अन्तर्वार्ताः मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली भन्नुहुन्छ— ‘वाम्बुले समुदाय मजबुत होस् भन्ने हिसाबले ढ्वाङ्कुम प्रवद्र्धन गर्न दस लाख रुपैयाँ उपलब्ध गराउने भनेका छौं’

अन्तर्वार्ताः
‘वाम्बुले समुदाय मजबुत होस् भन्ने हिसाबले ढ्वाङ्कुम प्रवद्र्धन गर्न दस लाख रुपैयाँ उपलब्ध गराउने भनेका छौं’

ज्ञानेन्द्र रुम्दाली
अध्यक्ष– मानेभन्ज्याङ गाउँपालिका, ओखलढुङ्गा

(लिब्जु उपो अनुष्ठान र वाम्बुले राई सांस्कृतिक अध्ययन अनुसन्धानका क्रममा गणेश वाम्बुले राई र इन्द्र जाबा राईले ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीसँग २०८३ जेठ २ गते हिलेपानीमा लिएको संक्षिप्त अन्तर्वार्ता प्रस्तुत गरिएको छ । यो अन्तर्वार्ता इक लिब्जु–भुम्जु त्रैमासिक २०८३ वैशाख–असार अंकमा प्रकाशित छ ।–सम्पादक)

मानेभन्ज्याङ गाउँपालिकाको संस्थापन कालपछि दोस्रो निर्वाचनबाट तपाईं अध्यक्ष निर्वाचित भएपछि पछि के के भयो ?
विशेष गरेर संघीयता कार्यान्वयन भएपछि मानेभन्ज्याङ गाउँपालिकाको पहिलो अध्यक्षमा मोतीराज राई निर्वाचित हुनुभयो । दोस्रो चरणको निर्वाचनमा म अध्यक्षमा निर्वाचित भएँ । विशेष गरेर मानेभन्ज्याङ गाउँपालिकाको समग्र विकाससँग कसरी जोड्न सकिन्छ, कसरी गाउँपालिकालाई समृद्ध बनाउन सकिन्छ भनेर हामीले घोषणापत्रदेखि लिएर विभिन्न कामबाहीहरू गर्न कार्यक्रमहरू तयार गर्यौं । मानेभन्ज्याङ गाउँपालिकाको पहिचान हुनसक्ने, दिगो विकास गर्न सकिने क्षेत्रहरूको पहिचान गरेर विकास गर्नुपर्छ । यहाँका आम नागरिकका वर्तमान आवश्यकताहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने हिसाबले छलफल गरेर त्यस्ता काम गर्ने प्रयास गरिरहेका छौँ ।

पर्यटकीय दृष्टिकोणले के के काम भएको छ ?

मानेभन्ज्याङ गाउँपालिकामा निर्वाचत भएर आएपछि हामीले सुरुवात गरेका छौँ । देखिने गरी र नागरिकलाई लाभ हुनेगरी विकास भइसकेको छैन । गाउँपालिकाको ऐतिहासिक धार्मिक थलो लिब्जुको विकासको लागि सम्पूर्ण डिपिआर तयार भइसकेको छ । विभिन्न मन्त्रालयमा त्यसको कार्यान्वयनको लागि बजेट व्यवस्थापन गर्नको लागि माग गरिरहेका छौं । त्यसैगरी लिब्जु मन्दिरमा पहिले पुर्खाहरूले विशेष गरेर मालेगोरु चढाएर पूजा गर्ने हामीले सुनेका छौँ । हामीलाई किंबदन्तीजस्तो भएको छ । यथार्थमा थियो, थिएन त्यसको खोजअनुसन्धान त गरेका छैनौं । अभियन्ताका रूपमा तपाईंहरूले गर्दै आउनु भएको छ । पछिल्लो चरणमा हामीले लिब्जु मन्दिरमा साँडेगोरु जो छोडिन्छ, धेरै छोड्ने गरेको हामीले देखेका छौं । हामी आएपछि मात्रै बाह्र–पन्ध्र वटा छोडिएका छन् । अव्यवस्थित रूपमा छाडिदा गाउँघरमा बालीनाली विनाश गर्ने गरेका छन् । पहिलो चरणमा साँडेगोरु संरक्षण गर्ने पहल गरेका छौं । त्यसबाट पर्यटकीय हिसाबले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । केहीले रोजगारी पाउन सक्छ । धार्मिक क्षेत्र विकासका लागि देख्दाखेरी साँडेगोरुको संरक्षण हुनेछ । मानेभन्ज्याङ गाउँपालिकाले गरेको क्रियाकलापहरूमा अलिक पृथक काम पनि हुनसक्छ ।

