अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने

प्रवास

एजेन्सी ।अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने भएका छन् । ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई सही ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले कारबाही गर्ने तयारी गरेपछि राजीनामा गर्ने निर्णयमा उनीहरु पुगेका हुन् ।

जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरलाई किशोरी खेलाडीलाई यौन दुर्व्यवहार गरेकोमा ४० देखि १७५ वर्षको सजाय सुनाइएपछि अमेरिकी ओलिम्पिक कमिटीले बोर्डका पदाधिकारीलाई राजीनामा दिन अल्टिमेटम दिएको थियो ।

ओलिम्पिक कमिटीले या त बोर्ड भंग गर्नुपर्ने वा उसले खेलकुद निकायको मान्यता गुमाउने चेतावनी दिएको थियो । नयाँ सुधारका कदम नचालेसम्म उक्त राष्ट्रिय खेलकुद निकायले जिम्न्यास्टिक सञ्चालन गर्ने अधिकार गुमाउने पनि जनाइएको छ ।

यसै हप्ताको शुरुमा पूर्व ओलिम्पिक जिम्न्यास्टिक चिकित्सक नासरलाई किशोरी खेलाडीलाई यौन दुर्व्यवहार गरेको आरोपमा १७५ वर्षको जेल सजाय सुनाइएको थियो । १८ सदस्यीय जिम्न्यास्टिक बोर्डका ५ जनाले भने राजीनामा दिइसकेका छन् ।

विवाद सतहमा आएपछि अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीका दुई पदाधिकारीले राजीनामा दिएका छन् । ५४ वर्षका नासरले सन् १९९७ देखि २०१६ सम्म उक्त विश्वविद्यालयमा काम गरेका थिए । उनी सन् १९९६ देखि २०१४ सम्म अमेरिकी जिम्न्यास्टिक संघका चिकित्सक थिए ।

Leave a Reply

Your email address will not be published.