समाज हेर्ने सानो खटप्वाल छ । चिहाउँदा देखिन्छ– रंगीबिरंगी । ‘बाँचुन्जेल हाँसखेल, मरेपछि तास खेल’ यसो भनिदोरहेछ, दार्जिलिङतिर । दार्जिलिङस्थित सेन्टजोसेफ स्कुलकी अध्यापिका डा. राधा शर्माले ‘मृत्युपछिको लोकाचार’ शीर्षक कार्यपत्रमा त्यहाँको जनजीवनबारे फेहरिस्त बताइन् । मान्छेको चोला उठेपछि घरमा एकरात राखिन्छ । मर्दा र पर्दाका साथ दिने छिमेकीहरु हुन्छ । भोलिपल्ट मलामीले लासलाई घाटमा पुर्याएर सद्गद् गर्छन् । फर्केर सुरु हुन्छ, मृतकका अन्तिम क्रिया । क्रियापुत्री बस्नेलाई रुङ्नेहरु धुमधुमती बस्नुको साटो तास खेल्छन् । त्यसैले बनेको हो, उखान ।
बिहे गर्नुमा कुनै जातपातको ख्याल छैन । चोरी, मागी, भागी र सम्झौता जसरी पनि चल्छ । दाइजोको कुनै मतलब छैन । मुख्य कुरो हिन्दु परम्परालाई बढी ख्याल गरिन्छ । त्यसैको प्रभाव क्रिश्चियन परिवारमा बिहे गर्दा बेहुलीले कम्तिमा रातो पोते र तिलहरी लगाउँछन् । अन्धविश्वास भनेपनि धामीझाँक्री परम्परा कायम छ । भूतप्रेतदेखि बीरमसान छ भन्ने विश्वास ज्यूँकात्युँ छ ।
उसैगरी सिक्किमकी युवा शिक्षिका निलम गुरुङले त्यहाँको जनजीवनबारे कार्यपत्र प्रस्तुत गर्ने अनुमति मागिन् । ‘त्यसअघि मेरो प्रश्न छ,’ नेपाली संस्कृतिको मूलआधार नेपाल भएको आशयसहित भनिन्, ‘सिक्किमतिर नयाँ पुस्ताले नेपाली भाषा र संस्कृति छोड्दै गएको स्थिति छ । यसलाई बचाउन के गर्ने होला ?’
गुरुङको सवालले सहभागीको मनको अन्तरकुन्तर छुने नै भयो । ‘भाषा भनेको संस्कृतिको अंक हो,’ कार्यपत्रलगत्तै भाषाशास्त्री माधवप्रसाद पोखरेलले फ्याट्टै सुझाए, ‘हरेक आमा–बाबुले मातृभाषा म जति जान्दछु, त्यत्ति नै मेरा छोरा–छोरीले जान्नु पर्छ । अरु छिमेकीले गरे गरेनन् होइन । आफूले गरेर देखाउनु पर्छ ।’
प्रसंग हो, लोकवार्ता परिषद् नेपालको आठौं राष्ट्रिय सम्मेलन । स्थान प्रदेश नं.१ माझकिरात भोजपुर । जहाँ नेपाल, भारतको दार्जिलिङ, सिक्किम, असम, अस्ट्रिय, अस्ट्रेलिया र अमेरिकाका लोकवार्ताविद्हरु, विद्वत्त र साधकहरु सहभागी थिए । २०७५ कात्तिक १३, १४ र १५ गते अर्थात् शारदीय मौसमलाई साँच्चै चम्किलो तुल्याउने प्रयास आफैंमा स्तुत्य छ ।
‘हाम्रो परम्परा, हाम्रो पहिचान !’ भन्ने मूल सन्देशको आभा चम्काउने मेसोमा भोजपुरमा पाइला पुगेका हुन् । व्यक्तिदेखि व्यक्तिसम्म, परिवारदेखि समाज, समुदायसम्म सन्देश प्रवाह गर्ने एक क्षण हो । जहाँ लोकसंस्कृति परम्परासम्बन्धी विविध विषयका ६१ गोष्ठीपत्र प्रस्तुत गरिए । स्थानीय किरात राई समुदायका लोपोन्मुख भाषा र लोकमान्यता, सामाजिक अभियन्ता योगमाया, शिक्षाका अभियन्ता बालगुरु षडानन्द लगायत विषयलाई गहन चर्चाको विषय बनाइए ।
झाँकीको झलक
किरात राई यायोक्खा साकेला टोलीको नेतृत्व गर्दै झाँकी प्रदर्शनमा सहभागी थिए, ८५ वर्षीय नाक्छोङ बालजित राई । शिरमा फेटा गुथेका, त्यसमाथि सिलि चाङकोङ (सुनाखरीको डोरीले उनिएको मयुर, डाँफे र कालिजको प्वाँख, दुम्सीको काँडा, उनिएको फुर्के शिरपोस)ले झपक्कै पहिरिएकैले पनि बूढामान्छे सबैमाझ विशेष देखिन्थे । ‘पाँच वर्षको उमेरदेखि म नाक्छोङ छु,’ दौरा, सुरुवाल, भोटो, सपक्कै पटुकीमाथि भोजपुरे सिरुपाते खुकुरी भिरेका उनले भने, ‘म चण्डी पुज्छु । भोजपुरदेखि तेह्रथुम, ताप्लेजुसम्म पुगेको छु ।’ उनका एक हातमा रक्सीले भरिएको चिन्डो र अर्को हातमा प्रकृति पुज्ने सामग्री थिए । धनु, तीर, वाम्बालावा सप्तरिखी, तरबार समाउँने, ढोल, झ्याम्टा बजाउँदै चालमा चाल मिलाएर साकेला नाच्न साथ दिनेहरू थिए ।
भोजपुर नपा–५ बोखिम ताम्सालिङ डम्फु समूहको नेतृत्व ८६ वर्षीय जगतबहादुर तामाङले गर्दै थिए । ‘ताम्बा काइतेन ह्वाई रिमठिम’ भन्दै गाउने दुई बूढा र नाच्नेमा महिला, तन्नेरी । ‘देश विदेशमा बुद्धको उपदेश लागू होस् र विश्वमा शान्ति होस्,’ उनले खुशी व्यक्त गर्दै भने ।
उसैगरी अरुण गाउँपालिका–२ चम्पेको बालन समूहको नेतृत्व ८६ वर्षीय वेदनाथ आचार्यले गरेका थिए । सबैका हातमा खैजडी छन् । समूहमा भरखरै शास्त्री उत्तीर्ण २१ वर्षीय सोमनाथ कोइराला पनि थिए । ‘संस्कृत शिक्षा पढियो । तर सबैले बुझ्दैनन्,’ कोइराला भन्छन्, ‘गाउँमा रहँदा अग्रजहरुका साथ यसरी परम्परागत बालन गाउँदै उपनिषद्का कुरा नेपालीमा सिक्न पाउँदा आनन्द लाग्छ ।’
बोखिमकै हरिप्रसाद प्रधान नेपालभाषा मंका खलको नेतृत्व गर्दै लाखे र ठाकठुके (माक प्याखँ) नाच प्रदर्शन गर्न भ्याए । उसैगरी टक्सारको अमृत तीनधारा सेवा समाजबाट रोशन शाक्यको टोलीले धिम्या बाजा प्रस्तुत गर्न भ्यायो ।
शेर्पा संघ संस्कृति समितिका संयोजक किपा शेर्पा नेतृत्व टोलीले स्याब्रु नाच नाचेर देखाए । किपाले गाए भने पेनी शेर्पा, पासाङदिकी, पदिकी र सुमी शेर्पाले नाचे ।
बोखिमका टेकबहादुर दर्जी नेतृत्व टोलीले नौमती बाजा वादन आकर्षक रह्यो । नौमती बाजाका सेट मिल्न छाडेको धेरै भइसकेको छ । अहिले नरसिंगा, सहनाई, ट्याम्को, दमाहा, ढोल, झ्याम्टा, झ्यालीमात्रै छन् । ‘चैनपुरमा कर्नाल बनाउने मान्छे नभएपछि चलनमा ल्याउन सकिएन,’ दर्जी भन्छन्, ‘उहिलेका सबै बाजाहरु लोप हुँदा छन् । बजाउने पुस्ताले पनि वास्ता गर्न छाडेका छन् ।’ टोलीमा १४ वर्षीय सबिन दर्जी झ्याम्टा बजाइरहेका थिए ।
