व्याकुल माइला गोल्डकपको नवौं संस्करण भव्य तयारी पूरा, बिजुली बत्ती र इन्टरनेट सुविधा

खेल प्रदेश १

बिजुली बत्ती र इन्टरनेट सुविधा
लिभु संवाददाता
हिलेपानी (ओखलढुंगा)– व्याकुल माइला गोल्डकपको नवौं संस्करण भव्य तयारी पूरा भएको आयोजकले जनाएका छन् । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ सोक्मटार ब्आलेमबगर मैदानमा हुने खेल यही कात्तिक ११ गते शनिबार प्रदेश सांसद प्रदीपकुमार सुनुवारबाट गोल्डकपलको उद्घाटन हुनेछ । ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ नारासहित हुने खेलकुद कात्तिक १८ गते समापन हुनेछ ।

फाइल तस्बिर

मध्यपहाडी लोकमार्गसँगै दुधकोसी किनारामा रहेको खेलमैदान पुनःनिर्माण कार्य पूरा भएको छ । मन्च तथा प्यारापिट मर्मत, सुधार, वरिपरि बार, स्वागतद्वार निर्माण, सरसफाईलगायत काम सकिएको आयोजक संस्थाका नयाँ नेपाल सरोकार समाजका अध्यक्ष रक्षामान राईले जनाएका छन् ।

यस भेगमा गत वर्ष मूलधारको विद्युत प्रसारण जडान भएपछि खेलमैदानमा पहिलो पटक बिजुली बत्तीको व्यवस्था गर्न लागिएको छ । साथै, इन्टरनेटको समेत व्यवस्था गरिने जनाइएको छ ।

गोल्डकप उद्घाटनको दिन ओखलढुंगा र खोटाङ सीमा जयरामघाट बजारदेखि खेलमैदानसम्म प्रभातफेरी हुने जनाइएको छ । यसै दिन हिलेपानी मितेरीभन्ज्याङबाट सोक्मटार हुँदै खेलमैदानसम्म सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ ।


यो पटक करिब १६ टिमको सहभागिता रहन सक्ने आयोजकले जनाएका छन् । खेलमा सहभागी हुने म्याद कात्तिक १० गतेसम्म रहेकाले सहभागी टिमको अन्तिम टुंगो लाग्न बाँकी रहेको छ ।

खेलकुद उद्घाटन सत्रमा राष्ट्रगानका रचनाकार व्याकुल माइला, मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्ष आश्रचन राई, वडा नं.६ वडाध्यक्ष हेमराज राई, वडा नं.१ वडाध्यक्ष राजकुमार रुम्दाली, वडा नं.२ वडाध्यक्ष राममणि राई, वडा नं.३ वडाध्यक्ष जितेन राई, वडा नं.५ वडाध्यक्ष रामकुमार राई, वडा नं.७ वडाध्यक्ष विष्णु गौतम, वडा नं.७ वडाध्यक्ष भीम बलम्पाकी मगर र वडा नं.९ वडाध्यक्ष पूर्णबहादुर आलेमगरको उपस्थिति रहने छ ।

यसैगरी खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.१ वडाध्यक्ष रुद्रकुमार राई, ओखलढुंगा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रुपेश शाक्य लगायतको उपस्थिति रहने जनाइएको छ ।

नयाँ नेपाल सरोकार समाजले २०६८ सालदेखि राष्ट्रगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) को जन्मथलो ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ सोक्मटार दुधकोसी किनार ब्आलेम बगर मैदानमा ‘व्याकुल माइला गोल्डकप’को आयोजना गर्दै आएको छ ।

यो पटक खेल आयोजनाका निम्ति मानेभञ्ज्याङ गाउँपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । खेलमा प्रथम पुरस्कार नगद २ लाख २ हजार २ सय २२, द्वितीय १ लाख १ हजार १ सय ११ र सेमिफाइनलिस्टलाई २०–२० हजार रुपैयाँ तथा शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

गोल्डकप स्थलबाट ३२ किमि पूर्वमा चर्चित धार्मिकस्थल हलेसी महादेव रहेको छ । यो खेलस्थल पारि खोटाङ, जोर्तीघाट पारि उदयपुर र सिन्धुली जिल्ला रहेका छन् । खेलमैदानमा खेलाडीका रूपमा यिनै जिल्लाका युवाहरू सहभागी हुनेछन् ।

गोल्डकप अवधिभरि स्थानीय सुनाखरी कोसेली युवा क्लब, नवसगरमाथा युवा क्लब, फूलबारी युवा क्लब, मितेरी भन्ज्याङ युवा क्लबलगायत विभिन्न क्लबले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.