त्योबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन टेवा पुग्छ । अहिले लिब्जुको विकासको लागि बत्तीहरू पुर्याइसकेका छौँ । इन्टरनेट पुराउन व्यवस्था भइरहेको छ । त्यो मठमन्दिरको सुरक्षा गर्न आवश्यक भएकोले सीसी क्यामराको व्यवस्था गरिने छ । त्यसपछि पानीको लागि लिफ्टिङको व्यवस्था गर्ने कदम अघि बढेको छ । केही महिनापछि पानी पुर्याउने, इन्टरनेट, बत्तीहरू पुर्याएर लिब्जुको विकास गर्न सहज हुनेछ ।

लिब्जुलाई बहुसांस्कृतिक हिसाबले जातीय संग्रहालय निर्माण गर्न मानेभन्ज्याङ गाउँपालिकाभित्र जति समुदाय छौं, सबैको टिपिकल कल्चरको घरहरू निर्माण गरेर त्यसलाई पर्यटकीय हिसाबले प्रवद्र्धन गर्ने अवधारणा छ । त्यसनिम्ति जग्गाको खोजी भइरहेको छ । साथै, तीनकन्या, पन्चावती मोलीको डिपिआर तयार भएर टेण्डर प्रक्रिया अगाडि बढाइसकेका छौं । केतुकेमा पर्यटन प्रवद्र्धनका लागि जीपलाइन, बुद्धको प्रतिमा र अहिले शिवजीको प्रतिमा निर्माण प्रक्रिया अघि बढाएका छौं ।

वडा नं.६ थुम्की सामुदायिक वनलाई पर्यापर्यटन विकास गर्ने उद्देश्यले एकसय रोपनी जग्गा जिल्ला वन कार्यालयलगायत क्षेत्रबाट स्विकृति प्राप्त गरेर भूगोल पहिचान गरेर टेण्डर प्रक्रिया अघि बढेको छ । मानेभन्ज्याङ गाउँपालिकाभित्र सगरमाथा चढ्ने रुट, हलेसी जाने गन्तव्य मध्यपहाडी लोकमार्ग पनि रहेको छ । यसलाई मानेभन्ज्याङ गाउँपालिकाको गौरवको आयोजनाका रूपमा राखेर अघि बढाएका छौं । यसलाई हामीले व्याकुल माइला पर्यटन प्रवद्र्धन केन्द्र भनेर सुरुवात गरेका छौं । यो परियोजना कम्तिमा पनि बीस करोड लाग्ने देखिन्छ । त्यसमा अहिले साढे तीन करोडको काम सुचारु छ । यो वनको विकास गरेर भोलि राजस्वको रूपमा प्राप्त हुनेछ । त्यहाँ बिक्री केन्द्र, चार्जिङ सेन्टर, स्विमिङ पुल, सभाहल, पाहुनाघर, विभिन्न जडिबुढीहरूको प्रदर्शनी कक्ष रहनेछ । ओखलढुङ्गाका स्रष्टा, राजनीतिक व्यक्तित्वहरूको पहिचान हुने प्रतिमाहरू राख्ने अवधारणा राखेर विकास गर्नेगरी लागेका छौं । थुम्की सिद्धाधामको विकास गर्न लागेका छौं । शहीद सातसल्लेको विकास गर्न कम्पाउन्डको काम भइरहेको छ । केही प्रतिमा राख्न बाँकी छ । पर्यटन विकासको क्षेत्रमा योजना बनाएर अघि बढेका छौं ।

मानेभन्ज्याङ गाउँपालिका वाम्बुले राईहरूको सघनका साथै वाम्बुले भाषाको वक्ता सबैभन्दा धेरै रहेको तथ्यांकले देखाएको छ । वाम्बुले राईहरूले लिब्जु उपोको पूजा गरेपछि महान चाडका रूपमा ढ्वाङ्कुम मनाउँदछन् । यसबारे पालिकाबाट केही पहल गर्नुभएको छ कि ?
मानेभन्ज्याङ गाउँपालिकाले हामी निर्वाचित भएदेखि निरन्तर रूपमा काम गर्दैछ । यहाँ भाषागत रूपमा सघन बसोबास वाम्बुले राई समुदायको छ । लिब्जु र ढ्वाङ्कुमसँग सम्बन्धित एकअर्कासँग सम्बन्ध देखिन्छ । सबै समुदायको मान्छेले ढ्वाङ्कुम मान्न तयार रहेको देखिन्छ । ढ्वाङ्कुम उनीहरू आफ्ना जात, भाषाअनुसार पुजा गर्दाखेरी आआफ्नो घरबाट पुजा सामग्री लिएर सामूहिक पुजामा सहभागी भएको हामीले देख्ने गरेका छौं । त्यो लिब्जु होस् या ढ्वाङ्कुम होस् । ढ्वाङ्कुमटारको ढ्वाङ्कुम थानको विकास गर्न गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको छ । लिब्जु र ढ्वाङ्कुम एकअर्काको परिपूरकको रूपमा भए तापनि त्यहाँ विद्यालयसँग जोडिएको छ । विद्यालयले अतिक्रमण गर्यो भन्ने छ । आवाजहरू उठिरहेको छ ।

मानेभन्ज्याङ गाउँपालिकाभित्र रहेको वाम्बुले राई समुदायको ढ्वाङ्कुमो गत वर्ष उँबु तार्कोमको कार्यक्रममा भनेका छौं । तयार रहनु हुन्छ, हुन्न वाम्बुले समुदायको मान्छे । घनावस्तीमा हुनुहुन्छ । तर वाम्बुले राईहरू भाषा, धर्म, संस्कार विकास होस् भन्ने हिसाबले हामीले गाउँपालिकाबाट दस लाख बराबरको बजेट दिने भनेका छौं । त्यो चाहिं नेपालभरिका वाम्बुले राईहरूलाई ढ्वाङ्कुम पुजाको बारेमा जानकारी होस् । देशैभरिका वाम्बुले समुदाय मजबुत होस् भन्ने हिसाबले दस लाख रुपैयाँ उपलब्ध गराउने भनेका छौं । त्यो कार्यक्रम वाम्बुले राईहरूको घनावस्तीमा हुने ढ्वाङ्कुम पुजा व्यवस्थित र रेकर्डेड हुनेगरी, भोलिको दिनमा नयाँ पुस्ताले पनि बुझ्नेगरी गाउँपालिकाले प्रतिवद्धता व्यक्त गरेका छौं । त्यो विद्यालयको केही डिपिआर तयार गरेका छौं । धार्मिक विकास गर्नका लागि ढ्वाङ्कुम (धार्मिक स्थल)को जग्गाहरू छन्, त्यो ठाउँ के कति आवश्यक हो । छुटाएर बाँकी विद्यालयको विकास गर्ने भन्ने हिसाबले हामी लागेका छौं ।

तपाईंले भन्नुभएको कुराहरू आफ्नो कार्यकालभित्र चाहिँ कति सम्पन्न हुन्छ ?
हाम्रो कार्यकाल लगभग एक वर्ष जति बाँकी छ । चारवटा क्षेत्रको सुरुवात गरिसकेका छौँ । व्याकुल माइला पर्यटन प्रवद्र्धन केन्द्र, केतुके गुम्बा पार्क, तिनकन्या, पञ्चवती मन्दिर र लिब्जुको गरी चारवटाको आठ करोड जतिको टेन्डर खुलाइसकेका छौं । यही आर्थिक वर्ष केही कामहरू हुन्छ । तीन वर्षभित्र त्यो तिनवटा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण कामको सुरुवात हुन्छ । आवश्यक स्रोतहरू खोज्दै त्यसलाई जारी गराउने रहेको छ । लिब्जुलाई गाउँपालिकाले निरन्तर विकासका निम्ति बजेट व्यवस्था गरिदिएका छौं । साना साना कुराहरूलाई जोडेर विकास गराउने हिसाबले भइरहेको छ ।

पर्यटनको कुरा गर्दा पानीको अभाव छ । कसरी पूर्ति भइरहेको छ ?
मानेभन्ज्याङ गाउँपालिकामा समग्र सुख्खा क्षेत्र छँदैछ । हामी निर्वाचित भएदेखि सबै ससाना स्रोतहरू मुहानहरू पहिचान गरेर हिजोका दिनहरूमा त्यो पानीलाई सही उपयोग नगरिएको कारणले पानीको अभाव थियो । त्यसलाई हामीले केही हदसम्म व्यवस्थापन गरेका छौँ । मानेभन्ज्याङ गाउँपालिकालाई नै पुग्ने गरी जन्तरखानीमा पानीको मुहान पहिचान गरेर जग्गा पहिचान गरेर खानेपानी दर्ता गरिसकेका छौँ । त्यसलाई काठमाडौँमा खानेपानी संस्थानसँग समन्वय गरी बजेटको व्यवस्था भई टेन्डर जाने प्रक्रियामा छ । खानेपानी जन्तरखानीबाट ल्याउँछौँ । गाउँपालिकाभित्र लिफ्टिङका कार्यक्रमहरू चलाइरहेका छौं । यही वर्षदेखि दुईवटा लिफ्टिङ परियोजना सम्पन्न हुनेछ । त्यो पानीको मार्फत् पनि स्थानीयवासीको आर्थिक र सामाजिक क्षेत्रमा सहज हुन्छ भन्ने हामीलाई लागेको छ ।

दुधकोसी हाइड्रो बन्दैछ । उता सुनकोसी मरिन डाइभर्सन पनि बन्दैछ । यी हाइड्रो र डाइभर्सन सुचारु हुँदा यो क्षेत्र सबै सुख्खा हुनेछ । पर्या पर्यावरणको दृष्टिकोणले त्यति बेला कस्तो हुन्छ भनेर नेपाल सरकार र दातृनिकायसँग कसरी प्रस्तुत गरेका छौँ ?
यो दुधकोसी परियोजना सुरु हुन लागेको छ । हामी अहिले तल्लो तटीय क्षेत्रमा छौँ । हामी धेरैको बुझाइ सुरुवातको चरन सुख्खा हुन्छ कि ? सुख्खा क्षेत्रको रूपमा रहन्छ कि ? भोलिको दिनमा वातावरण र सबै हिसाबले असहज हुन्छ कि भन्ने लागेको छ । दुधकोसी परियोजनासँग विभिन्न विशेष रुपले जनजातिहरूको धार्मिक, सांस्कृतिक पक्षमा आईएलओ–१६९ ले जुन अधिकार प्राप्त गरेको छ, त्यो अधिकारलाई सुनिश्चित नगरीकन परियोजना सञ्चालन हुँदैन ।
त्यसैले पहिलो नम्बरमा के विश्वास दिलाउन चाहन्छु भने म पनि निर्वाचित भएदेखि लामो समय दुधकोसी परियोजनासँग छलफलहरू, वार्ताहरूमा सहभागी छु । मानेभन्ज्याङ गाउँपालिकाभित्र चाहिँ केही वडामात्र प्रभावित हुनेछ । परियोजना स्थलदेखि तल्लो तटीय क्षेत्र जोर्तीघाटसम्म प्रभावित क्षेत्र घोषणा गर्न सफल भएका छौं । हामीले पाउँदै नपाउने भनेको मुआब्जा हो किनभने हाम्रो जग्गाहरू क्षति भएको छैन । बाँध बन्दै गर्दा हाम्रो डुबानमा पर्दैन । तर अन्य सबै हिसाबले त्यो बाहेकका सबै अधिकारलाई सुरक्षित गर्ने काम हामीले गरेका छौँ ।

भोलिका दिनमा हामीले जीविका पार्जनदेखि जनजातिको अधिकार सुनिश्चित गर्ने देखिएको छ । हामीले लामो समयदेखि दुधकोसी मानव सृष्टिसँगै प्राकृतिक सृष्टिसँगै दुधकोसी हाम्रो जनजीविकासँग जोडिएको छ । धेरै मान्छेको जीविका माछा मारेर होस् । सिंचाईबाट होस् । लिफ्टिङको योजना दुधकोसीमा निरभर छ ।

वर्तमान अवस्थामा ६७० मेगावाटको विद्युत बन्नेवाला छ । त्यसमा १७ किलोमिटर लामो जलाशय ड्याम बन्ने छ । बाँकी दुधकोसीमै रहने गरी ७० मेगावाट विद्युत आउने छ । यो परियोजना सम्पन्न पश्चात पुनः २०० मेगावाटको विद्युत यही दुधसोसीमा रहने छ । यसरी २७० मेगावाट विद्युत रहनेछ । त्यसैले दुधकोसीमा पानी रहने, सुख्खा नहुने र यसमा क्षति नहुने प्रतिवेदन प्राप्त भएकोले त्यसको काम गर्ने सहज वातावरण बनेको भन्ने मलाई लाग्दछ । अहिले जनजाति समुदायको लागि विकासको लागि आठवटा गाउँपालिकामा पैसठ्ठी करोडभन्दा बढी बजेट सात वर्षभित्र सक्ने योजना बनेको छ । सरकारले जनजाति समुदायको समस्या सम्बोधन गर्नुपर्ने विषयलाई पाँच–सात सय जनजातिहरूलाई भेला गराएर स्विकृत गराएर परियोजना अगाडि बढाएको छ । त्यसैले परियोजनाले त्यत्ति क्षति गर्छ भन्ने मलाई लाग्दैन ।

प्रकाशित : बिहिबार, असार २५, २०८३२१:२९