वाम्बुलेको पहिचान चाड ‘ढ्वाङ्कुमो’ र गायक राजेशपायल राई

कला साहित्य -संस्कृति विचार / ब्लग

गणेश वाम्बुले राई

किराती वाम्बुले राईहरूको महान् चाड हो– ढ्वाङ्कुमो । २०७६ सालको ‘ढ्वाङ्कुमो’ तिथि मिथि साउन ३० गते बिहीबार परेको छ । यो पालि वाम्बुलेहरूले पहिलो पटक राष्ट्रिय कलाकारलाई लिएर नाचगान गराइदैछ ।

राजेशपायल राई भर्सटाइट गायक हुनुहुन्छ । उहाँको बहुमुखी प्रतिभाप्रति सिंगो नेपाली समुदायले गौरव गर्दछ । उहाँले भरखरै २२ वटा किराती भाषाहरूमा गीत गाउनु भएको छ, बाँकी ६ वटा पनि गीत संकलन गर्दैहुनुहुन्छ । ती गीतमध्ये एउटा वाम्बुले भाषामा पनि छ । राष्ट्रगानका सर्जक व्याकुल माइलाले रचना गर्नुभएको हो । बिनोद खम्बुले संगीत भर्नु भएको गीत यस्तो छ :

ना ल्याम लाइसि
ना ल्वासु टिसि
आम आमा दुम्मुम्चो

है ना ल्याम लाइसि
ना ल्वासु टिसि
आम आमा दुम्मुम्चो

(तुसि ड्अुम देसै आस्याल ति
आस्याङ ठ्याप ङासि तुमुम्चो)२
हाई हाई हाई हाई
हाई हाई हाई हाई

ढ्याम्सै बुक्सै ह्याठ्ठो स्वाइसै
(ठ्याप च्वाँबो पाइम तिम)२
जुर्सै बुर्सै ड्अिवा साम्सै
ठ्याप हङ्गम पाइम तिम

ना क्वाइल राइसि
ना ठ्वाइल ब्रोसि
आम आमास् पुमुन्चो ?

(है तुसि ड्अुम देसै आस्याल ति
आस्याङ ठ्याप ङासि तुमुम्चो)२
तुसि ड्अुम देसै आस्याल ति
आस्याङ ठ्याप ङासि तुमुम्चो)२
हाई हाई हाई हाई
हाई हाई हाई हाई

तुसाख्वा आड्अु त्वामल्वाम ब्आरि
(आम्सि ब्रोस मास्सि फ्वाम)२
तुसाख्वा ङासि आह्याम्सि दुखा
लाबिम ङा ठास्सि फ्वाम्
ना चाप्सि बाताक
ना इमस्यास् ब्लाताक
आस्यावाँ रुम्मुमच्वा ?

(तुसि ड्अुम देसै आस्याल ति
आस्याङ ठ्याप ङासि तुमुम्चो)२
हाई हाई हाई हाई
हाई हाई हाई हाई

ना ल्याम लाइसि
ना ल्वासु टिसि
आम आमा दुम्मुम्चो

है ना ल्याम लाइसि
ना ल्वासु टिसि
आम आमा दुम्मुम्चो

(तुसि ड्अुम देसै आस्याल ति
आस्याङ ठ्याप ङासि तुमुम्चो)२

(तुसि ड्अुम देसै आस्याल ति
आस्याङ ठ्याप ङासि तुमुम्चो)२
हाई हाई हाई हाई
हाई हाई हाई हाई
हाई हाई हाई हाई
हाई हाई हाई हाई

अनुवाद :
न जिब्रो फड्कारिन्छ
न खुट्टा टेकिन्छ
यो के भएको

(पिउन हुन्छ भन्दैमा जहिले पनि
किन धेरै जाँड पिएको ?)२

लड्दै उठ्दै मुन्तिर धकेलिदै
(धेरै ढर्रा ग¥यौं कि)२
अमिलिदै कराउँदै दिमाग हराउँदै
धेरै हँगामा ग¥यौं कि

न हेर्दा राम्रो
न सुन्दा मिठो
यो कस्तो गरिएको ?

(पिउन हुन्छ भन्दै जहिले पनि
किन धेरै जाँड पिएको ?)२
हाई हाई हाई हाई
हाई हाई हाई हाई

पिएर निको हुन्न मनको घाउ
(एकछिन बिर्सिनमात्र सकिन्छ)२
पिएर जाँड लखेटिन्न दुःख
लाज ढाक्नमात्र सकिन्छ
ना शक्ति होस्
न त्यसै आओस्
किन हामी सकिदैछौं ?

(पिउन हुन्छ भन्दै जहिले पनि
किन धेरै जाँड पिएको ?)२
हाई हाई हाई हाई
हाई हाई हाई हाई

न जिब्रो फड्कारिन्छ
न खुट्टा टेकिन्छ
यो के भएको ?

(पिउन हुन्छ भन्दै जहिले पनि
किन धेरै जाँड पिएको ?)२

राजेशपालय राईले २०४८ सालदेखि नै नेपाली भाषाको गीतमा पहिचान बनाइसक्नु भएको छ । उहाँले अंग्रेजी, जापानिज भाषामा समेत गीत गाउनु भएको छ ।
जिज्ञासा छ– अब वाम्बुले राईहरूको महाबस्तीमा पुगेर कुन कुन गीत गाउँनु हुन्छ ? जबकि उहाँको युरोप, अमेरिका सांगीतिक यात्राको तालिका बनाइसक्नु भएको छ । दुई–चार महिना विदेशमा रहनु हुनेछ । विश्वभरि छरिएर रहनु भएको नेपालीहरूको मन मनमा बस्ने गीतहरू उहाँसँग छ, कला र गला । गानासँगै आफैं नाच्न, दर्शकलाई नचाउँन माहिर हुनुहुन्छ ।

गीत गाउँने समय सबै बेला हुनसक्ला । तर, किराती लोकपरम्परा, लोकसंस्कृति, लोकभाकाहरू भएको ठाउँमा आधुनिक, पप, रक, ज्याज संगीत कति उपयुक्त होला ? राजेशपायल राईज्यू अन्तर्राष्ट्रिय सांगीतिक यात्रा डलरको मूल्यमा गाउँनु हुन्छ । ओखलढुंगाको उँबु गाउँ वामद्यालका जनताले मरीतरी तिरेको करबापत गाउँपालिकाले दिएको ढ्वाङ्कुमो सांस्कृतिक बजेटले गायक राजेशपायल राईको कतिवटा कस्तो गीत सुन्ने होला ? दुर्गम गाउँमा न बिजुली बत्ती छ । न कुनै ठूलो चौरी छ । न कुनै हल छ । न साउन्ड सिस्टम छ । यो साउने झरीको बेला छ । खेतीकिसानी गर्ने मानिसहरुलाई सधैं चटारो छ । वर्षा ऋतुभन्दा शरद ऋतुको वरिपरि भइदिएको भए, त्यसले छुट्टै महत्व राख्न सक्थ्यो ।

 

पालिकाको बजेट र हाम्रो कलाकार
काठमाडौं उपत्यका नेवार जातिको भाषा, कला, संस्कृतिले समृद्ध छ । प्रत्येक जात्रा, चाड, पर्वहरु नेवार जाति जुटेर मनाउँछन् । इन्द्रजात्रा, रातो मच्छिन्द्र जात्रा, बिस्केट जात्रालगायत संस्कृति धान्न गुठी परम्परा कायम छ । थोरै किन नहोस् गुठी संस्थानले रकम उपलब्ध गराउँछ । बाँकी नेवार जातिले आ–आफ्नो गुठी, वंश गुठीहरुबाट उठाएर मनाउँछन् । हरेक गुठीको लिखित इतिहास छ । नेवारभित्रको कुन जातिले के काम गर्ने, कुन पर्वमा कस्तो भूमिका निर्वाह गर्ने भन्ने लिखित र अलिखित परम्परा छ ।

मैले मानेभन्ज्याङ गाउँपालिकाका उपप्रमुख सबिता राईलाई वाम्बुले राईहरूको महान् चाड ढ्वाङ्कुमोबारे मौखिक प्रस्ताव गरेको थिएँ । मेरो अनुरोध प्रस्ताव हो– गाउँपालिकाले ढ्वाङकुमो चाडको निम्ति कम्तिमा चारदेखि १० लाख रुपैयाँ बजेट छुटाइ दिनुहोस् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले त्यसको व्यवस्थापन गर्नेछ । त्यो रकमबाट ढ्वाङकुमो चाड आउनुभन्दा एक महिना अघि वामद्याल गाउँमा ढ्वाङकुमो कार्यशाला आयोजना गरौं । कार्याशालामा चार नाक्सोको चारवटा समूह निर्माण गरौं ।

