१८ लाख अवैध आप्रवासीलाई अमेरिकी नागरिकता !

प्रवास

एजेन्सी । संसदले मेक्सिकोको सीमामा पर्खाल लगाउन बजेट दिएमा १८ लाख अवैध आप्रवासीलाई अमेरिकी नागरिकता दिने प्रस्ताव राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले गर्ने भएको छ ।

मेक्सिकोमा पर्खाल लगाउने चुनावी बाचा गरेर ह्वाइटहाउसको यात्रा गरेका ट्रम्पको यस योजनालाई संसदले समर्थन नगरेपछि विकल्पमा नयाँ योजना ल्याउन लागिएको बताइएको छ । यस योजनामा समर्थन खोज्न ट्रम्प प्रशासनले डेमोक्रेट सांसदसँग छलफल गर्ने भएको छ ।

सोमबार ल्याइने विधेयकमा मेक्सिकोको सीमामा पर्खाल लगाउन २५ बिलियन डलर माग गरिने ह्वाइटहाउसका नीतिप्रमुख स्टीफन मिलरले रिपब्लिकन सांसदसँगको सामूहिक टेलिफोन वार्तामा जानकारी दिएका हुन् ।

संसद यो रकम दिन राजी भएमा १८ लाख व्यक्तिलाई १०÷१२ वर्षमा नागरिकता प्रदान गरिनेछ । यद्यपि, डेमोक्रेट यस योजनाको सख्त विपक्षमा रहेका छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पले प्यालेष्टायनलाई दिइदै आएको वित्तीय र सुरक्षा सहयोग रोक्ने धम्की दिएका छन् । प्यालेष्टायन शान्ति वार्ताका लागि तयार नभएमा वित्तीय र सुरक्षा सहयोग रोक्ने ट्रम्पको चेतावनी छ ।

स्वीट्जरल्याडको दावोसमा वल्र्ड इकोनोमी फोरममा बोल्दै ट्रम्पले अमेरिकाले प्यालेष्टायनलाई करोडौं डलर दिँदै आएको तर अब शान्ति वार्ताका लागि ऊ तयार नहुँदासम्म पैसा नदिने घोषणा गरे ।

ट्रम्पले अब प्यालेष्टायन र इजरायलबीच सायदै शान्ति वार्ता हुन सक्ने भन्दै आशंका पनि व्यक्त गरे ।

दुई देशबीच शान्ति वार्ता गराउन अमेरिकाले चाहे पनि प्यालेष्टायनले भने इजरायललाई काखी च्याप्ने नीति रहँदासम्म शान्ति वार्तामा नबस्ने जनाइसकेको छ । ट्रम्पले जेरुशलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिएपछि रुष्ट प्यालेष्टायनी राष्ट्रपति मोहमूद अब्बासले त यो निर्णय शताब्दी थप्पड भएको टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published.