विचार – स्थाननाममा मानवीय पहिचान

पत्रपत्रिका विचार / ब्लग

कमल मादेन

काठमाडौँ — काठमाडौं, गैरीधारामा कुलचन्द्र गौतम प्रतिष्ठानमा यही फागुन ५ गते नेपालका भौगोलिक नामहरू (स्थान नामहरू) शीर्षकमा कार्यक्रम भयो ।

कार्यक्रममा प्रा.डा. भीमप्रसाद सुवेदीले भौगोलिक नाम अर्थात स्थाननाम आम प्रचलन अनुरुप ठाउँ विशेषको प्राकृतिक स्वरूप र त्यस ठाउँको मानवीय पक्षबाट नामकरण हुन्छ भन्ने दृष्टान्त प्रस्तुत गरे ।
विश्वव्यापी रूपमा स्थान नामलाई टोपोनिम भनिन्छ । शब्दकोशको पछि लाग्दा टोपोनिम भनेको कुनै पनि ठाउँको भौगोलिक परिचय भन्ने भेटिन्छ र टोपोनिमीबाट टोपोनिम शब्द बनेको देखिन्छ । टोपोनिमीले ठाउँको नाम अध्ययन भन्ने बुझाउँछ । त्रिभुवन विश्वविद्यालयका प्रा.डा. सुवेदीकै शब्द सापटी लिएर भनौं, ‘त्रिभुवन विश्वविद्यालयमा अहिलेसम्म स्थान नामबारे अध्यापन गर्ने गरिएको छैन ।’ पाठ्यक्रममै स्थान नामले स्थान नपाइसकेको अवस्थाबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगोल पाठ्यक्रम नेपालको वास्तविक धरातल अध्ययन, अध्यापनभन्दा बाह्र हात परै रहेको बुझिन्छ । पाठ्यक्रमै स्थाननाम समावेश भैदिएको भए कम्तीमा धेरैजसो स्थान नामबारे भूगोल विषयका गुरु र विद्यार्थीसम्म त जानकार हुन्थे ।
कृष्णप्रकाश श्रेष्ठले स्थाननामकोश (२०४४) शीर्षक पुस्तक नै लेखेका छन् । श्रेष्ठले ‘स्थाननामहरू विभिन्न कालखण्डमा जनभाषाबाट प्रादुर्भाव हुन्छन्’ भनेका छन् । स्थाननाम भनेको नयाँ शब्दको व्युत्पत्ति हो । तर यस्ता कतिपय स्थान नामको व्युत्पत्ति कसरी भयो होला भनेर अर्थ्याउन सक्ने अवस्था छैन । किनभने त्यस्ता स्थाननाम सयौं–सयौं वर्ष पहिले कुनै खास भाषाबाटउद्भव भएका हुन्छन् । ती भाषा लोप भैदिंँदा त्यस्ता स्थाननाम अथ्र्याउन सकिन्न । मगर भाषामा जलस्रोत सम्बद्ध नाम दी प्रत्यय जोडिएर बनेको पाइन्छ । जस्तो– मोदी, मस्र्याङदी, मिर्दी, ज्याग्दी, रिडी, कैलादी, क्वाङदी, म्याग्दी इत्यादि । म्याग्दी जिल्लास्थित कालीगण्डकी नदीमा मिस्टी (मिस्ट्रीरू) खोला मिसिन्छ । मिस्टी शब्द कसरी व्युत्पन्न भयो भन्ने कतै जानकारी पाइँदैन । त्यस भेगमा मगर समुदाय अन्तर्गत पुन मगर मात्रैको बसोबास छ । पुनले मगरको धुट, खाम र काइके भाषा बोल्दैनन् । उनीहरू पर्वते भाषी हुन् । भनिन्छ, उहिले उनीहरूको छुट्टै भाषा थियो । पुन भाषाबाट मिस्टी शब्द व्युत्पन्न भएको थियो होला ।
लिम्बू भाषाका स्थाननाम
