अन्तर्वार्ताः
‘वाम्बुले समुदाय मजबुत होस् भन्ने हिसाबले ढ्वाङ्कुम प्रवद्र्धन गर्न दस लाख रुपैयाँ उपलब्ध गराउने भनेका छौं’

ज्ञानेन्द्र रुम्दाली
अध्यक्ष– मानेभन्ज्याङ गाउँपालिका, ओखलढुङ्गा
(लिब्जु उपो अनुष्ठान र वाम्बुले राई सांस्कृतिक अध्ययन अनुसन्धानका क्रममा गणेश वाम्बुले राई र इन्द्र जाबा राईले ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीसँग २०८३ जेठ २ गते हिलेपानीमा लिएको संक्षिप्त अन्तर्वार्ता प्रस्तुत गरिएको छ । यो अन्तर्वार्ता इक लिब्जु–भुम्जु त्रैमासिक २०८३ वैशाख–असार अंकमा प्रकाशित छ ।–सम्पादक)
मानेभन्ज्याङ गाउँपालिकाको संस्थापन कालपछि दोस्रो निर्वाचनबाट तपाईं अध्यक्ष निर्वाचित भएपछि पछि के के भयो ?
विशेष गरेर संघीयता कार्यान्वयन भएपछि मानेभन्ज्याङ गाउँपालिकाको पहिलो अध्यक्षमा मोतीराज राई निर्वाचित हुनुभयो । दोस्रो चरणको निर्वाचनमा म अध्यक्षमा निर्वाचित भएँ । विशेष गरेर मानेभन्ज्याङ गाउँपालिकाको समग्र विकाससँग कसरी जोड्न सकिन्छ, कसरी गाउँपालिकालाई समृद्ध बनाउन सकिन्छ भनेर हामीले घोषणापत्रदेखि लिएर विभिन्न कामबाहीहरू गर्न कार्यक्रमहरू तयार गर्यौं । मानेभन्ज्याङ गाउँपालिकाको पहिचान हुनसक्ने, दिगो विकास गर्न सकिने क्षेत्रहरूको पहिचान गरेर विकास गर्नुपर्छ । यहाँका आम नागरिकका वर्तमान आवश्यकताहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने हिसाबले छलफल गरेर त्यस्ता काम गर्ने प्रयास गरिरहेका छौँ ।
पर्यटकीय दृष्टिकोणले के के काम भएको छ ?
मानेभन्ज्याङ गाउँपालिकामा निर्वाचत भएर आएपछि हामीले सुरुवात गरेका छौँ । देखिने गरी र नागरिकलाई लाभ हुनेगरी विकास भइसकेको छैन । गाउँपालिकाको ऐतिहासिक धार्मिक थलो लिब्जुको विकासको लागि सम्पूर्ण डिपिआर तयार भइसकेको छ । विभिन्न मन्त्रालयमा त्यसको कार्यान्वयनको लागि बजेट व्यवस्थापन गर्नको लागि माग गरिरहेका छौं । त्यसैगरी लिब्जु मन्दिरमा पहिले पुर्खाहरूले विशेष गरेर मालेगोरु चढाएर पूजा गर्ने हामीले सुनेका छौँ । हामीलाई किंबदन्तीजस्तो भएको छ । यथार्थमा थियो, थिएन त्यसको खोजअनुसन्धान त गरेका छैनौं । अभियन्ताका रूपमा तपाईंहरूले गर्दै आउनु भएको छ । पछिल्लो चरणमा हामीले लिब्जु मन्दिरमा साँडेगोरु जो छोडिन्छ, धेरै छोड्ने गरेको हामीले देखेका छौं । हामी आएपछि मात्रै बाह्र–पन्ध्र वटा छोडिएका छन् । अव्यवस्थित रूपमा छाडिदा गाउँघरमा बालीनाली विनाश गर्ने गरेका छन् । पहिलो चरणमा साँडेगोरु संरक्षण गर्ने पहल गरेका छौं । त्यसबाट पर्यटकीय हिसाबले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । केहीले रोजगारी पाउन सक्छ । धार्मिक क्षेत्र विकासका लागि देख्दाखेरी साँडेगोरुको संरक्षण हुनेछ । मानेभन्ज्याङ गाउँपालिकाले गरेको क्रियाकलापहरूमा अलिक पृथक काम पनि हुनसक्छ ।
त्योबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन टेवा पुग्छ । अहिले लिब्जुको विकासको लागि बत्तीहरू पुर्याइसकेका छौँ । इन्टरनेट पुराउन व्यवस्था भइरहेको छ । त्यो मठमन्दिरको सुरक्षा गर्न आवश्यक भएकोले सीसी क्यामराको व्यवस्था गरिने छ । त्यसपछि पानीको लागि लिफ्टिङको व्यवस्था गर्ने कदम अघि बढेको छ । केही महिनापछि पानी पुर्याउने, इन्टरनेट, बत्तीहरू पुर्याएर लिब्जुको विकास गर्न सहज हुनेछ ।
लिब्जुलाई बहुसांस्कृतिक हिसाबले जातीय संग्रहालय निर्माण गर्न मानेभन्ज्याङ गाउँपालिकाभित्र जति समुदाय छौं, सबैको टिपिकल कल्चरको घरहरू निर्माण गरेर त्यसलाई पर्यटकीय हिसाबले प्रवद्र्धन गर्ने अवधारणा छ । त्यसनिम्ति जग्गाको खोजी भइरहेको छ । साथै, तीनकन्या, पन्चावती मोलीको डिपिआर तयार भएर टेण्डर प्रक्रिया अगाडि बढाइसकेका छौं । केतुकेमा पर्यटन प्रवद्र्धनका लागि जीपलाइन, बुद्धको प्रतिमा र अहिले शिवजीको प्रतिमा निर्माण प्रक्रिया अघि बढाएका छौं ।
वडा नं.६ थुम्की सामुदायिक वनलाई पर्यापर्यटन विकास गर्ने उद्देश्यले एकसय रोपनी जग्गा जिल्ला वन कार्यालयलगायत क्षेत्रबाट स्विकृति प्राप्त गरेर भूगोल पहिचान गरेर टेण्डर प्रक्रिया अघि बढेको छ । मानेभन्ज्याङ गाउँपालिकाभित्र सगरमाथा चढ्ने रुट, हलेसी जाने गन्तव्य मध्यपहाडी लोकमार्ग पनि रहेको छ । यसलाई मानेभन्ज्याङ गाउँपालिकाको गौरवको आयोजनाका रूपमा राखेर अघि बढाएका छौं । यसलाई हामीले व्याकुल माइला पर्यटन प्रवद्र्धन केन्द्र भनेर सुरुवात गरेका छौं । यो परियोजना कम्तिमा पनि बीस करोड लाग्ने देखिन्छ । त्यसमा अहिले साढे तीन करोडको काम सुचारु छ । यो वनको विकास गरेर भोलि राजस्वको रूपमा प्राप्त हुनेछ । त्यहाँ बिक्री केन्द्र, चार्जिङ सेन्टर, स्विमिङ पुल, सभाहल, पाहुनाघर, विभिन्न जडिबुढीहरूको प्रदर्शनी कक्ष रहनेछ । ओखलढुङ्गाका स्रष्टा, राजनीतिक व्यक्तित्वहरूको पहिचान हुने प्रतिमाहरू राख्ने अवधारणा राखेर विकास गर्नेगरी लागेका छौं । थुम्की सिद्धाधामको विकास गर्न लागेका छौं । शहीद सातसल्लेको विकास गर्न कम्पाउन्डको काम भइरहेको छ । केही प्रतिमा राख्न बाँकी छ । पर्यटन विकासको क्षेत्रमा योजना बनाएर अघि बढेका छौं ।
मानेभन्ज्याङ गाउँपालिका वाम्बुले राईहरूको सघनका साथै वाम्बुले भाषाको वक्ता सबैभन्दा धेरै रहेको तथ्यांकले देखाएको छ । वाम्बुले राईहरूले लिब्जु उपोको पूजा गरेपछि महान चाडका रूपमा ढ्वाङ्कुम मनाउँदछन् । यसबारे पालिकाबाट केही पहल गर्नुभएको छ कि ?
मानेभन्ज्याङ गाउँपालिकाले हामी निर्वाचित भएदेखि निरन्तर रूपमा काम गर्दैछ । यहाँ भाषागत रूपमा सघन बसोबास वाम्बुले राई समुदायको छ । लिब्जु र ढ्वाङ्कुमसँग सम्बन्धित एकअर्कासँग सम्बन्ध देखिन्छ । सबै समुदायको मान्छेले ढ्वाङ्कुम मान्न तयार रहेको देखिन्छ । ढ्वाङ्कुम उनीहरू आफ्ना जात, भाषाअनुसार पुजा गर्दाखेरी आआफ्नो घरबाट पुजा सामग्री लिएर सामूहिक पुजामा सहभागी भएको हामीले देख्ने गरेका छौं । त्यो लिब्जु होस् या ढ्वाङ्कुम होस् । ढ्वाङ्कुमटारको ढ्वाङ्कुम थानको विकास गर्न गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको छ । लिब्जु र ढ्वाङ्कुम एकअर्काको परिपूरकको रूपमा भए तापनि त्यहाँ विद्यालयसँग जोडिएको छ । विद्यालयले अतिक्रमण गर्यो भन्ने छ । आवाजहरू उठिरहेको छ ।
मानेभन्ज्याङ गाउँपालिकाभित्र रहेको वाम्बुले राई समुदायको ढ्वाङ्कुमो गत वर्ष उँबु तार्कोमको कार्यक्रममा भनेका छौं । तयार रहनु हुन्छ, हुन्न वाम्बुले समुदायको मान्छे । घनावस्तीमा हुनुहुन्छ । तर वाम्बुले राईहरू भाषा, धर्म, संस्कार विकास होस् भन्ने हिसाबले हामीले गाउँपालिकाबाट दस लाख बराबरको बजेट दिने भनेका छौं । त्यो चाहिं नेपालभरिका वाम्बुले राईहरूलाई ढ्वाङ्कुम पुजाको बारेमा जानकारी होस् । देशैभरिका वाम्बुले समुदाय मजबुत होस् भन्ने हिसाबले दस लाख रुपैयाँ उपलब्ध गराउने भनेका छौं । त्यो कार्यक्रम वाम्बुले राईहरूको घनावस्तीमा हुने ढ्वाङ्कुम पुजा व्यवस्थित र रेकर्डेड हुनेगरी, भोलिको दिनमा नयाँ पुस्ताले पनि बुझ्नेगरी गाउँपालिकाले प्रतिवद्धता व्यक्त गरेका छौं । त्यो विद्यालयको केही डिपिआर तयार गरेका छौं । धार्मिक विकास गर्नका लागि ढ्वाङ्कुम (धार्मिक स्थल)को जग्गाहरू छन्, त्यो ठाउँ के कति आवश्यक हो । छुटाएर बाँकी विद्यालयको विकास गर्ने भन्ने हिसाबले हामी लागेका छौं ।
तपाईंले भन्नुभएको कुराहरू आफ्नो कार्यकालभित्र चाहिँ कति सम्पन्न हुन्छ ?
हाम्रो कार्यकाल लगभग एक वर्ष जति बाँकी छ । चारवटा क्षेत्रको सुरुवात गरिसकेका छौँ । व्याकुल माइला पर्यटन प्रवद्र्धन केन्द्र, केतुके गुम्बा पार्क, तिनकन्या, पञ्चवती मन्दिर र लिब्जुको गरी चारवटाको आठ करोड जतिको टेन्डर खुलाइसकेका छौं । यही आर्थिक वर्ष केही कामहरू हुन्छ । तीन वर्षभित्र त्यो तिनवटा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण कामको सुरुवात हुन्छ । आवश्यक स्रोतहरू खोज्दै त्यसलाई जारी गराउने रहेको छ । लिब्जुलाई गाउँपालिकाले निरन्तर विकासका निम्ति बजेट व्यवस्था गरिदिएका छौं । साना साना कुराहरूलाई जोडेर विकास गराउने हिसाबले भइरहेको छ ।
पर्यटनको कुरा गर्दा पानीको अभाव छ । कसरी पूर्ति भइरहेको छ ?
मानेभन्ज्याङ गाउँपालिकामा समग्र सुख्खा क्षेत्र छँदैछ । हामी निर्वाचित भएदेखि सबै ससाना स्रोतहरू मुहानहरू पहिचान गरेर हिजोका दिनहरूमा त्यो पानीलाई सही उपयोग नगरिएको कारणले पानीको अभाव थियो । त्यसलाई हामीले केही हदसम्म व्यवस्थापन गरेका छौँ । मानेभन्ज्याङ गाउँपालिकालाई नै पुग्ने गरी जन्तरखानीमा पानीको मुहान पहिचान गरेर जग्गा पहिचान गरेर खानेपानी दर्ता गरिसकेका छौँ । त्यसलाई काठमाडौँमा खानेपानी संस्थानसँग समन्वय गरी बजेटको व्यवस्था भई टेन्डर जाने प्रक्रियामा छ । खानेपानी जन्तरखानीबाट ल्याउँछौँ । गाउँपालिकाभित्र लिफ्टिङका कार्यक्रमहरू चलाइरहेका छौं । यही वर्षदेखि दुईवटा लिफ्टिङ परियोजना सम्पन्न हुनेछ । त्यो पानीको मार्फत् पनि स्थानीयवासीको आर्थिक र सामाजिक क्षेत्रमा सहज हुन्छ भन्ने हामीलाई लागेको छ ।
दुधकोसी हाइड्रो बन्दैछ । उता सुनकोसी मरिन डाइभर्सन पनि बन्दैछ । यी हाइड्रो र डाइभर्सन सुचारु हुँदा यो क्षेत्र सबै सुख्खा हुनेछ । पर्या पर्यावरणको दृष्टिकोणले त्यति बेला कस्तो हुन्छ भनेर नेपाल सरकार र दातृनिकायसँग कसरी प्रस्तुत गरेका छौँ ?
यो दुधकोसी परियोजना सुरु हुन लागेको छ । हामी अहिले तल्लो तटीय क्षेत्रमा छौँ । हामी धेरैको बुझाइ सुरुवातको चरन सुख्खा हुन्छ कि ? सुख्खा क्षेत्रको रूपमा रहन्छ कि ? भोलिको दिनमा वातावरण र सबै हिसाबले असहज हुन्छ कि भन्ने लागेको छ । दुधकोसी परियोजनासँग विभिन्न विशेष रुपले जनजातिहरूको धार्मिक, सांस्कृतिक पक्षमा आईएलओ–१६९ ले जुन अधिकार प्राप्त गरेको छ, त्यो अधिकारलाई सुनिश्चित नगरीकन परियोजना सञ्चालन हुँदैन ।
त्यसैले पहिलो नम्बरमा के विश्वास दिलाउन चाहन्छु भने म पनि निर्वाचित भएदेखि लामो समय दुधकोसी परियोजनासँग छलफलहरू, वार्ताहरूमा सहभागी छु । मानेभन्ज्याङ गाउँपालिकाभित्र चाहिँ केही वडामात्र प्रभावित हुनेछ । परियोजना स्थलदेखि तल्लो तटीय क्षेत्र जोर्तीघाटसम्म प्रभावित क्षेत्र घोषणा गर्न सफल भएका छौं । हामीले पाउँदै नपाउने भनेको मुआब्जा हो किनभने हाम्रो जग्गाहरू क्षति भएको छैन । बाँध बन्दै गर्दा हाम्रो डुबानमा पर्दैन । तर अन्य सबै हिसाबले त्यो बाहेकका सबै अधिकारलाई सुरक्षित गर्ने काम हामीले गरेका छौँ ।
भोलिका दिनमा हामीले जीविका पार्जनदेखि जनजातिको अधिकार सुनिश्चित गर्ने देखिएको छ । हामीले लामो समयदेखि दुधकोसी मानव सृष्टिसँगै प्राकृतिक सृष्टिसँगै दुधकोसी हाम्रो जनजीविकासँग जोडिएको छ । धेरै मान्छेको जीविका माछा मारेर होस् । सिंचाईबाट होस् । लिफ्टिङको योजना दुधकोसीमा निरभर छ ।
वर्तमान अवस्थामा ६७० मेगावाटको विद्युत बन्नेवाला छ । त्यसमा १७ किलोमिटर लामो जलाशय ड्याम बन्ने छ । बाँकी दुधकोसीमै रहने गरी ७० मेगावाट विद्युत आउने छ । यो परियोजना सम्पन्न पश्चात पुनः २०० मेगावाटको विद्युत यही दुधसोसीमा रहने छ । यसरी २७० मेगावाट विद्युत रहनेछ । त्यसैले दुधकोसीमा पानी रहने, सुख्खा नहुने र यसमा क्षति नहुने प्रतिवेदन प्राप्त भएकोले त्यसको काम गर्ने सहज वातावरण बनेको भन्ने मलाई लाग्दछ । अहिले जनजाति समुदायको लागि विकासको लागि आठवटा गाउँपालिकामा पैसठ्ठी करोडभन्दा बढी बजेट सात वर्षभित्र सक्ने योजना बनेको छ । सरकारले जनजाति समुदायको समस्या सम्बोधन गर्नुपर्ने विषयलाई पाँच–सात सय जनजातिहरूलाई भेला गराएर स्विकृत गराएर परियोजना अगाडि बढाएको छ । त्यसैले परियोजनाले त्यत्ति क्षति गर्छ भन्ने मलाई लाग्दैन ।






