पाठ्यपुस्तकविना कक्षा ११ र १२ पढ्दै दृष्टिविहीन विद्यार्थी, सन्दर्भ सामग्री सधै अभाव
गणेश राई
काठमाडौं– संविधानको धारा ३१ (४) मा ‘दृष्टिविहीन नागरिकलाई ब्रेल लिपिमा का माध्यमबाट कानुनबमोजिम नि:शुल्क शिक्षा पाउने हक हुने’ उल्लेख छ । शिक्षा ऐनअनुसार कक्षा १२ सम्म विद्यालय तह मानिन्छ ।

शिक्षा मन्त्रालयले कक्षा १ देखि १० सम्मका दृष्टिविहीन विद्यार्थीका निम्तिमात्र ब्रेल पाठ्यपुस्तकको बजेट व्यवस्था गर्दैआएको छ । कक्षा ११ र १२ का विद्यार्थीका निम्ति अहिलेसम्म ब्रेल पाठ्यपुस्तक बन्न सकेको छैन । पाठ्यपुस्तक नहुँदा श्रव्य सामग्रीको भरमा पठनपाठनमा समस्या भएको विद्यार्थी बताउँछन् ।
रामेछापका संगम थापामगर दृष्टिविहीन विद्यार्थी हुन् । उनी ललितपुरको लगनखेलस्थित नमुना मच्छिन्द्र मावि कक्षा ११ मा पढ्दै छन् । ‘ब्रेल पुस्तक नहुँदा पढ्न पाएका छैनौं,’ साउनदेखि पढ्दै आएका उनी भन्छन्, ‘सर, म्याडमले कक्षामा साधारण विद्यार्थीलाई पढाएको सुनेरमात्र चित्त बुझाएका छौं ।’ मोबाइलबाट पीडीएफ भर्सन किताबहरू सुन्ने गरेको उनले जनाए ।
यसैगरी गोरखाकी अस्मिता देवकोटा दृष्टिविहीन छात्रा हुन् । उनी काठमाडौंको सानोभर्याङस्थित कामना इन्टरनेसनल कलेजमा कक्षा ११ मा पढ्दैछिन् । ‘हामीसँग किताब छैन,’ पाँच महिनादेखि कलेज धाइरहेकी उनी भन्छिन्, ‘कम्प्युटर टेक्नोलोजीमा सरहरूले केही सामग्री पीडिएफमा उपलब्ध गराउनु हुन्छ । त्यसैको भरमा पढ्दैछौं । तर त्यो पनि चाहेजत्ति उपलब्ध छैन ।’ कलेजले लिएको एउटा आन्तरिक परीक्षामा राइटरको भरमा जाँच दिएको उनले सुनाइन् । तर, उनलाई चित्त बुझेको छैन । यदि प्रविधि प्रयोग गरेर जाँच दिन पाएको भए राम्रो हुने उनको बुझाइ छ ।
यी दुई विद्यार्थी उदाहरणमात्र हुन् । देशभरि कक्षा ११ र १२ पढ्दै गरेका २ सयजना भन्दा बढी दृष्टिविहीन विद्यार्थी पाठ्यपुस्तक विहीन पढिरहेका छन् । दृष्टिविहीन कल्याण संघका महासचिव पवन घिमिरेको शब्दमा नयाँ संविधानले दृष्टिविहीनका निम्ति ब्रेल लिपिमा पढ्न पाउने व्यवस्था हुनु सकारात्मक हो ।
नेपाली सेनाका प्रमुख सेनारीसमेत रहेका दृष्टिविहीन घिमिरे भन्छन्, ‘तर कक्षा १० भन्दा माथिका कक्षामा अहिलेसम्म ब्रेल पाठ्यपुस्तक बनेकै छैन । ब्रेल पुस्तकको अभावमा कक्षा ११ र १२ मा पढ्ने दुई सयभन्दा बढी दृष्टिविहीन विद्यार्थी अन्यायमा परेका छन् । त्यसैगरी ब्रेलमा सन्दर्भ सामग्री प्रकाशन हुन सकेको छैन ।’
शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखाकी निर्देशक दिव्या दवाडी कक्षा ११ र १२ मा ब्रेल पाठ्यपुस्तक बन्न बाँकी रहेको स्विकारिन् । ‘कक्षा १२ सम्म विद्यालय तह भएकाले ब्रेल पाठ्यपुस्तक बन्नु पर्छ भन्ने योजनामा राखेका छौं,’ निर्देशक दवाडीले भनिन्, ‘तर अहिलेसम्म व्यवस्था हुन सकेको छैन । रेडियो कार्यक्रम र अडियो बुकका आधारमा पठनपाठन भइरहेको छ ।’
यसो त कक्षा १० सम्मका ब्रेल पाठ्यपुस्तक विद्यार्थी संख्या अनुपातभन्दा कम छापिने गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार देशभरि कक्षा १० सम्म १ हजार ५ सय ५२ जना दृष्टिविहीन विद्यार्थी छन् । झन्डै दस वर्षदेखि यो संख्या निरन्तर दोहोरिदै आएको छ । हरेक वर्ष सरदर ९ सय ३७ सेट पाठ्यपुस्तक छाप्ने गरिएको छ । बजेटको आंकडा बढ्न सकेको छैन । विद्यार्थी अनुपातमा पुस्तक संख्या कम छापिदैआएको छ । नि:शुल्क रूपमा पाउनु पर्ने पाठ्यपुस्तक विद्यार्थी संख्याभन्दा कम छापिदा पुरानै पुस्तकको भर पर्नुपरेको शिक्षक बताउँछन् ।
‘ब्रेल पुस्तक धेरै भारी हुन्छ, त्यसैले कम छापिन्छ र पुरानै पनि काम लाग्ने भएकाले मागका आधारमा सीमित छाप्ने गरिएको हो,’ निर्देशक दवाडीको कथन छ, ‘बहु पाठ्यपुस्तक विधि लागू भएको छ । अब सुधारिएको ब्रेल कार्यक्रम अघि बढाउने योजना बनेको छ ।’ हलुका र पातलो कागजमा समेत ब्रेल लिपि छपाउने व्यवस्था गरिने उनले जनाइन् ।
देशभरि ५७ जिल्लाका गरी ८२ विद्यालयमा विद्यालय छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हरेक वर्ष उही तथ्यांक दोहोर्याउने गरेको छ । कुन विद्यालयमा कति दृष्टिविहीन विद्यार्थी पढ्छन् भन्नेबारे स्थलगत अनुगमन हुन सकेको छैन । नि:शुल्क रूपमा बाँड्नु पर्ने र दृष्टिविहीन विद्यार्थीलाई मात्र काम लाग्ने भएकाले विद्यार्थी घट्न सक्ने अनुमानमात्र गर्दै आएका छन् ।
दृष्टिविहीनका निम्ति अनिवार्य विषयअन्तर्गत नेपाली, अंग्रेजी, गणित, सामाजिक, विज्ञान र स्वास्थ्य, शारीरिक तथा जनसंख्या छन् । त्यसैगरी ऐच्छिकअन्तर्गत इतिहास, भूगोल, कृषि, अर्थशास्त्र, शिक्षा, लेखा विषय छन् । ब्रेल पाठ्यपुस्तक उत्पादनका निम्ति वार्षिक १ करोड ३७ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । त्यसमध्ये करिब ४१ प्रतिशत लागत नेत्रहीन संघले व्यहोर्दै आएको संघका कार्यकारी निर्देशक नरबहादुर लिम्बुले जनाए । कक्षा १० का एक विद्यार्थीका निम्ति आवश्यक एक सेट पुस्तकको मूल्य २२ हजार रुपैयाँ पर्ने जनाइएको छ ।
ब्रेल पाठ्यपुस्तक छपाई तथा वितरण गरिएको विवरण
आ.व. रकम रु. ब्रेल पाठयपुस्तक सेटमा
२०७३/०७४ ७४,१५,६०४।– ७९६
२०७४/०७५ ८०,००,०००/– ९७०
२०७५/०७६ ७९,००,६१७।– ९३७
२०७६/०७७ ७९,९९,९१८।– १०८४
२०७७/०७८ ७४,९९,९९८।– ९०८
२०७८/०७९ ७९,९०,९४४।– ९६०
स्रोत : नेपाल दृष्टिविहीन कल्याण संघ
विशेष प्रकारको छपाई मेसिन हुने भएकाले सामान्य प्रेस तथा छापाखानाले ब्रेल पुस्तक छपाउन नसक्ने जनाइएको छ । नेपालमा ब्रेल पुस्तक छपाई गर्ने दुईवटा प्रेस छन् । काठमाडौंको नेपाल दृष्टिविहीन कल्याण संघ र नेत्रहीन संघले ब्रेल पुस्तक छपाउँदै आएका छन् । दुवै संस्थाले दातृनिकायबाट अनुदानमा छपाई मेसिन प्राप्त गरेका छन् ।
संघका कार्यकारी निर्देशक लिम्बुका अनुसार ब्रेल पुस्तक छपाउने प्रेस फरक छ । छाप्ने पेपर फरक छ । ‘ब्रेल पुस्तक छाप्न १ सय ४० जीएसएनको पेपर प्रयोग हुन्छ,’ दृष्टिहीन लिम्बु भन्छन्, ‘नेपालमा पाइँदैन । इन्डियाबाट ल्याउनु पर्छ । व्यापारीले अन्यत्र प्रयोग नहुने भएकाले ल्याउन मान्दैनन् । अर्डर गरेर मगाउनु पर्छ । एक ट्रक अर्थात् पन्ध्र टनभन्दा कम मगाउँदा ल्याउन मान्दैनन् ।’
