वाम्बुले प्रतिभा : चित्र राई यसरी बने इन्जिनियर

समाज

गणेश राई

नेपाल नागरिक उड्डयन प्राधिकरणको विज्ञापन नम्बर ८८।०७७÷७८, इलेक्ट्रिकल इन्जिनियरिङ समूह, सातौं तह, वरिष्ठ अधिकृत पदमा नियुक्ति पाएका छन्– रोल नम्बर ५०२ का चित्र राईले । २०७९ असोज २ गतेसम्म सेवा प्रवेश तालिम भक्तपुरमा लिइरहेका छन् । उनको नियुक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा रहेको छ । प्राधिकरणले उनलाई तत्काल काजमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल भैरहवामा खटाएको छ ।

वाम्बुले राई जातिको नयाँ पुस्ताको सम्भवतः प्रथम इन्जिनियर हुन्, चित्र । उनको जन्म २०५० साल कात्तिक २३ गते ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.५ माथिल्लो रिचुवा गाउँमा भएको हो ।

पापा ओमराज राई (वाम्बुले भावाचाचो) र मामा चित्रसरी राई (तेलु) तीन सन्तानमध्ये जेठो हुन् । जेठा चित्र राई, कान्छा दशरथ राई र छोरी सम्झना राई छन् ।

सम्झनाले २०७८ सालको एमबिबिएस (चिकित्साशास्त्र) प्रवेश परीक्षा पास गरेकी छिन् । अहिले नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा पढ्ने अवसर पाएकी छिन् । दशरथ त्रिचन्द्र बहुमुखी क्याम्पसमा बिएस्सी अध्ययन पूरा गरी नतिजाको पर्खाइमा छन् ।

चित्रसहित यी तीन सन्तानका पापा भारतीय सैनिक, मामा पूर्णरूपमा गृहिणी हुनुहुन्छ । परिवारमा बडाबाबु मोतीराज राई मास्टर अनि समाजसेवी तथा राजनीतिज्ञ हुनुहुन्छ, जो मानेभन्ज्याङ गाविसको पूर्व अध्यक्ष र मानेभन्ज्याङ गाउँपालिका बनेपछि जननिर्वाचन पहिलो अध्यक्ष हुनुहुन्छ । पढ्ने अगुवाई, प्रेरणा र अभिभावकत्व उनै बडाबाबुबाट मिलेको चित्र सुनाउँछन् ।
चित्रले प्रारम्भिक शिक्षा रिचुवाकै श्री सिद्धस्थान प्राविमा कक्षा ३ सम्म पढे ।

त्यसपछि दुई किलोमिटर मास्तिर श्री जनता आधारभूत विद्यालय थाक्ले सिस्नेचौरमा कक्षा ४ र ५ पढे । त्यसपछि भगवती मावि मानेभन्ज्याङमा कक्षा ६ र ७ पढे ।

त्यसपछि बोर्डिङ स्कुलको यात्रा सुनसरीतर्फ मोडियो । इटहरी उपमहानगर–२० तरहरास्थित हिमशिखर इङ्लिस स्कुलमा कक्षा ५ कक्षामा भर्ना गरिए । सरकारी स्कुलमा पढेको भएकाले बोर्डिङमा भर्ना हुँदा तीन वर्ष घटाएर भर्ना हुनुप¥यो । जसका कारण तीन वर्ष समय गुम्यो । चित्रले सोही बोर्डिङबाट २०६७ सालको एसएलसीमा ८१ दशमलब ५ प्रतिशत डिस्टिङ्सनमा उत्तीर्ण गरे ।

एसएलसीपछि ललितपुरको कुमारीपाटीस्थित युनाइटेड एकेडेमीमा विज्ञान विषय लिएर कक्षा ११ र १२ पढे । २०७० सालमा बाह्र कक्षाको परीक्षा ७६.८ प्रतिशत डिस्टिङ्सन लिएर उत्तीर्ण गरे । त्यसपछि भक्तपुरको ख्वप कलेज अफ इन्जिनिरिङ (त्रिवि) इलेक्ट्रिकल इन्जिनियरिङमा बिई पढे । चार वर्षे कोर्स २०७१ सालको ब्याचमा प्रथम श्रेणी अर्थात् ७१.८ प्रतिशत लिएर उत्तीर्ण गरे ।

चित्रले त्यसपछि लोक सेवा आयोगको तयारी गर्न थालेको सुनाए । विभिन्न निकायमा इलेक्ट्रिकल इन्जिनियरको परीक्षामा सामेल हुँदै आएका छन् । विद्युत प्राधिकरणमा दुई पटक परीक्षा दिइसकेका छन् । एउटा परीक्षा नतिजा अझै आउनु बाँकी छ । यस्तै, नेपाल टेलिकमले लिएको परीक्षाको नतिजा आउँन बाँकी छ । यता नतिजा नागरिक उड्डयनमा नाम निस्किएपछि अब नेपाल सरकारको सिन्दुर परिहिने अवसर पाएका छन् ।

‘इन्जिनियरिङ बन्न पाउँदा खुसी र आनन्द लागेको छ,’ चित्र भन्छन्, ‘मेरो भविष्य सुनिश्चित भएको छ । बाबु–आमाको लगानी डुबेन । उहाँहरु खुसी हुनुहुन्छ ।’ चित्रको ठम्याइ छ कि पढाइ सुरुवातदेखि नै पारिवारिक वातावरण हुनुपर्छ । समाज र परिवारको अनेक चाहना हुन्छ । त्यो चाहना पूरा गर्ने पढेरै सम्भव छ । ‘लहड नभई अर्थपूर्ण ढंगले पढेमा सफल होइने रहेछ । यो नै मेरो हो, भविष्य यसैमा छ भनरे अघि बढ्नु पर्दाेरहेछ,’ चित्रको कथन छ ।

उत्तरोत्तर प्रगतिको शुभकामना छ, इलेक्ट्रिकल इन्जिनियर चित्रलाई । –इक लिब्जुभुम्जु परिवार

(यो लेख इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ९ अंक १७, पूर्णाङ्क ९०, २०७९ साउन–असोज (किरात येले संवत् ३८०१÷सन् २०२२ मा प्रकाशित छ । सम्पादक)

1 thought on “वाम्बुले प्रतिभा : चित्र राई यसरी बने इन्जिनियर

Leave a Reply

Your email address will not be published.