गणेश राई
त्यो ‘ज्वाँल्या सुद्धै’
वाम्बुले राई समुदायमा पाइने ऐतिहासिक घटनामा आधारित लोकनाटक हो– ‘ज्वाँल्या सुद्धै’ । ‘ज्वाँल्या’ अर्थ ‘जुम्ल्याहा’ र ‘सुद्धै’ भनको ‘किरिया’ (शुद्धो) भन्ने अर्थ लाग्छ । अर्थात् ‘जुम्ल्याहा किरिया’ या भनौं एकपटक ‘दुई व्यक्तिको किरिया’ भन्ने अर्थ लगाइएको छ । समाजमा सामान्यतः एक पटकमा एकजनाको अर्थात् घर परिवारको कुनै एक सदस्यको मृत्युपछि सातदेखि १३ दिनभित्र शुद्धो गर्ने परम्परा छ । तर यो नाटकको कथावस्तुले एकैचोटि दुई व्यक्तिको किरिया गर्नु पर्ने रहस्योद्घाटन गरेको छ ।
यो नाटक २०५७ साल दसै पुर्णिमाको अघिल्लो रात ओखलढुंगाको मानेभन्ज्याङ गाउँपलिका वडा नं.६ (साबिक थाक्ले–८) सोक्मटार गाउँमा प्रदर्शन गरिएको थियो । यो ‘ज्वाँले सुध्दै’ अप्रकाशित लोकनाटक हो । यसलाई प्रदर्शन तथा अभिनयका निम्ति हस्तलिखित रुपमा उतारिएको भएपनि प्रकाशनमा आएको पाइन्न । उक्त नाटकमा निम्न पात्रहरु छन्– १) घमण्ड २) क्वाब्जा ३) डल्लु ४) ग्वायान्जा ५) घमण्डकी श्रीमती ६) क्वाब्जाको श्रीमती र सहायक पात्रहरू । (लिब्जु–भुम्जु पूर्णाङ्क ५०, २०६९ साउन–असोज)
प्रकाशित फुटकर नाटकहरू
वाम्बुले भाषामा २०६२ सालबाट नाटक प्रकाशन भएको पाइन्छ । ‘रितुमबाया’ (रीतिरिवाज) शीर्षक नाटक छापिएको छ । लेखक गणेश वाम्बुले त्यसका लेखक हुन् । यो नाटक वाम्बुले राईहरूको परम्परागत पितृकार्य ‘खाउमो’ लाई विषयवस्तु बनाएर लेखिएको छ । प्रकाशनको दृष्टिले यो नाटक नै वाम्बुले भाषाको पहिलो नाटक हो । (लिब्जु–भुम्जु पूर्णाङ्क २८, २०६२)
वाम्बुले भाषामा ‘ब्वाइचो फुरी’ (फुलेको फूल) नामक पहिलो नाटक कृति हो । २०६८ सालमा प्रकाशित नाटकसंग्रहका नाटककार कृष्णजित राई हुन् । यस संग्रहमा १० वटा पूर्णाङ्की नाटक समेटिएका छन् । संग्रहभित्र ‘वान्टा काकु’ (वान्टाको पानी), ‘लामल्वा ¥वामिचिम है’ (बाटोमा भेटौं), ‘ब्वाइचो फुरी’ (फुलेको फूल), ‘लाउरे दुम्चाम ख्वाल्बो कि पढै’ –लाहुरे बन्नु ठूलो कि पढाइ ?), ‘च्याङ्माखाल्वा मुयोङा जन्मो’ (धरतीमा मान्छेको जन्म), ‘¥वाक्सो ख्वाल्बो कि मुयो’ (पैसा ठूलो कि मान्छे), ‘खाउमो खासि’ (पितृकार्जे खाउमो), मामा ग्वाह्वार (आमा गुहार), ड्यारबु (कोदेझार) र साल्चो (तन्नेरी) शीर्षकका नाटक रहेका छन् ।
इक लिब्जु–भुम्जु वर्ष ६, अंक ६, २०७६ कात्तिक–पुसमा कृष्णजित राईको वाम्बुले भाषामा ‘इक ह्वाँपो’ (हाम्रा राजा) नाटक छापिएको छ । यसैगरी इक लिब्जु–भुम्जु वर्ष ६ अंक ७, २०७६ माघ–चैतमा कबिराज राईको खस–नेपाली भाषामा ‘दृश्य उही’ नाटक छापिएको छ । यी दुवै नाटकको कथावस्तले वाम्बुले जीवनशैली बोलेका छन् ।
