माटोमै भोट किन ?

मुम्चे राई ‘बिद्रोही साइँला’
देश नेपाल यतिखेर निर्वाचनमय छ । यही २०८२ फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । त्यसनिम्ति १३६ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगको वेबसाइटमा दर्ता भएका राजनीतिक दलहरू (अद्यावधिक सूची)को क्रम संख्या ११० मा श्रम संस्कृति पार्टी दर्ताप्राप्त छ, जुन हर्कराज राईको अध्यक्षतामा रहेको छ । निर्वाचन चिन्ह ‘अन्जुलीमा रहेको माटो’ रहेको छ ।
केपी सरकारले जब नागरिकहरूको वाक स्वतन्त्रमाथि धावा बोल्दै सम्पूर्ण सामाजिक सन्जालहरू बन्द गर्न थालेपछि नेपालमा एक्कासी कसैले सोच्दै नसोचेको जेन्जी आन्दोलन २०८२ भाद्र २३ गते देखा प¥यो । उक्त आन्दोलनले ४८ घण्टा नबित्दै हाम्रो देश खरानीमा परिणत गरिदियो । देशमात्र होइन देश चुस्ने एकाध धमीराहरूको धोती खुस्काइ दियो ।
यस आन्दोलनबाट जे जे भयो सबै देखियो । यसैको विकल्पमा माटोको पनि जन्म भयो । जुन माटो नेपालीहरूको समुन्नतिको पक्षमा उभिएको छ । कठोर परिश्रमबाट मात्रै देश बन्छ भन्ने मुख्य आधारमा स्वदेशी जोडिए । नेपाली कोही नाङ्गै र भोकै नहुने अक्कल नै माटोको हो । जेन्जी आन्दोलन पछि माटोको जन्म समग्र नेपालीहरूका लागि महत्वपूर्ण उपलब्धी हो ।
माटो हरेक नेपालीहरूको घर आँगनमा देखापर्दा अत्यन्तै गहन कोसेलीको रूपमा ‘एक दिन देशको लागि र छ दिन पेटको लागि’ भन्ने सन्देशले स्वाधिन नेपाल बनाउने पक्षमा पहाड बन्न सक्छ । त्यो पहाड माथि प्रकृति, संस्कृति र प्रविधिका अन्तर सौन्दर्यहरूको मिलन हुँदा सारा नेपालीहरूको शिर सगरमाथा हुने पक्का छ ।
चारधामको कसम खाएर भ्रष्टचार गरे तत्कालै मृत्यु स्वीकार्न तयार माटो इमान्दारिताको एउटा प्रतीक हो । यो पनि माटोलाई मतदानको मुख्य आधार मान्ने अधिकार सबै नेपालीलाई हुनुपर्छ । नयाँ कलकारखाना खोल्न लालयित माटो सरकार प्रमुख भएमा बन्द गरिएका कलकारखानाहरू पुनः सन्चालनमा ल्याउन माटोलाई गारो हुने छैन । कपास फुलेर खाँडी खुल्ने मेरो देशमा म नाङ्गै छु भनेर भन्दा पाराधिन मानसिकताको सिकार सबै नेपालीहरू भएको कुरा बुझिन्छ । त्यो पाटोबाट माटोले हामीलाई सुरक्षा दिने नै छ ।
माटोमा कसैलाई ठूलो सपना छैन अरुको मासु भात खानु भन्दा आफ्नै पौरखमा मासु भात खाने बनाउने भन्ने कुरा सरल लाग्छ । तर गहन देखिन्छ । देशको कानून सबै विकासको बाधक हुन भनेर भन्ने हिम्मत माटोले नै गरेको देखिन्छ । माटोको सरकार बने जनताको कानून अवश्य निर्माण हुने कुरामा निर्धक्क हुने अधिकार पनि हामीलाई छ । अरुको इशारामा निर्माण गरिएको संविधान संशोधनमा कुनै सङ्का छैन । त्यसैले पनि माटो हाम्रो लागि बलियो देखिन्छ ।
श्रममा शक्ति देख्ने ढुङ्गामा सृजना भेट्ने माटोले सधै समूहमा परिवर्तन खोज्छ । यसअघिका नेताले देश नेपाललाई सिंगापुर, स्विजरल्याण्ड बनाउने सपना देखाउँदैको सर्वविदितै छ । तर माटो नेपाललाई नेपाल नै बनाउने कुरामा अडिग छ । डमरुको डमडममा सधैँ नाच्ने भालुहरूको बथानमा माटो भालु मान्छे हुन सक्दैन । त्यसैले अबको भोट माटोलाई हुनुपर्छ ।
भ्रष्टचार निर्मूल गरे देशमा विकास निश्चित रूपमा हुन्छ भन्ने विश्वास माटोलाई छ । भ्रष्टचारीहरूको जरै उखेल्ने कुरा माटोकै छ । दलालहरूको पन्जाबाट देश डुब्दै गरेको अक्कल माटोले राख्द छ तसर्थ माटोले दलालहरूको निम्तो सुन्दैन ।
हेलेन केलरले भनेका छन्– ‘विश्वास त्यो शक्ति हो, जसले उजाडिएको दुनियाँमा प्रकाश ल्याउन सक्छ ।’ त्यसैले आगामी मत माटो मै दिनुपर्छ ।
(लेखक मुम्चे राई ‘बिद्रोही साइँला’ हाल यूएयमा कार्यरत हुनुहुन्छ ।)