भोजपुर बजार पुछारदेखि शिरसम्म प्रदर्शित झाँकी त्यसैले साँच्चै रमित लाग्दो थियो । सिडियो, नगर प्रमुख, गाउँपालिका प्रमुखलगायत जनप्रतिनिधिहरु, संस्कृतिविद्, कलाकारहरु सहभागी हुनु आकर्षण बढेको हो । भोजपुरको जनसंख्या करिब २ लाखजना रहेको छ ।
टक्सारे मिठाईको स्वाद
भोजपुरको ऐतिहासिक थलोमध्ये टक्सार एक हो, जहाँ टक (पैसा) छापिन्थ्यो । अवसरको खोजीमा यहाँ अधिकांश रैथानेहरू अन्यत्र बसाई सरेका छन् । पुराना र भग्नावशेष घरहरू धेरै छन् । स्थानीय युवा विशान्त हलवाईकै कथनमा टक्सार मणिविहीनझैं छ । यहाँ बगिरहेका तीनधारा छन् । करुवाको स्तम्भ छ । टक्सार र मठमन्दिर छन् । उहिले काँस, तामा, पित्तलका ब्रान्डे निर्माण गर्ने बाँडाहरु करिब एक घरमात्र छ । भोजपुर नगरपालिका–५ टक्सारका वडाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पाइला टेकेका लोकवार्ताका सहभागीलाई चखाए मिठाईको स्वाद ।
मदन पुरस्कारधारी तीन पाल्पाली
संयोग लोकवार्ताले जुटाएको हो । भोजपुरको टक्सार पुगेपछि निलमले भनिन्– ‘हामी तीनजनाको फोटो खिचिदिनुस् । हामी तीन पाल्पाली, तीनै मदनपुरस्कारधारी ।’ जो हुन्– चूडामणि बन्धु (२०२८), भगेश्वर पगेनी (२०५०) र निलम कार्की ‘निहारिका’ (२०७४) । कृतिहरू क्रमश: ‘कर्णालीको लोकसंस्कृति’, ‘प्रजातान्त्रिक आन्दोलनका सय दिन’ र ‘योगमाया’ उपन्यास हुन् । समारोहमा उपन्यासकार कार्कीलाई सम्मान गरिएकी थिइन् ।
भोजपुरमा गौरा नाच
डडेलधुराकी शारदादेवी जोशी परम्परागत गौरा संरक्षण अभियानमै जिन्दगीको लामो हिस्सा बिताइसकेकी छिन् । जहाँ पुग्छिन्, उही प्रदर्शन गर्छिन् गौरा नाच । र गाउँछिन् पनि डेउडा भाका । गौरा अर्थात् शिव र पार्वतीको प्रतीक शिरमा राखेर नाचिन्छ । कर्णाली सभ्यताको उभार हो, गौरापर्व र नाच । त्यही नाथ भोजपुरको टुंडिखेलमा प्रस्तुत गरिन् । साथ दिए, डेउडा गायक यज्ञराज उपाध्याय र गायत्री पराजुलीले ।
लोकवार्ताको जग
नेपाली लोकसाहित्य राष्ट्रिय संगोष्ठी अभियानका संवाहक हुन्, प्रा.डा. कुसुमाकर न्यौपाने । लोकवार्ताका सातवटै विधाको प्रवद्र्धन गर्न सहर, बजारमात्र नभई गाउँ बस्तीमा पुर्याउने परिकल्पना गरेको उनी सुनाउँछन् । लोकगीत, लोकगाथा, लोकनाटक, उखान, टुक्का, लोकथा, गाउँखाने कथा, लोकजीवनले अवलम्बन गर्दैआएका लवाइखवाइ, धारण गरेको पहिरन, गरगहना, लोकविश्वास, मूल्यमान्यता, लोकव्यवहार, इतिहास, पुरातत्व आदि लोकवार्ताभित्र पर्दछन् ।
