किरात राई प्रज्ञा परिषदले यही २०८१ चैत ३० र ३१ ग्ते पाँचौ किरात राई प्राज्ञिक सङ्गोष्ठी–२०८१ आयोजना गरेको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने किरात सभ्यताबारे बहस हुनेछ । प्रा.डा. नोवलकिशोर राई, प्रा.डा. विष्णु एस. राई प्रा.डा. विष्णु राईको विशेष उपस्थिति रहने समारोहमा ‘किरात सभ्यता’ प्रा.डा. युवराज सङ्ग्रौलाको विद्वत प्रवचन रहने छ ।
दुई दिने संगोष्ठीमा दर्जनभन्दा बढी विषयमा गोष्ठीपत्र प्रस्तुत हुने परिषद्का सदस्यसचिव डा. तारामणि राई जानकारी दिनु भएको छ ।
पहिलो दिन ‘किरात राईभित्रका अभौतिक सम्पदा सूचीकरणको महत्व’बारे डा.सोमबहादुर धिमाल, ‘नेपालका अदिवासी किरात राई महिलाहरूको मुन्दुमी सस्कृतिमा न्यून सहभागिता, मुन्दुमी अधिकार सङ्कटकोे अवस्था’ शीर्षकमा डा. शान्तिदेवी राई र ‘किरात राई समुदायमा रहेको मौखिक र व्यवहारिक मुन्दुमी ज्ञान, सिप र प्रविधि’ शीर्षकमा परशु बिराट राईको प्रस्तुति हुनेछ ।
समानान्तर सेसनमा ‘दोलोकुम गीतको संरक्षण’बारे लोकबहादुर बायुङ राई, ‘चाम्लिङ समुदायको पाछा र सामै’बारे जीतमान राई र ‘किरात सभ्यतामामहिलाको स्थान’बारे सरिता राईको प्रस्तुति रहनेछ ।
यसैगरी ‘१नम्बर प्रदेशको पुनः नामाङ्कनः साझानाम के हुन सक्ला ?’ शीर्षकमा सांसदहरू राजेन्द्र कुमार राई, रामकुमार राई (पासाङ), निर्मला तावा तथा यायोक्खा उपाध्यक्ष युवराज राईले बहस गर्ने छन् ।
दोस्रो दिन ६ वटा कार्यपत्र प्रस्तुत हुनेछ । त्यसमा ‘आदिवासी किरात राईका थर र पाछाहरू’बारे डा. विष्णु कुमार सिङ्जाली, ‘समसामयिक किराती कवितामा पर्यावरणीय प्रतिविम्बन’ शीर्षकमा यसोदा राईर ‘किरात राई जातिको विवाह सम्बन्धि प्रचलित प्रथाजनित कानून’ शीर्षकमा अधिवक्ता जित कुमार राईले प्रस्तुत गर्नेछन् ।
समानान्तर सेसनमा ‘किरात पिल्मो राई जातिमा मीम्छा देवीको स्वरूपवायोमे’ शीर्षकमा मेलिना पिल्मो राई, लोहोरुङ, बान्तावा, थाङ्मी र साम्पाङ भाषाबारे दिवस राई, रमेश थामी, निराजन राई र रोहिनी राईको प्रस्तुति हुनेछ ।
त्यसलगत्तै हुने प्लेनरी सत्रमा ‘नेपालका आदिवासी जनजातिहरूको उत्पत्ति र समुदायगत पहिचानको सवाल’बारे डा. टेकबहादुर गुरुङको प्रस्तुति रहने छ । ‘रंगमञ्चमा पहिचान’ शीर्षकमा प्रवीण पुमा, यासेली योङहाङ, पशुपति राई र गिलु रातोसले बहस गर्ने छन् ।
‘आदिवासी सौन्दर्य चेत’ शीर्षकमा राजन मुुकारुङ, गुरुङ सुशान्त र बिना थिङले मन्थन गर्नेछन् । त्यसपछि ‘किरात सभ्यताः अक्षर, जनश्रुति र सांस्कृतिक अभ्यास’बारे डा.रमेश ढुङ्गेल, मल्लके. सुन्दर, डा. सुरभी पुडासैनी र भोगीराज चाम्लिङले बहस गर्नेछन् ।