लोपोन्मुख लुङखिम राई भाषाको कक्षा सुरु

समाज

लोपोन्मुख लुङखिम राई भाषा
लिभु संवाददाता
इलाम । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकले लुङखिम भाषा बोल्नेको संख्या १ सय २९ जना छन् । प्रदेश–१ इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नं. ११ मजुवा टोल केराबारी र आसपासको गाउँमा मात्र यो भाषा बोलिन्छ । स्थलगत रूपमा यो भाषा बोल्नेको संख्या करिब १०–१५ जनामात्र छन् ।

भाषा आयोग लोपोन्मुख भाषाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन कार्यको पहल गर्दै आएको छ । यही सिलसिलामा यही २०७८ मंसिर २३ गतेबाट डेढ महिने ‘लुङखिम भाषा कक्षा सञ्चालन सम्बन्धी अभिमुखीकरण गोष्ठी’ सुरु भएको छ । भाषा आयोगको आयोजना र लुङखिम राई समाजको संयोजनमा गोष्ठी सुरु भएको हो ।

आयोगका उपसचिव गेहनाथ गौतम, भाषाशास्त्री डा. तारामणि राई, वडा नं.११ वडाध्यक्ष टेकबहादुर राई, समाजका अध्यक्ष जंगबहादुर लुङखिम राईलगायतको उपस्थितिमा गोष्ठीको उद्घाटन भएको छ ।

उद्घाटन सत्रमा आयोगका उपसचिव गौतमले २०७३ सालमा गठन भएको भाषा आयोगले देशमा बोलिने मातृभाषाहरूको संरक्षण, संवद्र्धनका काम गर्दै आएको जानकारी दिनुभयो । आयोगले समृद्ध भाषा, लोपोन्मुख भाषा र शास्त्रीय भाषा गरी तीनथरी भाषाको पहिचान गरी अध्ययन, अनुसन्धान जारी राखेको उल्लेख गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक भाषाशास्त्री डा. तारामणि राईले लोप हुन लागेका भाषाको विकास गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वमा प्रत्येक १५ दिनमा एउटा भाषा लोप हुने गरेकोले सम्बन्धित भाषिक समुदायले मातृभाषा बोलेर, लेखेर, गाएर जसरी हुन्छ व्यवहारमा लागू गर्नसक्नु पर्ने बताउनु भयो ।

उहाँले नेपालमा १ सय ३१ वटा भाषा पहिचान भएको जानकारी दिनु भयो । मातृभाषा पुस्तान्तरण हुन नसक्दा भाषाहरू मासिदै गएको बताउनु भयो । उहाँ मुलुकमा बोलिमा विभिन्न भाषाहरूको अध्ययन, अनुसन्धान कार्यमा संलग्न हुनुहुन्छ । उहाँले लुङखिम भाषा अध्ययन, अनुसन्धान गर्दै आउनु भएको छ । ‘घरमा सिमित रहेको लुङखिम भाषा संरक्षण हुन थालेको छ,’ भन्नुभयो ।

भाषा आयोगको पहल र डा. राईलगायत भाषाविदको अगुवाईमा दुरा, बनकरिया, तिलुङ, लुङखिम, कुसुन्डा भाषाको सरक्षण क्रम सुरु भएको छ । गोष्ठी उद्घाटन सत्रमा लुङखिम भाषा कक्षा संचालनका लागि डा. राईले तयार गर्नु भएको लुङखिम भाषाको पाठ्यक्रम सार्वजनिक गरिएको थियो । उहाँले बक्ता संख्याका आधारमा एउटा भाषा ५० वर्ष बच्न सक्ने बताउदै भाषा सिक्न शब्दभन्दा पनि संरचनामा ध्यान दिनु पर्ने बताउनु भयो ।

उक्त अवसरमा सूर्योदय नगरपालिका ११ का वडाध्यक्ष टेकबहादुर राईले मासिदै गएका भाषा संस्कृतिको संरक्षण गर्न नगर र वडाले सधै साथ दिने बताउनु भयो । उहाले लुङखिम भाषा संरक्षणका लागि नगरले बजेटको समेत ब्यवस्था गरेको बताउनु भयो ।

लुङखिम राई समाजका अध्यक्ष जंगबहादुर लुङखिम राईले मातृभाषाको पुनःउत्थान कार्यमा भाषा आयोगलगायत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट सहयोग पाएको बताउनु भयो ।

यसैगरी किरात राई यायोक्खा इलामका पूर्वअध्यक्ष चित्रबहादुर राईले सबै जाति र समुदायको भाषा र सस्कृति संरक्षणमा राज्यले लगानी गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा लुङखिम भाषाका प्रशिक्षक अरुण राईले मातृभाषा सिकाउन पाउनु अवसरको रुपमा लिएको बताउनुभयो । लुङखिम भाषाको कक्षामा २५ जना लुङखिम राई महिला तथा पुरुष सहभागी रहने छन् ।

लुङखिम भाषा लेखन तथा प्रशिक्षण कार्य देवनारी लिपिमा गरिएको छ । यसअघि संस्थाले ‘किराती लुङखिम राई जाति ः जन्मदेखि मृत्युपर्यन्तसम्मको मुन्दुम संस्कार’ नामक पुस्तक प्रकाशित गरेको छ । यो भाषा इलाम, ताप्लेजुङ, झापा, मोरङ, भोजपुर, भारतको दार्जिलिङ र भुटानमा समेत लुङखिम भाषी राईहरूको बसोबास रहेको छ ।


फोटो साभार : पूर्णबहादुर राईको फेसबुक वालबाट

Leave a Reply

Your email address will not be published.