गणेश राई

काठमाडौं । बान्तावा भाषाको पत्रिका ‘बुङ्वाखा’ (फूलबारी)का सम्पादक पदम राई सम्मान भएका छन् । नेपाल साहित्यिक पत्रकार संघको २०औं वार्षिकोत्सवका अवसरमा यही २०८३ असार १३ गते शनिबार उक्त ‘राष्ट्रिय मातृभाषा साहित्यिक पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिएको हो ।
वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई र संघका अध्यक्ष मोहन दुवालले उक्त सम्मान प्रदान गरेका हुन् ।
सम्पादक राईसँगै संघका संस्थापक अध्यक्ष नकुल सिलवाललाई मरणोपरान्त र नुवाकोटबाट प्रकाशित ‘संगम’ साहित्यिक पत्रिकाका सम्पादक सुमित्रा सुमीलाई समेत सम्मान प्रदान गरिएको थियो ।

भोजपुरको हतुवागढी–२ रानीबासमा २०३२ चैत ३ गते जन्मिएका राईले त्रिभुवन विश्वविद्यालयबाट भाषाविज्ञान विषयमा स्नातकोत्तर हासिल गरेका छन् । उनी आफैं प्रकाशक तथा सम्पादक रहेर २०६१ सालदेखि बान्तावा भाषा, साहित्य, संस्कृति केन्द्रित ‘बुङ्वाखा’ मासिकको नियमित रूपमा प्रकाशन गर्दै आएका छन् । यो पत्रिका २०८३ जेठसम्ममा २५५औं अंक प्रकाशित छ । पदम आफूलाई बान्तावा भाषा, साहित्य, पत्रकारितामा पूर्णकालीन सेवकका रूपमा समर्पित गरेका छन् । उनी लेखक, सम्पादक, प्रकाशक, वितरक, व्यवस्थापनका रूपमा चिनिन्छन् ।
काठमाडौंबाट प्रकाशित ‘बुङ्वाखा’ मासिकको वार्षिकोत्सवमा बान्तावा भाषामा कविता प्रतियोगिता तथा साहित्य महोत्सवको आयोजना गरिदैआएको छ । अहिलेसम्म एक्काइसौं बान्तावा साहित्य महोत्सव सम्पन्न भएको छ । बुङ्वाखाको काठमाडौं, भोजपुर, धनकुटा, उदयपुर, खोटाङ, सुनसरी, इलाम, झापा, पाँचथर, सिक्किम, युकेमा प्रतिनिधिहरू रहेका छन् । ‘बुङ्वाखा मूल अक्षयकोष’ निर्माण गरी मातृभाषा साहित्यिक पत्रकारितालाई दीर्घकालीन तुल्याउने क्रमलाई जारी राखेका छन् ।

यसैगरी पदम राईका बान्तावा भाषामा आधा दर्जन कृति प्रकाशित छन् । ‘बुङ्वाखाआ बान्तावा यङ खुयुङु’ (कथा), ‘लादिप्मा’ (कवितासंग्रह), ‘सेमुना साकेन्वा लाकछाम’ (लोकगीत), ‘हाङ्पोक सिन्मायु’ (बालसामग्री), ‘बान्तावा सचित्र शब्दसंग्रह’ र ‘किरावा सान्दिवा’ (संस्मरण) कृति रहेका छन् ।
राईले ‘बान्तावा शब्दकोश’ (२०८०) सम्पादक मण्डलका सदस्यलगायत दुई दर्जनभन्दा बढी कृति सम्पादन गरेका छन् । यसैगरी पाठ्यक्रम विकास केन्द्रद्वारा निर्मित बान्तावा भाषाको कक्षा १–७ को ‘आन यङ’ पाठ्यपुस्तक तथा भोजपुर र खोटाङका विभिन्न गाउँपालिकाले निर्माण गरेको बान्तावा भाषाका कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तकहरूको लेखन तथा सम्पादन कार्य गर्दैआएका छन् ।
भाषाविज्ञका रूपमा माझी, लोहोरुङ, जेरो, दुरा, थामी, बोटे, दराई, चेपाङ, मेचे, किसान, राजवंशी, तिलुङ, राजी, छुलुङ÷छिलिङ, फाङ्दुवाली, लुङखिम, थारु भाषाको वर्णनिर्धारण कार्यमा सहजकर्ताको भूमिका निर्वाह गरेका छन् । ताजपुरिया भाषाको प्रारम्भिक व्याकरण रुपरेखा र लोवा भाषाको वर्ण पुनःरावलोकनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
उनले ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार–२०७३’लगायत सम्मान पाइसकेका छन् । यसैगरी ‘बुङ्वाखा’ मासिकले ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार–२०७०’ र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७९’ प्राप्त गरेको छ । पदम राई संस्थागत रूपमा किरात राई प्रज्ञा परिषद्का सदस्य छन् ।
फोटो क्याप्सनः
पदम राई सम्मान, बुङ्वाखा पहिलो अंक, २०६१ र बुङ्वाखा २५५औं अंक, २०८३






