गोपी कृष्ण अधिकारीको विचार : किराँत लिम्बू साहित्यको इतिहास

कला साहित्य -संस्कृति विचार / ब्लग
किराँत लिम्बू साहित्यको इतिहास
– गोपी कृष्ण अधिकारी

पूर्वी नेपालका किराँतीहरू द्वापर युगदेखिका स्थानीय आदिवासी हुन् । अपुङ्गी राजा कहलाइने यस आदिवासी जनजातिको भाषा, साहित्य, संस्कृति रीतिथिति परम्परा आदिले सम्पन्न वीर योद्धा जाति हुन् । नेपाली साहित्य लगायत पञ्जाबी, बङ्गाली, आसामी साहित्यमा प्रयोग भएका किराँती शब्दहरू ती साहित्यबाट अलग गर्नु हो भने ती साहित्य अपाङ्ग हुने कुरो द्रोणकुमार उपाध्यायले ‘नेपालका किराँतहरूका केही विचार’मा उल्लेख गर्नु भएको छ । महाभारतका विभिन्न पर्वहरूमा किराँतीहरूको वर्णन भएको पाइन्छ । यस जातिको भाषालाई किराँत लिम्बू भाषा, साहित्यलाई किराँत साहित्य र साहित्यमा प्रयोग गरिएको लिपिलाई किराँत लिपि, लिम्बू लिपि, सिरीजङ्गा लिपि आदि नामकरण गरिएको छ । किराँत लिम्बू जनजातिको साहित्य लिपिमा स्वर अक्षर १० र व्यञ्जन अक्षर २५ गरी जम्मा ३५ वटा अक्षरहरू छन् ।

नेपालका ६० भन्दा धेरै स्थानीय आदिवासी जनजातिको कर्मथलो हो । ६० जनजातिमध्ये ३ वटा आदिवासी जनजातिको मात्र भाषा लिपि साहित्य जीवित अवस्थामा रहेको पाइएको छ । जसमध्ये किराँत लिम्बू, नेवार जाति र लेप्चा जातिको भाषा लिपि साहित्य हो । बाँकी अन्य जातिको आफ्नो स्वजातीय भाषा भए पनि लिपि र साहित्य भेटिँदैन ।
किराँत लिम्बू भाषा तिब्बत बर्मेली भाषा परिवारबाट उत्पन्न भएको भन्ने भाषाविद् विद्वान्हरूको विश्वास छ । यो भाषा स्वदेश विदेशमा भएका ७/८ लाख स्थानीय आदिवासी जनजाति लिम्बू जातिको मातृभाषा हो । लिम्बूहरू स्वदेश विदेश जहाँ भए पनि आफ्नो समाज र जातीय व्यक्तिसँग कुरा गर्दा आफ्नो भाषामै कुरा गर्न आफूलाई गौरवान्वित ठान्दछन् ।
किराँत लिम्बू लिपि ब्राह्मी लिपिबाट उत्पन्न भएको हो भन्ने लिपि विशेषज्ञ र पुरातन लिपिका ज्ञाताहरूको विश्वास छ । नेपाल र भारतमा यो लिपि इसाको उदयभन्दा अगाडिदेखि नै प्रचलनमा आएको थियो । त्यस बखतका शिलालेख, ताम्रपत्र आदि ऐतिहासिक लेखोटले प्रमाणित गरेको पाइन्छ । नेपालका लिच्छवि राजा र भारतका मौर्य गुप्त राजाहरूले आफ्ना शिलालेखहरूमा यसै लिपिको प्रयोग गरेको पाइन्छ । लुम्बिनीको अशोक स्तम्भमा भएको शिलालेखमा पनि यसै लिपिको प्रयोग भएको छ ।
इसाको छैठौँ शताब्दीको मध्यतिर हिमालयको काखमा सबै सानातिना राज्य एकीकृत गरी शक्तिशाली मोरहाङ राजाको राज्य स्थापना भएको थियो । उनैले त्यस बखत ब्राह्मी लिपिका आधारमा किराँत लिम्बू लिपि आफ्नो राज्यभर प्रचलनमा ल्याएका थिए । इसाको नवौँ शताब्दीका अर्का शक्तिशाली राजा सिरिजङ्गाले यसै लिपिको खोजगरी पुनः प्रचारमा ल्याई जनमुखी बनाएका हुन् भन्ने पनि विद्वानहरूको राय छ ।
इसाको सत्रौँ (सातौँ?) शताब्दीको मध्यतिर गुरु मद्मसम्भव बुद्ध धर्मको प्रचार गर्दै हिमाली राज्यमा प्रवेश गरे । उनले सबै किराँत समाजलाई बौद्धमार्गी बनाउने प्रयास गरे । किरात धर्मावलम्बी मुन्धुममार्गी लिम्बूहरूले आफ्नो जातीय अस्तित्व खतरामा परेको महसुस गरी पद्मसम्भवलाई हिमालयको काखबाट लखेटी उत्तरतिर भगाए । गुरु मद्मसम्भवले चोङ समदायबाट भएको यो अपमानको बदला लिने निर्णय गरी भोटमा आफ्ना समर्थक लडाकुहरूको विशाल सङ्गठन गरी ठूलो दलबलका साथ फेरि हिमाली दक्षिण राज्यमा प्रवेश गरे । यस पटक किराँत समुदायको हार भयो । उनीहरू पद्मसम्भवको अनुयायी बन्न बाध्य भए पनि आफ्नो मुन्धुममार्गी समाजलाई बचाइराखे । घर परिवारमा मुन्धुम नै प्रयोग गरी जाति, धर्म, भाषा, लिपि, साहित्य संस्कृतिलाई भविष्यसम्मका लागि बचाई नै रहे । आफ्नो स्वजातीय भाषा, लिपि, संस्कृतिका भक्त किराँत लिम्बू जातिले कल, छल, बलले आफ्ना पुराना हस्तलिखित ग्रन्थहरू लुकाई छिपाई घरघरमा युवा पुस्तालाई लेखन र पढ्न पनि सिकाएर आफ्नो जातीय पहिचान राख्न सफल भए ।
इसाको नवौँ शताब्दीको मध्यतिर किराँत राज्यमा अर्का वीर तेजस्वी शक्तिशाली राजा सिरिजङ्गाको उदय भयो । यिनले सानासाना सबै हिमाली आपुङ्गी राज्यहरू विजय गरी शक्तिशाली किराँत राज्यको स्थापना गरे । राज्यको व्यवस्था व्यवस्थित भएपछि मोरहाङ राजाले प्रचलनमा ल्याएको किराँत लिपि खोजी गरी आफ्नो किराँत राज्यभर प्रचार गरे । यसै लिपिको लेखोटलाई राज्य प्रशासनमा प्रयोग गरिने राष्ट्रभाषाको रूप दिए । सरस्वती माताको कृपाले पूर्व ताप्लेजुङको फक्ताङलु¬ङ कुम्भकर्ण पहाडको फेदको ओडारबाट किराँत लिम्बू साहित्यको वर्णमाला राजा सिरिजङ्गाले पाएका थिए भन्ने कथा पनि ताप्लेजुङमा प्रसिद्ध छ । आफ्नो स्वजातीय भाषा, लिपिको साहित्य संस्कृति आदिको पुनरुत्थान र संरक्षण भएकोले किराँत समाजले राजा सिरिजङ्गाको प्रयासलाई सहर्ष समर्थन गरेका थिए ।
किराँत लिम्बू लिपिको साहित्यले इसाको नवौँ शताब्दीदेखि सत्रौँ शताब्दीको अन्त्यसम्म साह्रै दुःख पायो । यस समय अवधिमा यो लिपिको साहित्य लोप हुने अवस्थामा पुगिसकेको थियो । दूरदर्शी किराँत समुदायका परिवारले आफ्नो घरघरमा आफ्नै स्वजातीय भाषा बोलेर भाषाको संरक्षण गर्ने गर्थे । आफ्नो स्वजातीय लिपिमा लेखिएको साहित्य पढ्न लेख्न राज्य प्रशासनले प्रतिबन्ध लगाएको थियो । त्यस बखत किराँत राज्य सिक्किम राज्यको अन्तर्गत भएकोले किराँत साहित्यले यस्तो अत्याचार भोग्नु परेको थियो ।
इ.सं. १७०४ मा ताप्लेजुङको सिनाम तेल्लोक गाउँमा सिंथेबे परिवारमा इ. दोस्रो सिरिजङ्गा तेअंसीको जन्म भयो । यिनी वयस्क भएपछि आफूले आफैलाई सिरिजङ्गाको अवतार हुँ भनी झण्डै नौसय वर्ष अगाडिदेखि किराँती पूर्वजहरूले सुरक्षित राखेका राजा सिरिजङ्गाले प्रयोगमा ल्याएका लिपि र साहित्यको खोज गरी त्यसको माध्यमबाट साहित्य रचना गरी पुनः किराँत लिम्बू समाजमा प्रचार गरे । तेअङसीको अद्वितीय काव्य रचना गर्ने क्षमता थियो । यिनले थुप्रै काव्य रचना गरे ‘मुन्धुम सापला’ प्रमुख रहेको छ । तेअंसी सिंथेबेको पूर्वी नेपालको किराँत देशमा साहित्य प्रचार अभियान चरम रूपमा भइरहेको थियो । लोप भइसकेको आफ्नो स्वजाति भाषाको लिपिमा लेखिएका साहित्यका ग्रन्थहरू पढ्न पाउँदा सारा किराँत समुदाय हर्षले गद्गद् भएका थिए ।
किराँत लिम्बू समुदायका महान् साहित्यकार तेअंसी किराँत प्रदेशमा साहित्य प्रचार गरिरहेकै बखत सिक्किममा किराँत लिम्बू समाजप्रति घनघोर अत्याचार भएको उनले सुने । सिक्किम राज्य प्रशासनले त्यस बखत किराँत समुदायलाई धर्म परिवर्तन गरी बौद्धमार्गी बनाई भोटे अक्षरको वर्णमाला सिकाई बुद्ध धर्मका धार्मिक ग्रन्थ पढ्नु, सबै काममा बौद्धमार्गी लामाहरूको मात्र प्रयोग गर्न लगाइएको थियो । मुन्धुममार्गी किराँत समुदायलाई आफ्नो समाज र सामाजिक अस्तित्व नै लोप होला भन्ने डर थियो । तेअंसीले किराँत प्रदेशको आफ्नो साहित्य प्रचार अभियान आफ्ना चेलालाई जिम्मा दिई स्वजातीय साहित्य प्रचार गर्न सिक्किम गए । त्यहाँ पुगी आफ्नो भाषाको लिपिमा लेखिएका ग्रन्थ मात्र पढ्न किराँत लिम्बू समाजलाई आह्वान गरे । वर्णमाला सिकाई ग्रन्थ सिकाउन थाले । यस अभियानबाट त्यहाँको राज्य प्रशासन डराई तेअंसीलाई समातेर रोसी खोला र कालेज खोलाको दोभानमा रुखमा बाँधी गोपेबाँसको तिरले हानी तीन दिनसम्म अमानुसिक यातना दिई उनको इ.सं. १७४१ मा हत्या गरे ।
दोस्रो सिरिजङ्गा तेअंसीको हत्या पश्चात् ठीक एकसय वर्षपछि किराँत लिम्बू साहित्यकार साहित्य प्रचारकको उदय भयो । यी थिए लालसोर सेन्दाङ (इ.सं. १८४० – १९२६) । यिनले पनि तेअंसीले जस्तै पुराना किराँत लिम्बू लिपि भाषामा लेखिएका पुराना किताब जम्मा गरी गाउँ गाउँमा लुकी छिपी प्रचार गरे । त्यस बखत लिम्बुवानमा किराँत लिम्बू लिपि साहित्यको प्रचार गर्न प्रतिबन्ध थियो । यस्तो प्रतिबन्धित अवस्थामा पनि लालसोर आफ्नो स्वजातीय भाषाको संरक्षण गर्न सफल भएका थिए । किराँत साहित्य प्रचार अभियानको समयमै यिनका विरुद्ध राज्यद्रोहको आरोप लाग्यो र त्यसपछि यिनी नेपाल छोडी सिक्किम, आसाम, दार्जिलिङमा किराँत लिम्बू भाषाको लिपिमा लेखिएका साहित्य प्रचार गर्दा गर्दै सन् १९२६ मा मृत्यु भयो ।
महागुरु फाल्गुनन्द (वि.सं. १९४२ – २००५) ले सत्य धर्मको माध्यमबाट किराँत लिम्बू लिपिको साहित्यको संरक्षण गर्नुभएको थियो । सत्यहाङ्बा(मा?) मतका कर्मकाण्डका सबै किताबहरू महागुरुले किराँत लिम्बू लिपि भाषामा लेख्न लगाई वितरण गरेका थिए । यिनका आश्रममा किराँत लिम्बू भाषा लिपिका ज्ञाता विद्वान्हरू प्रसस्त थिए । किराँत लिम्बू भाषाको लिपिमा लेखिएका धार्मिक ग्रन्थ लेखी बाँड्न यी विद्वानहरूले महागुरुलाई सकेसम्म सहयोग गरेका थिए । यस माध्यमले पनि किराँत लिम्बू साहित्य लोप हुनबाट जोगियो र अनन्तसम्म जीवित रहन सकेको छ । किरात लिम्बू लिपिलाई बीसौँ शताब्दीमा व्यापक प्रचारमा ल्याई संरक्षण गर्ने ईमान सिं चेमजोङ– १९०४–१९७५ अर्का महान् विद्वान थिए । यिनले किराँत साहित्यको इतिहास लगायत किराँत लिम्बू सम्बन्धी १० वटा पुस्तक लेखी किराँत लिम्बू भाषा लिपि साहित्य उच्चस्तरमा पु¥याई विश्व समाजलाई जानकारी गराए । यिनले लेखी प्रकाशित गरेका पुस्तकबाट किराँत समाजको उच्च आदर्श महानता प्रष्ट हुन्छ । यस्ता महान् किराँती विद्वान्को आफ्नो सजातीय समाज उत्थान विकासको लागि भएको योगदान अमर रहने छ ।
– ताप्लेजुङ
मधुपर्क, असार २०५९, वर्ष ३५, अङ्क २, पूर्णाङ्क ३९७, पेज ४९–५०
प्रस्तुत आलेख प्राज्ञ अमर तुम्याहाङको फेसबुक वालबाट साभार गरिएको हो । सम्पादक

Leave a Reply

Your email address will not be published.