बाक्लो कागजमा ब्रेल छपाइ मेसिनमा एक–एक गरी छपाउनु पर्छ । सियोले घोचेजसरी छेडेर अक्षर खोपिन्छ, जुन छिनछिनमा छाप्न सकिन्न । एउटै किताब ठूलो आकारको गह्रुगो हुन्छ । प्रत्येक विषयभित्र समेटिएका विषयवस्तुलाई ब्रेल लिपिमा अनुवाद गरी उतार्ने गरिन्छ । ब्रेल लिपि पुस्तकको आकार कक्षागत पाठ्यपुस्तकभन्दा ठूलो हुन्छ । कतिपय विषयको पाठ्यपुस्तक दुई–तीन भागमा विभाजन गरेर छाप्ने गरिएको छ ।
‘साधारण ए फोर साइजको एक पाना बराबरको पाठ्यसामग्री ब्रेलमा छाप्ता तीन पाना हुन्छ,’ दृष्टिविहीन कल्याण संघका कार्यक्रम अधिकृत फौज कार्की भन्छन्, ‘पुस्तकको आकार ठूलो हुन्छ ।’
कीर्तिपुरस्थित लेबोरेटरी माविका प्रिन्सिपल लाक्पा शेर्पा विद्यार्थीलाई ब्रेल पाठ्यपुस्तकमै सीमित गरिएको बताए । ‘दृष्टिहीन विद्यार्थीले मुस्किलले ब्रेल पाठ्यपुस्तक पाउँछन्,’ पुस्तकको आधार ठूलो र तौल गहु्रँगो हुने उल्लेख गर्दै उनले भने, ‘चारवटा किताब काँधमा बोकेर हिंड्नु पर्ने हुन्छ । त्यही पाठ्यपुस्तक पढेर ज्ञान लिनु पर्छ । सहायक सामग्रीका रूपमा ब्रेल पुस्तक उत्पादन हुन सकेको छैन ।’
प्रिन्सिपल शेर्पाले विद्यार्थीलाई रेडियो, युटुबमा श्रव्य सामग्री सुन्ने र स्टाइलस पेन (टाइप गरेको कुरा आवाज दिने) कम्प्युटर चलाउन दिने गरिएको सुनाए । ‘तर यो सुविधा सबै विद्यालयमा छैन,’ उनले भने, ‘विद्यार्थीको सबैभन्दा ठूला मर्का भनेको जाँचमा लेखक राख्नु पर्ने हुन्छ । यदि स्टाइलस पेनयुक्त कम्प्युटर चलाएर परीक्षा दिन लगाए राइटरको व्यवस्था गर्नु पर्दै । आफ्नो शैक्षिक भविष्य आफैले निर्धारण गर्न सक्छन् ।’ परीक्षामा दृष्टिविहीन विद्यार्थीले थप एक घण्टा समय पाउँछन् ।
सरकारले दृष्टिविहीन विद्यार्थीलाई मासिक चार हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराएको छ । ‘तर त्यति पैसाले खानमात्र पुग्छ,’ महासचिव घिमिरे भन्छन्, ‘विद्यार्थीलाई पढ्ने वातावरण, ब्रेलमा सहायक पुस्तकहरू उपलब्ध हुन सकेको छैन ।’ ब्रेलमा पढ्नेका निम्ति पुस्तक र प्रविधिमैत्री तुल्याउन पहल हुनुपर्ने घिमिरेको कथन छ ।
‘सरकारले तत्काल कम्प्युटरमा जाँच दिन पाउने व्यवस्था गर्न नसके पनि ब्रेलमै परीक्षा दिने व्यवस्था गर्न जरुरी छ,’ उनले भने, ‘त्यसो गर्दा विद्यार्थीले स्वतन्त्र ढंगले जाँच दिन्छन् र आफ्नो भविष्य आफैं निर्धारण गर्न पाउने छन् ।’ देशभरि चार सयजना जति ब्रेलमा पारंगत दृष्टिविहीन शिक्षक कार्यरत रहेको घिमिरेले बताए ।
दृष्टिविहीन मानिसले हातको औंलाले छामेर अक्षर पत्तालगाइ पढिने लिपि नै ब्रेललिपि हो । लुइस ब्रेलले सन् १८३४ मा ६ बिन्दुको स्पर्शलिपिको विकास गरेका थिए । जसमा ६ अक्षरको एक कोठा रहने र त्यही छ विन्दुबाट कुनै पनि लिपिको अक्षर वाक्य बन्न सक्छ । त्यही परिमार्जित स्पर्शलिपिलाई ब्रेल नामाकरण गरिएको हो ।
नेपालमा सन् १९६४ मा एकीकृत शिक्षा लागू भएपछि दृष्टिविहीनका निम्ति विद्यालय स्थापना भएको थियो । त्यसपछि ब्रेललिपि प्रचलनमा आएको हो । सुरुमा अंग्रेजी र त्यसपछि देवनागरीमा नेपाली भाषाअनुकुल ब्रेललिपिको विकास भएको छ ।
यो समारचार कान्तिपुर दैनिकमा समेत छापिएको छ ।