‘पद्मावत’ लाई हल खाली, आएनन् नेपाली फिल्म

मनोरन्जन
ठूला भनिएका बलिउड फिल्म रिलिज हुँदा नेपाली निर्माताहरु कुना पस्ने परम्परा वर्षौदेखि चल्दै आइरहेको छ । बलिउडका तीन खानसँगै अहिले अभिनेत्री दीपिका पादुकोणको फिल्मसँग जुध्न पनि नेपाली निर्माताले सात पटक सोच्न थालेका छन् ।
लामो समय विवादमा तानिएको बलिउडको सर्वाधिक प्रतिक्षीत फिल्म ‘पद्मावत’ आज बिहीवारबाट प्रदर्शनमा आएको छ । भारतसँगै यो फिल्म नेपालमा पनि प्रतिक्षीत थियो । यसअघि यो मितिमा अक्षय कुमारको ‘प्याडम्यान’ पनि आउने कन्फर्म थियो । तर, प्रदर्शनको अन्तिम घडीमा यो फिल्मको रिलिज पोस्टपोन्ड भएपछि ‘पद्मावत’ ले सोलो रिलिज पाएको छ ।
यो फिल्मसँग जुध्दा नराम्रोसँग चेपुवामा पर्ने डरले नायक दयाहाङ राई र नायिका प्रियंका कार्की स्टारर नेपाली फिल्म ‘ह्याप्पी डेज’ को पनि रिलिज सर्‍यो । यसअघि यो फिल्म भोली शुक्रवारबाट प्रदर्शनमा आउने फाइनल भएको थियो ।
‘ह्याप्पी डेज’को रिलिज डेट पोस्टपोन्ड हुँदा ‘पद्मावत’ ले भारतसँगै नेपालमा पनि सोलो रिलिज पाएको छ । यो फिल्मसँग जुध्न यो हप्ता कुनै पनि नेपाली फिल्म मैदानमा छैनन् । ‘पद्मावत’ ले नेपालका अधिकांश मल्टिप्लेक्समा सर्वाधिक शो पाएको छ । फिल्मले ६० बढी सिंगल स्क्रिन्स समेत पाएको छ ।
शाहिद कपूर, दीपिका पादुकोण र रणवीर सिंहको मुख्य भूमिका रहेको ‘पद्मावत’ लाई सञ्जय लीला भंसालीले निर्माण र निर्देशन गरेका हुन् । हिस्टोरिकल ड्रामा जनराको फिल्मलाई बलिउड भाष्करले ३.५/५, कोइमोइले ४.५, आजतकले ४, इन्डिया एक्सप्रेसले २.५ र टाइम्स अफ इन्डियाले ४ स्टार रेटिङ दिएका छन् ।

Leave a Reply

Your email address will not be published.