कोङकोङ वादन पहिलो पुरस्कार झापाका बलबहादुर राईलाई, विजयी नगद तथा प्रमाणपत्र

कला साहित्य -संस्कृति

कोङकोङ वादन पहिलो पुरस्कार झापाका बलबहादुर राईलाई
लिभु संवाददाता
काठमाडौं– पहिलो पटक आयोजना गरिएको ‘विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता २०७८’मा झापाको कमल गाउँपालिका–६ का बलबहादुर राई प्रथम हुनु भएको छ । किरात राई सांस्कृतिक कलाकार संघले अनलाइन माध्यमबाट प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा खोटाङ जाल्पाकी पम्फा खालिङ राईले दोस्रो स्थान हासिल गर्नु भएको छ । ओखलढुङगा मानेभन्ज्याङ गाउँपालिका–३ उँबु सिखाईका जितुमाया राईले तेस्रो स्थान र झापा कमल गाउँपालिका–४ का मनकुमारी राईले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको छ । विजयी प्रतियोगीहरूलाई क्रमशः जनही १६ हजार, ११ हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा देश विदेशबाट १ सय १९ जनाले पहिलो चरणको बिनायो वादन प्रतियोगितामा सहभागी थिए । वरिष्ठ संगीतकर्मी जीतेन राई, गायिका पार्वती राई र संस्कृतिकर्मी राजुएन राई रहनु भएको निर्णायक कमिटीले प्रतियोगीमध्ये दोस्रो चरणमा ५० जना छनोट गरेको थियो ।

अन्तिम २० जनामध्येबाट विजयी घोषणा गरिएकोसंघका उपाध्याक्ष तथा प्रतियोगिताका संयोजक रोशन चाम्लिङ राईले जानकारी दिनुभयो । सहभागीमध्ये ज्येष्ठ सदस्य खोटाङ जन्तेढुंगा गाउँपालिका–६ ओडालेका ९५ वर्षीया विष्णुमाया राई र हलेसी तुवाचुङ नगरपालिकाका ९२ वर्षीया देशलक्षी राईलाई विशेष सम्मान स्वरूपमा जनही पाँच हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको छ ।

लोपोन्मुख परम्परागत बिनायो बाजाको संरक्षण, संवद्र्धन तथा पुस्तान्तरणका निम्ति प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष रामकर राईले बताउनु भयो । ‘उपयुक्त पहल गरेर किरात राई जातिको मौलिक बाजाका रूपमा कोङकोङमाको प्याटेन्ट राइट लिने पहल अघि बढ्नेछ,’ उहाँले भन्नुभयो, ‘कलाकार संघले प्रतियोगिता आयोजना गर्नुको उद्देश्यबारे कोङकोङमा नेपालको विशरद्ध मौलिक बाजा हो । यो बाजाको प्याटेन्ट राइटको अधिकार प्राप्त गर्ने अभियानका रूपमा प्रतियोगिता गरिएको हो ।’

लोपोन्मुख अवस्थामा रहेको पुर्खाको नासोलाई युवा पुस्तालाई हस्तान्तरण गर्नु, यस बाजालाई प्रवद्र्धन गरी दस्तावेजीकरण गर्दै विश्वमा चिनाउनु भनेको छ । कोङकोङमा किराती समुदायको सभ्यतासँग नजिक छ र यसलाई हाम्रो पुर्खाले अपनत्व कायम गर्दै आएका छन् । यसको अध्ययन अनुसन्धान र अभिलेखीकरण कार्य अघि बढेको उहाँले बताउनुभयो ।

‘म समुदायबाट धेरै टाढा भएपनि भर्चुअलमा जोड्नु भएप्रति कलाकार संघप्रति आभारी छु,’ घोषणा सभाका प्रमुख अतिथि वरिष्ठ संगीतकर्मी तथा लेखक गणेश रसिकले भन्नुभयो, ‘पहिचान भनेको एकले अर्काको अस्तित्व स्विकार गर्ने हो । बिनायो बाजा किराती पहिचान हो । २१औं शताब्दीमा हामी आफ्नो पहिचान खोजिरहेका छौं ।’

‘सय जनाले एकैचोटि बिनायो बजाउँदा, सय जनाले मुर्चुङ्गा बजाउँदा, सय जनाले एकसाथ ढोल बजाउँदा कस्तो होला ?,’ वरिष्ठ लेखकसमेत रहनु भएका रसिकले भन्नुभयो, ‘यसरी संस्कृति बचाउन सकिन्छ ।’ कोरोना महामारीको बीचमा भर्चुअल माध्यमबाट बिनायो प्रतियोगिताले संसार जोडेर संस्कृतिप्रति एकथलोमा जुटाउनु सराहनीय कार्य भएको उहाँले बताउनु भयो ।

कलाकार संघका संस्थापक अध्यक्ष जीतेन राईले ‘कोङकोङमा बारे अवधारणापत्र’ प्रस्तुत गर्नुभएको थियो । किरात राई यायोक्खाका महासचिव जनक राई, प्रदेश–१ सांसद विनादेवी राई, किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष तथा कलाकार संघका अक्षयकोषदाता युवराज राई, वाम्बुले राई समाजका अध्यक्ष गजुरधन राई, किरात राई यायोक्खा वाग्मती प्रदेश संयोजक सुमन राईले शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रसिद्ध बाँसुरीवादक नगेन्द्र राईले ‘हियारी, साकेला र वाढाङ्मी’को धुन प्रस्तुत गर्नुभएको थियो भने मादलमा दिपेश राईले साथ दिनु भएको थियो । त्यस्तै युवा बाँसुरीवादक जीबन राईले ‘वाम्बुले राईको राम्दले भाका’को बाँसुरी धुन बजाएर सुनाउनु भएको थियो भने मादलमा संगम राईले साथ दिनु भएको थियो । त्यसैगरी गायिका सुशीला राई र सरिता राईले गायन सुनाउनु भएको थियो ।

संघका महासचिव राई नविनले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष शालिक साकासकले स्वागत मन्तव्य र सचिव सुरज मेवाहाङ राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो । मिडिया संयोजन सचिव पदम थुलुङ राईले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.