पेशल राईको कविता ‘सुनौलो घाम’

कला साहित्य -संस्कृति
कवि पेशल राई

सुनौलो घाम

यो महामारीमा
यो महासंकटमा
कसैलाई नैतिकता लिलामी गरेर
स्वार्थ पूर्ति गर्नु छ
कसैलाई जवाफदेहिता कुल्चेर
अभिलाषा सिञ्चित गर्नु छ
मानवीय अस्तित्व कै प्रश्नमा पनि
कसैलाई मानवता बेचेर
वाहवाही कमाउनु छ ।
तर –
तर मधेशको आफ्नै कथा छ यहाँ
हिमाल र पहाडको आ–आफ्नै व्यथा छ यहाँ
कसैलाई रोग छ
कसैलाई भोक छ
कसैलाई त शोकैशोक छ ।

कोही काली पारी छन्
कोही पूर्व–पश्चिम अनवरत पैदल यात्रामा ।

तर ऊ भने ?
तर ऊ भने आफ्नै डम्फु बजाउन मस्त
आफ्नै गीत गाउँन व्यस्त
जहाँ मधुर संगीतको लेस सुनिन्न
सुनिन्नन् ती मन भाँच्ने कथा र व्यथाहरू
मन्चन हुन्छन्
केवल टिठलाग्दा अर्थहीहन नाटकहरू ।

कोभिड–१९ को
यस्तो निष्पट्ट कालरात्रिमा
चम्किरहने एउटा तारा चाहिएको छ
शितलु एउटा जून चाहिएको छ
के त्यो तिमी नै हैनौ र ?
ऊ हेर ! पऽऽऽर क्षितिजमा
एउटा सुनौलो घाम उदाउँदो छ ।

कटारी न.पा.४, कटारी, उदयपुर
प्रदेश नं.१, नेपाल ।
(२०७७।०१।२४ गते बुधबार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *