बेलायतमा साँस्कृतिक सहिद रिदामा र राम्लिहाङलाई सम्झँदै अभियन्ताहरू

प्रवास

लिभु संवाददाता

केन्ट(यूके) । साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई बेलायतका साँस्कृतिक अभियन्ताहरूले स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १४५औँ स्मृति दिवसको सन्दर्भमा अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका हुन् ।

हिन्दूहरूको ठूलो चाडमध्येको एक दसैँ प्रारम्भ भइरहेकै बेला तत्कालीन समयमा साँस्कृतिक विद्रोहका क्रममा प्रतिरोध गर्दा राणा शासकहरूबाट मारिएका रिदामा र राम्लिहाङको स्मरण गरिएको अभियन्ता विश्वास दीप तिगेलाले बताए । धनकुटाको चाम्जिबुङका आठपहरीयाद्वय सहिद भएको १४५र्औँ स्मृति दिवसको अवसर पारेर बिहीबार आसफोर्डमा स्मृति सभा राखिएको उनले जनाए ।

‘हिन्दू शासकहरूले तत्कालीन समयमा पूर्वी लिम्बुवान क्षेत्रका रिदामा र राम्लिहाङलाई दसैँ नमानेको निहुँमा निर्ममतापूर्वक हत्या गरेका थिए,’ किरात याक्थुङ चुम्लङ यूकेका पूर्व सचिव तिगेलाले भने, ‘गैरहिन्दू आदिवासी मूलवासी माथि थोपरिएको साँस्कृतिक अत्याचारलाई प्रतिरोध गर्दा उनीहरूको हत्या भयो । यसकारण उनीहरूको बलिदान सम्झन एक ठाउँ आएका हौँ ।’ साहित्यकार एवम् राजनीतिज्ञ समेत रहेका तिगेलाले नेपाल बहुजातीय, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक भएपनि एकल साँस्कृतिक नीतिका कारण अझै पनि अल्पसंख्यकहरू अन्यायमा परेको बताए ।

यसैगरी, सभामा बोल्दै अर्का अभियन्ता आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघ, यूकेका संयोजक अमित थेवेले सहिदहरूको बलिदानलाई शक्तिमा रुपान्तरण गर्न साङ्केतिक रूपमा कार्यक्रम आयोजना गरिएको कारण खुलाए । उनले विगत तीन वर्षदेखि प्रत्येक साल यसै समयमा सहिदहरू रिदामा र राम्लिहाङको सम्झना गरिएको जानकारी दिए । ‘गोर्खाली राजा र राणा शासकहरूले जारी गरेको रुक्का र इस्तियारले लिम्बुवान क्षेत्रमा रहेका याक्थुङ लिम्बु, आठपहरीया, याक्खालगायतका सबै आदिवासी र गैरहिन्दू समुदायहरूलाई अनिवार्य रूपमा दसैँ मान्ने र पशुवली दिनुपर्ने बाध्यता सिर्जना भएको थियो । अवज्ञा गर्नेहरू दण्डित हुने पनिगर्थे,’ उनले भने, ‘यसैको सिलसिलामा रिदामा र राम्लिहाङले आफ्नो मौलिक पहिचान नछाडेको देखेर हिन्दू शासकहरूले धनकुटाको चुलीवनमा लगेर झुण्ड्याएर मारे ।’ लिम्बु पत्रकार संघ यूके अध्यक्ष समेत रहेका थेवेले राज्यसत्ताले दसैँलाई साँस्कृतिक नभएर राजनीतिक पर्वका रूपमा प्रश्रय दिएर अन्य धर्मावलम्बीहरूलाई अन्याय गरिरहेको आरोप लगाए ।

त्यस्तै, किरात याक्थुङ चुम्लुङ यूकेका उपाध्यक्ष गणेश इजमले तीन दशकभन्दा बढी समयअघि नै चुम्लुङले संस्थागत निर्णय गरेर मौलिक चाडहरूबारे समुदायलाई सुसूचित गरिरहेको बताए । ‘राज्यसत्ताले राजनीतिक अभिष्ट पूरा गर्न दसैँलाई अस्त्र बनाएको जगजाहेर छ । हाम्रा मौलिक चाडहरूको संरक्षण र प्रबद्र्धनका कुरा गरिरहेका छौँ । यसकारण हामीले राजनीतिक, साँस्कृतिक र भाषिक आधित्पयका लागि थोपरिएका चाडहरूलाई अपनत्व ग्रहण गर्न सकेका छैनौँ,’ उनले थपे, ‘पहिचानको आन्दोलनमा लागेका समुदायले झन् इतिहास र वर्तमानको लेखाजोखा राख्नुपर्छ ।’ याक्थुङ भाषाका सर्जक इजमले सद्भावका लागि सबै चाडपर्व, भाषा र सँस्कृतिहरूलाई राज्य र फरक समुदायले समानताको दृष्टिकोण राखेर व्यवहार गर्नु पर्नेमा जोड दिए । सभामा उपस्थित वीरेन तिगेलाले आफ्नो अस्तित्व र पहिचानको विषय जहाँ बसे पनि महत्वपूर्ण हुने धारणा सुनाए । यूकेमा सन् २०१९ देखि साँस्कृतिक सहिद स्मृति सभा राख्न सुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published.