सगरमाथा आरोहण डोमा ‘पहिलो शेर्पा महिला पत्रकार’ बन्दै

मुख्य समाचार समाचार

लिभु संवाददाता
काठमाडौं माघ २६, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा डोमा शेर्पा ‘पहिलो शेर्पा महिला पत्रकार’ बन्ने तयारीमा जुट्नु भएको छ । त्यसका निम्ति तयारीको मध्यचरण पूरा गरेको शुक्रबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भएको हो । ‘पहिलो महिला शेर्पा पत्रकार सगरमाथा आरोहण–२०१८’ नाम दिइएको उक्त आरोहण आगामी चैत तेस्रो साताबाट सुरु हुनेछ ।
‘हिमाली भेगका सुसुप्त आवाजहरुलाई सञ्चार माध्यमबाट प्रवाह गर्न क्रियाशील छु,’ इन्डिजिनियस टेलिभिजन र हिमालयसन्देश अनाईनमा संवद्ध पत्रकार शेर्पाले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘मेरो पहिलो उद्देश्य महिलाले पनि गर्न सक्छन भनेर महिलाहरुको सशक्तिकरण गर्ने हो । त्यसपछि पर्वतीय पर्यटनबारे पत्रकारिता क्षेत्रको चासो अभिवृद्धि गराउने रहेको छ ।’
त्यसैगरी पर्वतीय पर्यटन क्षेत्रमा क्रिायशील र नवआगन्तुक महिलाहरुलाई हौसला प्रदान गर्ने, हिमाली भेगमा बसोबास गर्ने आवाजविहीनहरुको आवाज सञ्चार माध्यममा पर्यटनबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्य रहेको छ । शिखर आरोहको पहिलो चरणमा सोलुखुम्बुको ६ हजार १ सय ८९ मिटर उचाईको आइसल्याण्ड पिक चुमिसकेको डोमाले विज्ञप्तिमा जनाउनु भएको छ । शेर्पा पत्रकार समूहका निवर्तमान अध्यक्ष, आदिवासी जनजाति युवा महासंघको उपाध्यक्षसमेत हुनुहुन्छ । उमेरले २८ वर्षीया शेर्पा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ सालाबेसी निवासी हुनुहुन्छ । उहा“ करिब एक दशकदेखि मातृभाषा शेर्पा र नेपाली भाषाको पत्रकारिता गर्दैआउनु भएको छ ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट र पूर्वअध्यक्ष सुरेश आचार्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, नेपाल शेर्पा संघका अध्यक्ष आङदोर्जे लामा शेर्पा, शेर्पा महिला संघकी अध्यक्ष निमी शेर्पालगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

२०७४ माघ २६ गते प्रकाशित

Leave a Reply

Your email address will not be published.