यसैगरी नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित सयपत्री बहुभाषिक अर्धवार्षिक पत्रिका २०७६ कात्तिक–चैत्र अंकमा कृष्णजित राईको ‘वाम्बुले राडुङा नाक्सो’ (वाम्बुले राईको नाक्सो) शीर्षक बालनाटक प्रकाशित रहेको छ । उक्त नाटक खस–नेपाली भाषामा समेत अनुवाद रहेको छ । यसैगरी इक लिब्जु–भुम्जु वर्ष ९ अंक १६, २०७९ वैशाख–असारमा शन्तकुमार राईको ‘ङासिखो वाल्तुमेङ ङाबुना’ (जाँडले उडाएको सपना) शीर्षक नाटक छापिएको छ ।
राष्ट्रिय मन्चमा ‘सुम्निमा’
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको बहुभाषिक नाट्य उत्सव २०७९ मा वाम्बुले भाषाको नाटक ‘सुम्निमा’ प्रदर्शन भएको छ । नाटक प्रदर्शन हुनु सामान्य हो । तर कुन भाषाको नाटक भन्ने सवालले महत्वपूर्ण राख्ने रहेछ । कसले आयोजना गरेको भन्ने उत्तिकै महत्वपूर्ण छ । नेपाल सरकारको संगति तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले पहिलो पटक आयोजना गरेको ‘बहुभाषिक नाट्य उत्सव’ हो । देशभरि १२३ भाषा बोलिन्छन् । त्यसमध्ये लाप्चा, थारु, वाम्बुले राई, चाम्लिङ राई, पुमा राई, लिुम्बु र खस भाषासहित सातवटा भाषाको नाटक सहभागी भए ।
वाम्बुले भाषा जो छ, गाउँघरमै सीमित छ । सहर पसेको छ तर झिनो आवाजमा । राज्यसंयन्त्रले निर्माण गरेको माहोल एकल भाषा नीति थियो र छ । विज्ञान र प्रविधिको विकासले विश्व परिवेशलाई उस्तै बनाएको छ कि सबैको हातहातमा मोबाइल छ । नजाने नबुझे पनि अंग्रेजी, हिन्दी बुझ्नै पर्ने परिस्थिति छ । त्यसैले गर्दा गाउँघरका मातृभाषी समुदायका आम अभिभावकहरू आफ्नो छोरोछोरीले मातृभाषा होइन, बाजियोर (खसकुरा) बोलुन् । अंग्रेजी बोलुन् । हिन्दी पनि बोलुन् झैं गर्छन् । त्यसैले स्कुलमा पुगेर मात्र होइन, घरमै छोराछोरीलाई अड्केको आवाजमा बाजियोरले बोलाउँछन् । मातृभाषाको आयु कहिलेसम्म रहन्छ त ? भनेर अनुमान गर्ने परिस्थिति आइसकेको छ ।
राष्ट्रको आधिकारिक निकायले आयोजना गरेको बहुभाषिक नाट्य उत्सवमा पहिलो पटक वाम्बुले भाषाको नाटक सहभागी हुनु आफैंमा ऐतिहासिक क्षण बनेको छ । यसरी नाटक कथा लेखन, निर्देशन, परिकल्पना गरी पर्दामा उतार्ने काम नयाँ पुस्ताले गरेका छन् । नाटकमा प्रतिभा प्रदर्शन गर्ने वाम्बुले कलाकारहरू बीसदेखि तीस वर्ष उमेर समूहका युवाहरू हुन् । कलाकारहरू सृष्टि राई (सुम्निमा), विपिन राई, मोहन राई (धामी), रक्की राई, स्वागत राई, निलेस राई, प्रेरणा राई, एलिना राई, श्रृष्टि राई, नरेश राई, असन राईले अभिनय प्रस्तुत गरेका छन् । सर्वथा नयाँ पात्र हुन्, मोहन राईबाहेक । मोहन नाटक विधामा केही वर्षदेखि निरन्तर लागीपरेका कलाकार हुन् ।
वाम्बुले भाषा क्षेत्रगत रूपमा पाँचवटा भाषिका छन्, हिलेपान, उदयपुर, वामद्याल, झाप्पा, मोली । नाटक प्रहसनमा हिलेपान, उदयपुर र वामद्यालको प्रतिनिधित्व रहेको थियो । नाटक कथा लेखन कार्य जुद्ध राईले गरेका हुन् । शीर्षक जुराइयो– सुम्निमा ।
नाटक परिकल्पना र निर्देशक कविराज राई र रुपेश लामा, कलाकारको प्रेरक तथा व्यवस्थापनमा सीता राई थिए । यी तीनैजना मण्डला थिएटरमा प्रदर्शित ‘चोरको स्वर’ नाटकमा सशक्र अभिनय गर्ने कलाकार हुन् । ‘चोरको स्वर’ प्रदर्शन भइरहेकै समयमा वाम्बुले नाटक ‘सुम्निमा’ प्रदर्शन भएकाले यी तीन कलाकारले अन्तिम प्रस्तुति देख्न भ्याएनन् ।
मन्च परिकल्पना रुपेश लामा, मन्च निर्माण नाटक परिवार, प्रकाश परिकल्पना इागिहोपो कोइँच सुनुवार, प्रकाश परिकल्पना देविन चौधरीको रहेको थियो । त्यसैगरी ध्वनि संयोजन कविराज राई, गीत गायन एलिना राई, वेषभुषा लिब्जु कलेक्सन, मन्च सामग्री वाम्बुले राई समाजको प्रयोग गरिएको थियो ।
प्रतिष्ठान र आरोहण, गुरुकुलसँगको सहकार्यमा काठमाडौंको थापागाउँस्थित कुञ्ज थिएटरमा सातसम्म बहुभाषिक नाटक प्रदर्शन गरिएको थियो ।
उत्सवको संयोजक तथा प्रज्ञा–प्रतिष्ठानकी नाटय विभाग प्रमुख प्राज्ञ निशा पोखरेलको शब्दमा विभिन्न धर्म, समुदायका नागरिकबीच धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने हेतुले उत्सवको आयोजना गरिएको हो । ‘नाट्यशास्त्रमा लोकचेतनालाई नाटक लेखन र मन्चनका लागि मौलिक प्रेरणा मानिन्छ,’ प्राज्ञ शर्माको कथन छ, ‘विविध जातजाति, भाषाभाषी, सांस्कृतिक समूहको सहअस्तित्व, साझा परम्परागत मौलिक संस्कृति र सभ्य नेपाली पहिचानको गौरवमय संस्कृतिलाई जीवन्त राख्नु हामी सबैको साझा दायित्व हो ।’ प्रतिष्ठानले नाटक प्रदर्शनका निम्ति पारिश्रमिक प्रदान गरेको थियो । यसरी प्रतिष्ठानले लोपोन्मुख वाम्बुले राई भाषा, संस्कृतिलाई नाटकमार्फत् उजागर गर्ने अवसर दिनु सुनौला अवसर हो । त्यसमा कलाकारहरूले निरन्तर मिहिनेत गरेर आफूमा भएको कलामा निखार प्रदर्शन गरेका छन् ।
पालिकामा ‘थिरी–थिरी’
वाम्बुले भाषाको नाटक प्रदर्शन गाउँघरमा हुने गरेको छ । युवा क्लबहरूको संयोजन, व्यवस्थापनमा बेलामौकामा हुने गर्छ । कविराज राई संयोजक रहेको यलम्बर थिएटर रहेको छ । उक्त थिएटरले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाको सहयोगमा तेस्रो प्रस्तुतिका रूपमा ‘थिरी–थिरी’ नाटक वाम्बुले भाषामा प्रदर्शन गरेको थियो । २०७७ मंसिर ३० र पुस १ गते हिलेपानीको मितेरी भन्ज्याङमा र त्यसपछि पुस ४ र ५ गते मानेभन्ज्याङ माथिल्लो टुँडिखेलमा मञ्चन भएको थियो ।
‘थिरी–थिरी’ नाटकमा १५ जना स्थानीय कलाकार सहभागी थिए । नाटक लेखन, परिकल्पना र निर्देशन कविराज राईले गरेका थिए । किरात वाम्बुले राईहरूको परम्परागत धर्म संस्कृति माथिको प्रहार विरुद्ध प्रस्तुत नाटक ‘थिरी–थिरी’ एक घण्टा १० मिनेटको थियो ।
यलम्बर थियटरले यसअघि हिलेपानी भञ्ज्याङ डबलीमै प्रसिद्ध कथाकार इन्द्रबहादुर राईको कथा ‘जार’ लाई नाटकमा रुपान्तरण गरी २०७५ सालमा प्रदर्शन गरेको थियो । त्यसैगरी २०७६ सालमा देशमा चलेको सशस्त्र द्वन्द्वको पीडा समेटिएको ‘कालोजोगी’ नाटक कबिराज राईकै लेखन तथा निर्देशनमा प्रदर्शन भएको थियो ।
नाटककार पनि कलाकार पनि
वाम्बुले भाषाको पहिलो नाटक कृति ‘ब्वाइचो फुरी’ (फुलेको फूल)का नाटकका कृष्णजित राई नाट्यकला अध्ययन तथा अभियनसमेत गरेका कलाकार हुन् । उनी विभिन्न नाटक, चलचित्र, टेलि चलचित्रमा अभियान गरेका छन् । यसैगरी नाटककार शन्तकुमार राई स्वयं कलाकार हुन् । उनी हाल बेलायतमा रहेर विभिन्न फिल्म तथा टेलि चलचित्र निर्देशन तथा अभिनय गर्दैआएका छन् ।
नाटककार कविराज राई एक स्वप्नद्रष्टा कलाकार पनि हुन्् । नाट्यक्षेत्रमा संघर्षरत उनले काठमाडौं प्रसिद्ध नाटकघर मण्डलामा संलग्न भएर प्रशिक्षण लिएसँगै अभिनय गरेका छन् । उनले ‘महाभोज’, ‘जोखाना’, ‘थिरी–थिरी’, ‘चोरको स्वर’, ‘धुमधामको घुमघाम’ लगायतका दर्जन जति नाटकमा अभिनय गरिसकेका छन् । उनले ‘जार’, ‘कालोजोगी’, ‘थिरी–थिरी’, ‘सुम्निमा’ लगायत नाटकको निर्देशन गरेका छन् ।
यसैगरी नाटककार जुद्ध राईले विभिन्न नाटकमा अभियन गरेका छन् । यस्तै, सीता राई ‘मिस राई–२०१६’ फस्ट रनअप उपाधि विजेता एक मोडेल हुन् । नृत्यांगना हुन् । ‘चोरको स्वर’ नाटकको एक बूढी पात्र हुन् । हास्य टेलि सिरियल ‘फुर्के नं.१’ की एक कलाकार हुन् ।
अन्त्यमा,
यस आलेखमा वाम्बुले भाषाको नाटक प्रकाशन, प्रदर्शनमा प्रत्यक्ष संलग्न रहेका र फेलापरेका पक्षमात्र उद्धृत गरिएका छन् । खोटाङ, उदयपुर, सिन्धुली, सुनसरी, तेह्रथुम, सर्लाही, सिरहामा समेत वाम्बुले राईको बस्ती रहेकाले त्यस भेगमा समेत बेलामौकामा नाटक, गीत, प्रहसनहरू प्रस्तुत गरिएको हुनसक्छ । तर, लिखित रूपमा प्राप्त नभएको र प्रदर्शनमा सहभागी हुन नपाएकोले कुनै टिपोट गर्न सकिएको छैन । सामाजिक परिवर्तनका निम्ति नाटक विधा महत्वपूर्ण छ । यदि भएको खण्डमा भावी दिनमा त्यसबारे उल्लेख गरिनेछ ।
(यो आलेख इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ९ अंक १७, पूर्णाङ्क ९०, २०७९ साउन–असोज (किरात येले संवत् ३८०१/सन् २०२२ मा प्रकाशित छ)