साकेला सिलीको अर्थ खोज्दै किराती

कला साहित्य -संस्कृति पत्रपत्रिका

गणेश राई (काठमाडौं)–

पिखुवा खोला सलल
मायाको तस्बिर झलल

सैसैला हौ सैसैला
सै ढोले सै अर्को ढोले खोई ।

वनचरी नाच्यो वनभरि
अनिदो माया मनभरि
सैसैला हौ सैसैला
सै ढोले सै अर्को ढोले खोई ।

ललितपुरको सातदोबाटोस्थित सुम्निमा कल्चर एकेडेमीमा किरात राई जातिको साकेला सिली प्रशिक्षण लिदै सहभागी महिला र पुरुष ।

उभौली र उधौली लाग्दै गर्दा किराती युवा युवतीहरू जुरमुराउँछन् । ढोल र झ्याम्टा बजाएर गोलाकार नाच्ने सोच्दछन् । हुन पनि रौनक यसैमा छ । हुलका हुल मान्छेहरू भेला भएर गोलाकार नाच्नु नै आकर्षण जो छ, सबैले देख्छन् । एक दिन नै सही जातीय पहिरन चिटिक्क पहिरिन्छन् । राम्रा फोटा खिच्छन्, खिचाउँछन् र आफ्नो फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा पोस्ट्याउँछन् । देश विदेशबाट लाइक र कमेन्ट्सको ओइरो लाग्छ । त्यो हेरेर दङ्ग पर्छन् ।

किराती समुदायको परम्पराअनुसार यही उधौली उभौली नै हो, जोडी जुराउने । तन्नेरी र तरुनीबीच भेटघाट गराउने माहौल यही यही चाडले जुराउँछ । आपसी चिनाजानी गर्ने । मनका कुराहरू साटासाट गर्ने । मनपरापर भएमा उमेर पुगेका केटाले केटीलाई भगाउने साइत पनि हो । भागी विवाह अथवा प्रेम विवाह गर्ने । मागी विवाह गर्ने मेसो यही चाडले जुराउ“छ ।

यो वैशाखेपूर्णिमा चाड यतिकै निम्ति भने होइन । उभौलीमा किरातीले भूमिपूजा, आकाश, खोलानाला, हावा, पानी, वनजंगलको विधिवत पूजा गर्ने प्रमुख सन्दर्भ हो । प्रकृतिसित सह माग्ने, सुब्बेफाब्बे होस् भनेर कामना गर्ने याम हो । पुर्खाहरूसित आशिर्वाद माग्दै पितृपूजा गर्ने अवसर हो ।

किरातीहरू मुहार, जिउडाल, बोलीचाली, व्यवहारले एकै मुलका हुन् । तर, त्यसभित्र विविधता छ । लिम्बूले च्याब्रुङ बजाएर केलाङ नाच्छन् । राईले साकेला नाच्छन् । सुनुवारले श्याँदर सिल नाच्छन् । याक्खाले केलाक्मा नाच्छन् । राई समूहमा परेका करिब २८ भाषी किराती छन् । उनीहरूभित्र अझ फरकपन प्रशस्त छन् । यो संस्कृति संघीय नेपाल प्रदेश नं.१ को हो । अहिले विश्वभरि छरिएर रहेका किरातीहरूले मनाउने गर्दछन् । यो संस्कृतिको प्रमुख विशेषता भनेकै सामुहिक भेला भएर नाच प्रदर्शन गर्नु हो । हात, गोडा, शरीरको हाउभाउ अभिनय गरेर नाचिने नाच अर्थपूर्ण रहेको संस्कृतिविद् तीर्थराज मुकारुङ राई बताउँछन् । ‘साकेला, साकेवा जे भनौं यो हाम्रा पितापुर्खाले सुरु गरेको प्रकृति र पुर्खालाई मुन्दुम विधिअनुसार मानमनितो गर्ने महत्वपूर्ण र अर्थपूर्ण चाड हो,’ उनले भने ।

