मौलिक स्थान नाम : वाम्बुले राई थातथलोमा मौलिक नामको पुनःस्थापनासँगै नयाँ न्वारन हुँदछ ?

कला साहित्य -संस्कृति

वाम्बुले राई थातथलोमा मौलिक नामको पुनःस्थापना
गणेश राई

स्वालेवा पार्क

ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका–३ वामद्याल (उँबुगाउँ)को ऐतिहासिक तथा सांस्कृतिक थलो ढ्वाङ्कुटारमा यो वर्ष (२०७७ साल साउन पहिलो साता) ‘ढ्वाङ्कुम चोक’ स्तम्भ निर्माण गरी नामाकरण गरेपछि समाजमा नयाँ आकाश उघ्रेझैं भएको छ । यसअघि ‘बेरोजगार चोक’ भन्ने गर्थे । नयाँ नामधारण गरेसँगै यो चोकले नयाँ तरंग पैदा गरेको छ, वाम्बुले जनमानसमा । माथिबाट फैलिदै ओर्लिएको ग्रामीण सडकले जनजीवनलाई छोएको छ । यो चोक ढ्वाङुकमटार वाम्बुले राईहरूको महानचाड ढ्वाङ्कुमो मनाउने ऐतिहासिक तथा सांस्कृति थलोमुनि रहेको छ । श्रुतिगम्य नरहेको बेरोजगार चोकले नयाँ नाम पाएसँगै यहींनेर युवाले व्यवसायको थालनी गरेका छन् ।

यो नामको शाब्दिक अर्थहरू पहिल्याउँन जरुरी छ । खासमा वाम्बुले राई भाषामा ‘ढ्वाङ्कुमो’ को अर्थ सांस्कृतिक चाड हुन्छ । ‘टार’ वाम्बुले भाषाको मौलिक शब्द होइन । मौलिक शब्द ‘टाम’ (ताम) हो । त्यसैले मौलिक नाम ‘ढ्वाङ्कुमटाम’ हुनुपर्छ । वाम्बुले भाषामा मान्छे मरेपछि समाधिस्थ गर्ने ठाउँलाई ‘कुलोमटाम’ भनिन्छ । सुत्ने ओछ्यानलाई ‘ल्याटाम’ भनिन्छ । ‘टाम’ (ताम) को अर्थ ठाउँ भन्ने हुन्छ ।

‘ढ्वाङकुम’ मौलिक शब्दमा ‘चोक’ जोडेर ‘ढ्वाङ्कुम चोक’ बनाइएको छ । ‘चोक’ संस्कृत शब्द ‘चतुष्क’बाट बनेको हो । चोकको अर्थ ‘चारैतिर घरले घेरिएको र बिचमा पक्का गरी बनाइएको चारकुने जमिन वा आँगन, चौक । बजारको बिचमा रहेको त्यस्तो जमिन, चौबाटोको बजार ।’ नेपाली बृहत् शब्दकोशमा उल्लेख छ ।

काकड्याम चोक

त्यसैगरी वामद्यालमा हालसालै ‘काकड्याम चोक’ थपिएको छ । यहाँ पहिले झ्याम्म वरको रुखमुनि आहाल थियो । ‘काकु’ भनेको ‘पानी’ पानी जमाएर राखिएको ठाउँ ‘काकड्याम’ भनियो । अहिले आहाल मासिएको छ । दर्शकदीर्घासहितको भलिबल ग्राउण्ड बनेको छ । स्थानीय नेतृत्वले यसको निर्माण गरेको हो ।

निर्माणको चाँजोपाँजो
संयोग यस्तो रहेको छ कि लिब्जु उपो सामाथान संरक्षण समिति, ढ्वाङ्कुम सांस्कृति संरक्षण समिति र वाम्बुले राई समाज, नेपाल (वाम्रास) ओखलढुंगा जिल्ला कार्यसमिति गरी तीनवटै संस्थाको अध्यक्ष शेरबहादुर राई हुनुहुन्छ । उहाँकै अगुवाईमा निर्माण भएको हो । यो स्तम्भ बनाउने तथा खिरिलो अक्षर कुँद्न काम विजय बाहिङ राईले गर्नुभयो । निर्माण सकिएलगत्तै समुदायको उपस्थितिमाझ ढ्वाङ्कुमोको दिन मानेभन्ज्याङ गाउँपालिकाका उपाध्यक्ष सबिता राईबाट उद्घाटन भयो ।
ढ्वाङ्कुम चोक निर्माणाधिन अवस्थामा रहेको बेला फेसबुकको भित्तामा फोटो टाँसेको देखियो र त्यसमुनि कमेन्टस् (प्रतिक्रियाहरू) लेखिए । जुन यहाँ उल्लेख गर्न लायक छ :
आउँदै गरेको किरात वाम्बुले राइहरूको ढ्वाङकुमो चाडको पूर्व तयारी हुँदैछ । साथै इतिहास निर्माण कार्यमा किरात वाम्बुले राइहरू सक्रिय लाग्दैछौं ।

दिपेन्द्र रुम्दाली राई– निरन्तर पहिचानको लडाइँमा छौं र रहन्छौं भन्दा राजनीति होला तर यही भइरहेको छ । लिब्जु उपो सामाथान संरक्षण समितिको पहलमा आज मानेभन्ज्याङ गाउपालिका ३ उँबुको ढ्वाङकुमटारमा चोकको नामाकरण गर्ने तयारी गरियो । सीपका धनी कलाकार बिजय राई, योजना, साहस र आत्मविश्वासका धनी शेरबहादुर, महाजित, जदुमान, विशेष, श्याममाया, अम्बा, निशान, आकाश लगायत र मनका धनी सबै–सबैमा धन्यवाद र ऐतिहासिक कामको लागि बधाई ।

गजुरधन राई– यो ऐतिहासिक कामका लागि उँबुका सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई छ । आशा छ, यस पटकको ढ्वाडकुमका दिन यसको विधिवत् उद्घाटन गरी पूर्णता दिनुहुने छ । यसका लागि अग्रिम शुभकामना सहित फेरि सबैमा हार्दिक बधाई ।

दिवस किरात राई (अध्यक्ष, किरात राई यायोक्खा केकास)– उत्कृष्ट कार्य ।

नबिन वाम्बुले राई– ग्रेट वर्क ।

बिमला तिलुङ राई (उपमेयर, हलेसी तुवाचुङ नगरपालिका)– आहा कस्तो महत्वपूर्ण कार्य । हार्दिक बधाई ।

राजुविक्रम चाम्लिङ– ग्रेट कङग्रेचुलेसन ।

भिमशेर रुम्दाली– उद्धुम रान्चो काम, क्वा¥वा खलक हौप्पेलाइ बधाई ।

जनक राई (महासचिव, किरात राई यायोक्खा केकास)– अभियन्ता र सरोकारवाला सबैमा हार्दिक बधाई ।

बुद्धबीर बाहिङ– साँच्चै गर्व गर्न लायक ठाउँ बनेछ । बधाई छ, सम्पूर्ण वाम्बुले समुदायलाई ।

शिव पँगेनी (पत्रकार)– हार्दिक बधाई अनि शुभकामना यहाँहरूलाई ।

पुरुषोत्तम खत्री (पत्रकार)– पढ्न गाह्रो भो । पुग्ने कहिले हो कहिले ।

नानु राई– आहा गज्जबको भएछ ।

टेककुमार राई– वाम्बुले राइचितिचो सबैलाइ जिउ बाःम । हौवा बाःम ।

रामकर राई (अध्यक्ष, किरात राई सांस्कृतिक कलाकार संघ केकास)– वाम्बुले पहिचानको नामलाई जोगाई राख्नु उत्कृष्ट कार्य हो । साँस्कृतिक अभियन्ताहरूप्रति हार्दिक सलाम छ !

सुबास राई– आहा ।

खुश्बु स्मृति– राम्रो ।

जनकऋृषि राई (पत्रकार)– चौकको पनि भाषा खोजेको भए हुने ।

गणेश राई– प्रिय मित्र जनकऋषिजीले भन्नु भएझैं यो ठाउँको मौलिक नाम ढ्वाङकुमटाम हो । अहिले चोक भएको हो । यद्यपि समयानुकुल यो प्रयास सराहनीय छ ।

सबिता प्रयास– इतिहासमा जीवन्त संस्कारको न्वारान गरेर वाम्बुले राईको पहिचानमा थप ऊर्जा बढाउनु हुने सम्पूर्ण व्यक्तित्व वर्गमा हार्दिक आभार प्रकट गर्दछु । बिजय राईलाई बिशेष तपाईंको यो कार्यहरू अनन्तसम्म सफल हुँदै जाओस् ।

वाम्बुले थातथलोका नामहरू
ढ्वाङ्कुमचोक नामाकरण गर्दा सबैलाई नयाँ लाग्यो । किनभने त्यसमा स्तम्भ राखिएको छ । सबैले देख्न सक्छ । गुगलले पनि चियाउँदा देखिन्छ । यद्यपि वाम्बुले राईहरू थातथलो, गाउँठाउँहरूको आफ्नै मौलिक नामहरू छन् ।

मानेभन्ज्याङ गाउँपालिका वडा नं.१ (साबिक मोली गा.वि.स.) हो । मोली भनेको वाम्बुले भाषामा ‘पात’ भन्ने हुन्छ । फस्कु, ह्वामल्वाङ, खातुक्पा (निपाने), सेरेमकु, सोनोङ्कु (खोला) जस्ता नाम रहेका छन् ।

वडा नं.२ (साबिक वाक्सा गाविस) हो । वाक्सा भनेको ठूलो आवाज निकालेर कराउनु हो । ह्वाल्माफु, चिचिङ्गा, फोराचिपुम, बरपुम, तुलपुम, नच्चुद्याल, गैरी, ल्यावा, स्यान्जु, कोक्सोपु, ख्वाल्बोद्याल, ध्याम्नाल आदि ।

वडा नं.३ (साबिक उँबु गाविस भनियो) तर वास्तविक रूपमा अहिले पनि वामद्याल भन्छौं । वामद्यालको शाब्दिक अर्थ खोज्दा ‘वाम’ भनेको भालु र ‘द्याल’ भनेको गाउँ हुन्छ । उहिले जंगल भएको र भालु बस्ने ठाउँ भएको वामद्याल (भालुगाउँ) भनिएको भन्ने छ । तर लोकविश्वास र ऐतिहासिक आधार यो थलोलाई लिइएको छ । वामद्याल भनेको वाम्बुले राईहरूको उद्गम थलो हो । उहिले वाङबाहाङ (वाङ्बा नामका राजा) थिए । उनै वाङबाहाङको सन्तान र रैती नै कालान्तरमा वाम्बुले राई हुन् । वाम्बुले राईले आफूलाई ‘वाम्बुले राडु’ (रादु) भन्ने गर्दछन् । सामरिक दृष्टिकोणले वामद्याल एक थुम हो । नेपाल एकीकरणपछि शासनपद्धति बदलियो । किपट व्यवस्था लागू भएपछि ८४ रुपे लागत बुझाउनु पर्ने भयो । त्यसरी किपट बुझाउने राडुहरूलाई चौरासे भन्न थालियो ।

वामद्याल भन्नासाथ समग्रमा बृहत गाउँ भन्ने बुझिन्छ । यसअन्तर्गत धेरै गाउँ, ठाउँ, टोल, वनजंगलहरूका मौलिक नामहरू विद्यमान पाइन्छन् । रिनुवाल, ब्ओकुला, ढ्याप्ति, खाचापु, फोकुल, काकड्याम, लिब्जु, ढ्वाङकुमटार (टाम), वाइलि, चाक्तिकाक, ह्वालच्वाक्फु, ड्याब्लोमटार, स्वालेवा पार्क, टार्कोम, पखेरा, बैदारटोल, ज्यार्काक, फालामटार, गैरिद्याल, दाप्चुक, दाडद्याल, हुक्कु, बन्छेउ, ढ्वाङ्कुमचोक, मुच्चिपुम, सिखै, साँराब्लो, ह्याक्काजुरे, ठोपल्वाम, वान्वाङ्कु, साम्फालिम (साम्फा¥याम), घ्रिम्दि, सिम्काकु, ब्आन्चिकाकु, ब्आलाङच्वाक्फु, साँगोपुम, कोलपुम, दार्बु, रिब्दोम, खोम्लो आदि आदि भनेर चिनिन्छ । यस भेगबाट बग्ने ससाना खोलाखोल्सीको सामुहिक रूपमा रोम्दोखोला रहेको छ ।

वडा नं.४ (साबिक केतुके गाविस) हो । वाम्बुले भाषामा केतुकेलाई उहिले अर्कै नामबाट बोलाउँथे । दिब्जु, ग्रोङ्ग्रो, पेकु, ख्वाल्बो जुरे, च्यान्टेमाल, पोङ्खु, ध्याब्लो, मोम्लो जस्ता नामहरू छन् । भालखोप, तिनदोभान, सिर्कु जस्ता खोलाको नाम रहेका छन् ।

वडा नं.५ (साबिक मानेभन्ज्याङ गाविस) हो । यसैको नामबाट गाउँपालिका बनाइएको छ । यद्यपि वाम्बुले राईहरूले धार्मिक थलो लिब्जुको नामबाट लिब्जु गाउँपालिका नामाकरण गरिनु पर्छ भनेर अडान यथावत राख्दै आएको छ । यस वडामा उदयपुर द्याल (गाउँ) वाम्बुले राईहरूको प्रमुख बसोबास थलो रहेको छ । उदयपुरगाउँको विभिन्न टोलहरू छन् । जसलाई क्वाकट्वाम्फु रिक्वाम्फु, वाइलीबर, ब्ल्याँखा, गैरी, सिरान, खारिलुङ, बुइपुम, ल्याघाम, साँस्पु, चन्डिपुम, बरासी आदि भनिन्छ । डाँखापाखा खोलाहरू भिमजेप, पाँखापफो, ब्अ‍ेलक्वाम, दुनिफो, खानिडाँडा, ह्वाइमाज्याफाल, रिफिनडाँडा, स्वाराडाँडा, च्याक्कुखोला, ढ्याम्बेबन, उसकाक, बिसाल्जु राजाङ दरबार जस्ता ठाउँका नामहरू रहेका छन् । भोर्ले, भाताम रिचुवा, भायाम रिचुवा, जेरोद्याल जस्ता नामका गाउँहरू छन् ।

वडा नं.६ (साबिक थाक्ले गाविस) हो । थाक्ले अपभ्रंश भएको वा बदलिएको नयाँ नाम हो । ठेट अर्थ खोजी गर्न बाँकी छ । समुद्री सतहदेखि एकहजार मिटर उचाईमा थाक्ले गाउँ रहेको छ । यहाँ बाहुन, मगर, सार्की गाउँ रहेका छन् । त्यसभन्दा मुनि वाम्बुले राईहरूको मात्र बसोबास गाउँ हिलेपानी भनेर चिनिन्छ ।

लोककथन

लोककथनअनुसार दुधकोसी बहिनी र सुनकोसी दिदी थिए । दुवै नदीको उद्गम चोमोलुङ्मा हो । उद्गमबाट दिदी–बहिनी बग्ने बेलामा आफ्नो बाटोको दायाँ र बायाँ बर–पीपल रोप्दै बग्नु पर्ने शर्त राखेछन् । भीरपहरा छिचोल्दै चिर्दै बग्न थालेछन् । बिच बाटोमा भेट गर्नु अघि बर–पीपल रोप्दै गर्दा दुधकोसी अलिक ढिलो भइछन् । भेट्ने संगम (जोर्ती)मा हो । दिदी कहाँ आइपुग्यो भनेर हिलेपानी भन्ज्याङ (पहिलेको नाम टस्सेभन्ज्याङ र हलेसी–सोलु मध्यपहाडी र सिद्धिचरण राजमार्ग छुट्ने ठाउँ भएपछि अहिले मितेरीभन्ज्याङ) आइपुगेर हेर्दा दिदी अघि बढिसकेको देखिछन् । त्यो देखेर बेगले भीर पहारा चिर्दै जोतीतिर हान्निएछिन् । त्यसरी बेतोडले हान्निदा दुधकोसी बहिनीले सुनकोसी दिदीको मुटु छेड्ने गरी मिसिन पुगिछन् । बर्खामास होस् या हिउँदमास दुधकोसी सेतो बग्छिन् । सुनकोसी सुनजस्तो बग्छिन् । बेगले बग्दा अलिकति हिलो र पानी छोडिएछ । त्यसमा हिलेमाछा पनि छाडिएछ । त्यही नामबाट अपभ्रंश भएर ठाउँको नाम हिलेपानी रहन भएको हो भन्ने छ । यद्यपि वाम्बुले भाषामा ठेट नाम ‘ङ्वासकाकु’ हुनुपर्छ । ‘ङ्वासो’ को अर्थ माछा र ‘काकु’ भनेको पानी हुन्छ । यी दुई शब्द समास हुँदा ‘ङ्वासकाकु’ अर्थात् ‘ङ्वासकाक’ बन्यो । पछि त्यसैलाई खसकरण भएर गाउँको नाम ‘हिलेपानी’ भएको हो । वाम्बुले गाउँमा यस्तै नाम भएको गाउँको नाम छ– ‘सिमकाकु’ अर्थात् ‘सिम्काक’ दुवै भन्ने गरिन्छ ।

हिलेपानीअन्तर्गत वाम्बुले गाउँ ठाउँ टोलहरू मौलिक नामहरू छन् । स्वाकोप्टार, घलेसार, डँडुम, डुँगायाक्फुटार, खानद्याल, मसेरो, खोलिगैरा, जाकुमो, हुल्मागैरा, घारिलाम, सिंकोमाल, ह्याबा, क्वाँमा, तिर्पिन्डि, मन्धरे, भ्रुतुमान्चि, बिसौना, ग्रोक्ताल, ब्आलेम, भाँदरे, बाँबले, परँगास आदि छन् ।

वडा नं.७ (साबिक टोक्सेल गाविस) हो । टोक्सेल भनेको लालीगुराँस हुन्छ । उच्चारण गर्दा ‘टोक्सेलमाफु’ भनिन्छ, जसको अर्थ लालीगुराँसफूल हुन्छ । समुद्री सतहदेखि करिब १३ सय मिटर उचाईमा रहेको यस वडामा वाम्बुले राईहरूको बसोबास छैन ।
खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पा (साबिक बाहुनीडाँडा गाविस) हो । झाप्पागाउँ भन्नासाथ बृहत् गाउँ भनेर बुझिन्छ । कदुवा, बेता, टोड्के, ट्याम्टुक, बायाक्ता, मैतुङ, बाहुनटार, गुर्दुम, प्वाकोङ्चेप, फर्सेपु, बुङकु, चिसापानी, सिमलचौर, भुम्जु, झाप्पाद्याल, निङलाम, गुर्दुम, बाइसि, खाम्डुङ, चिरिमड्याबा, च्वाँकेप, खुलुमो, एसुमटार, बिचुपु, ढिकेरपुम, ¥वाबिल, डुम्रे, च्वाँकेपु, लुर्को, राजिमो, चुखाङ, सिरुवान, स्वायोङ, डोडेनि जस्ता नाम छन् । जिमामखोला, सालामखोला, खाम्डुङखोला, खुलुमखोला, सिरुवानखोला छन् ।

