गीति–काव्य : प्रिति
मुग्लान हिंडें साउको ऋण तिर्ने सपना बोकेर
ती मेरी उनी मनकी रानी प्रितिलाई छोडेर ।।
साहस गरी म पाइला चाली पुगें म देउराली
प्रितिले मलाई पर्खेकी रैछे आँसु है खसाली ।।
उनको आँसु भुइँमा झर्यो साउनको झरीझैं
मेरो नी मुटु दनदनी जल्यो के गर्नु बरी लै ।।
धन कमाई चाँडै फर्केर आउने बाचा है गरेर
म पाइला चालें उनको माया मुटुमा साँचेर ।।
विदाईको हात हल्लाई दिई आँसुको झरीमा
आँखामा टिलपिल आँसुलाई रोके विछोड घडीमा ।।
जन्मेको गाउँ छोडी म पुगेँ विरानो सहर
म भित्र जाग्यो पैसाको कुम्लो कमाउने रहर ।।
थिएन पढाइ मजदुरी गरी सुकाएँ जिन्दगी
आँसुको झरी पारेर कति रुझाएँ जिन्दगी ।।
खनें म सडक बाँच्नको लागि कुल्ली नि बनेर
झस्किन्थ्यो मन प्रियसी उनले बिर्सिन् कि भनेर ।।
वर्षौ सम्म पसिना बेचेँ नबिसाई एकै छिन
खल्तीमा भैन एक कौडी धन फर्किने आयो दिन ।।
नसकी मैले कमाउन धन फर्किएँ रप्mतारमा
बढाएँ पाइला चाँडै नै घर पुग्ने हतारमा ।।
पुगेँ म घर तरेर धेरै खोला र जङ्घार
जननी मेरी खुशीले घरको उघारिन् सङ्घार ।।
जननी मेरी आशाको दियो बालेर बसिथिन्
कहिले छोरो आउला भनी दिनहरू गनिथिन् ।।
उनलाई ढोगी सोधें म ‘प्रिति कहाँ छिन् भनेर’
भन्न कर गरें उनको बारे जहाँ छिन् भनेर ।।
जननी मेरी टुलु र टुलु मलाई हेरी दिइन्
सपना रम्ने आँखामा आसुँ तलाउ पारि दिइन् ।।
चसक्क मुटु दुखेर आयो रसाए यी आँखा
आँसु है पारी परेलीभरी नियालेँ बनपाखा ।।
आँसुलाई पुछ्दै के भयो भनी सोधेँ म आमालाई
के पर्यो त्यस्तो विपति मनमा लौ आज हजुरलाई ।।
ती मेरी आमा बर्बर आँसु झारेर बोलिनन्
सुँक्क र सुँक्क गर्दै रोइन् हृदय खोलिनन् ।।
मैले सोधें आमा के भयो त्यस्तो हृदय खोल्नुस् न
जसरी पनि प्रितिको बारे एक शब्द बोल्नुस् न ।।
आमाले भनिन् ‘ए मेरो छोरा प्रितिले गाउँ छोडिन्’
पराइ सँग घरजम गरी यो हाम्रो ठाउँ छोडिन् ।।
ए मेरो छोरा फुटेको रैछ यो हाम्रो करम
बुभ्mदैन रैछ त्यो धनी मान्छे दुःखीको मरम ।।
सपना तिम्रो हिउँको डल्ला बिलाए सरी भो
त्यो तिम्रो प्रिति तिमीलाई बिर्सि महलमा रमाइ गो ।।
पृथ्वी थर्थर काँपेझैं लाग्यो धरती भासिएझैं
आकाशले मलाई थिचेझैं भयो मरें म ज्युँदै ।।
वेहोसी पछि फर्किएँ होस्मा रसाए यी आँखा
देख्न थालें उराठ र उजाड डाँडा र वन पाखा ।।
सम्झिएँ उनको जूनझैं मुहार मुटु यो धड्कियो
उनको माया यो छाती भित्र गडेर अड्कियो ।।
कोमल मुटु फुट्लाझैं भयो पोल्यो नि बेसरी
उनको याद झलझली आउँछ बिर्सुं म कसरी ।।
आशाको दियो निभाइदिई त्यो पापी मोरीले
बाँधेको थिएँ उनलाई मैले प्रितिको डोरीले ।।
अल्झिनै रहिन् आँखामा उनी सपना बनेर
खरानी भयो जीवन उनकै यादमा जलेर ।।
उनको माया मुटुमा साँची बाँच्नेछु अब म
मनको व्यथा लुकाइकन हाँस्नेछु अब म ।।
यो जुनी मेरो यस्तै नै भयो उनीलाई कल्पिदा
महलमा जन्मी त्यो अर्को जन्म आउनेछु फर्किदा ।।
रचनाकाल : असार १०, २०६२
मानेभन्ज्याङ–६, हिलेपानी, ओखलढुंगा ।