लिभु संवाददाता
ललितपुर ।

कर्णबहादुर राई (गौरुङ कान्छा)को ‘सोक्मटारदेखि सिग्नेट एभेन्युसम्मको जीवनयात्रा’ कृति सार्वजनिक भएको छ ।
वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले २०८२ फागुन १६ गते शनिबार ललितपुरको महालक्ष्मी–१ इमाडोलमा आयोजना गरेको समारोहमा राष्ट्रियगानका रचनाकार व्याकुल माइला, वाम्रासका अध्यक्ष गजुरधन राई, नेपाल सरकारका उपसचिव तथा कवि अमरदीप सुनुवार, लेखक गौरुङ कान्छा, वाम्रास संस्थाकी संस्थापक कोषाध्यक्ष दिलकुमारी राईलगायतले सार्वजनिक गर्नुभएको हो ।
गौरूङ कान्छा भनेर चिनुनु हुने कर्णबहादुर राईको २०१७ चैतमा ओखलढुङ्गाको दुधकोसी किनारको सोक्मटार गाउँमा भएको हो । उहाँ वाम्बुले राई मातृभाषी भावाचाचो गौरूङ पाछाको हुनुहुन्छ । उहाँले पाँच कक्षासम्म औपचारिक शिक्षा हासिल गरेपछि २०३६ सालमा ब्रिटिश गोर्खा सैनिकमा भर्ती हुनुभयो । त्यसपछि करिब १५ वर्ष सेवा गरेर अवकाशपछि जीआरयू ब्रुनाई र त्यसपछि आवासीय सुविधा पाएपछि बेलायत बसोबास गर्दै आउनु भएको छ ।
गौरुङ कान्छा वाम्बुले राई समाज, नेपाल (वाम्रास)का संस्थापक सदस्यमध्ये एक अगुवा सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ । यस कृतिमा उहाँले आफ्नो बाल्यकालदेखि हालसम्ममा जीवनकथालाई ९४ वटा शीर्षकमा संस्मरण प्रस्तुत गर्नुभएको छ । जसमा कृतिको पहिलो खण्डमा ‘जन्मथलो सोक्मटार’, ‘आमाको सम्झना’, ‘बल्छी थाप्न आ–आफ्नै ख्यावा’, ‘दुधकोसीमा पानी जहाज’, ‘गोठाला गर्दाको सम्झना’, ‘भोट–मधेसको चर्चा’, ‘स्वायोङटार, हवाईजहाज र लम्बरी लुङ’, ‘टुक्राटाक्री सुन, चाँदी जाकटी’, ‘कन्टुवालको प्रसङ्ग’, ‘साहुहरूको सम्झना’, ‘याकुलेको खेताला जाँदा’, ‘ओखलढुङ्गा हाटमा सुर्ती’ जस्ता लेख रहेका छन् ।
यसैगरी दोस्रो खण्डमा ‘सैनिक जीवन’, तेस्रो खण्डमा ‘अवकाशपछिको जीवन’, चौथो खण्डमा ‘बेलायतमा संघर्षका कथा’, पाँचौंमा वंशावली र छैटौं तस्बिर समेटिएका छन् ।
इक लिब्जु–भुम्जु त्रैमासिकले प्रकाशित गरेको कृति सार्वजनिक समारोहमा शुभकर्ण राईले ‘मानवशास्त्रीय दृष्टिकोणमा सोक्मटार गाउँ’ र शुभराज राई (काजी)ले ‘समाजशास्त्रीय दृष्टिकोणमा गौरुङकान्छाको कृति’ विषयमा बोल्नु भएको थियो ।
यसैगरी वाम्रास संस्थाका संस्थापक महासचिव तिखवीर राई, व्याकुल माइला, गजुरधन राई, कृतिका भाषा सम्पादक गणेश राईले लेखक गौरुङ कान्छाको सामाजिक योगदानबारे चर्चा गर्नुभएको थियो ।
यसैगरी वाम्बुले युवा क्लबका अध्यक्ष ओबिका राई, वाम्बुले राई साँस्कृतिक कलाकार समाजका अध्यक्ष बुद्ध राई, ज्ञानबहादुर राई, मनकुमार राई, साँस्कृतिक अभियन्ता भद्रगोल किरातीलगायतले विचार राख्नु भएको थियो ।