वडा नं.२ डिकुवा, दाम्ली, बलुइ, भन्ज्याङ, भुम्जु, सिमलचौर, देबिथान, नकारकोट, पिपलटार, झगरटार, ट्वाक्सिटार, दमैद्याल, वाइरिपटार, चारसल्ले, छ्वाम्पाङ, वाफ्लाङ, बाल्चोङ, लाङ्मा, बाइटार, टारगाउँ, रातमाटे, नामेल्खा, मौरे, जावा, नार्चिपा, दिमिक्र्या जस्ता गाउँठाउँका नामहरू रहेका छन् । त्यसैगरी ब्अ‍ेलेन्चिडाँडा, सिमसार, फुर्केठोबे, खोरिचेपाखा, लप्सिडाँडा, फिक्कलडाँडा, बाल्चिपुम (केराबारी), च्वारपुमखोला, डोरुमडाँडा, डिकखोला, जावाखोला, गुप्सोलुफुखोला, कैजलेखोला, फरिनडाँडा, भन्ज्याङडाँडा, चोसिड्याबा, चोसिडाँडा, बिजुवाथान, बरडाँडा आदि छन् । वडा नं.३ च्यास्मिटारअन्तर्गत स्वाल्वामचौतारा, ताबेलाटाङ, छोर्दिपा, पिप्चाई, दाल्फु आदि छन् ।

मुलुकको राजनीतिक परिवर्तनसँगै कतिपय ठाउँहरूको आदिम कालदेखि रहँदैआएका नामहरू परिवर्तन गर्ने गरिएको पाइन्छ । राज्यसत्ताको निर्देशनमा अनेक नयाँ कथाहरू हालेर नाम परिवर्तन गरिनु र साइबोर्डहरू राख्ने गर्नाले आदिम मौलिक नामहरू क्रमशः मेटिदै गएका छन् । वामद्यालमा जसरी मौलिक सांस्कृतिक नाम स्तम्भ बनेको छ, यसरी नै वाम्बुले थातथलोका उहिल्यैदेखि रहेको मौलिक स्थान नामहरू पुनःप्रयोग गर्न जरुरी छ । राजनीतिक परिवर्तनसँगै भएका यातायात सन्जाल विकासले वातावरणीय विनास निम्त्याएझैं हाम्रा मौलिक थातथलोहरूको नाम परिवर्तन हुनु आफ्नै ऐतिहासिक, सांस्कृतिक पक्षहरूको क्षय हुनु हो । जसरी समुदायको चाहनाअनुसार व्यक्तिसँगै संस्थाको अगुवाईमा ‘ढ्वाङ्कुम चोक’ निर्माण भएको छ । त्यसरी नै अन्यत्र पनि सचेततापूर्वक मौलिक नाम पुनःस्थापना हुनु सराहनीय कार्य हुनेछ ।

स्रोत व्यक्ति :
महाजित राई, मानेभन्ज्याङ–३ ओखलढुंगा, २०७७ भदौ १५ गते
धिरेन्द्र रुम्दाली, मानेभन्ज्याङ–१ ओखलढुंगा, २०७७ असोज १९ गते
बडाजित राई, मानेभन्ज्याङ–२ ओखलढुंगा, २०७७ असोज १९ गते
मोतीलाल राई, मानेभन्ज्याङ–४ ओखलढुंगा, २०७७ असोज १९ गते
अम्बिका वाम्बुले राई, खोटाङ ह.तु.न.पा. वडा नं.१, २०७७ असोज १९ गते
रुद्रकुमार राई, खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं.१ वडाध्यक्ष, २०७७ असोज १९ गते
रामकुमार राई, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका वडा नं.५ वडाध्यक्ष, २०७७ असोज २३ गते
रोमिका राई, खोटाङ ह.तु.न.पा. वडा नं.२, २०७७ असोज २३ गते

(इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ७ अंक ९,पूर्णाङ्क ८२, २०७७ साउन–असोज (किरात येले संवत् ३७९९÷सन् २०२०) मा प्रकाशित आलेख प्रस्तुत गरिएको हो । सम्पादक)

Leave a Reply

Your email address will not be published.