१) ढ्वाङकुर्मो नाक्सो समूह : यो समूहले ढ्वाङकुर्मो नाक्सोको भूमिका र आवश्यक विधिविधानहरूको बारेमा छलफल गर्छ । टिपोट गर्छ । भिडियो तयार गर्छ ।

२) सिसि नाक्सो समूह : यो समूहले सिसि नाक्सोको भूमिकाबारे छलफल गर्छ । के के चाहिने, कसको के र किन कस्तो सामग्री चाहिन्छ । विधिविधानसहति सबै टिपोट गर्छ । भिडियो पनि तयार गर्छ ।

३) काउर्मो नाक्सो समूह : यो समूहले काउर्मो भनेको के हो ? किन गरिन्छ । काउर्मो नाक्सो र वंशको चर्चा, विधिविधान के के आवश्यक रहन्छ ? ती सबै टिपोट गर्छ । भिडियो तयार गर्छ ।

४) बुलु नाक्सो समूह : यो समूहले बुलु नाक्सोको इतिवृत्ति टिपोट गर्छ । विधिविधानको चर्चा र टिपोट गर्छ । भिडियो तयार गर्छ ।

यसरी दुईदेखि तीन दिनसम्म वामद्यालमै बृहत् छलफल गरेपछि गतिलो ढ्वाङकुमोको महत्व, इतिहास, वर्तमान र भविष्य निर्धारण गर्नसक्ने लिखित र डिजिटल सामग्री तयार हुनेछ । त्यो सामग्री वाम्बुले राई समाज संस्थाले प्रकाशनमा ल्याउने छ । भिडियोलाई रेकर्ड गरेर राख्नेछ । ‘वाम्बुले राईको महान चाड ढ्वाङकुमो’ पुस्तक हाम्रो निम्ति युगौं युगसम्म जिवित सामग्री हुनेछ ।

मेरो प्रस्तावजस्तै गाउँमै रहनु भएका वाम्बुले युवा बुद्धिजिवीहरूले पनि आर्थिक प्रस्ताव गर्नु भएछ । नभन्दै आर्थिक वर्ष २०७६÷७७ सुरु हुनेबित्तिकै ‘ढ्वाङकुमोमा राष्ट्रिय कलाकार बोलाएर सांगीतिक कार्यक्रम सम्पन्न गर्ने’ बजेट प्राप्त गर्दै हुनुहुन्छ भन्ने सुन्नमा आएको छ । हाम्रो जस्तो ठाउँमा राष्ट्रिय कलाकार लैजानु राम्रै हो । राजेशपायल राई हाम्रै गाउँभन्दा पारि हलेसीभन्दा पर बुइपाको जागरुक किराती कलाकार हुनुहुन्छ । जसलाई ‘राई इज किङ’ भनेर राजाकै उपमा पनि दिएका छौं ।
राजेशपायल राईको साथमा वाम्बुले राई कलाकारहरू पनि लैजान पाएको भए सुनमा सुगन्ध हुन्छ भन्ने लाग्छ । वाम्बुले राई कलाकारहरू इन्द्रजाबा, बडाजित, नवराज, रमा, कर्कुमा, रामकर, रोवन, रामकुमार, अशोक प्यासी, बुद्ध, बसन्ता, सुष्मा, अम्बिका आदि आदि हुनुहुन्छ । मोडेलहरू चाँदनी, सीता, प्यारी लगायतको स्थान कहाँनेर छ ? ख्याल गर्नुपर्ने बेला आएको छ । अन्तबाट निम्तो गरिने कलाकारलाई चाहिं भारी पारिश्रमिक दिने र हाम्रोलाई चाहिं सित्तैमा गाउन लाउने भन्ने हुन सक्दैन । वाम्बुले युवा मनहरुले यसतर्फ गम्भीर भएर सोच्न जरुरी छ ।

धन्यवाद छ, वाम्बुले युवाहरूको चाहनालाई । स्वागत छ, भर्सटाइल गायक राजेशपायल राईलाई वामद्यालको ढ्वाङकुटारमा ।

फोटो : राजेशपायल राईको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *