फ्लप लिस्टमा ‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’

मनोरन्जन
यस वर्षको मंसिरदेखि माघ पहिलो सातासम्म आइपुग्दा नेपाली फिल्मको व्यापारमा ठूलो गिरावट आएको छ । मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका कारण फिल्मको व्यापार चौैपट भयो । त्यसपछि जाडो लाग्यो । आगोको न्यानो छाडेर चिसो सहँदै फिल्म हेर्न हलसम्म जान दर्शकले जाँगर चलाएनन् ।
यही बीच पनि पुष २८ गते प्रदर्शनमा आएकोे फिल्म ‘मिस्टर झोले’ ले नेपालबाटै लगानी सुरक्षित गर्‍यो । माघ ४ गते उपत्यका बाहिर र ५ गते राजधानी भित्र प्रदर्शनमा आएका दुई फिल्म ‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’  को व्यापारमा भने ठूलो खडेरी लागेको छ ।
प्रदर्शन पूर्व प्रतिक्षीत मानिएका यी दुई फिल्म बक्स अफिसमा नराम्रोसँग पछारिएका छन् । ‘लालपुर्जा’ भन्दा ‘पिंजडा ब्याक अगेन’ को कलेक्सन केही राम्रो भने छ । निखिल उप्रेतीको क्रेज शनिवार हलमा गजब देखिएपनि आइतवारबाट उनका जबर्जस्त फ्यानले पनि बाटो मोडे ।

लगातार आफ्नो बलियो स्टारडमलाई कमजोर प्रमाणित गरिरहेका निखिललाई ‘पिंजडा ब्याक अगेन’ असफल हुँदा ठूलो घाटा भएको छ । अब उनको स्टारडममा खतराको ‘रातो बत्ति’ बल्न थालेको छ ।
सिंगल स्कृनमा निखिल पर्खिने धेरै दर्शक छन् तर पछिल्लो केही वर्ष यता उनले दर्शकको विश्वासमाथी कुठाराघात मात्र गरिरहेका छन् । डेब्यु फिल्म ‘पिंजडा’ पछि करिअरलाई सयको स्पिडमा दौडाएका निखिलको रेस ‘पिंजडा ब्याक अगेन’ सम्म आइपुग्दा शून्यको गतिमा झरेको छ ।
उता, ‘लालपुर्जा’ को असफलताले नायक सौगात मल्लको करिअरमाथी प्रश्न चिन्ह खडा गरेको छ । भर्सटायल एक्टरको रुपमा आफूलाई स्थापित गराएपनि उनलाई अहिले बक्स अफिसको सबैभन्दा कमजोर खेलाडी मानिन थालिएको छ ।
नायक विपिन कार्कीको पनि हाल यही छ । महंगो नायकको रुपमा कहलिएका विपिनलाई ‘लालपुर्जा’ ले अब सस्तो बनाएको चर्चा छ ।
‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’ असफल हुनुको पछाडि कमजोर कथावस्तु, पट्यार लाग्दो प्रस्तुति र निन्द्रा लाग्ने कलाकारको अभिनय भएको विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published.