‘गाउँका मान्छेहरुमा पनि जागरण ल्याउने, त्यहाँका स्रष्टाहरुलाई लोकसाहित्यका पारखी, लोकगीत, लोकगाथाका गायक, लोककथाका वाचकहरु, गाउँखाने कथाका प्रश्नोत्तरकर्ताहरुलाई पनि उत्प्रेरित गर्ने मुख्य उद्देश्य लिइयो,’ जागरण, चेतना विस्तारको अभियानमा भोजपुरमै भेटिएका न्यौपाने भन्छन्, ‘यो सोंचलाई मेरो संयोजकत्वमा २०६८ सालमा पोखरामा पहिलो गोष्ठी भयो । त्यही बेलादेखि सहरका विद्वान र गाउँमा रहेका स्रष्टालाई प्रत्येक वर्ष शरद ऋतुमा भेटघाट गराउने, लोकसंस्कृति मन्थन गर्ने सेतु बनेको छ, यो अभियान । अर्को, बसन्त ऋतृमा अन्तर्राष्ट्रिय लोकसाहित्य संगोष्ठी हुँदै आएको छ ।’
लोकवार्ता परिषद्का अध्यक्ष प्रा.डा. प्रेमकुमार खत्री अभियानलाई दीर्घकालीन र प्राज्ञिक तुल्याउने प्रयास जारी राखेको बताउँछन् । सरकारी र निजी निकायसितको सहकार्यमा हरेक बसन्त र शरद ऋतुमा हुने लोकवार्ता गोष्ठी हुनेगरेको छ । अध्यक्ष खत्री स्वयंले लोकवार्ताका विषयमा अध्ययन, अनुसन्धान र प्रकाशनका निम्ति २० लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरेका छन् । त्रिभुवन विश्वविद्यालयले लोकवार्ता विषयको विभाग गठन गरी पाठ्यक्रम निर्माण गरी पठनपाठन तयारीमा जुटेको छ । त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालयले लोकवार्ता पठनपाठन प्रक्रिया अघि बढाएको डिन खोपीराम लम्सालले जनाएका छन् ।
‘अब मेरो प्रयास युनस्कोमा किरात जातिको मुद्धुम (मुन्धुम)लाई अमूर्त सम्पदाका रुपमा दर्ता गराउने रहेको छ,’ भोजपुरवासी अध्यक्ष खत्री भन्छन्, ‘नेपाली लोकजीवन हिमाल, पहाड, तराईमा विद्यमान लोकसांस्कृतिक सम्पदा प्रयास प्राज्ञिक अध्ययन, अनुसन्धान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न जनस्तरमा चेतना र जागरण पैदा गर्ने रहेको छ ।’
नेपाल संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्र हो । सन् २०१० मा नेपालले युनेस्को महासन्धिमा हस्ताक्षर गरेको छ । सरकारले राष्ट्रिय संस्कृति नीति, २०६७ जारी गरेको छ । नेपालको संविधान (२०७२) ले भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण संवद्र्धन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । नगरपालिका र गाउँपालिकाको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । यसरी निजीस्तरबाट लोकवार्ता परिषद् नेपाल, नेपाली लोकवार्ता तथा संस्कृति समाज (नेपाली फोकलोर सोसाइटी)लगायत संस्थाले गर्दैआएको प्रयासलाई स्थानीय सरकारले विशेष जोड दिन जरुरी छ ।
कान्तिपुर दैनिक कोसेलीमा २०७५ मंसिर १ गते शनिबार प्रकाशित लेखको पूर्ण अंश
https://www.kantipurdaily.com/koseli/2018/11/17/154242514147532272.html