चौबिसौं वाम्बुले राई भाषाको कविता प्रतियोगितामा रेनुकाले जितिन् प्रथम पुरस्कार (फोटो फिचर)

बिशेष मातृभाषा

लिभु संवाददाता
काठमाडौं– किरात वाम्बुले राई भाषाको २४ औं कविता प्रतियोगितामा धरान उपमहानगरपालिका–५ की कवि रेनुका राई प्रथम भएकी छिन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६ औं वार्षिकोत्सवको अवसरमा सुनसरीको धरानमा (२०८० मंसिर २० गते) बुधबार सम्पन्न प्रतियोगितामा रेनुकाले बाजी मारेकी हुन् ।


संस्थाले प्रदेश–१ को नाम ‘कोशी’ नामविरुद्ध जारी आन्दोलनलाई समर्थन गर्दै ‘इक किरात प्रदेस’ (हाम्रो किरात प्रदेश) कविता शीर्षकमा कविता आह्वान गरेको थियो ।


वाम्रास सुनसरी जिल्ला कार्यसमितिको व्यवस्थापन रहेको प्रतियोगितामा ओखलढुंगा मानेभन्ज्याङ–३ का कवि कमल किराँती द्वितीय भएका छन् । यसैगरी मानेभन्ज्याङ–५ का कवि श्याम वाम्बुले राई तृतीय भएका छन् । साथै, धरान–५ का कवि जगतधन राई र विराटनगरकी कवि शुभकुमारी राईले सान्त्वना पुरस्कार पाएका छन् ।


विजयी कविलाई क्रमशः प्रथम १० हजार, द्वितीय ६ हजार, तृतीय ४ हजार तथा दुईजनालाई २–२ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिता दर्जनभन्दा बढी कविले प्रतियोगी र देश–विदेशबाट अप्रतियोगीसहित ६५ कविका कविता वाचन गरिएका थिए ।


समारोहका प्रमुख अतिथि भाषाशास्त्री प्राध्यापक डा. टंकप्रसाद न्यौपाने, वाम्रास केन्द्रीय अध्यक्ष तथा पत्रकार गजुरधन राई, वाम्रास सुनसरी अध्यक्ष लाखमान राईले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा संयोजक शुभराज राई (काजी) तथा सदस्यद्वय लिब्जु–भुम्जु त्रैमासिक पत्रिकाका संस्थापक सदस्य दिनेश वाम्बुले राई र लिब्जु–भुम्जु पुरस्कारप्राप्त कवि आङ्गुस वाम्बुले रहेका थिए ।


प्राध्यापक न्यौपानले मातृभाषामा कविता गोष्ठीमात्र पर्याप्त नहुने उल्लेख गरे । ‘कविता लेखेर मात्रै हुँदैन, कथा, निबन्ध, मुन्धुमका अनेक पक्षबारे बिधागत लेखन प्रतियोगिता हुन जरुरी छ,’ भाषाशास्त्री न्यौपानेले भने, ‘वाम्बुले भाषा, साहित्य, संस्कृतिको उन्नतिमा औपचारिक पठनपाठनसमेत हुन आवश्यक छ ।’ साथै पछिल्लो समय अन्तरभाषी विवाह, सहरीकरण लगायत विभिन्न कारण भाषा, संस्कृति संकटतर्फ धकेलिएको उल्लेख गरे ।

प्रथम पुरस्कारप्राप्त कवि रेनुका राई

वाम्रास केन्द्रीय अध्यक्ष राईले ऐतिहासिक किरातभूमिको अस्तित्व संरक्षणका निम्ति वाम्बुले साहित्यमा ‘इक किरात प्रदेश’ (हाम्रो किरात प्रदेश) शीर्षकमा कविता प्रतियोगिता आयोजना गरिएको बताए ।

द्वितीय पुरस्कारप्राप्त कवि कमल किराती

‘हामीले यस्ता रचनात्मक कार्य गरेर थुप्रै कविहरू जन्मायौ,’ गाउँघरदेखि सहरसम्मै भाषा, सस्कार र सस्कृतिको जगेर्ना गर्दै आएको उल्लेख गर्दै अध्यक्ष राईले भने, ‘पुर्खाले आर्जेका कला, संस्कृतिको रुपान्तरणका निम्ति साहित्य गोष्ठी र प्रतियोगिता निरन्तर राखेका छौं ।’

तृतीय पुरस्कारप्राप्त कवि श्याम वाम्बुले राई

२०५५ सालदेखि वाम्बुले राई भाषाको कविता प्रतियोगिता ओखलढुंगा, खोटाङ र उदयपुर जिल्लामा भौतिक उपस्थितिमा आयोजना गरिदैआएको थियो । कोभिड–१९ महामारीले २०७७ र २०७८ सालमा अनलाइन (भर्चुअल) माध्यमबाट कविता प्रतियोगिता भएको थियो भने २०७९ सालमा डेंगु महामारीको कारण प्रतियोगिता रोकिएको थियो ।

सान्त्वना पुरस्कारप्राप्त कवि जगतधन राई

समारोहमा धनकुटाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, इलामको रोङ गाउँपालिका–६ वडाध्यक्ष सत्यम चौरासे राई, ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ वडाध्यक्ष रामकुमार राई शुभकामना मन्तव्य दिएका थिए ।

सान्त्वना पुरस्कारप्राप्त कवि शुभकुमारी राई

यसैगरी किरात राई यायोक्खाका केन्द्रीय कार्यसमिति वरिष्ठ उपाध्यक्ष तिलकप्रसाद राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, वरिष्ठ पत्रकार हर्ष सुब्बालगायतले शुभकामना व्यक्त गरेका थिए ।


यस्तै, समारोहमा धरान इलाका प्रहरीका वरिष्ठ सहायक निरीक्षक बाबुराम पौडेल, किराया सुनसरी उपाध्यक्ष सुबित्रा राई, कोषाध्यक्ष तथा पत्रकार उपेन्द्र चाम्लिङ, कोयी राई समाजका केन्द्रीय अध्यक्ष भूपी कोयी राईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वाम्रासका सल्लाहकार श्यामकुमार राई, वाम्रास सुनसरीका निवर्तमान अध्यक्ष रामकर राई, वाम्रास तेह्रथुमका देवकुमार राई, ज्येष्ठ सदस्य रत्नबहादुर वाम्बुले राईलगायत उपस्थित थिए ।

तस्बिर सौजन्यः उपेन्द्र चाम्लिङ र श्याम वाम्बुले राई

Leave a Reply

Your email address will not be published.