भ महाकवि देवकोटा जयन्ती उपयुक्त अवसर हो ।
३) भरखरै लेख्य रुपमा अघि बढेको वाम्बुले भाषालाई साहित्यिक रुपमा अघि बढाउने अचुक उपायको खोजी गर्नु थियो । जुन उपायले आमसञ्चार माध्यमहरुमा पनि वाम्बुले राई भाषा र साहित्यको चर्चा हुन सकोस् । ‘ओखलढुंगाको हिलेपानी गाउँमा कात्तिक १ गते वाम्बुले भाषाको पहिलो कविता गोष्ठी सम्पन्न भयो’ भनेर समाचार दिंदा सायदै ठाउँ पाउला । तर, त्यसको ठाउँमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको ९० औं जन्मजयन्तीका अवसरमा ओखलढुंगाको हिलेपानीमा वाम्बुले राई भाषाको पहिलो कविता गोष्ठी सम्पन्न भयो’ भनेपछि राष्ट्रिय समाचार समिति (रासस)को निम्ति महत्वपूर्ण समाचार बन्यो । त्यो समाचार गोरखापत्र दैनिकमा छापियो । अरु पत्रपत्रिकामा दिंदा पनि साँच्चै ओजपूर्ण बन्यो ।
यसरी ओखलढुंगाको हिलेपानी, उदयपुर, वाम्द्याल (उँबु) गाउँमा हुने वाम्बुले भाषाको कविता गोष्ठी सुरुको वर्षदेखि महाकवि देवकोटा जयन्तीलाई अवसरका रुपमा लिइयो । अचाक्ली सबैतिर विरोध हुन थाल्यो । समुदायभित्रै पनि ‘बाहुनको नाममा वाम्बुले भाषा साहित्य गोष्ठी गर्नु बेकार’ भन्ने टिप्पणी सुनिन थाल्यो । अघि नै भने २०६० सालमा एक वर्ष कविता गोष्ठी भएन । अन्ततः २०६५ सालमा हिलेपानी सोक्मटारमा ‘महाकवि देवकोटाको १०० औं जन्मजयन्तीका अवसरमा वाम्बुले भाषाको १०औंं कविता गोष्ठी’ सम्पन्न गरियो । यसरी निरन्त दश वर्ष देवकोटा जयन्तीको अवसरमा वाम्बुले भाषाको कविता गोष्ठी गरेपछि एक अध्याय पूरा भएको महसुस गरें । संयोग, दशौं कविता गोष्ठी आफू जन्मेकै गाउँठाउँ अनि त्यही जन्मे हुर्कनु भएका राष्ट्रिय सभाका सांसद लघुधन राई (वाम्बुले राईहरुमै एकमात्र माननीय) प्रमुख अतिथिका रुपमा हुनुहुन्थ्यो ।
त्यसपछि एघारौं वर्षको वाम्बुले भाषा कविता गोष्ठीलाई इतिहासमा उल्लेख पहिलो किरात राजा यलम्बर हाङको स्मृतिमा गर्न सुरु गरियो । वाम्बुले भाषाको यलम्बर स्मृति कविता गोष्ठी सुरु गरेपछि मुस्किलले पाँच वर्षसम्म यो स्मृति टिक्यो । त्यसपछि टिप्पणी गर्नेहरुले भन्न थाले ‘यलम्बर’ले वाम्बुले भाषाको लागि के गरेको छ र उसको स्मृतिमा कविता गोष्ठी आयोजना गर्ने ? वाम्बुले भाषा कविता गोष्ठीमात्र भनौं भन्ने भयो । त्यतिमात्र होइन, अबदेखि वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्था स्थापना दिवस मंसिर २० गते गर्ने गरौं भन्ने भयो । त्यसपछि आयोजकबाट ‘लिब्जु–भुम्जु’ पत्रिका आवश्यक छैन भन्ने भयो । वाम्बुले भाषाको कविता गोष्ठीको १५औं संस्करणबाट वाम्रास दिवसमा हुँदैआएको छ । २०७४ पुस १ गते ‘१९औं वाम्बुले भाषाको कविता गोष्ठी’ सम्पन्न भयो भने ‘२०औं वाम्बुले भाषाको कविता गोष्ठी’ यही २०७५ मंसिर २० गते ओखलढुंगाको मानेभन्ज्याङमा हुने मिति तय भएको छ ।
व्याकुल माइलाले यही २०७५ सालमा वाम्बुले भाषाको कविताको बृहत् खोज अनुसन्धान गर्नु भएको छ । उहाँको संक्षिप्त टिप्पणीय यस प्रकार रहेको छ, ‘लिब्जु–भुम्जु पल्टाउँदा पल्टाउँदा झन्डैले मेरो ढाँड खुस्कियो । कविताहरू कति कति ! यो पत्रिका वि.सं. २०५० सालदेखि हालसम्म निरन्तर प्रकाशित हुँदैआएको छ । २५ वर्षको यस कालखण्डमा ७३ वटा पूर्णाङ्कहरू प्रकाशित भइसकेका छन् । हालसम्म यस पत्रिकामा करिब १४ सय २५ थान काव्य रचनाहरू प्रकाशित भएका रहेछन् । त्यस अतिरिक्त वाम्बुले रस्तीबस्तीमा गरिने वाम्बुले मातृभाषाको कविता गोष्ठी, मातृभाषामा प्रकाशित भएका काव्य कृतिहरू आदि गरेर करिब १६ सयको हाराहारीमा यस भाषामा लेखिएका छन् ।
कविताअन्तर्गत नै पर्छन् गीत, गजल, मुक्तक र हाइकु पनि । यी सबै विधा कलम चलेको पाइयो । राजनीति, संस्कृति, लैंगिकता, पहिचान, गरिबी, भूकम्प, सामाजिक जागरण, देशविदेश, राष्ट्रियतादेखि व्याकुल माइलासम्मको विषयवस्तुमा कविता लेखिएका छन् । भाषा जीवन्त रहन साहित्य चाहिन्छ नै । भाषामा अभिव्यक्त कला र विचारले भाषालाई बलियो बनाउँछ । केही कविका केही कविताहरू त यति उत्कृष्ट छन्, कि विश्वस्तरको कविता मान्न सकिन्छ । कविताहरू पढ्दा समाज र युग बोध हुन्छ । यी सारा कमाल लिब्जु–भुम्जु पत्रिकाको हो । यी सब देन यसका सम्पादक तथा प्रकाशक गणेश राईको हो ।’
वाम्बुले भाषाको कविता गोष्ठी महाकवि देवकोटा जयन्तीमा गरिए पनि वाम्बुले साहित्यमा देवकोटाको बखान कहिल्यै भएन । देवकोटाको फोटो चाहिं समारोहको अग्रभागमा टाङ्ने गरेका थियौं । दशौं संस्करणको कविता गोष्ठीमा एकजना वाम्बुले चित्रकारले महाकवि देवकोटाको फोटो चित्र दुरुस्तै बनाएका थिए । त्यही फोटो हामीले कविता गोष्ठी स्टेजको अग्रभागमा फ्रेममा सजाएका थियो । यसरी नेपाली साहित्यका धरोहर महाकवि लक्ष्मीप्रसाद देवकोटाको सुनामलाई वाम्बुले राई समुदायमा चेतना विस्तारका निम्ति उपयोग गरेका थियौं । आज हामी महाकवि देवकोटाका ११०औं जन्मजयन्ती मनाइरहँदा उहाँको सुनामलाई हामी वाम्बुले राईहरुले पनि सधैं सम्झिरहने छौं ।