प्राज्ञ वैरागी काइँलाले २०५१ असारमा प्रकाशित मधुपर्कमा लिम्बू नामहरू धमाधम परिवर्तन गर्दै नयाँ नेपाली नाम (संस्कृतिकरण) राखिँदैछन् भन्ने लेखेका छन् । काइँलाले दोरूम्बा र आङबुङ लिम्बू नामको सट्टामा अमरपुर भन्ने नयाँ नाम दिइएको उल्लेख गरेका छन् । लिम्बू भाषामा फेदेनले पिँmजिएको अर्थ भन्ने बुझाउँछ । पाँचथरको फिदिमलाई पहिले फेदेन भनिन्थ्यो । हिजोआज स्वयम् लिम्बूले नै फेदेनको अर्थ थाहा पाउन लिम्बू–नेपाली शब्दकोशको सहारा लिनुपर्ने अवस्था छ । तेह्रथुमस्थित तम्फुलाको पहिलेको नाम ताङभुङला हो । यसले जंगल वा घारी जंगल भन्ने अर्थ दिन्छ । फक्ताङलुङले काँधजस्तो ढुङ्गो भन्ने बुझाउँछ । लिम्बूले अहिले पनि कुम्भकर्ण हिमाललाई फक्ताङलुङ नै भन्छन् । तेह्रथुममा बिरालोको नङ्ग्राले कोरेको एक ढुङ्गोलाई लिम्बूले मिय:ङलुङ भन्छन् । बिरालोको नङ्ग्राले ढुङ्गो कोरिएको भनाइ पत्याइहाल्न सकिन्न । तर लिम्बूले बिरालोलाई मिय:ङ र ढुङ्गालाई लुङ भन्छन् । त्यसैले त्यो ढुङ्गो भएको आसपासको क्षेत्रलाई पहिले मिय:ङलुङ नै भनिन्थ्यो । कालान्तरमा म्याङलुङ भनिन थाल्यो ।
लिम्बू भाषाबाट नामकरण गरिएको नदी वा खोलाको नामको अन्त्यमा वा जोडिएको पाइन्छ । ताम्वाबाट तमर वा तमोर नदी, इवाबाट इन्द्रावती, माक्वाबाट मौवा नामकरण भएका छन् । लिम्बू भाषामा इवाले घुमेको खोला, माक्वाले कालो पानी भएको खोला भन्ने अथ्र्याउँछ । येहाङ लाओती लिखित ‘आदिवासी लिम्बू जातिको सङ्क्षिप्त परिचय (वि.सं. २०६२)’ पुस्तकमा लिम्बू भाषामा नामकरण भएका स्थान नामको सूची छ । लाओतीले कुनै स्थाननाम कुनै अपभ्रंश गराएर र कुनै सिधै नाम परिवर्तन गरिएका पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा र मोरङ जिल्लाका ३१ वटा स्थाननाम उल्लेख गरेका छन् । तर लिम्बू भाषाबाट प्रादुर्भाव भएका ती शब्दको अर्थ लेखिएको छैन । लिम्बू भाषा बुझ्नेका लागि त उक्त सूची लाभदायक नै छ । तर अरूका लागि ‘कालो अक्षर भैंसी बराबरी’ छ । उनै लाओती भन्छन्, ‘कुनै जातजातिको तथ्य सम्बन्धित जातिको तथ्यपूर्ण इतिहास बुझेर लेखिनुपर्छ । अनुमान र सुनेको भरमा लेखिए इतिहास वास्तविक रूपमा प्रकट हुनसक्दैन । बंग्याई लेखिए नकारात्मक परिणाम आउँछ ।’
लिम्बू समुदायको प्राज्ञिक समूहमा मुक्कुमलुङलाई हिन्दुकरण गरिएको ब्यापक दुखेसो सुन्न पाइन्छ । लिम्बूले मुक्कुमलुङ भन्दै आएको ताप्लेजुङ सदरमुकाम नजिकैको एक पवित्र स्थललाई पाथीभरा देवी नामकरण गरिएको छ । मूल सम्पादक स्व. इमानसिंह चेम्जोङ रहेको लिम्बू नेपाली शब्द अंग्रेजी शब्दकोश अनुसार मुक्कुमलुङ (मुक्कुम) भनेको शक्ति वा सर्वशक्तिमता हो ।
मुक्कुमलुङ कसरी नामकरण भयो भन्ने सन्दर्भमा यो पंक्तिकारले उहिलेदेखि सुन्दै आएको कथा यस्तो छ– उहिले एक गोठालोले उसको भेँडीगोठ सधैं त्यतै चराउन लैजान्थ्यो । एक दिन निक्कै बाक्लो हुस्सु लाग्यो । एकाएक सबै भेँडा हराए । गोठालाले सबैतिर खोजे, कतै फेला पार्न सकेनन् । हतास भएर गोठाला गोठमा फर्के ।
तिनलाई सपनामा कसैले भन्यो, ‘तिमी डाँडाको टुप्पोमा जाऊ, त्यहाँ दुईवटा वस्तुको पाइला देख्न सक्छौ र त्यहाँ धुपबात्ती गर, तिम्रा हराएका सबै भेँडा पाउँछौ ।’ ती गोठाला बिहानै उठेर त्यहीं गए । नभन्दै पाइतालाको चिन्ह देखे । धुपबात्ती गदैगर्दा तिनको शरीरमा शक्ति चढ्यो । तिनले आफै काम्दै बके रे, ‘म त युमा साम्माङ हुँ । म सबैको शक्ति हुँ । तिम्रा हराएका भेँडा यहीं छन् ।’ लिम्बूको मूल देवता युमा साम्माङ हुन् । शरीरमा शक्ति चढी काम्नुलाई ‘थुक्मा’ भनिन्छ । त्यसपछि ती गोठालाले सधैं त्यहाँ धुपबात्ती गर्न थाले । अरूले पनि पूजाआज गर्न थाले ।
हिन्दुहरूले मुक्कुमलुङलाई कालान्तरमा साक्षात्कार एक दैविक शक्ति रहेको स्थान मानी पाथीभरा देवी नाम दिए । त्यो पहाडको चुचुरो धान–चामल भरिएको पाथीजस्तो देखिन्छ । त्यही भौगोलिक स्वरूपबाट त्यसको नामकरण पाथीभरा गरियो । सुब्बा हर्कजंग मादेन स्मृतिग्रन्थ शीर्षक पुस्तकमा उल्लेख भए अनुसार विसं २००३ सालमा स्वामी खप्तड बाबा र २०१२ सालमा इतिहासकार योगी नरहरिनाथ पाथीभरा देवीको मन्दिरमा दर्शन गर्न पुगेका थिए । यसले के स्पष्ट पार्छ भने मुक्कुमलुङलाई राणाकालमै पाथीभारा देवी नामकरण गरिसकिएको थियो ।
कृष्णप्रकाश श्रेष्ठका अनुसार केही भौगोलिक नाममा कालक्रम अनुसार भाषागत अन्तरमात्र हुने नभई मौलिक अन्तरसमेत पाइन्छ अर्थात् एउटै ठाउँको पनि विभिन्न कालमा फरक–फरक नाम राखिएको हुनसक्छ । यो भनाइ मुक्कुमलुङलाई पाथीभारा देवी नामकरण गरिएको सन्दर्भसँग मिल्छ ।
गोविन्द न्योपानेले ‘नेपालको जातीय प्रश्न (सन् २०००)’ पुस्तकमा लेखेका छन्, ‘नेपालका जिल्ला तथा अञ्चलका नयाँ नामहरू यसरी राखिए कि पुराना जातीय प्रकृतिका नाम बेपत्ता पारिए ।’ यस्ता नामकरणमा खसहरू सुरुदेखि नै निपूण थिए । यसको उदाहरण काठमाडौं उपत्यकाका विभिन्न ठाउँको नाम परिवर्तनलाई लिन सकिन्छ ।
हालैका दिनमा केही गाउँपालिकाको नामकरण त्यस ठाउँका पुराना नामबाटै कायम गरिएको छ । पाँचथरको फालेलुङ, हिलिहाङ, कुम्मायक, मिक्लाजुङ, तुम्बेवा, याङवरक सहित ताप्लेजुङको सिदिङवा, फक्ताङलुङ, मिक्वाखोला, मेरिङदेन आदि पुराना नामबाट नामकरण भएका हुन् । यसलाई सकारात्मक कामको सुरुआत मान्नुपर्छ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०७:२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *