इतिहासविद् भगिराज इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक

कला साहित्य -संस्कृति बिशेष

लिभु संवाददाता
ललितपुर । इतिहासविद् भगिराज इङनामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक भएको छ ।

मुन्धुमविद् बैरागी काइँला, इतिहासविद् दिनेशराज पन्त, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेन, डा. कमल तिगेला, डा. बालकृष्ण माबुहाङ, चुम्लुङकी महासचिव निरन्ती तुम्बापो र लेखक इङ्नामले शुक्रबार सार्वजनिक गर्नुभएको हो ।

मुन्धुम एकाडेमीले उक्त ऐतिहासिक कृति प्रकाशित गरेको हो । जम्मा ९०४ पानामा अनुबन्धित यस ग्रन्थमा विभिन्न कालखण्डका अभिलेखहरू सङ्गृहित गरिएका छन् । त्यसमा सेन, शाह, सिक्किमे र तिब्बती राजाहरूले पल्लो किरात लिम्बुवानका लिम्बू, याक्खा, लोहोरुङ, याम्फू र आठपहरिया लगायतलाई राय, राऐ र राई आदि सम्बोधन गरी प्रदान गरेका लालमोहर, स्याहा मोहर, कस्यपत्र, पुर्जी, सनद र इस्तिहार समेटिएका छन् ।

यस ग्रन्थमा प्रकाशित अभिलेखहरूको मूलरूप जस्ताको तस्तै राखी लिप्यान्तर गरेर तिनका सङ्क्षिप्त विषयसार टिप्पणीसमेत राखिएका छन् । सङ्गृहित अभिलेखहरू काठमाडौं उपत्यका र लिम्बुवानका विभिन्न क्षेत्र, अड्डा र गाउँघरबाट सङ्कलन गरिएका हुन् ।

यस ग्रन्थमा अग्रज इतिहासकार प्रा.डा. त्रिरत्न मानन्धर र प्रा.डा. जगदीशचन्द्र रेग्मीको हस्तलिखित मन्तव्य रहेको छ । साथै, इतिहास अध्येता अर्जुनबाबु माबुहाङ्को इतिहासशास्त्रीय भूमिका लेखेका छन् ।

ऐतिहासिक ग्रन्थबारे बोल्दै प्राज्ञ काइँलाले यहाँ समेटिएका विषयले तत्कालीन राजनीतिक अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थिति बताउने उल्लेख गर्नुभयो ।
‘परम्परागत रूपमा नभनिएको कागजपत्रमा लिपिवद्ध भएका मिति, तिथिहरूले त्यतिबेलाको लिम्बुवानको राजनीतिक, सामाजिक, आर्थिक सबैकुराहरू बुझ्न सक्छौं,’ काइँलाले भन्नुभयो, ‘राज्यसत्तासँग लिम्बूको सम्बन्ध त्योभन्दा अगाडि पनि थियो । लिम्बूको मौखिक मुन्धुमको अध्ययन गर्दाखेरी पूर्वमा भिमसेन देउताको नाम आउँछ । लिम्बूहरूको विस्तारै विस्तारै काठमाण्डुमा आतेजाते भयो । तिनीहरूमध्ये नि १८३१ सालको लालमोहर प्राप्त गरेका थिए ।’

इतिहासविद् पन्तले नेपालको इतिहासलाई प्रामाणिक रूपमा अघि बढाउने ऐतिहासिक सामग्रीहरूको अनुन्धान अझै खड्किएको उल्लेख गर्नुभयो । ‘इतिहास अन्वेषण गर्दा बढीमा लिच्छविकालसम्म पुग्न सक्छौं । किरातकालसम्म पुग्न सकिएको छैन,’ उहाँले भन्नुभयो ।

यसैगरी ग्रन्थबारे तथ्यांकशास्त्री माबुहाङ, डा. कमल तिगेला, एकाडेमीका अध्यक्ष डिबी आङ्बुङलगायतले चर्चा गर्नुभएको थियो ।

इतिहास अन्वेषक इङ्नामको यो चौथो कृति हो । यसअघि प्रकाशित ‘लिम्बुवानको दस्ताबेज सङ्ग्रह’ ग्रन्थले २०७७ सालको मदन पुरस्कार प्राप्त गरको थियो । त्यसअघि ‘तेह्रथुमको सब्बाङ्गी प्रथा’ (सहलेखन) २०७० र ‘लिम्बू जातिको इतिहास’ (२०७५) ऐतिहासिक कृति प्रकाशित छन् । मदन पुरस्कार प्राप्त ग्रन्थमा राख्न छुटेका तथा त्यसपछिका खोज–अध्ययन गरी प्राप्त महŒवपूर्ण अभिलेखहरू यस ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’मा समेटिएको इङ्नामले जनाउनु भएको छ ।

यस ग्रन्थको सह–प्रकाशन सहयोग म्याङ्लुङ नगरपालिका, तेह्रथुम; लालिगुराँस नगरपालिका, तेह्रथुम; आठराई गाउँपालिका, तेह्रथुम; छथर गाउँपालिका, तेह्रथुम; फेदाप गाउँपालिका, तेह्रथुम; मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम र आठराई–त्रिवेणी गाउँपालिका, ताप्लेजुङ तथा कानेपोखरी गाउँपालिका, मोरङ्ले गरेका छन् ।

आफ्नो जाति, समुदाय र क्षेत्रको इतिहास, संस्कृति, भाषा, साहित्य र ज्ञानको उजागर गर्न स्थापित प्रकाशक संस्था मुन्धुम एकाडेमीले विभिन्न कृतिहरू प्रकाशन गर्दै आएको छ । जसमा सम्पादित लेख सङ्ग्रह ‘लिम्बु पहिचानः मौलिक याक्थुङ् पहिचानको खोजी’ (२०७८), इतिहासकार कृष्णविव्रmम नेम्बाङ् लिखित दुई कृति ‘इतिहास पहिचानः प्राचीन नेपाल, किरात र लिम्बु इतिहास’ (२०७८) र ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध (२०८०) छन् । यस्तै कमल मादेन लिखित ‘प्रदेश नामकरणः अभ्यास र दृष्टान्त (२०८०) र डी.बी. आङ्बुङ र विष्णुदत्त आङ्बुङ लिखित ‘लिम्बू नामकोश’ (२०८१) पुस्तक प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *