किराती भाषामा बालबालिकाको नाम भएको पुस्तक

कला साहित्य -संस्कृति

गणेश वाम्बुले

दीपेन्द्र रुम्दाली– हेलौ । दाजु जिउ बाःम । ड्अुसाम्से बानिम ? (हेलौ दाजु नमस्कार । सबैजना सन्चै हुनुहुन्छ ।)

म (गणेश)– जिउ बाःम भाइ । ड्अुसास बाकुमेउ । काठमान्डुल्वाम खोखो आस्याल ल्वाखो देसाङ बाकुम । (नमस्कार भाइ । सन्चै छौं । काठमाडौंको जाडोमात्र कहिले जाओस् भन्दैछौं ।)

दीपेन्द्र– क्वाल योर चेलपाचा फोन पुनिमें । (एउटा कुरा सोध्न फोन गरेको ।)

म– स्वाकाट (भन्नोस्)

दीपेन्द्र– आल क्वाल भाइ न्वा च्वाइमेन् राइचि ब्वाँचिमे । नौरान पाच्चो द्याम । वाम्बुले राडु योरल्वास ड्अि च्वाम्ति ग्वाक्चो द्याम । मन देम्मुन्चो ट्वाम के त्वाम ? थामचै ¥याक्चाम पामुन्चो बाया नि ? (यहाँ (ओखलढुंगा)मा एकजना भाइ र बुहारीको छोरा जन्मिएछ । न्वारन गर्दैछन् । वाम्बुले राई भाषामै नाम राखिदिने भएछ । मन भनेको ट्वाम हो कि त्वाम ? कुनचाहिं लेख्ने गरिएको छ ?)

म– लु रान्चो योर । ट्वाम चै वामद्यालल्वा देम्मे । उङ भाइला त्वाम देकुम । अंग्रेजील्वा चै टीडब्लुएएम दुम्मे । थामे जुमिए इम्यास ओब्कानो भाइ । (लु राम्रो कुरो । ट्वाम चाहिं उँबुगाउँमा भन्छन् । हामी तलतिर त्वाम भन्छौं । अंग्रेजीमा चाहिं टीडब्लुएएम हुन्छ । जुन सहज हुन्छ त्यही भनुन् भाइ ।)

छोटो संवाद टुंगियो । यसरी हरेक पटक वाम्बुले समुदायमा नयाँ बालबालिकाको नामबारे मलाई सोध्ने गर्नुहुन्छ । दीपेन्द्र रुम्दाली भाइ आफैंमा बाहिङ मातृभाषी हुनुहुन्छ । र मावलीको वाम्बुले भाषा स्पष्ट बोल्ने, व्यवहार गर्ने गर्नुहुन्छ । केही महिना अघि उहाँले आफ्नो छोरी जन्मेपछि ‘नियाक्मा’ भनेर नाम राखिदिनु भएको छ । त्यो नाम बायुङ (बाहिङ) भाषामै राख्नु भएको र ज्यादै राम्रो नाम रोज्नु भएको हो भनेर मनमनै तारिफ गरेको छु ।

यसैगरी केही महिना अघि भाइ योगेन वाम्बुले (टोपराज) र बुहारी सेली बान्तावाको छोरी जन्मिइन् । नाम ‘टोसेल’ (जून) जुराउनु भएको छ । भाइ कृष्ण र बैनी नमिताको कान्छी छोरीको ‘निवाफुङ्मा’ नाम राखिदिनु भएको छ । सायद यो लिम्बु भाषाको शब्द हो ।

यिनै विषयलाई लिएर लेखक अनुसन्धानकर्मी चन्द्रकुमार राई ‘हतुवाली’ले ‘राई बान्तावा बालबालिकाको नाम’ (२०७०) र ‘किरात बालबालिकाको नामकोश’ पुस्तक प्रकाशित गर्नुभएको छ ।

पुस्तक : किरात बालबालिका नामकोश
लेखक : चन्द्रकुमार राई ‘हतुवाली’
प्रकाशन : २०७३ साल
प्रकाशक : होम्ताङ सेवा समाज
आकार : एफोर, पाना : ३५८ मूल्य : रु.६००/–

यो नामकोशमा ३१ वटा किराती भाषाको नाम रहेका छन् । किरात राई भाषामध्ये २८ भाषा, लिम्बू, याक्खा र सुनुवार भाषाको नामहरू तुलनात्मक रूपमा खसनेपालीमा अर्थसहित राखिएका छन् ।

‘व्यक्तिको पहिलो पहिचान उसको नाम नै हो,’ लेखक हतुवाली दावी साथ भन्नुहुन्छ, ‘एकजना व्यक्तिको नाम सरकारी अभिलेखमा रहँदा तीन पुस्तासम्म कायम रहन्छ । भाषाको शब्द बाँच्छ । त्यसैले हाम्रा छोराछोरी सन्तानको नाम मातृभाषामा राख्न जरुरी छ ।’

यद्यपि कुनै पनि नाम शब्द अर्थपूर्ण हुनुपर्छ । नामकोश हेरेर पनि न्वारन गर्न सकिन्छ । पुस्तकमा नामको अर्थ र परिभाषा, नाम राख्ने संवैधानिक र कानुनी प्रावधानहरु, किरात भाषामा बालबालिकाको नाम राख्ने चलन लोप हुनुका मुख्य कारणहरु, किरात जातिमा नाम संस्कार, नामका प्रकार उल्लेख छ । त्यसैगरी भाषाको उत्पत्ति र विकास, भाषा लोप हुनको कारण, भाषा बचाउने उपाय, अ देखि अः, क देखि ह सम्मका नामहरु, किरात राजाहरुको नामह दिइएका छन् ।

(इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ६, अंक ६, २०७६ कात्तिक–पुस (किरात येले संवत् ३७९८÷सन् २०२०)मा प्रकाशित लेख हो । सम्पादक)

Leave a Reply

Your email address will not be published.