उभौली आउनै लाग्दा ललितपुरको सातदोबाटोस्थित सुम्निमा कल्चर एकेडेमीमा आशा, सन्धया, विषम, सुनिता, उमिता, मिरा, अक्षत, निशा, रकज राई किरातीलगायत साकेला सिली सिकिरहेका छन् । एकेडेमीका अध्यक्ष डीबी सरोज राई र किरात राई यायोक्खाका महासचिव जनक राईले प्रशिक्षण दिइरहेका छन् । साउन्डसिस्टममा साकेला संगीत ‘ढुंकु ढुंकु ढुंकु’ आवाज बजाएर हात र खुट्टाको अभिनय गर्दैछन् । ‘कृषि युगको अभिनय हो,’ प्रशिक्षक जनक राई भन्दै थिए, ‘खोरिया फाँड्ने, कोदालोले भस्मे खन्ने, अन्नको बिउ छर्ने, माटोले छोप्ने त्यसपछि बिउ उम्रिन्छ । अब गोडमेल गर्छौं ।’ त्यसो भनेपछि सबैजनाले काँधमा कोदालो बोकेर खनेको अभियन गर्दै अघि बढे ।

‘साकेला सिली सामान्य नाचमात्रै लाग्थ्यो,’ सुनिता राईले भनिन्, ‘नाचसँगै यसको कक्षा लिएपछि हरेक अभिनयको अर्थबारे बुझ्न पाएकोमा खुशी लागेको छ ।’ अर्का सहभागी युवा रजक किराती साकेलालाई आर्थिक क्रियाकलापसँग जोडेर पर्यटन प्रवद्र्धनमा टेवा पुग्न आवश्यक रहेको बताउँछन् । ‘महिना दिनसम्म नाच्ने साकेला सिली परम्परालाई आर्थिक उपार्जसित जोड्न जरुरी छ,’ पर्यटनका निम्ति घरबास (होमस्टेय) महत्वपूर्ण हुने उल्लेख गर्दै उनी भन्छन्, ‘त्यसो भयो भने हरेक नयाँ पुस्ताको आकर्षण बढ्छ ।’

अनुसन्धाता कमलजंग राई साक्खेवा (साकेला) किरात सभ्यताकालीन मौलिक र ऐतिहासिक सामुहिक चाड भएको बताउँछन् । ‘साक्खेवाको मुन्दुमको गेय विधालाई गति र शक्ति प्रदान गर्ने साधनको रूपमा ढोल, झ्याम्टा र पाश्र्व ध्वनिका लागि पुङ (अर्नाको सिङ)को व्यवस्था गरिदैआएको पाइन्छ,’ साक्खेवालाई आध्यात्मिक शक्तिको प्रतीक भएको उल्लेख गर्दै उनी भन्छन्, ‘साक्खेवाको प्राकृतिक वा कृत्रिम स्थल जहाँ भएपनि यसको पूजा आराधना गर्नुअघि संसारीमाई अर्थात् फेङ्मा, लेत्मा, सोहोनसेङमा, हुत्लुङ खुत्मा, चालिम लात्मा माङहरूलाई अनिवार्य रुपमा नाक्छोङ (मुन्दुमी, कुलपित्री पुजारी) र कुबी (धामी)ले विधिपूर्वक विधिपूर्वक पूजा गर्दछन् । त्यसपछि मात्र सिली (नाच) अघि बढ्छ ।’ साक्खेवा अर्थात् साकेला पुर्खाहरूले छाडेर गएका सांस्कृतिक पदचिह्नका रूपमा लिइने उनको तर्क छ ।

यायोक्खाले किरात प्रदेशमा यसको साकेला सिलीको प्रवद्र्धनमा जिल्ला कार्यसमितिदेखि प्रारम्भिक कार्यसमितिसम्म जुटेको महासचिव राईले बताए । हरेक ठाउँमा नाचिने साकेला सिलीमा ढोल र झ्याम्टाको प्रयोगसँगै मौलिक पहिरनसमेत अनिवार्य गरिएको उनले जनाए । ‘तर, सरकारले आदिवासी किरातीको महान् चाडलाई राष्ट्रिय विदा कटौती गर्दाचाहिं हाम्रो समुदायले संविधानप्रति अविश्वास गर्न थालेका छन्,’ महासचिव राईले भने, ‘हामी समावेशी लोकतन्त्रमा सबै नेपालीको सांस्कृतिक धार्मिक हैसियत समान रहेको देख्न चाहन्छौं ।’

 

https://www.kantipurdaily.com/literature/2019/05/17/15580681874925378.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *