गोरखा मेजर बालकृष्ण मुकारुङ राईको ‘घुर्बिसेदेखि बकिङह्यामसम्म’ आत्मकथा सार्वजनिक

लिभु संवाददाता
काठमाडौं – गोरखा मेजर बालकृष्ण मुकारुङ राईको मरणोपरान्त ‘घुर्बिसेदेखि बकिङह्यामसम्म’ आत्मकथा सार्वजनिक भएको छ । जेठा राई प्रसु राम मुकारुङ फाउन्डेसनले मेजर बालकृष्णको जन्मदिन पारेर २०८१ फागुन ९ गते काठमाडौंमा उक्त कृति सार्वजनिक गरेको हो ।

किरात राई यायोक्खाका पूर्वअध्यक्ष कुलबहादुर राई (एमबीई)को प्रमुख आतिथ्या तथा रुद्र किरात मुकारुङ राईको सभाध्यक्षमा उक्त कृति सार्वजनिक गरिएको हो । यसैगरी पूर्वमन्त्री हेमराज राई, राष्ट्रिय सभा सदस्य जयन्ती राई, नेपाली सेनाका पूर्वउपरथी नरेशचन्द्र भट्ट ,किराइ राई प्राज्ञ प्ररिषदका कुलपति जयकुमार राई, फाउन्डेसनका सस्थापक अध्यक्ष वरिष्ठ फोटो पत्रकार हरिवंश किरात, स्वर्गीय गोरखा मेजरका जीवनसाथी प्रेमकुमारी राईलगायतले कृति विमोचन गर्नुभएको हो ।

विसं.२००१ साल फागुन ९ गते माझकिरात भोजपुरको दिल्पा भामालामा जन्म भएको थियो । ब्रिटिस गोरखा सैनिकमा बोई भर्ती भएर ३५ वर्ष सेवा गर्नु भएको थियो । त्यस क्रममा उहाँले आफ्नो खुबी, क्षमता, बौद्धिकतासमेत प्रदर्शन गरी गोरखा मेजरजस्तो गरिमामय दर्जा हासिल गर्नु भएको थियो । साथै एमभीओ, एमबीई, बीईएम पदकबाट विभूषित हुनु भएको थियो । अवकाशपछि उहाँ फेरि ब्रुनाईमा गोरखा रेजिमेन्ट युनिट (जीआरयु)मा करिब एक दशक सेवा गर्नुभयो । त्यसपछि स्वदेश फर्किर किरात राई जातिको सर्वोच्च संस्था किरात राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष र किरात राई समाधिस्थल व्यवस्थापन समितिको अध्यक्ष भएर सामाजिक सेवामा समर्पित हुनु भयो ।

उहाँको २०८० वैशाख २१ गते निधन भएको थियो । उहाँ रोगबाट थलिएर अशक्त अवस्थामा आफ्ना अतीत संस्मरणहरू लिपिवद्ध गर्नु भएको थियो । सोही लेखहरूलाई आत्मकथाका रूपमा प्रकाशन गरिएको हो । आत्मकथाको सम्पादक प्रगति राईले गर्नुभएको हो । पुस्तकभित्र आत्मसंस्मरण सामग्री चार खण्डमा विभाजन गरिएको छ । अन्तिम खण्डमा तस्बिर समेटिएको छ ।

स्वर्गीय गोरखामेजर बालकृष्णका बारेमा उहाँका समकालीन समाजसेवी गोरखा मेजर चामबहादुर राईले चर्चा गर्नुभएको थियो । त्यसैगरी माननीय जयन्ती राई, पूर्वमन्त्री राई, पूर्वउपरथी भट्ट, कुलपति राईले चर्चा गर्नुभएको थियो । प्रमुख अतिथि राईले प्रख्यात धामी जिरामनी बाजेको शक्ति र ख्यातिको कथा सुनाउनु भएको थियो । उनी जिरामनीका सन्तान मुकारुङ राईहरू रहेको उल्लेख गर्नुभयो ।

यो आत्मकथा लेखक मुकारुङको श्रीमती प्रेमकुमारी राई, छोराहरू शिशुकृष्ण मुकारुङ, डा. निरज मुकारुङ र सिपो मुकारुङले प्रकाशन गर्नुभएको हो । फाउन्डेसनका सचिव कर्णेल गङ्गराज मुकारुङले संचालन गर्नुभएको थियो ।

प्रकाशित : शुक्रबार, फागुन ०९, २०८१२३:११

गणेश र कमलसिंलाई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’