बान्तावाभाषी श्रष्टाहरूलाई पुरस्कार र शिक्षाविद् ईश्वरमान राईलाई बुङ्वाखा सम्मान

समाचार

लिभु संवाददाता
ललितपुर– बान्तावा भाषामा प्रकाशित ‘बुङ्वाखा’को २०औं वार्षिकोत्सवको अवसरमा दुई दिने ‘बान्तावा साहित्य महोत्सव’ हुने भएको छ । भोजपुरको हतुवागढी गाउँपालिका घोडेटारमा आउदो मङ्‌सिर २३-२४ गते हुने सो महोत्सवमा विधागत पुरस्कार र सम्मानहरू प्रदान गरिने भएको हो ।

बुङ्वाखा सम्पादक तथा कार्यक्रम संयोजक पदम राईका अनुसार सो अवसरमाभोजपुर हतुवागढी पात्लेपानी निवासी बान्तावा श्रष्टा मानबहादुर खाम्लुङ राईलाई ‘बुङ्वाखा-विष्णु-मकर बान्तावा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने छ । पुरस्कारको राशी ६० हजार २ सय ९१ र ताम्रपत्र रहेको छ । उहाँले ‘किरात राई साकेन्वा लाकछाम’ (बान्तावा भाषा, २०५४), ‘साकेन्वा लाकछाम भुङ’ (बान्तावा भाषा, २०७०), ‘लुङ्खिम टाकुरे साकेन्वाको ऐतिहासिक पृष्ठभूमि स्मारिका’ (२०७२), ‘हतुवाली सेमुना सिलि’ (गीत सङ्ग्रह, २०७६) जस्ता कृतिका लेखन र प्रकाशन साथै ‘सुम्निमा’ भाग १ गीतिएल्बम (२०५५) को गीतकार र उत्पादन गर्नुभएकोमा यो पुरस्कार प्रदान गरिने भएको हो । पूर्व मुख्य अञ्चलाधीश स्व. मकरबहादुर बान्तावा र उहाँकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उहाँहरूका परिवारले सो पुरस्कारको लागि ‘बुङ्वाखा’मा अक्षयकोष स्थापना गर्नुभएको हो ।

‘बुङ्वाखा-युके सायाचोङ्मा पुरस्कार’ बुङ्वाखाको प्रकाशक शान्तप्रसाद राईलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी ५० हजार र ताम्रपत्र रहेको छ । भोजपुरको हतुवागढी गाउँपालिका २, वालाहाङछानमा जन्मिनुभएका राईले’बुङ्वाखा’को प्रकाशक भई उल्लेख्य भूमिका खेलिरहनुभएकोले यो पुरस्कार प्रदान गरिने भएको छ । ‘बुङ्वाखा’ संरक्षक मानबहादुर राईको पहल र संयोजकत्वमा बेलायतमा बसोबास गरिरहनुभएका बान्तावा र गैरबान्तावाहरूका सहभागितामा यो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका ८, बाहुराङमा जन्मिनुभएका बान्तावा गायिका कला ईशारा राईलाई ‘बुङ्वाखा-पञ्चकुमारी सङ्गीत पुरस्कार’ प्रदान गरिने भएको छ । ताम्रपत्रसहित पुरस्कारको राशी ४० हजार रुपैयाँ रहेको छ । उहाँले ‘छेन्चुकदुङ्का…’, ‘पउ पगरि ढोले ङा लिसिन…’ संयुक्त बान्तावा गीतहरू र करिब २६ वटा नेपाली गीतहरू गाउनुभएको छ ।स्वर्गीय आमा पञ्चकुमारी राईको स्मृतिमा दाजुभाइद्वय गीतकार जीवन मुकारुङ र गायक तथा सङ्गीतकार अशोक मुकारुङले सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।

सहिदभूमि गाउँपालिका ४खोकु, धनकुटा निवासी मोनकुमारी राईलाई ‘बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ । उहाँले बुङ्वाखामा वर्षभरी नियमित लेख लेख्नुभएकोले सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । कदरपत्रसहित पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।आफ्ना भाइ धनेन्द्र बादिहाङको अल्पायुमै स्वर्गारोहण भएकोमा दाजु टीकाराम बादिहाङ र परिवारको पहलमा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरिएको हो ।

हतुवागढी गाउँपालिका २बाकबुक, भोजपुरमा जन्मिनुभएका बुङ्वाखा चेन्चेक्वा (संवाददाता)को रूपमा कार्यरत रामकुमार राईलाई ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार’ प्रदान गरिने भएको छ । कदरपत्रसहित पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।बुङ्वाखा सल्लाहकार चन्द्रकुमार राई ‘हतुवाली’ र उहाँको परिवारले आफ्ना बजु रनमाया राईको स्मृतिमा पुरस्कारको लागि अक्षयकोष स्थापनाको लागि प्रस्ताव गर्नुभएको छ ।

बुङ्वाखा २०औं वार्षिकोत्सवको अवसरमा २०औँ बान्तावा कविता प्रतियोगिताको पनि आयोजना गर्ने भएको छ । सो प्रतियोगिताबाट विजयी कविहरूले ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’बाट पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई क्रमशः रु. २० हजार, रु. १५ हजार र रु. १० हजारबाट पुरस्कृत गरिने छ । श्यामराज दुब्देङहाङका छोरीद्धय मीना राई, सपना राई र भतिजी छोरी अञ्जना राईले आफ्ना पापा/काकाको स्मृतिमा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।

शिक्षासेवी ईश्वरमान राईलाई ‘बुङ्वाखा सम्मान’ अर्पण गरिने

भोजपुर हतुवागढी ३, सिन्द्राङ निवासी ईश्वरमान राईलाई ‘बुङ्वाखा सम्मान’ प्रदान गरिने भएको छ । राई भोजपुर हतुवागढी १, घोडेटारस्थित श्री सगरमाथा माविका पूर्व प्रधानाध्यापक हुनुहुन्छ । उहाँले भोजपुरको दक्षिणी क्षेत्रमा स्थापित उक्त माविलाई नमुना विध्यालय बनाई शिक्षाको ज्योति बाल्ने कामको नेतृत्व गर्नुभएको थियो ।बुङ्वाखा पुरस्कार छनोट समितिको मङ्‌सिर १३ गते ललितपुरमा बसेको बैठकले सो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *